मनोरञ्जन समाचार

नायिका स्वस्तिमा खड्काले दिईन यस्तो अन्तर्वार्ता [भिडियोसहित]

यो अन्तरबार्ता नेपाललाइभका लागि अनिल यादवले लिएका छन् । बजारमा एकपछि अर्को कलाकारले आफ्नो पारिश्रमिक रु २० लाखदेखि ५० लाखसम्म दाबी गरिरहेका बेला केही दिनअघि अभिनेत्री स्वस्तिमा खड्काले ‘हजार जुनीसम्म’ फिल्मको ट्रेलर लन्च कार्यक्रममा भनिन्, ‘मैले २० लाखको पारिश्रमिक लिन्छु भनेचाहिँ ५० लाखको अडियन्स तान्न सक्नुपर्छ। मैले २० लाख लिँदा प्रोड्युसरको हातमा ५ लाख पनि भएन भने त अप्ठेरै हुन्छ नि!’

उनको यो भनाइले फिल्मवृत्तमा ठूलो तरंग ल्यायो। कतिले उनको यो टिप्पणीलाई पूजा शर्माप्रति व्यंग्य भनेर पनि व्याख्या गरे। पूजासँग नाम जोडएको स्वस्तिमा दुःखी छिन्। तर, आफ्नो भनाइमा अडिग छिन्।

चार वर्षअघि ‘होस्टेल रिटर्न्स’ फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यू भएकी स्वस्तिमा लामो समय नेपाली फिल्ममा ‘लभर गर्ल’का रुपमा देखापरिन्। ‘बुलबुल’मा अचानक उनको चरित्र फेरियो। टेम्पो चालकको भूमिका निर्वाह गरेसँगै उनलाई अहिले नेपाली फिल्म क्षेत्रमा भर्सटायल अभिनेत्रीका रुपमा लिन थालिएको छ। यही फिल्ममा गरेको अभिनयका कारण उनले सार्क फिल्म फेस्टिभलमा जुरी पर्फमेन्स अवार्ड जितिन्। नेपाल फर्किएलगत्तै नेसनल फिल्म अवार्डमा पनि उनी नै उत्कृष्ट अभिनेत्री घोषित भइन्। यो सफलताबाट उनी दंग छिन्। सँगसँगै जिम्मेवारी झन् थपिएको महसुस पनि गरिरहेकी छन्।

उनको पारिश्रमिक धारणा, अवार्ड अनुभव र फिल्म करिअरलाई लिएर नेपाल लाइभका लागि अनिल यादवले गरेको कुराकानी:

कलाकारले गर्ने महँगो पारिश्रमिकको दाबीलाई लिएर तपाईंले आफ्नो भनाइ राखेपछि अहिले फिल्मवृत्त तरंगित छ। तपाईंको अभिव्यक्तिलाई पूजा शर्मासँग जोडेर समाचार बनेपछि मिडियासँग पनि आक्रोशित देखिनुभयो। खास चित्तदुखाइ केमा हो?
मिडियाभन्दा पनि अनैतिक मिडियासँग म रिसाएकी हुँ। ‘बुलबुल’को रिलिज समयमा पनि मैले भनेकै हो, यहाँ हातमा बुम र क्यामेरा बोकेर ‘अनइथिकल न्युज’ लेख्ने धेरै भए। यसपालि पनि त्यस्तै भएको हो। यो मेरो हकमामात्रै भएको होइन, यहाँ सबै कलाकारको हकमा यस्तै हुन्छ।

अहिलेको अवस्थामा नेपाली कलाकारले महँगो पारिश्रमिक लिनु हुँदैन भन्ने तपाईंको आशय हो?
मैले त्यो कार्यक्रममा भनेको पनि के हो भने– मैले २० लाखको पारिश्रमिक लिन्छु भनेचाहिँ ५० लाखको अडियन्स तान्न सक्नुपर्छ। मैले २० लाख लिँदा प्रोड्युसरको हातमा ५ लाख पनि भएन भने त अफ्ठेरै हुन्छ नि। यो मैले त्यो प्रेसमिटमा पहिलोपल्ट भनेको होइन, धेरैअघिदेखि इन्टरभ्यूमा भन्दै आइरहेको कुरा हो। त्यही भएर अहिलेसम्म कहीँकतै पनि स्वस्तिमाको पारिश्रमिक यति भनेर न्युज आएको छैन। मलाई धेरैले सोध्नुहुन्छ, ‘तपाईं कति पारिश्रमिक लिनुहुन्छ’ भन्दै। तर, म भन्दिनँ।

त्यही त तपाईंको नीति नै बरु उमेर खुलाउँछु तर पारिश्रमिक खुलाउँदिन भन्ने देखियो?
हो। मान्छेहरू भन्छन् नि, उमेर र पारिश्रमिक खुलाउनु हुँदैन। म उमेरचाहिँ खुलाउँछु तर पारिश्रमिक खुलाउँदिन। ‘इभन’मेरो घरमा निश्चल (बस्नेत, श्रीमान्) लाई नै थाहा हुँदैन, मैले कति पैसा लिन्छु भन्ने। घरमा बुबा, आमालाई पनि थाहा हुँदैन।

केही दिनअघिमात्र अभिनेत्री पूजा शर्माले एउटा फिल्मका लागि २० लाख पारिश्रमिक लिएको खबर आयो। त्यसपछि तपाईंले ‘२० लाख’ लाई नै उदाहरण मानेर टिप्पणी गरेपछि पूजामाथि व्यंग्य गरेजस्तो देखियो। व्यंग्य गरेकै हो?
एक त उहाँले त्यति पैसा लिएको खबर मैले पढेको पनि थिइनँ, थाहा पनि थिएन। दोस्रो, त त्योभन्दा अघि देखि नै म त्यो कुरा उठाउँदै आइरहेको छु भने त्यो कसरी व्यंग्य भयो? ‘रिटर्न अफ इन्भेस्टमेन्ट’को कुरा त मैले धेरैअघि देखि इन्टरभ्युहरूमा गर्दै आइरहेको हो। मेरै घरमा प्रोड्युसर हुनुहुन्छ। नजिकका धेरै दाइ–दिदीहरू फिल्ममेकर हुनुहुन्छ। त्यसैले मलाई थाहा छ नि, कति लगानी गर्दा कसरी ‘रिटर्न’ आउँछ भन्ने। त्यसैले मैले के भनेको भने कसैले १५–२० लाख पारिश्रमिक पैसा लिन्छ भने उसको व्यक्तिगत ‘गुडविल’का कारण त्यो फिल्मले ५० लाखको अडियन्सचाहिँ तान्न सक्नुपर्छ। मैले २० लाख भन्दा पूजामाथि व्यंग्य भनियो, सायद ३० या ५० को उदाहरण दिएको भए अरु कोही कलाकारमाथि व्यंग्य गरेको भनेर जोडिन्थ्यो। मुख्य कुरा त मैले कति रकमको उदाहरण दिएँ भन्दा पनि के भन्न खोजेको, कुस्तो प्रवृत्तीविरुद्ध बोलिरा’छु, ठीक बोले कि सही त्यतातिर समीक्षा हुनुपर्ने होइन र?

नेपाली फिल्मको व्यापारसँग जोडिएको ‘ग्राउन्ड रियालिटी’बारे तपाईंलाई राम्रो जानकारी छ। एउटा कलाकारले २० या ५० लाख लिँदा अहिले नेपाली निर्माता ‘सेभ’ हुने अवस्था छ?
‘छक्कापन्जा’लाई अपवाद राख्ने हो भने कुन फिल्मले राम्रो पैसा कमाएको छ। अस्ती ‘जात्रैजात्रा’ले कमायो। मुस्किलले ३–४ करोड ग्रस कमाएका फिल्म एकदमै थोरै छन्। त्यति कमाउने फिल्मबाट पनि निर्माताको हातमा एकदमै कम पैसा हात पर्छ। त्यसैले अहिलको अवस्थामा त्यति धेरै पैसा लिने हैसियत हामी कलाकारसँग निश्चित रुपमा छैन।

कतिसम्म लिने हैसियत बनिसक्यो भन्ने लाग्छ?
१० वर्षअघि जति लिइन्थ्यो, त्यति नै लिनुपर्छ भन्ने होइन है फेरि। अरुको हकमा यति लिनुस्, उति लिनुस् भनेर मैले तोक्न मिल्दैन। त्यो उहाँहरूले बुझ्ने कुरा हो। तर, मेरो हकमा म कलाकार हो, त्यसैले मेरो कुनै रेट छैन। रेट राख्नलाई म कुनै वस्तु पनि होइन। १० दिनमा काम सकिने फिल्म छ भने अलि थोरै पैसा लिन्छु, २० दिनमा सकिने छ भने त्योभन्दा अलि धेरै लिन्छु। ‘बुलबुल’जस्तो विरलै बन्ने सिनेमामा काम गर्दैछु भने एकदमै कम पैसामा काम गर्न पनि सक्छु। त्यसैले मेरो कुनै रेट छैन। र,अहिलेको अवस्थामा फिल्म इन्डष्ट्रीमा कोही एक्टरले रेट बनाएर काम गर्नु भनेको इन्डष्ट्रीलाई ‘पुस’ गर्नुभन्दा पनि ‘पुल’ गर्नु हो। एउटा जिम्मेवार कलाकारले आफ्नो पारिश्रमिक तोकिरहँदा हाम्रो फिल्म बजारको अवस्थालाई पनि मध्यनजर गर्नुपर्छ भन्ने लाग्छ।

प्रसंग बदलौं। भर्खरै ‘बुलबुल’बाट नेसनल फिल्म अवार्ड पाउनुभयो। सार्क फिल्म फेस्टिभलमा पनि जुरी पर्फमेन्ट अवार्ड जित्नुभयो। पहिलोपल्ट अवार्ड थाप्दाको अनुभव कस्तो रह्यो?
बंगलादेशमा सार्क फिल्म फेस्टिभलमा पाएको अवार्ड मेरो जिन्दगीकै पहिलो अवार्ड थियो। इन्टरनेशल प्लेटफर्ममा गएर अवार्ड थाप्दाको अनुभव अलि बेग्लै हुँदो रहेछ। त्यहाँ आफूले स्वस्तिमा भएरभन्दा पनि नेपाल भएर गइएको हुँदोरहेछ। स्टेजमा नाम भन्दा स्वस्तिमा भनेर नबोलाउने, नेपाल भनेर सम्बोधन गर्दा स्पेसल फिलिङ हुँदो रहेछ।

सार्कबाट फर्किएपछि थाप्नुभएको नेसनल अवार्ड त विवादमा पनि आयो। तपाईंसँगै उत्कृष्ट अभिनेताको अवार्ड थापेका विपीन कार्की स्वयम्ले नतिजासँग असुन्तुष्टि जनाए। तपाईंको धारणाचाहिँ के हो?
विपीन दाइले भन्नुभएको जस्तै मैले पनि जति यसको महत्व होला भन्ने ठानेको थिएँ, त्यति महशुस गरिनँ। बाहिरतिर नेसनल अवार्ड जितेको एक्टर भनेपछि त्यसको छुट्टै भ्यालु हुुन्छ। यहाँ त्यस्तो पाइनँ। त्यसैले आफूले पाउँदा पनि यति धेरै कन्ट्रोभर्सी भइरहेको छ, के भ्यालु भयो त भन्ने लाग्दोरै’छ।

एउटा कुरा सोधिहालौं, तपाईंले आफूले गरेको कामहरूबारे आत्मसमीक्षा कत्तिको गर्नुहुन्छ?

अवश्य गर्छु।

सही या गलत गरेँ भनेर कत्तिको महसुस गर्नुहुन्छ?
एकदमै गर्छु। म आफ्नो कामबाट पूरै सन्तुष्ट त कहिल्यै पनि हुँदिन। ‘बुलबुल’कै उदाहरण दिने हो पनि जताततै सबैले तारिफ गर्नुभयो। सार्क फिल्म फेस्टिभलमा पनि मेरो काम देखेपछि मलाई धेरैले पर्सनल्ली भेटेर बधाईं दिनुभयो। तर, म आफैंलाई त्यो फिल्म हेर्दा कति कुरामा अझै चित्त बुझ्दैन। त्यो फिल्ममात्रै अरु फिल्ममा पनि यहाँ यो पुगेन या त्यो मिस्टेक भएछ भन्ने लाग्छ।

‘बुलबुल’मा चाहिँ के चित्त बुझेन?
धेरै कुरा छ। सिनवाइज मैले बोलेको कुराहरू, यस्तो गरेको भए हुन्थ्यो, त्यस्तो गरेको भए हुन्थ्यो भन्ने लाग्छ। अहिले भएको भए यस्तो गर्थे होला भन्ने पनि दिमागमा आउँछ। कति फिल्म त ठूलो स्क्रिनमा आफैं हेर्न सक्दिनँ।

‘बुलबुल’ रिलिज भएपछि तपाईंको करिअर केही परिवर्तन महशुस गर्नुभएको छ?
अवश्य पनि छ। कर्मसियल दृष्टिकोणबाट हेर्नुहुन्छ भने ‘कुुटुमा कुटु’ गीत रिलिज भएपछि करिअरमा धेरै परिवर्तन आयो। त्यसपछि ‘बुलबुल’ले अर्को परिवर्तन ल्यायो। परिवर्तनका इँटा थपिदै गइरहेका छन्।

‘बुलबुल’अघिसम्म स्वस्तिमाका फिल्महरु रोमान्टिक विधाका थिए। त्यसैले हेर्ने नजर पनि ‘लभरगर्ल’को थियो। तर, अहिले त्यो नजरमा पनि बदलाव आएको होइन र?
पक्कै पनि आएको छ। मैले यस्तो काम पनि गर्न सक्ने रहेछु भन्ने मान्छेहरूलाई फिल भएको छ। मान्छेहरूको मानसिकता बदलिएको पक्कै हो।

सिरियस एक्टरका रुपमा लिन थाले है?
(हाँस्दै) सिरियस त म पहिल्यैदेखि थिएँ। मेरो हकमा भन्दा पनि एक्टिङलाई लिएर बुझिने एउटा समग्र दृष्टिकोणबारे कुरा गर्छु ल। आफूभन्दा विल्कुल फरक भएर यदि कसैले एक्टिङ गर्छ भने त्यसलाई खतरा एक्टर मानिने रैछ, चाहे उसले राम्रो एक्टिङ गरेको होस्/नहोस्। ‘बुलबुल’ गर्नुअघिदेखि नोटिस्ड गरेको कुरा हो यो। हुलिया चेन्ज गरेपछि राम्रो एक्टर हुने क्या! मैले साडी लाउन र डाँडामा नाच्न बन्द गरेर फरक हुलियामा देखापरे भने भर्सटायल एक्टर भन्न थालिहाल्छन्। उसले राम्रो एक्टिङ गरोस्÷नगरोस्, त्यस्तो मानसिक हुनेरैछ क्या दर्शकको। यो फेरि मैले मेरो हकमा भनेको होइन है।

तर, तपाईंको दाबी ‘मैले बुलबुल’अघि पनि राम्रो काम गरेको थिएँ भन्ने हो?
त्यस्तो होइन (हाँस्दै)। थ्यांक गड, मेरो त कामै मनपराउनुभयो। तर, मैले काम राम्रो नगरेर हुलियामात्रै परिवर्तन गरेको भए पनि तारिफ बटुलिन्थ्यो भन्ने खोजेको क्या!

एउटा जिज्ञासा, तपाईंले रोमान्टिक विधाका फिल्म गरिरहँदा अचानक कसरी ‘बुलबुल’जस्तो फिल्ममा अफर आयो?
मैले यो फिल्मको स्क्रिप्ट एक बसाइमा पढेर भ्याएको थिएँ। त्यतिबेला मैले रोल गरेको क्यारेक्टरको उमेर ३० थियो। उसको छोरी ११ वर्षकी थिई। पछि मैले गर्ने भनेपछि चेन्ज भयो। मैले त्यतिबेला विनोद दाइ (पौडेल, निर्देशक) लाई सोधेकी थिएँ, मलाई यो ११ वर्षको छोरीको रोलका लागि अफर गर्नुभएको कि ३० वर्षको केटीको?’ उहाँले ‘हैन, ३० वर्षकै हो’ भनेर जवाफ फर्काउनुभएको थियो। मैले यो फिल्म स्क्रिप्ट पढ्नासाथ गर्छु भनेको हो।

म अर्कै खालको फिल्म गरिरहेको मान्छे, कसरी यस्तो क्यारेक्टरमा अफर गर्नुभयो भनेर निर्देशकलाई सोध्नुभएन?
धेरैपल्ट सोधेँ। मैले त्यति ‘सिरियस्ली’ लिएको पनि थिइनँ। मैले विनोद दाइलाई भनेको पनि थिएँ, ‘यो क्यारेक्टरमा मलाई लिएर तपाईंले धेरै ठूलो रिस्क लिँदै हुनुहुन्छ। जवाफमा उहाँले भन्नुभएको थियो, ‘तिमीले यति भन्नु मेरो लागि झन् आत्मविश्वास बढ्नु हो। कम्तीमा तिमी जिरो लेभलमा पुगिराछाैं, यति भएपछि मलाई म तिम्लाई काम गर्न सक्छु भन्ने आत्मविश्वास बढ्यो।’ फेरि रमाइलो के भने उहाँले मलाई ‘बुलबुल’मा लिने निर्णय मेरो कमरसियल्ली र क्रिटिकल्ली दुवै हिसाबले फ्लप फिल्म ‘लभ लभ लभ’ हेरेपछि गर्नुभएको रहेछ। त्यतिवेला मलाई लाग्यो– आफूले इमान्दार भएर काम गरियो भने जीवनमा कुनै पनि कुरा खेर नजानेरैछ।

‘बुलबुल’मा तपाईंले निर्वाह गरेको टेम्पो महिला चालकको क्यारेक्टर तपाईंले करिअरमै सबैभन्दा बढी मिहेनत गरेको क्यारेक्टर?
समयको हिसाबले होला। खासमा मलाई अहिलेसम्म कहिल्यै हार्डवर्क गरेजस्तो नै लाग्दैन। सायद मैले काम गर्दा इन्जोय बढी गरेर होला।

त्यो पात्र बाँच्न तपाईंलाई सजिलो थियो?
सजिलो थियो त भन्दिनँ तर गाह्रो पनि थिएन। उफ्, कति गाह्रो भयो भन्ने फिल कहिल्यै आएन। मान्छेहरु कति हार्डवर्क गरियो भन्दै गफ दिइरहेका हुन्छन्, मचाँही सोच्छु– कहाँ हार्डवर्क गरियो? अहिलेसम्म केही पनि गरेकै छैन जस्तो फिल हुन्छ।

‘घामड सेरे’मा आफ्नै श्रीमान् निश्चल बस्नेतसँग स्क्रिन सेयर गर्नुभएको छ। रियल जोडी रिलमा काम गर्दा रियल क्यारेक्टर हाबी हुने डर कत्तिको हुने रहेछ?
‘एक्सन’ भनेपछि त्यस्तो हुँदैन। एक्सनभन्दा अघि त ‘डेफिनेट्ली’ हुन्छ। तर, एक्सन भनेर सबै जना मुडमा आइसकेपछि त्यस्तो हुुँदैन।

निश्चलका नजरमा तपाईंको कस्तो अभिनेत्री हो?
उसले मेरो कामलाई लिएर कहिल्यै कमेन्ट गर्दैन। म पनि सोध्दिनँ। मलाई उसले आफैं गरोस् भन्ने लाग्छ, सायद उसलाई मैले पहिला सोधोस् भन्ने लाग्छ। त्यसैले उसको नजरमा म कस्तो अभिनेत्री, त्यो त उसलाई सोध्नुपर्ने भयो (हाँस्दै)।

फिल्म जगत्‌मा आफूलाई बौद्धिक र महिलावादी ठान्ने अभिनेत्रीहरु महिला हिंसा, दुव्र्यव्यवहार र मजाकसँग जोडिएको विषयहरु उठिरहँदा पनि पुरै मौन देखिन्छन्। ‘मिटू’ मुभमेन्टमा कोही बोलेनन्। शिल्पा पोखरेलले घरेलु हिंसाको अनुभव सुनाउँदा पनि कसैले बोलेनन्। यस्तो किन?
कसरी बोल्नु? यहाँ एउटा बोलिन्छ, अर्को ढंगले प्रस्तुत गरिन्छ। हिजो मैले पारिश्रमिकको विषयमा बोल्दा पनि कसरी प्रस्तुत गरियो, तपाईं आफै हेर्नुस् न।

नबोल्नुको कारण यतिमात्रै हो र?
डरले पनि होला। किन कन्ट्रोभर्सीमा पर्ने भनेर पनि होला।

अब तपाईंको रिलिज हुन लागेको फिल्म ‘हजार जुनीसम्म’बारे कुरा गरौं। कस्तो फिल्म हो यो?
टिपिकल लभस्टोरी हो। विकास दाइ(आचार्य) कै प्याटर्नको हो।

मतलब उही रोना–धोना (हाँस्दै)?
‘नाइ नभन्नु ल’को सिरियजमा अलि रोनाधोना हुन्थ्यो, यसमा त्यस्तो छैन। कँही न कँही फ्लेभर त आउँला।

हामीकहाँ अधिकांश कलाकार ‘हाम्रो काम निर्देशकले अह्राएको गर्नेमात्रै हो’ भन्ने ठान्छन्। तपाईंलाई के लाग्छ?
कुनै कुनै सिन चित्त बुझेन वा त्यहाँ अर्कै केही गर्दा राम्रो हुन्छ भन्ने लाग्यो भने म अप्ठेरो नमानिकन निर्देशकलाई भन्छु। मलाई थाहा छैन, म राम्रो कलाकार हो या होइन तर म पनि डिरेक्टरकै एक्ट्रेस हो।

नेपाल लाइभबाट साभार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *