समाचार समाज

यसरी हुन्छ नेपालमै कोरियाको कमाइ [पढ्नुहोस नालीबेली]

साउन ४, सुर्खेत । नेपाल सरकारले ईपीएसमार्फत हरेक वर्ष हजारौंलाई रोजगारीका लागि कोरिया लाने गरेको छ ।

यो खबर शेरबहादुर थापाले लोकान्तरमा लेखेका छन् । राम्रो कमाइ हुने भएकाले कोरियाप्रति जोश र जाँगर भरिएका युवाको राम्रै ‘क्रेज’ छ । सामान्यत: कानूनी रूपमा कोरिया छिर्नेले कम्तीमा डेढ लाख कमाउने आम बुझाइ छ ।

तर सुर्खेत बराहताल गाउँपालिकाका ५ हल्दुका कृष्ण कँडेललाई कोरियाबाट फर्केपछि नेपालमै केही गरौं भन्ने लाग्यो । र शुरू गरे आधुनिक कुखुरापालन व्यवसाय ।

गाउँमै तीन हजार कुखुरा पालेका कृष्णले दैनिक २३ सय अण्डा जुम्ला तथा मुगुमा पठाइरहेका छन् । प्रति अण्डा १० रुपैंयाको दरले बिक्री गरिरहेका कृष्णले लेयर्स जातका कुखुरा पालेर मनग्य आम्दानी गरिरहेका छन् । मेहनत गर्न सके कोरियामा भन्दा नेपालमा कम कमाइ नहुने उनको तर्क छ ।

‘मेरो पर्ममा तीन हजार अण्डा कोरल्ने कुखुरा छन्,’ चार ओटा टहरा बनाइ कुखुरा पालिरहेका कृष्णले भने, ‘अब अरू तीन हजार कुखुरा थप्ने गरी अघि बढिरहेको छु ।’

उनले कोरियामा पर्याप्त कमाइ हुने भएपनि सन्तुष्टि भने नमिल्ने बताए । ‘कोरियामा पैसा त धेरै कमाइ हुन्छ । कमाइ पनि भयो,’ विगत स्मरण गर्दै उनी भन्छन्, ‘तर पारिवारिक माया पाउन गाह्रो छ । त्यसैले यतै व्यवसाय शुरू गरेको हुँ ।’

उनी कोरियामा रहँदा कृषि पेशामा भने काम गरेनन् । उनलाई लाग्यो- नेपालमै अण्डा उत्पादनको पर्याप्त बजार छ । ‘म कोरियामा रहँदा सपिङ सेन्टरमा काम गरेको थिएँ,’ उनी भन्छन्, ‘त्यहाँ अण्डाको पर्याप्त बजार भएको बुझेपछि आफ्नै देशमा अण्डा उत्पादन गरेर व्यवसायिक बनौं कि भन्ने लागेर फर्मको शुरूआत गरेको हुँ ।’

उनी कुखुरापालनमा एक्लै भने छैनन् । उनलाई पत्नी अमृता सापकोटाले सक्दो सघाउँछिन् । ‘मलाई मेरो परिवारले व्यवसाय गर्न प्रेरणा दियो,’ उनले भने, ‘अहिले तीन जनालाई पूरै समय काम गर्ने गरेर रोजगारी दिएको छु ।’ आगामी दिनमा कुखुरा थप्दै जाने र रोजगारीको सिर्जना गर्दै जाने उनको योजना छ ।

‘अबको केही समयपछि नै चार हजार कुखुरा थप्ने योजनामा छु,’ उनी भन्छ्न्, ‘त्यसका लागि खोर बनाउने काम गरिरहेको छु ।’ चार हजार कुखुरा थपेर दैनिक ६ हजार भन्दा बढी अण्डा उत्पादन गर्ने र बिक्री गर्ने योजना रहेको उनले खुलाए ।

‘अण्डाको बजारका लागि खासै समस्या नै छैन,’ उनले भने, ‘अहिले मैले उत्पादन गरेका अण्डा मुगु तथा जुम्ला जिल्लामा गइरहेका छन् ।’ कुखुराले अण्डा दिन थालेपछि उनमा थप उत्साह थपिएको छ ।

‘कृषि पेशाबाट यति सन्तुष्टि मिल्छ भन्ने लागेकै थिएन,’ उनी भन्छन्, ‘विदेश भन्नुभन्दा पनि गाउँमै व्यवसाय गरेको जस्तो आनन्द कहिँ आउँदो रहेनछ ।’ विदेशमा जति मेहनत गाउँमा गरे मनग्य आम्दानी कमाउन सकिने उनको धारणा छ । ‘सबै खर्च कटाएर, आफूले खाएर दैनिक पाँच हजार चोखो आम्दानी भइरहेको छ,’ उनले भने, ‘विदेशमा अरूको भनाइ सुन्नु भन्दा मन लागेको बेला काम गर्ने, आराम गर्ने, परिवारसँगै बस्न निकै आनन्द हुन्छ ।’

उनले कोरियाको भूमिमा चार वर्ष सात महिना पसिना बगाए । त्यसपछि उनलाई कोरिया मोहले छोड्यो अनि ६० लाख लगानी गरे ।

भर्खरै उनले माछा पोखरीसमेत बनाएका छन् । त्यसका लागि ९ किलोमिटर टाढा रहेको घोडेखोलाबाट पाइपमार्फत पानी पनि ल्याए । ‘प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ६ लाख अनुदान दिएको थियो,’ उनी भन्छन्, ‘सरकारको ६ लाख र मेरो आठ लाखमा मैले एक रोपनी जग्गामा माछा पालन व्यवसाय शुरू गरेको हुँ ।’ अहिले उनले निर्माण गरेको पोखरीमा ग्रास, सिल्भर, रहु, नैनी, कमनकार्प जातका ४ हजार भन्दा बढी भुरा हुर्किरहेका छन् ।

उनले व्यवसायमा नाफा मात्र हुने गरेको बताए । ‘व्यवसायमा इमान्दारीपूर्वक लागिरहेको खण्डमा नाफा नै हुन्छ,’ उनी भन्छन्, ‘शुरूमा लगानी गर्नु नै ठूलो कुरा हो । त्यसपछि त्यसको प्रतिफल सधैं आइरहन्छ ।’

सरकारले कृषि पेशामा लाग्ने युवालाई सहुलियत ऋण दिने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । ‘काम गर्ने युवाहरूले ऋण पाउन सकिरहेका छैनन्,’ उनी भन्छन्, ‘स्थानीय तथा प्रदेश सररकारले कृषकलाई सहुलियतसहितको ऋण दिने व्यवस्था ल्याए युवाहरु कृषि पेशामा थप आवद्ध हुन्छन् ।’ अनिमात्र युवाहरूको विदेश जाने क्रम रोकिने उनको बुझाइ छ ।

‘हामी आत्मनिर्भर बन्न खोज्छौं,’ उनले भने, ‘तर त्यसका लागि राज्यले नै लगानी गर्नुपर्छ । हरेक व्यक्तिसँग धेरै रकम लगानी गर्ने अवस्था हुँदैन ।’ सरकारले बजारीकरण गर्ने काम पनि गर्नुपर्ने उनको भनाइ छ । ‘अहिले भारत तथा अन्य जिल्लाबाट कम गुणस्तर भएका अण्डाहरू भित्रिरहेको छ,’ उनी भन्छन्, ‘ती अण्डासँग हामीले प्रतिस्पर्धा गर्न गाह्रो छ ।’ यस्ता कुरामा राज्यको ध्यान जानुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *