समाचार

श्रीमानकी प्रेमिका (नालीबेली)

डा. सबिता सुबेदी ।
कथा
घर परिवारले रोजेको ऊ मेरो लोग्ने, अनि म उसकी श्रीमती बनेको एक वर्ष मात्र पुगेको थियो। यो कथा डा. सबिता सुबेदीले सेतोपाटीमा लेखेकी छन् ।

ऊ पातलो आग्लो ,गोरो, ठूला ठूला कान परेको राम्रो ,पढे लेखेको धेरै पढेको थियो भने म मोटी ,काली ,गुन्द्रुके कपाल भएकी जम्मा ११ पढ्दा पढ्दै पेट भित्र बच्चाले आफ्नो जिन्दगी सुरूआत गर्दै गर्दा मेरो पढाइ भने विश्राम लिइसकेको थियो।

घरमा ऊ र म मात्रै। बिहेमा जन्ती तर्फका बस पल्टेर सवार ससुरा बा बिदा भएका थिए। सासूको भने पहिल्यै निधन भैसकेको थियो। बिहे लगत्तै मलाई आफन्तले अलच्छिनी पनि भन्न भ्याए। सबेरै बिहान उठेर नुहाई धुवाई गरेर तातो कफी बनाएर श्रीमानलाई बिस्तारामा लादै थिएँ।

एक्कासी मेरो बुढाले फोनमा कसैलाई मायालु स्वर निकालेर शुभ बिहानी भनेको सुने। उनको यति मीठो आवाज आज बिहे गरेको एक वर्ष भैसक्दा एकचोटि पनि नसुनेकी मलाई मेरा बुढाले त्यति मीठो बोल्छन् भन्ने कुरा पहिलो पटक सुनेकी थिएँ।

अझ कान थापेर ढोका नजिकै गएर कान तानेर सुन्न लाग्दा मेरा चुरा एक आपसमा ठोक्किएर म आएको आवाज दिएँ।

सायद महिलालाई यो चुरा लगाउने प्रथा पुरूषले नै बनाएको जस्तो लाग्यो। हाम्रा हातका चुरा , पाउजुले हामी जता गयो संकेत दिने, पुरुषले जासुसनै राख्नु नपर्ने जासुसी हामी नै बोकेर हिँड्ने रहेछौं जस्तो लाग्यो।

म कोठामा पस्ने बित्तिकै उनले फोन राखेर एकै छिनमा अल्छी पारा झिक्दै भर्खर उठेको नाटक गर्दै आँखा मिचेर लामो हाइ काटे।

मलाई भने खसखस लाग्न सुरू भए पनि कसको फोन हो भनेर सोध्न मन लागेन। केही सोध्यो भने हामी महिलाको जात शंकालु भनेर हजार पटक गाली गरेको हुनाले सोध्ने हिम्मत राखिनँ।

हुन पनि लोग्नेको कमाइमा बाच्नु परेको मलाई उनीमाथि प्रश्न उठाउनु शोभा दिँदैन भनेर मेरो आमाले भनेको सम्झेर मनलाई शान्त पार्ने कोशिस गरें।

तर पनि मनमा उठेको ज्वारभाटाले उत्पन्न गराएका शंकाहरू वरिपरि बिस्कुन झैं छरपस्ट पसारो परिरहेका थिए।

भान्छामा छिरेर आलुका बोक्रा तास्दै गर्दा मेरा दिमागमा भने प्रश्नका फोहोरहरू थुप्रिएका थिए।

‘उनले त्यति मीठो कसलाई बोल्न सक्छन् र ? बैनी त होइन। बैनीलाई तँ भनेर सम्बोधन हुन्छ। साथीहरूलाई ? त्यो पनि हुन सक्दैन। लामो लर्को तानेर बिस्तारै बोल्न त माया नलागेको मानिसलाई त यो पक्कै होइन। थोरै माया मात्रै लागेकोलाई पनि हुँदैन। ऊ त विशेष हुनु पर्छ। म भन्दा नि विशेष ।अहँ यो त हुनै सक्दैन। म त उहाँको श्रीमती। जिन्दगीभर साथ दिने बाचा कसमसहित आफ्नो घर छोडेर उसैको भरमा रहर सबै मारेर आएकी । उसका गन्तब्य नै मेरा हुन् भनेर दुख सुखमा साथ दिनलाई आएकी । म भन्दा त विशेष हुनै सक्दैन । तर मलाई त आजसम्म मीठो बोलेकै छैनन्। ह्या शंकाले लंका डढाउँछ भन्छन् यस्तो शंका गर्नु ठीक होइन।’

खाना खाने बेला भयो। पहाडमै बसेका मेरा जन्म घरकी मेरी बूढी आमालाई फोन गरें। श्रीमानको हातमा पनि फोन राखिदिएँ। मैले पकाएको खाना कहिल्यै मीठो नहुने श्रीमानलाई आज मैले उनैलाई मन पर्ने पनिर आलु बनाएकी थिएँ। आफूले सक्दो मिहिनेत गरेर उनलाई खुसी बनाउन प्रयत्न गरें।

खाना मुखमा हाल्ने बित्तिकै तरकारी मीठो भएछ भन्ने सुनेको यो कानले पूरै स्वर्ग घुमेर आए भन्दा कम्ता भएन। फुरुङ फुरुङ उफ्रिन मात्र बाँकी थियो। धेरै नै खुसीको तालमा आफूलाई नै भाग नराखी सबै तरकारी उनैलाई खनाएछु। म पनि एक नम्बर बुद्दु हुँ तर श्रीमानले सानो प्रशंसा मात्र गरिदिए यस्ता हर्कत म हजारौं गर्न तयार हुन्थे हुँला।

कराइमा रहेको लेतो हातले सोरेर खाएँ। त्यही पनि मीठो भयो। छिटो छिटो खाएर अफिसका लुगा तयार गरिदिएँ। उनी हिरो बनेर अफिस लागे।

मेरो दिनभरिको कामले बेलुका शरीर लत्रक्क हुन्थ्यो। बिस्तार बिस्तार खाना खान रुच्न छाडेको थियो। शरीर पनि कमजोर भएको थियो। काम गर्न फिटिक्कै मन लाग्न छाडेको थियो। भान्छा त छिर्न नै मन नलाग्ने भैसकेको थियो । मेरो गाउँकी साथी पनि त्यही काठमाडौंमै डेरा लिएर बसेकी थिइ। उसको भने गर्भवती भएको छ महिना पुगिसकेको थियो। ऊसँग भलाकुसारी गरें। तर उसको श्रीमानले गर्ने सहयोग सुनेर मन भने अमिलो भएको थियो। त्यही पनि मैले आफ्नो पीडा उसलाई सुनाउन चाहिनँ।

साँझ घर फर्कें। श्रीमान् एउटा मोबाइल हातमा राखेर च्याट गर्दै अर्को हातले ढोका खोले। उनलाई म आएको/ गएको नभएको केही मतलब थिएन। तर यसलाई मेरो स्वतन्त्रता भन्न भने फिटिक्कै मन लागेन। छिटो छिटो खाजा बनाएर खाना पकाउन थालें।

बेलुका यस्तै १० बजेको थियो। श्रीमान् निदाउने तरखर गर्दै थिए। अचम्म यो लाग्यो कि सधैं जसो म भन्दा ढिलोसम्म मोबाइल खेलाएर बस्ने श्रीमान आज मोबाइल बन्द गरेर सुत्न लागेका थिए।

मोबाइल चेक गर्न ठूलो रहर थियो। तर मोबाइलमा त पासवर्ड राखिएको थियो। यो पनि सम्भव थिएन। जुक्ति निकालें।

‘ए हजुर, आज म आमासँग कुरा गर्छु। मेरो मोबाइलमा पैसा सकिएछ। आमा बिरामी हुनुन्छ रे।’

एउटा आँखा खोलेर पासवर्ड हानेर मोबाइल खोलिदिए। मलाई खोजे जस्तै भयो।

तर मोबाइल चेक गर्दागर्दै उठ्छन् कि लागेर मोबाइलमा गीत बजाए।

बिस्तारै हातले उनको कपाल मुसारिदिएँ। केही समयमा उनी भुसुक्कै निदाए।

त्यो रात मेरो मर्जिको रात भयो। भकाभक मोबाइलका मेसेज खोलें। खासै मेसेजमा त्यस्तो ठूलो कुरा देखिनँ जसले मेरो शंकाको प्रामाण पुगोस्। म आफैंलाई गाली गर्न थालें।

‘बेकारमा बुढोको शंका गर्ने पापिनी होस् तँ। बिचरा अफिसबाट थकाई लागेर आउनाले दिक्क भएर मसँग रिसाउने होलान् नि। उनी जागिरे मान्छे उनका मान्छे थुप्रै हुन्छन्। व्यर्थमा यस्तो सोच्नु राम्रो होइन।’

यति सोचेर मोबाइल राख्न मात्र लागेको थिएँ। एउटा मेसेज आयो ‘बेबी मसँग नरिसाउन। मेसेन्जरमा आउ न । म सबै कुरा भनिदिन्छु।’

‘ओहो को हो यो ?’

म झसंग भएँ।के गर्ने नगर्ने मेसो पाइनँ। छिटो छिटो मेसेन्जर खोले। मेसेन्जर खुल्लै रहेछ।

ऊ रुपा भन्ने केटी रहिछे। भर्खरकी राम्री। पुष्ट जिउडाल भएकी।म कता गाउँकी ऊ सहरकी जस्ती देखिन्थी। उसका कपडा छोटा छोटा थिए। मैले भने मेक्सी ,कुर्था ,सारी मात्र लगाउने गर्थें।उसको च्याटमा अंग्रेजी धेरै हुन्थ्यो। कतिपय मैले बुझिनँ। आखिरमा मेरो श्रीमानलाई सुहाउने ऊ नै हो कि जस्तो पनि लाग्यो।

उनीसँग गफ गर्दा यस्तो लाग्यो कि उनीसँग म लामो समयदेखि कुरा गरिरहेको छु। तर च्याटमा भने पुरानो एउटा पनि मेसेज थिएन। उनीहरू बीच भएको झगडा मैले बुझ्न सकेँ। उनीहरू बीच सबै भएको रहेछ जुन श्रीमान्/ श्रीमती बीच हुन्छ। केटीले भने बिहे गर्ने जिद्दी गरेकी रहिछे। त्यो रात ऊसँग कुरा भयो। जो मेरो हुने वाला सौता थिइ। भिडिओ च्याट गरम न आज भन्न थालेपछि भने मेसेन्जर काटिदिएँ।

एउटा हात बच्चाले भरिएको पेटमा राखें अर्को हातले स्क्रिन तलमाथि सारें। उसले गरेका केही शब्दहरू यस्ता थिए सायद श्रीमान् श्रीमतीबीच पनि हुँदैन होला। केही शब्द यस्ता थिए जुन श्रीमान् श्रीमतीबीच हुन्छ र केही शब्द यस्ता थिए जुन शब्द सुनिएको नै हुँदैन।

श्रीमान् त पूरै मायाको खाडलभित्र डुबेको हेर्दा म आँसुको खाडलभित्र डुबेकी थिएँ। एकाएक म रित्तो महशुस गर्न थालें। लोग्ने मानिसको निर्दयी मन बनाउने ईश्वर देखेर पनि रिस उठ्न थाल्यो। पेटको बच्चा सम्झिएँ फेरि रोएँ। महिना दिन नै भैसकेको थियो राम्ररी खाना खाएको थिइन। कमजोर महशुस भैरहेको थियो। फेरि श्रीमानसँग मनमनै रिसाएँ।

‘कमसेकम अरुनै सँग माया गर्नु थियो त मलाई किन बिहे गर्नु ? लु बिहे नै गरे पनि किन बच्चा बनाउनु। यो बच्चा को के दोष थियो ?”

सोफाबाट जुरुक्क उठें। भित्रभित्रै जलन भैरहेको थियो ।मनले के के सोच्यो त्यो दिमागले सोच्न भ्याएन ।

रातको यस्तै १ बजेको थियो । सोफाबाट उठें । लुगा सुकाउन राखेको डोरी झिकेँ । बाँच्न मन एक्कासी हरायो । उसले मलाई गरेका तुच्छ शब्दहरू ,उसले मलाई गरेका बेवास्ताहरू , म आफ्नै घरमा मिल्केको जुठो टपरी भन्दा अरु माथि दाँज्न नसकेपछि बाँच्न नै व्यर्थ लाग्न थाल्यो ।

फेरि एक चोटी श्रीमानलाई हेरें । ऊ मस्तसँग निदाइरहेको थियो । निदाउँदा ऊ साँच्चै बच्चा जस्तै निर्दोष देखिएको थियो । के गरूँ नगरु दिमागले सोच्न सकेन । म उसलाई प्राण भन्दा ज्यादा माया गर्थें । अझ पेटको बच्चा त हुर्कंदै पनि थियो । बच्चालाई पनि सम्झिएँ । आखिर मायाले जित्यो । म मर्न सकिनँ ।

बिहानको तीन बजिसकेको थियो ।

मलाई दाम्लो फालेर डाँको छोडेर श्रीमानको छातीमा टाँस्सिएर रुन मन लाग्यो । उनलाई थुप्रै प्रश्न सोध्न मन लाग्यो । बरु मलाई दिनदिनै पिटेको सहन्थें तर किन यसरी धोका दियौ भन्न चाहन्थें । तर सकिनँ ।

श्रीमानको हात फिजाएँ । उनको अंगालोमा आफूलाई बेरें । उनको हातलाई मेरा हातले समातेर मेरा आँखाका आसुँ पुछे ।

मनमनै म श्रीमान् बनेर आफूलाई नै सम्झाएँ “ किन रोएकी लाटी । म तिमीलाई धोका दिन्छु त ? तिमी त मेरी श्रीमती होउ नि । मेरी अर्धांगिनी । मेरो जिन्दगी । मेरो प्राण ।”

यस्तै भन्दै चित्त बुझाउने प्रयास गरें ।

उनको अंगालोमा जतिनै बेरिए पनि पुगेन । अझ अझ उनको छातीमा टाँस्सिन मन लाग्यो । तर मेरो बढेको पेटले खोजे जसरी टास्सिन मिलेन ।यसरी बेरिएको ३ महिना पछिको पहिलो रात थियो। त्यो पनि एकोहोरो । अलि आनन्दको सास फेरें । श्रीमान मस्त निन्द्रामै थिए ।उनको अनुहार सुम्सुमाएँ ।

मनले सोच्यो “आखिर जस्तो भए नि यो मेरो लोग्ने । सात फेरो लिएरसँगै बाच्ने मर्ने कसम खाएको। एकचोटि मानिसको गल्ती हुन्छ । मैले यसलाई माफ दिनुपर्छ । फेरि मलाई मात्तेको मान्छेको माया पनि त लाग्छ नि ।”

त्यो रात निन्द्रा देवी मसँग रिसाइन् । न त छोटो निन्द्रा निदाउन सकें न त जिन्दगीभर निदाउने निन्द्रा नै पर्न सक्यो ।

बिहान पख जाडो बढे जस्तो भयो । शरीर थरथर काम्न थाल्यो । श्रीमान पनि उठे । उठ्ने बित्तिकै ट्वाइलेट गए । केही छिनपछि चिया भनेर अर्डर गरे । म कुर्थाको सलले रातभरि रोएर सुन्निएका आँखा र मुख छोपेर चिया बनाउन उठें । पूरै घुमैराखेको थियो । बल्ल बल्ल चिया बनाएर श्रीमानलाई दिएँ । उनले एकचोटि मेरो मुख पनि हेरेनन् । मोबाइलमा नै ध्यान थियो । केही छिनपछि मैले हिम्मत गरेर भनें “ मलाई सन्चो छैन ।”

उनले पुलुक्क मलाई हेरे । केही बोलेनन् । मेरो निधारसम्म पनि हात लगेनन्। के भयो भनेर पनि सोधेनन् । मलाई झन् रुन आयो । बेस्सरी डाँको छोडेर रुन थालें ।

“खाना पकाउनु पर्दैन आज मैले नै बनाउँछु । आज शनिबार पनि छ । आज मेरी अफिसको साथीलाई बोलाउँछु ।”

मेरो मनमा झन् ढ्यांग्रो बज्यो । “कतै त्यही साथी त हैन ?”

नभन्दै केही समयमा एउटी २२ वर्ष जातिकी गोरी पुष्ट शरीर भएकी केटी घर आई । त्यो त्यही केटी थिई । जुन मैले फेसबुकमा देखेकी थिएँ । महिलालाई एउटा रुख देखाएर यो नै तेरो सौता हो भन्यो भने त्यो रुख नै उखालेर फ्याक्ने जात हो । तर यहाँ त श्रीमानको प्रेमिका त्यहाँ माथि आफू बिरामी भएको बेलामा देख्दा मन निचोरेको कागती भन्दा बढ्ता भयो ।

अब त घरमै ल्याउन थालेछन् भनेर झन् पीडा थप्यो । त्यो केटी घरभित्र छिरेबाट मलाई झन् ज्वरोले च्यापे जस्तो भयो । जिन्दगी नै भारी लाग्यो ।

उसलाई म सक्ने हुन्थेँ भने कपालमा समातेर घरबाट बाहिर लगार्दै कहिल्यै पाइला नटेक्ने बनाउँथें भन्ने सोच पनि आयो । तर उनीहरूको अगाडि म निरिह थिएँ । न कसैलाई भन्न सक्थें । न कोही नै मेरो आफ्नो भन्ने थियो । यौटा जो थियो ऊ त झन् पराई भैसकेको थियो ।

उसले मेरा सुन्निएका आँखा हेरी । म कामिरहेको शरीर हेरी । मेरा निदार आएर छामी । त्यति मात्रै गरिदिँदा पनि मलाई माया गरे जस्तो भयो ।सायद उसले मानवता देखाई जुन कुरा मेरो श्रीमानबाट त्यो पनि हराइसकेको थियो ।म साह्रै नै दया लाग्ने जस्तो भएछु कि जस्तो पनि लाग्यो ।

उसले श्रीमानलाई गाली गरी र एम्बुलेन्स बोलाएर अस्पताल लगी । उसले मलाई अस्पतालमा पनि हेरी । खाने पियाउने सबै गरी । त्यो बिरानो काठमाडौं जहाँ मेरै लोग्ने अस्पताल पनि गएनन् त्यहाँ उनकै प्रेमिका यानिकी मेरी हुने वाली सौताले मलाई मेरो आमा बहिनी सबै बनेर भूमिका निभाई ।

मनमनै सोचें “ ऊ पनि त आखिर महिला हो । महिलाको पीडा महिलाले जति नबुझे झैं गरे पनि बुझ्ने रहेछ जस्तो लाग्यो ।अस्पताल बसेको तेस्रो दिन श्रीमान पैसा लिएर अस्पताल आए ।

डाक्टरले मेरो बच्चा र म सुरक्षित गराएर आगामी दिनमा हेरचाह गर्न भनी पठाइदिए । घर पुग्यौं । उसले गेडागुडीको सुप बनाएर ल्याई ।

भगवान विभिन्न रूपमा प्रकट हुन्छन् भन्थे हो रहेछ । जब म मर्ने र बाँच्ने जस्तै दोसाधमा थिएँ । त्यो बेला मलाई मेरी हुने वाला सौताले बचाई । मानिस नै भगवान र मानिस नै राक्षस हुने रहेछ । ऊ मेरो जीवनमा दुवै भएकी थिइ ।

त्यस्तै बेलुकाको पाँच बजेको थियो । मैले ऊसँग बोल्न खोजें ।

“हेर रुपा म तिमीलाई चिन्छु । मेरो श्रीमानसँग तिम्रो सम्बन्ध रहेछ । सायद यो कुरा म बच्चा जन्माइसकेपछि थाहा पाएको भए या त म बच्चा नै नपाउने भएको भए त्यति पीडा हुन्थेन होला जति पीडा आज भएको छ । तिमी पनि महिला हौ । एक दिन तिमी पनि आमा बन्नेछौ । गर्भमा बच्चा रहँदा श्रीमानको माया कति आवश्यक हुन्छ त्यो पनि तिमीले बुझौली । आज मेरो यो अवस्थामा तिमीलाई मन पराउने मान्छे भोलि तिमी म जस्तै हुँदा अरुलाई मन नपराउला भन्न सकिन्न । तिमी अहिले सुन्दरी छौ । जवान छौ । तर महिलाको सुन्दरता बच्चा नहुने सम्म हो । राम्ररी बिचार गर ।मेरो भविष्य त बिग्रिसक्यो । सायद जिन्दगीभर हामी त सँगै हुन सक्दैनौ । तिमी चाहिँ आफ्नो ख्याल गर ।तिमी म भन्दा सानी लाग्यो । मेरो बहिनी जस्तै भएकोले सुझाव दिएको हुँ ।”

यति भन्दा ऊ घोसे मुन्टो लगाइरही । ऊ आफ्नो सामान बोकेर हिँड्न लाग्दा श्रीमान् कोठाभित्र छिरे ।

ऊ मेरो श्रीमानसँग एक शब्द पनि नबोली त्यहाँबाट गई । श्रीमान भने बाइकमा पुर्याईदिन्छु भन्दै त्यसको पछि लागे । फेरि मेरा आँखाबाट एक थोपा आँसु तप्प चुहियो ।

अब श्रीमान फर्केर आउँछन् आउँदैनन् थाहा थिएन । अघि भर्खर खाएको सुपले पेटलाई आराम मिलेको थियो । उनी राति घर नआए पनि भोकले त्यति च्याप्छ भन्ने लागेन । त्यो रात श्रीमान त आएनन् तर गाली मिस्रित मेसेज आयो ।

“तलाई भैंसी रुपालाई नचाहिँदो बोलेर उचालिस् । आफैंले पालेको सर्पले आफैंलाई डस्यो । त खुरुक्क निस्किहाल् मेरो घरबाट ।त बस्न नै पर्दैन ।म आजको रात उसैसँग छु ।”

रातभरि दिमागमा अनेक किसिमका कुराहरू खेल्न थाले । आत्महत्याका कुराहरू पनि मनमा नआएका होइनन् । मान्छेले अन्तिम बिन्दुमा पुगेपछि सोच्ने त्यही नै रहेछ ।

तर मस्तिष्क बोल्यो “आत्महत्या गर्नु कायरता हो । जिन्दगी दुई दिनको छ । सुख र दु:ख नै जिन्दगीका पाटा हुन् । सधैं सुख मात्र मिल्यो भने सुख को के मूल्य ? जिन्दगी के रमाइलो ? यस्तो दु:ख पर्दा त दिमागले काम गरेर समस्या समाधान गर्न सक्नुपर्छ । म यही मान्छे भनेर बस्नु किन ? भगवानले दिएको यो शरीरको के काम । म पनि आफूले सक्ने काम गर्न सक्छु । अरु केही नसकेनी कसैको घरमा खाना पकाएर खुवाउन सक्छु । केही नभए हार गुहार गरेर कार्यालय सहयोगीको जागिर खाम्ला । त्यति त गर्न सक्छु । यसले अब मलाई माया गर्दैन । म यही भनेर किन कुर्नु । घरबाट बाहिर निस्किएपछि जिन्दगी हिँड्ने बाटाहरू प्रशस्त हुन्छन् ।बस् केही दिनलाई गाह्रो हुन्छ । संघर्ष नगरी फलको आशा पनि त ठीक हुँदैन ।

जिन्दगीले राम्रो पाठ सिकायो । घाइते बाघिनी झन् बलवान हुन् सक्छे । म गरेर देखाउँछु । भोलि मेरो बच्चाले गर्व गर्न सकोस् ।मानिसलाई कस्ता कस्ता दु:खमा त बुद्धिले काम गरेका हुन्छन् । मेरो त के बिग्रेको छ र ? मेरा बा आमाले यस्तै कायर छोरी होस् भनेर त पक्कै जन्माएनन् होला ।”

यस्तै सोच्दै बिहान भयो ।

भोलि पल्ट बिहान श्रीमान घरमा आए । मनलाई एक ढिक्का बनाएँ । म आफ्नो सामान पोको पारेर उनलाई हेर्दै नहेरी जाने बेलामा राम्ररी बस्नु भन्दै , बाटोमा कहीँकतै भेटमा बोल्ने आँट नगर्नू भन्ने चेतावनी दिएर सम्बन्ध बिच्छेदको प्रक्रिया बढाउन भन्दै उसको एक रुपैयाँ पनि नचाहिने भनि आँट र साहस बोकेर पेटको बच्चा नै मेरो सहारा मानेर घरबाट निस्किएँ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *