भीषण वर्षापछि बाटो अबरुद्ध, गाडीलाई खोलाले बगायो

साउन ८, काठमाडौँ । मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ ।

असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ ।

त्यस्तै हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ । शिवम् सिमेन्टको कच्चा पदार्थ पुर्‍याएर फर्कने क्रममा गाडीलाई खोलाले बगाएको हो । गाडीका चालक तथा सहचालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिश बुढाथोकीले जानकारी दिए ।

पहिरोका कारण १० दिन अवरुद्ध भएर भर्खरै सञ्चालनमा आएको हेटौँडा फाखेल काठमाडौँ सडकखण्ड भने अहिलेसम्म सञ्चालनमै रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए।

‘उत्तरी क्षेत्रमा राति पानी नपरेका कारण अहिलेसम्म बाटो सञ्चालनमै छ तर भर्खर पानी पर्न थालेकाले सावधान हुनुपर्छ’, उनले भने । पानी केहीबेर परे बाटो अवरुद्ध हुनसक्ने उनको भनाइ छ ।

यी नदीहरुमा छ आकश्मिक बाढीको सम्भावना, उच्च सतर्कता अपनाउन चेतावनी

मनसुनी वर्षा पुनः सक्रिय भएकोले बुधबार मुलुकका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ । विभिन्न जिल्लामा बाढी पहिरो र डुबानको जोखिम बढेको छ ।

राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले चुरे र पहाडबाट बहने नदीमा आकश्मिक बाढीको सम्भावना रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ।

केन्द्रका अनुसार बुधबार चितवन, पर्सा, बारा, मकबानपुर, नवलपरासी, पाल्पा, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरी लगायत प्रदेश १, २, ३, ५, गण्डकीको चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको सम्भावना, रहेको छ ।

‘तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ’, केन्द्रले सूचना जारी गरेर भनेको छ ।

मनसुनी वर्षा पुनः सक्रिय: कहाँ के हुन्छ, कहिले हुन्छ मौसम सुधार ?

आज (बुधबार) देशभर बदली भई अधिकांश स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले काठमाडौं उपत्यकासहित मध्य र पश्चिम क्षेत्रका अधिकांश स्थानमा वर्षा भइरहेको छ भने पूर्वी क्षेत्रमा भने अहिले (बिहान ७ बजे) पानी पार्न रोकिएको छ।

दिउँसो तथा राति पनि देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले बताए। साथै देशका केही स्थानमा भारी वर्षा हुने संकेत देखिएको उनको भनाइ छ।

‘यही ठाउँमा भारी वर्षा हुन्छ भनेर तोक्न सकिन्न,’ उनले भने, ‘तर विशेषगरी पश्चिम तथा मध्य क्षेत्रका केही स्थानमा हुने देखिन्छ।’

किनकि वरिष्ठ मौसमविद् पौडेलका अनुसार अहिले खासगरी मनसुन पश्चिम र मध्य क्षेत्रमा केन्द्रित भएको छ। त्यसमा पनि मनसुनको न्यून चापीय रेखा अहिले नेपालको तराई भू-भाग नजिकै रहेकाले अलि बढी वर्षा तराई क्षेत्रमै हुने उनकाे अनुमान छ।

‘पश्चिम पहाडमा पहिरो जाने तथा चुरे पर्वतबाट बहने नदीनालामा पानीको बहाव बढ्न सक्ने सम्भावना छ,’ उनले भने, ‘सतकर्ता अपनाउन जरुरी छ।’

माैसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ- देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

त्यसैले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह हल्का बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ साथै यसका कारणले हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनु अनुरोध गरिन्छ।

आगामी दुई दिनसम्म वर्षा यस्तै रहने र पर्सि शुक्रबारदेखि केही सुधार हुने संकेत देखिएको वरिष्ठ माैसमविद् पाैडेलले बताए। ‘आगामी दुई दिनसम्म मौसम यस्तै रहने देखिन्छ,’ उनले भने, ‘पर्सिदेखि भने केही सुधार हुने सम्भावना छ।’

मनसुनी वर्षा पुनः सक्रिय, बाढी तथा पहिरोको जोखिम

मनसुनी वर्षा पुनः सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्युन चापीय रेखा तराई क्षेत्र नजिकै रहेकाले देशभर मनसुनी वर्षा पुनः सक्रिय हुने देखिएको मौसमविदले बताएका छन् ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौसमविदले बताएका छन् । बुधबार देशभर सामान्यदेखि पूर्ण बलदी भई अधिकांश स्थानमा वर्षा हुनेछ । थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा पानी पर्नेछ । देशका थोरै स्थानमा भने भारी वर्षा हुने सम्भावना छ ।

यस्तै बिहीबार पनि देशभर सामान्य बदली रहनेछ । देशको पश्चिमी तथा मध्य भागका एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

पूर्व र मध्यका केही स्थान र पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विशेषगरी पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड र चुरेबाट बहने खोलामा जलसतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशखाले आग्रह गरेको छ ।

वर्षाका कारण हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

बर्दियामा ४५ घर डुबानमा, बबई नदी पनि बढ्दै

अविरल वर्षाका कारण बर्दियास्थित एक बस्तीका करिब ४५ घर डुबानमा परेका छन्।

बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बुधबार बिहान दिएको जानकारीअनुसार बासगढी नगरपालिका-३ खल्ला बस्तीका करिब ४५ घर डुबानमा परेका हुन्।

‘त्यो बस्ती स्थानीय मानखोला छेउमै पर्छ,’ टेलिफाेनमा कुरा गर्दै प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भने, ‘अलि होचो क्षेत्रमा रहेकाले थोरै पानी आउनेबित्तिकै त्यो बस्ती डुब्ने गर्छ।’

तर त्यो ठाउँ पहिले पनि डुब्ने गरेकाले पानी पर्नेबित्तिकै त्यहाँका मानिस सुरक्षित स्थानमा जाने भएकाले मानवीय क्षति हुने जोखिम नरहेको उनको भनाइ छ।

‘हामीले त्यहाँ बसोबास नगर्नू, बाढीको जोखिम क्षेत्र हो भनेर भन्दै आएका छौं,’ उनले भने, ‘तैपनि प्रायः ऐलानी जग्गा भएको त्यस ठाउँमा स्थानीय बसेका छन्।’

यस्तै बबई नदीको जल सतह पनि बढ्दै गएकाले बर्दिया जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन सूचना जारी गरेको छ।

‘वर्षा भइरहेकाले बबई नदीको जलस्तर बढ्दै गएको छ,’ प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भने, ‘जलस्तर ६ मिटर पुगेपछि खतरा हुन्छ, अहिले ५ दशमलव ४१ मिटर पुगेको छ।’

बर्दियामै भन्दा दाङ, सल्यान, सुर्खेतमा वर्षा हुँदा बबई नदीमा बाढी आउने उनले बताए। ‘पूर्वतयारी राम्रो छ,’ उनले भने, ‘अरू क्षति होला तर मानवीय क्षति हुन दिदैनौँ।’

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *