राजनीति समाचार

कश्मीरमा आन्दाेलन, चीनकाे आँधीदेखि उत्तर काेरियाकाे क्षेप्यास्त्रसम्म

साउन २५, काठमाडौँ ।

तान्जानियामा तेल ट्यांकर विस्फोट हुँदा ६० को मृत्यु, सयौं घाइते

तान्जानिया : तान्जानियामा तेल ट्यांकर विस्फोट हुँदा कम्तिमा ६० जनाको ज्यान गएको छ । अरु सयौं घाइते छन् । शनिबार राजधानी दार ए सलामनजिकै मोरोगोरो सहरमा विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ । यस्तो घटनाको भिडियो समेत सामाजिक संजालमा सार्वजनिक भएको छ । घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिँदै छ ।

कफ्र्यू तोडेरै कश्मीरमा भव्य प्रदर्शन : ‘वी वान्ट फ्रिडम’

श्रीनगर : कश्मीर काण्डबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको पर्सीपल्ट अगस्ट १० मा कश्मीरमा भव्य आन्दोलन सहितको एक भिडियो सार्वजनिक भएको छ । टेलिफोन लगायत सञ्चार विच्छेद गर्दै कफ्र्यू लगाइएको कश्मीरमा हजारौं नागरिक सडकमा उत्रिएर आन्दोलन गरेको भिडियो बिबिसीले सार्वजनिक गरेको हो ।

आज शनिबार कश्मीरमा भइरहेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीले अश्रूग्यास प्रहार गरिरहेको छ । बिबिसीले सार्वजनिक गरेको भिडियोमा हजारौं मानिस सडकमा देखिन्छन् । उनीहरु भारतविरुद्ध नारावाजी गरिरहेका देखिन्छन् । ‘गो इन्डिया गो ब्याक’, ‘वी वान्ट फ्रिडम’ जस्ता नारावाजी उनीहरुले लगाइरहेका छन् । भारत सरकारले कश्मीरको विशेषाधिकार खारेज गरिदिएपछि नै यहाँ आन्दोलन हुँदैआएको बताइएको छ ।

इजरायली सेनाको आक्रमणबाट चार प्यालेस्टायनीको ज्यान गयो

इजरायल : इजरायली सेनाको आक्रमणबाट चारजना प्यालेस्टाइनी नागरिक मारिएका छन् । गाजा र इजरायलको सीमा क्षेत्रमा शनिबार बिहान उनीहरुको ज्यान गएको हो ।

इजरायली सेनाले भने उनीहरुमध्ये एकजना इजरायली क्षेत्रभित्र छिर्न खोजिरहेको बताएको छ । इजरायली सीमामा पस्न खोज्दा फयरिङ खोलेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हमासबाट शासित गाजा र इजरायलबीच एक दशकमै तीनवटा युद्ध भइसकेका छन् ।

चीनमा आँधीबाट १८ को मृत्यु, १४ बेपत्ता

बेइजिङ : पूर्वी चीनको झेजियाङ प्रान्तमा भिषण समुद्री आँधीका कारण १८ जनाको मृत्यु भएको छ । अरु १४ जना हराइरहेका छन् । चिनियाँ मिडिया सिसिटिभीका अनुसार आँधीले हजारौं रुख ढलाउनुका साथै लाखौं मानिस विस्थापित भएका छन् । आँधीसँगै झेजियाङ क्षेत्रमा बाढी, पहिरो समेत गएको छ ।

यमनमा सैनिक क्याम्प पृथकतावादी समूहको कब्जामा

यमन : दक्षिणी यमनको अडेन क्षेत्रमा रहेका सबै सैनिक क्याम्पलाई यहाँका पृथकतावादी समूहले कब्जामा लिएका छन् । अधिकारीका अनुसार सरकारसँग लडाइँ गरिरहेका पृथकतावादी समूहले चौँथो दिन शनिबार सैनिक क्याम्प कब्जामा लिएका हुन् ।

भारतमा बाढीका कारण १ सयको मृत्यु

नयाँदिल्ली : भारतको केरलामा बाढीका कारण १ सय जनाको मृत्यु भएको छ । सयौं मानिस विस्थापित भएका छन् । सेना तथा प्रहरीको टोली अहिले उद्धारका लागि अहिले यस क्षेत्रमा खटिएको छ । भारतका विभिन्न राज्यमा पछिल्लो केही दिनयता बाढीले जनजीवन प्रभावित पारेको छ । विभिन्न राज्यमा तीन लाख भन्दा धेरै मानिस विस्थापित भएको बताइएको छ ।

उत्तर कोरियाको फेरि क्षेप्यास्त्र प्रक्षेपण

सोल : उत्तर कोरियाले फेरि दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । छोटो दूरीका यी क्षेप्यास्त्र उत्तर कोरियाले एक महिनाको अवधिमै गरेको पाँचौं पटकको प्रक्षेपण हो । यही विषयलाई लिएर अमेरिकासँग विवाद भइरहँदा उत्तर कोरियाले पटक पटक क्षेप्यास्त्र प्रक्षेपण गर्दैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *