समाचार समाज

‘श्रीमानलाई भन्दिएँ- बाजा घन्काएर अर्को बिहे गर्नू, म रुन्नँ’ [भिडियोसहित]

साउन २८, काठमाडौं । १९१० सालको मुलुकी ऐन नेपालको पहिलो लिखित कानुन मानिन्छ। यो रिपोर्ट अमृता लम्सालले सेतोपाटी अनलाइनका लागि तयार पारेकी छन् ।

तस्बिर: नारायण महर्जन/सेतोपाटी

त्यसपछि वैधानिक कानुन २००४, वैयक्तिक स्वतन्त्रतासम्बन्धी ऐन २००६, अन्तरिम शासन विधान २००७ लगायत कानुन बने। तर यिनमा महिलामाथि हुने घरेलु हिंसा सम्बन्धी कानुन थिएन।

२०६६ सालमा घरेलु हिंसा ऐन आएपछि मात्रै हो, महिलामाथि हुने हिंसाबारे उजुरी गर्न र सजाय दिलाउन अलि सजिलो भएको।

तर यमकला पंगेनीले आफूमाथि भएको हिंसाको उजुरी गर्न ६६ सालसम्म पर्खिनन्। १९९५ सालमा जन्मेकी यमकलाले उ जमानामै मुखियाको दैलोमा गएर उजुरी दिएकी थिइन्।

ऋषिराम र खगिसरा खनालकी छोरी यमकला चितडाँडा, स्याङ्जामा जन्मिएकी हुन्। रजस्वाला नहुँदै यमकलाको बिहे आँधिघाट, स्याङ्जाका मित्रलाल पंगेनीसँग भएको भयो। मित्रलाल जजमानी गर्थे। घरमा सासूससुरा मात्र थिए। चार जनालाई खानबस्न पुग्दो।

तर ‘बुहारी’ले सुखसँग बाँच्न पाउने समय थिएन त्यो। सखारै उठेर घाँस-दाउरा गर्थिन्। टाढा पुगेर पानी ओसार्थिन् यमकला। खाने बेलामा भने सधैं सासूको आँखाको ‘कसिंगर’ हुने गरेको उनले बताइन्।

‘सासूले खान नदिने मात्र होइन, हातै छाड्थिन्,’ ८१ वर्षीया यमकलाले अतीत सम्झिँदै भनिन्। सधैंको किचकिच र कुटाइ खाँदाखाँदा एक दिन यमकलाको सहनशक्तिले सीमा नाघ्यो।

‘त्यो दिन मेरी छोरी भोकाएकी थिई। बारीबाट मकै ल्याएर पोल्न भनेर गोठमा गएकी थिएँ,’ उनले सुनाइन्,’सासूले देखेपछि मकै खोसिन् र बलिरहेको अगुल्टोले मुखैमा झोस्न खोजिन्। सासूको हातबाट अगुल्टो तानेर फ्याँके। छोरी पिठ्यूँमा बोकेर मुखियाका घर गएर सबै सुनाएँ।’

आफ्ना श्रीमान मित्रलालले माया गर्ने भए पनि आमाको अगाडि केही बोल्न नसक्ने यमकला बताउँछिन्। उनले सासूले आफूमाथि गरेको अन्याय, अत्याचार र हिंसाकोविरूद्ध उजुरी दिइन्।

यमकलाको हिसाबमा यो २०२२ सालतिरको कुरा थियो। त्यसबखत उनका जेठा छोरा नौ वर्ष र छोरी चार वर्षका थिए।

उनको साहस र आँट सुनेर अचम्म मान्दै सोधेँ, ‘त्यतिबेला कानुन थियो त, कुट्यो भने गएर उजुरी गर्ने?’

‘खै, के कानुन थियो त्यो त थाहा भएन। तर खबर गर्न सबै स्याङ्जा जान्थे,’ उनले सुनाइन्, ‘हाम्रो घरमा पुलिस आएको हो। तर पुलिस मैले बोलाएको होइन, कसले झिकाएछ थाहै भएन।’ त्यो बेला कुनै कानुन भए पनि गाउँघरकी महिलाले आफ्नै सासूविरूद्ध उजुरी गर्नु सानोतिनो आँटले भ्याउने वातावरण थिएन।

अर्को जिज्ञासा राखेँ, ‘हजुरले पढ्नु भएको थियो ?’ ‘कहाँ पढ्नु। अक्षर फोर्न त म यहाँ ओमशान्ति आएर सिकेकी हुँ,’ उनले भनिन्।

यमकलाले ‘अक्षर फोरेको’ भन्नुको मतलब अक्षर चिनेको। त्यो बीस वर्षअगाडि काठमाडौं आएपछिको कुरा हो। उनले लेख्न पनि सिकेकी छन्। पढ्न-लेख्न नजानेरै पनि उनले आफूमाथि भएको अन्यायविरूद्ध बोलिन्।

उनका अनुसार घरमा पुलिस आयो। तर सासूकै बारेमा उजुरी गरेकाले आएको होइन रहेछ। उनले मुखियाकहाँ पुगेर आफूले सधैं सासूको अत्याचार सहँदासहँदा आजित भएको सुनाएपछि मुखियाले गाउँको एउटा घरमा ‘पञ्चायत’ डाकेछन्।

यमकलालाई, ‘त्यहाँ गएर बस्दै गर्नू, म त्यहीँ आउँछु’ भनेका रहेछन्। मुखियाले भनेको स्थानमा पुग्दा यमकलाका श्रीमान आफ्नी आमाविरूद्ध पोल लगाउने श्रीमतीलाई पिट्न लाठी लिएर बसेका रहेछन्।

जब यमकला त्यहाँ पुगिन्, श्रीमानले उनको पिँडौलामा लाठी बजारे। आफूलाई जोगाउन देब्रे हातले छेक्न खोजेकी उनको हातमै लाठी नराम्रोसँग बज्रियो। र, पाखुरा नै बांगिने गरी भाँचियो। त्यसपछि यमकला मुर्छा परिन्। श्रीमान डराएर लुके।

त्यहाँ भएका व्यक्तिहरूले उनलाई मुर्छाबाट ब्युँझाए। ब्युँझनेबित्तिकै उनी श्रीमानलाई खोज्दै भनिछन्, ‘मेरो राजा खोई? म केही गरी ४५ दिनभित्र मरेँ भने पनि मेरो राजालाई पुलिसकहाँ नपठाउनू।’

उनी सम्झन्छिन्- ‘पुलिस आएपछि श्रीमानले ‘पुलिस झिकाइस्’ भन्नुभयो।’

उनले भनिछन्, ‘पुलिस आए पनि मैले कसरी जान दिम्ला त। तपाईंका पछि म लागौंला, मेरोपछि छोराछोरी लाग्छन्। कसरी जान दिम्ला म।’

श्रीमानले भनेछन्, ‘ल, तैंले जोगाए जोगिइने भएँ। तैंले पारे पर्ने भएँ।’ ‘मैले पारिनँ। म मरे पनि नथुनाउनू भनेपछि सकियो नि,’ उनले सुनाइन्। मुर्छा परुञ्जेल कुटाइ खाँदा पनि श्रीमानप्रतिको उनको व्यवहार सुनेर सोधेँ, ‘रिस उठ्दैन थियो?’

‘उठेन। के उठ्नु नि। बोल्न पनि पाइँदैन थियो। माया गर्न नि पाइएन। मिल्न नि पाइएन। हाँस्न पनि पाइएन,’ यमकलाले भनिन्।

घरमा पुलिस आएपछि उनका श्रीमान एकदमै डराएछन्। आमासँग गएर भनेछन्, ‘बरू, काभ्राको रुखबाट झरेर मर्न पाए पनि हुन्थ्यो। म मरेर जान्थेँ, तिमी सञ्चले बसेर खन्थ्यौ।’

आफूमाथि रातदिन भएको हिंसा र त्यति ठूलो चोटका बावजुद श्रीमानप्रति यमकलाको स्नेह र प्रेम अलिकति कम भएको देखिन्न।

भन्छिन्, ‘हात भाँचिएको एक महिनासम्म मैले केही गर्न सकिनँ। हातमा गाउँकै जडिबुटी लगाएर काम्रो बाँधेको थियो। मलाई उहाँले नै खुवाउनुभयो। ओल्टोकोल्टो फर्काउनुभयो।

यमकलाको हात राम्ररी ठीक भइसकेको थिएन, कृष्णाष्टमी आइपुग्यो। यसको अघिल्लो दिन उनीहरूको गाउँमा दर खाने चलन रहेछ।

श्रीमानले, ‘दर के पकाउने’ भनेर आमालाई सोधेछन्। आमालाई बुहारीलाई दर खान दिने कुरा पचेनछ र भनिछन्, ‘जकाउनि (खुवाउने) र?’

‘सासूले त्यसो भनेपछि खान नदिने कुरा भयो। म भोकै सुत्नुपर्ने भएपछि श्रीमानलाई पनि पीर पर्यो,’ उनले सुनाइन्। यमकला आँटिली नै हुन्। अँगेनाको ढोका लात्ताले हानेर खोलिछन्।

उनले त्यो दिनको घटना विस्तार लाइन्। ‘दुई कुन्या दूध र बिघौती थियो। छोराछोरीलाई दुइटा कटौरामा निकालेर बाहिर राखिदिएँ र मैले पनि टन्नै खाएँ।’

त्यही बेला मुखिया आइपुगेछन्। सासूले मुखियालाई, ‘भिनाजु भित्र हेर्नुस् त, के गरेको रहेछ। यस्तोमा म कसरी बस्ने’ भन्दै भित्र ल्याइन्।

यमकलाले भनिदिइन्, ‘सके भनेँ अर्को कुन्युको नि खान्छु आज। अन्तिमपटक हो यो घरभित्र खाने। आजबाट म यहाँ बस्दिनँ।’

भाँचिएको हात लिएर उनी घरबाट निस्किन्। दाउरा र खर लिएर तल्लो घरतिर गइन्।

‘बारीमा मकै छ, दिए खाउँला, नदिए भाचौंला भनेर दुइटै छोराछोरी लिएर हिडेँ,’ यमकलाको आँट जीवनभर उनीसँगै पछि लाग्दै गएछ।

श्रीमानले गाउँकै दाजुभाइ पर्नेसँग यमकलालाई, ‘कुन जग्गा दिँदा ठीक हुन्छ’ भनेर सोध्दै थिए रे।

यमकलाले आफ‌ैं ‘यो-यो लिन्छु’ भनेर छानिछन्। घरबाट निस्किएको केही समयपछि आफ्नै जग्गामा सानो घर बनाएर बस्न थालिन्। त्यो दिनदेखि आजसम्म यमकला आफ्नै शर्तमा बाँचेकी छिन्, हारेकी छैनन्।

उसै त बुहारीलाई देख्नै नसक्ने सासू, बुहारी आफैं निस्किएर हिँडेपछि ‘कुचोले बढार्नुपर्ने कसिंगर हावाले बढारिदियो’ जस्तै भयो।

मित्रलालको बिहे गरिदिन अर्की केटी मागिछन्। यमकलाको हात भाँचिदिएको छ महिनामै उनका श्रीमानको दोस्रो बिहे भयो।

बिहेका दिन मित्रलाल रुमालमा कपडा पोको पारेर एउटा कट्टु मात्र लगाएर उनीकहाँ आएर भनेछन्, ‘तँ रुन्नस् भने मात्र म लुगा लाएर हिँड्छु।’

‘बाजा घन्काएर जानू, म त रुन्नँ,’ यमकलाले जवाफ दिइन्। ‘यसै जोगी, उसै जोगी, खरानी घस्न के दुःख भयो जोगीलाई,’ यति भनेर उनका श्रीमान लुगा पोकै पारेर कट्टु मात्र लगाएर निस्किए रे।

यमकला अनुमान लगाउँछिन्, ‘पछि बाटोतिर लगाएको होला लुगा।’

जुन उनको घर थियो, नयाँ दुलही भित्रिइन्। संयोग, नयाँ बुहारीको नाम पनि यमकला रहेछ। दोस्री यमकला भित्र्याए पनि मित्रलालको मन जेठी यमकलाबाट टुटेन।

उनी अरूलाई भन्ने रहेछन्, ‘त्यसलाई यो घरमा मिसाइ दिनेलाई म भगवानसरह मान्नेछु। त्यो आएर रोटी पकाएर दिए देखिन् खुसी हुन्छु।’

तर यमकला सौतासँग बस्न गइनन्। बरु त्यो घटनाको चार वर्षपछि श्रीमान कहिलेकाहीँ उनकै घर आउन थाले। उनीहरूका अर्का छोरा जन्मिए।

दोस्री यमकलालाई पनि सासूले उत्तिनै सताइन्। मित्रलाल श्रीमती यमकला’हरू’ लाई माया गर्ने तर आमाको दुर्व्यवहारका अगाडि वाक् नफुट्ने!

यमकलासँग कुराकानी गर्दा उनकी बुहारी र नातिनी बुहारी सँगै थिए। उनी ठेट भाषा, दाँत नभएको र छिटोछिटो बोल्ने हुनाले मलाई बुझ्न गाह्रो परेको थियो। त्यसैले उनका भनाइ बुझाइदिने दुई पुस्ताका बुहारी भए।

मित्रलालकी आमालाई सुख होस् भनेर यमकलाकी बुहारीलाई पुरानै घरमा भित्र्याइएको रहेछ।

उनी भन्छिन्, ‘सासूसित घिटाइदिए त के गर्ने।’

अलि वर्षपछि उनी, छोराबुहारी, सौता र श्रीमान सबै साथै बस्न थालेछन्। केही समयपछि यमकलाका छोराबुहारी पञ्जाव गई काम गरे। उताबाट फर्किएपछि सातदोबाटोमा पसल खोलेर बस्न थालेछन्।

यमकलाका श्रीमान र सौताको मृत्यु भइसकेको छ। उनका छोरा रामचन्द्र पंगेनीको पनि ४६ वर्षमै मृत्यु भयो।

उनकी बुहारी राधिका बाथरोगले थलिएको वर्षौं भइसक्यो।

सोधेँ, ‘हजुरले त आफ्नो सासूबाट धेरै दु:ख पाउनुभएछ, आफ्नी बुहारीलाई कस्तो व्यवहार गर्नुभयो नि?’

‘यिनी आफैं थला परेकी छिन्, क्यान नराम्रो हुनु। आजसम्म केही भाको छैन। ऊ रोगले थलिएकी छ, रिस उठे पनि आफैं मार्नु परिहाल्छ,’ सोझो जवाफ दिन्छिन् उनी।

उसो त यमकला सौतासँग पनि मिलेरै बसेको राधिका बताउँछिन्। भन्छिन्, ‘दुइटीको कहिल्यै नराम्रो भएन। दिदीबहिनी जसरी मिलेर बस्या हुन्।’

१५ वर्षसम्म योग, ध्यान गरेकोमा सम्मान पाउँदा यमकला। तस्बिरः यमकलाको पारिवारिक संकलन
नातिनी बुहारी एलिना पंगेनी थप्छिन्, ‘हाम्रो उता (स्याङ्जातिर) दुइटा बिहे गर्ने चलनै थियो। राम्रै सम्बन्ध भए पनि खेतिपाती, वस्तुभाउको काम धेरै हुने भएकाले दुइटा बिहे गर्ने। हजुरआमालाई नि सामान्य लागेर होला सौतासँग मिलेरै बसेको।’

अहिले यमकलाको चार पुस्ता (पनातिहरू समेत) एउटै घरमा बस्छन्। यमकला छुट्टै तलामा बस्छिन्। यो उमेरमा पनि आफैं पकाएर खाने, आफ्ना लुगा धुने लगायत सबै काम गर्छिन्। ओमशान्ति आश्रम जानु, प्रवचन सुन्नु उनको दिनचर्या हो।

ओमशान्तिका गुरुहरूले उनलाई, ‘अब यो समय धेरै छैन’ भनेका रहेछन्।

‘विनाश हुन्छ अब। सबै पापी भए भन्नुभएको छ गुरूहरूले,’ उनी सुनाउँछिन्। ८० उमेर काटेकी यमकलाको विश्वासमाथि वहस वा विवाद गर्न जरुरी छैन। उनको व्यक्तित्वले धेरैलाई प्रेरणा दिन चुक्दैन, सत्य यही हो।

हिम्मतिली यमकला रसिली पनि उत्तिकै छिन्। गीत र श्लोक गाउन दंग परेर तम्सिने।

‘म र मेरी छोरी गाउँ हुँदा एकदमै गीत गाउँथ्यौ,’ उनले सुनाइन्, ‘तीन दिन, तीन रात नखाइकन गाउन सक्ने हामी। हामीलाई ‘तीजको गीतको पोको’ भन्थे।’

यो नाम चाहिँ उनका श्रीमानले नै राखिदिएका रे।

अहिले पनि आफूलाई गीत र श्लोक फुर्ने उनी बताउँछिन्।
‘श्लोक त जति नि छ,’ उत्साहित हुँदै सुनाइन्, ‘व्यासको भन्छु हइ।’

भन्छन् व्यास अनि उतातिर पनि रान र छोरा गए,
बुढा भ्रमणको परेर कर्णा कामकाज गर्दै रहे।

साधिकासँग राजपुत्र बन्न खेल्दै गएका थिए,
देखेछन् कुसको शेरन भनी घारी देख्या ती गए।
निश्चय कवि सारो सर्वजसो मर्द भए रोई त गए,
यो संसार भनुँ भने भनिकन सबै फर्की गए बालक।

सन्ध्याकाल उहाँ पुगेर सबैलाई यो हार सुनाए जसै,
हा हा पुत्र भनी लडिबुडी गरी ती रुन लागिन् तसै….।।
उनले भाका हालेका श्लोक शब्दमा उतार्ने सुनाएँ मैले।
यमकलाले भनिन्, ‘टेलिभिजनमा देखिने रहर छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *