समाचार समाज

पोर्चुगल जाउँला, ४० कटेसी कमाउँला…

रमेश राज बाँस्तोला । पल्लो गाउँको काउरबोटे आशाराम दाई गाउँ कै मेहेनती र परिश्रमीमध्येका इमान्दार व्यक्ति हुन्।

हामीले यो खबर सेतोपाटीबाट लिएका हौ । सानैमा झाप्रो (बाँसको घास ) काट्दा बास घारीबाट खसेर बुवाको देहवासन भयो। आशाराम दाई सानैमा टुहुरा भए , २ भाइ, १ बहिनी आमा र उनी गरी ४ जनाको परिवारमा आमाले जेनतेन परिवार पाल्दै आएकी थिइन्।

एक दिन नदीले बगाएर ल्याएका दाउरा (बौरेठा ) लिन भदौरे भेलमा उनी नदीको किनारमा गइन्। भदौरे भेलले उनकी आमा देउकुमारीलाई बगायो। अब भाइबहिनी पाल्ने जिम्मा आशाराम दाइको काँधमा आयो।

भर्खर १६ टेकेका आशाराम दाइले १३ वर्षका भाइ र ११ वर्षकी बहिनीलाई निमेक पर्म गरेर स्कुल पढाउँदै गए।

गाउँमा आशाराम दाइको परिवारलाई सबैले माया गर्थे। श्राद्ध रुद्री जपपाठमा सबैले उनीहरूलाई बोलाउँथे।

उमेर बित्दै जाँदा आशाराम दाइको विवाहको कुरा चल्यो।२२ वर्षीय आशाराम दाइलाई अलि पर लामाघरे ठूला कान्छाकी एक्ली छोरीसँग सबैको सरसल्लाहमा विवाह गरे।

ठूला कान्छाले पनि छोरीसँग उनले आफ्नो जायजेथा पनि दिने घोषणा गरे। दमका रोगी ठूला कान्छाको छोरी दिएको १४ महिनापछि देहवासन भयो।

यता आशाराम दाइले पनि भर्खर छोरो पाएका थिए। ससुराको काजक्रिया गरेपछि उनले ससुरालीको जायजेथा लिए। अनि गाउँकै तरकारी समूहबाट १५ हजार पैसा ऋण गरी केही छिमेकीको जग्गा पनि भाडामा लिएर उनले बेमैसमी तरकारी खेती गर्न थाले।

भक्तपुरको लोकल काक्रो मनिमेकर र लप्सी जातको टमाटर टोकीनासे मूला, घिरौला, हरियो हुँदै बोट बिरुवा हर्लक्क सप्रन थाले। उनले रातभरि पानी बोकेर धारा नजिकैको पानी बोकेर नै पनि पानी र मलखादको कमी हुन दिएनन्।

गाउँले पनि उनको काममा खुसी थिए। पिप्लेको चिया पसलमा गफ हुन थाल्यो। आशारामको दिन फिर्ने भए, अब कमाउने भयो भन्दै गाउँले उनले गरेको प्रगती देखेर खुसी हुन थाले।

तर आशारामको खुसी धेरैबेर टिकेन। भारी वर्षासहित आएको असिना पानीले आशारामको सबै बाली नष्ट गर्‍यो।

उनको आशामा निराशा छायो। तर उनले हरेश भने खाएनन्।

आशारामको अवस्था पाखा थर लप्टन बाजेको छोरा विचारी कान्छाले पनि थाहा पाएछन्।

एक दिन आशारामलाई बोलाए, र उनलाई सहयोग गर्ने बाचा गरे।

उनले गाईपालन गर्ने आफ्नो सोच बताए।

लामा गाउँ जिम्माल र रातामाटे गैर्है दाइको सहयोगमा विचारी कान्छाले सहुलियत ऋण दिए। र त्यही ऋणले उनले २ वटा जर्सी गाई ल्याए।

बिहान उठेर गाईको स्याहार सुसार गर्ने अनि दुध बेच्न थाले।

बिहान ८ लिटर बेलुकी ६ लिटर दैनिक दूध बेच्न थाले। ५ महिनामै उनले एउटा गाईको आधा पैसा फिर्ता गरे।

अब सन्तोषको दिन आउन थालेको आशारामलाई नेपालमा सुरू भएको जनयुद्ध र नेपाल बन्दले आक्रान्त पार्न थाल्यो।

नेपाल बन्दमा हिँडेर बजार जाँदा ३/४ घन्टा लाग्ने। घरमा दूध राखौं भने ठाउँ छैन। गाउँको डेरी आइसक्रिम बनाउने सानो कारखाना पनि बन्द थियो। बन्द पनि किन नहोस् दैनिक १८ घन्टा लोडसेडिङ।

२०६२ चैतको १८/१९ तिर गाई अलि बिरामी भयो १/२ दिन त विचार गरे तर गाईलाई खोरेत लागेछ।

आशाराम दाइ भेटेनरी गए। भेटेनरीका यादव सर तराई गएका रहेछन्। उनीनी चैतको अन्तिम साता आउने थाहा पाए।

जनआन्दोलन सुरू भयो। यादव सर आउन पाएनन्। गाई खोरेत लागेरै मर्‍यो। योसँगै उनले जिन्दगीदेखि हरेस खान थाले।

लेते गाउँको मित सालोले आशारामलाई साउदी लैजाने कुरा गरे। मित सालो जिरेले भनेझै ६० हजार ऋण गरेर उनी साउदी गए।

साउदीको दमाममा ५०० रियलमा आवुद्रिया रोड कुवेत जाने रोडको एक पेट्रोल पम्पमा काम गर्न थाले। तलब अति न्यून जेनतेन उनले गएको पैसा तिरे।

२ वर्ष त्यहाँ बसेपछि उनी फेरि नेपाल फर्किए।

गाउँको एक भाइ युरोप गएर राम्रै पैसा कमाएर ग्रीन कार्ड बनाएर आयो। गाउँमा खाएको थाल पनि नमाज्ने भाइ अहिले युरोपमा गएर कमाएको देख्दा उसलाई युरोप जाने हुटहुटी चल्यो।

आफैंले चिनेको एक जना एजेन्टमार्फत् उनी स्पेन जानका लागि तयार भए। एजेन्टले उनलाई एउटा कम्पनी खडा गरेर कम्पनीको डाइरेक्टर बनाइदियो। उनी स्पेनमा वाइन कसरी बन्छ? भनेर वाइन उत्पादन र अंगुर फ़ार्म भ्रमण गर्ने र नेपालमा पनि त्यसरी नै उत्पादन बढाउने आशयमा स्पेनमा भिसा अप्लाइ गरे।

भिसा लाग्यो पनि। भिसा लागेपछि उनलाई एयरर्पोटमा केरकार गरियो।

वाइन भन्ने समेत थाहा नभएको उनी फसादमा परे। र एयरपोर्टबाटै उनलाई फर्काइयो। तर एजेन्ट चिनेको परेकोले अर्को उपाय अपनाइयो।

एक लाखमा सेटिङ मिल्ने प्रस्ताव आयो।

उनलाई जसरी पनि जानु नै थियो। त्यसैले एक लाख बुझाउन उनी तयार भए। बुझाएको एक हप्तापछि उनी स्पेन उडे।

स्पेनको वार्सिलोनाबाट उनी पोर्चुगलको लिजवन आए।

लिजवनमा भएका चिनजानका दाजुभाइले सहयोग गरे। सन् २०१० को पहिलो महिना पोर्चुगल आएका आशाराम दाइले दु:ख जति पाए पनि कार्डचै १५ महिना मै बन्यो।

पोर्चुगलमा पनि उनले दिनरात नभनी दु:ख गरे। महिनाको १५० युरोमा काम गरेका उनले सन् २०१६ सम्म आउँदा ५८० सम्म कमाउन सक्ने भए।

श्रीमतीलाई पनि काम लगाए। दुख संघर्ष गरेर २०१८ को मध्यतिर आशाराम दाइले पासपोर्ट पाए। पासपोर्ट पाएसँगै डेनमार्क गए।

२०१९ को सुरूदेखि उनले डेनमार्कको एसिस्टेन्सी भन्ने कम्पनीमार्फत् क्यान्टिनमा हेल्फरको काम गर्न थाले। त्यहीँ कम्पनीबाट काममा जाँदै उनले मायर कम्पनीमार्फत् ठूलो अफिसको क्यान्टिनमा काम गर्न थाले।

हप्ताको ५ दिन क्यान्टिन र बेलुकी ६ बजेबाट १० बजेसम्म रेस्टुरेन्टमा पार्ट टाइम काम गर्न थाले।

शनिबार आइतबार पनि एउटा जिम हलमा सरसफाइको काम गर्छन्। अहिले उनले २ लाख ५० हजार महिनाको सबै खर्च कटाएर बचाउँछन्।

उमेरले ४२ वर्षीय आशाराम दाइको सपरिवार अहिले डेनमार्कमा बस्छन्।

श्रीमतीले पनि कोपन हेगनको एक होटलमा हाउस किपिङ गर्न थालिसकेकी छन्। छोरो पनि १८ टेक्यो। एयरर्पोट नजिकै सानो तिनो काम गर्छ।

आफ्नो पुरानो ऋण तिर्नको लागि गत महिनाबाट उनले ४ लाखको दरले नेपालमा पैसा पठाउन थालेका छन्।

आज भोलि कसैले फोन गरेर सोध्यो भने आशाराम दाइले भन्छन् ‘४० वर्षसम्म घुमौं, रमाऔ अनि ४० काटेसी कमाऔं।’

उता काउरवोटे गाउँतिर त गीतको बोल नै ‘पोर्चुगल (युरोप ) जाऔं पासपोर्ट बनाऔं अनि ४० कटेसी कमाऔं’ छ।

आशाराम दाइको दु:ख, मेहेनत अनि संघर्ष देख्दा हामीलाई पनि यही भन्न मन लाग्यो ‘पोर्चुगल जाऔं, पासपोर्ट बनाऔं, ४० कटेसी कमाऔं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *