समाचार

खोजेजस्तै, रोजेजस्तै

विभु लुइटेल ।

बिहे
‘सम्बन्धविच्छेद गरिसकेका ४८ वर्षे इन्जिनियरका लागि २२-२५ वर्षे केटी चाहियो।

नोट: केटी अनिवार्य रूपमा भर्जिन हुनुपर्ने।’

यो लेख हामीले अन्नपूर्ण पोष्टबाट लिएका हौ । बैंगलोरको केम्पेगौडा विमानस्थलको आन्तरिक उडान कक्षमा चेन्नई उड्ने प्लेन कुरिरहेका बेला अंग्रेजीमा प्रकाशित उक्त वर्गीकृत विज्ञापनमा आँखा टक्क अडिन्छन्। विज्ञापनको अन्तिममा दुई फोन नम्बर दिइएका छन्। एउटा इमेल आईडी पनि छ।

यस्ता उदेकलाग्दा कुरा देख्नेबित्तिकै फोटो खिचेर इन्स्टाग्राममा स्टोरी पोस्ट गर्ने बानी छ। त्यसकै मुनितिर अन्य विज्ञापनमा आँखा दौडाउँछु, योभन्दा दिक्कलाग्दा कुरा लेखिएका पाउँछु। सोचेँ, कतिको फोटो खिचूँ ? अनि, कति पोस्ट गरूँ ?

छेउमै बसिरहेकी महिला चेन्नईकै फ्लाइट कुरिरहेकी हुन्छिन्। उमेर सायद ६० माथि हँदो हो। हातमा भएका केही थान पत्रिका सर्र हेर्दै गरेको देख्छु र त्यही विज्ञापन देखाउँदै कुरा सुरु गर्छु।

‘वेलकम टु इन्डिया’, उनी हाँस्दै भन्छिन्।

४५ वर्ष भयो रे उनको बिहे भएको। आफू किशोर नै छँदा तीस वर्ष पार गरिसकेका व्यक्ति उनको हात माग्न आएछन्। धनी, पढेलेखेका, त्यसमाथि बिहेपछि उनलाई पनि पढाइ गर्न नरोक्ने प्रतिबद्धता गर्दै उनको र परिवारको मन जितेछन्।

सबैले धन देखे, सामाजिक प्रतिष्ठा देखे। पहिलो श्रीमतीबाट सन्तान नभएर उनीसँग बिहे गर्न लागेको तथ्यलाई लिएर टाउको दुखाइरहन कसैलाई मन लागेन। दुवै श्रीमती एकै घरमा सँगै बस्ने भए।

विवाहपछिको पहिलो रात उनको खाटमा सेतो तन्ना ओच्छ्याइएछ। बिहान उठ्दा तन्नामा राता टाटा देखिए उनी बुहारीका रूपमा स्वीकारिने, नत्र भोलिपल्ट नै सबै सामान पोको पारी जहाँबाट ल्याइएको त्यहीँ फर्काइदिने रीति रहेछ।

बिहान उठ्दा तन्नामा रगतका टाटा देखिएसँगै उनको कुमारीत्वको परीक्षण भयो। त्यस घरकी बुहारी हुन उनी योग्य ठहरिइन्।

आफ्नै दाजुको बिहेपछिको पहिलो रात तिनको कोठामा तन्ना ओच्छ्याउन उनैलाई पठाइएको रहेछ। त्यसैले यसलाई चलिआएको चलन मान्दै आत्मसात् गरिन्। त्यही सम्भँmदै उनी भन्छिन्, ‘अहिले त त्यस्तो देख्दा-सुन्दा विरोध गरिहाल्छु। वर्गीकृतमा अनेकौं माग राख्दै केटी खोज्नेलाई फोन गरेर झपार्छु पनि।’

ध्यान दिएर उनका कुरा सुनिरहेको मैले यो कुराकानी रेकर्ड गर्न अनुमति माग्दा उनी दिन्छिन्।

‘समय र समाज अहिले पनि उस्तै छ, हेर’, उनी तुलना गर्छिन्, ‘मान्छेका इच्छा ज्यूँका त्यूँ छन्। फरक यत्ति हो- त्यो समयमा विज्ञापन देख्दैनथेँ, अहिले देख्छु।’

यसलाई एक किसिमको अत्याचारका रूपमा हेर्ने चेत उनमा निकै पछि मात्र पलाएछ। ‘म कति मूर्ख थिएँ। केटा कुमार थिएन तर प्रश्न गर्ने समझ ममा थिएन। मेरो त्यतिबेलाको र यो विज्ञापनवालासँग बिहे गर्नेको अहिलेको मानसिकतामा केही फरक हुन्न। पक्का।’

‘भर्जिन’ श्रीमतीको माग राखी गरिएको विज्ञापन देख्नु अनि त्यसै विषयमाथि थप कुरा गर्न सक्ने, अझ आपूmले भोगेकै कुरा वर्णन गर्न सक्ने पात्र भेटिनु। कस्तो संयोग !

यसलाई सामाजिक विनिमयको सिद्धान्तसँग तुलना गर्दै हेरौं। लागत र लाभ दुवैको भूमिका रहने यस सिद्धान्तमा माथिको विज्ञापनलाई अटाई हेर्दा विज्ञापन दिनेको आर्थिक पक्ष मजबुत देखिन्छ। प्रतिफलमा उनी जीवनसाथीमा केही गुणको इच्छा राख्छन्। कम उमेरकी महिलाको चाह वंशवृद्धिका लागि पनि हुनसक्ने देखियो।

एकछिन सिद्धान्तका कुरा छोडौं, व्यावहारिक भई सोचौं। के कुमारीत्वको मापदण्ड अघि सार्दा समाज अघि बढिरहेको प्रत्यानुभूति हुन्छ ? सोच तथा मानसिकताका हिसाबले हामी जहाँ थियौं, त्यहीँ छौं भन्ने महसुस गराउँदैन यसले ?

०००

केही समयअघि पत्रकारिता गर्दा कहिलेकाहीँ स्टोरी खोज्न धौधौ हुन्थ्यो। त्यस्तै बेला एक दैनिकमा ‘बुहारी चाहियो’ विज्ञापन पठाउने मान्छेलाई फोन गरी ‘मेट्रिमोनी’सम्बन्धी स्टोरी गरौं भनी म र मेरा सहकर्मीले योजना बनाएका थियौं। कति फोन उठ्दैनथे। केही उठ्थे तर विज्ञापन दिने व्यक्ति कुरा गर्न तयार हँदैनथे। पत्रिका छोडेँ। स्टोरीले मूर्त रूप लिन सकेन।

अहिले केही महिनापछि त्यस्तै एक विज्ञापन देख्दा आपूmले चाहेर पनि गर्न नसकेको स्टोरीको सम्झना आयो।

स्टोरी गर्नकै लागि त्यस्ता विज्ञापन छापिएका छन् कि छैनन्, छन् भने कस्ता-कस्ता माग राख्दै छापिएका छन् भन्ने रेकर्ड राख्न करिब एक महिनासम्म विभिन्न पत्रिकाका वर्गीकृत विज्ञापनको पेज नछुटाई हेर्न थालियो। कहिले आउँदै आउँदैनथे। आएका धेरैजसोमा पीआरवाला ज्वाइँ वा बुहारीका माग राखिएका हुन्थे। केहीमा ३० कटिसकेका महिलाका लागि विवाहयोग्य पुरुषका माग राखिएका हुन्थे भने केहीमा ४० कटिसकेका पुरुषका लागि विवाहयोग्य महिलाका। नेपालीका दुःख पनि अनेक छन्।

भारतका पत्रिकामा देखिनेजस्ता कुमारीत्व, छालाको रङ, स्वभाव आदि तोकेर दिइएका विज्ञापन महिनाभर एउटा पनि देखिएनन्।

चलेका नेपाली दैनिक पत्रिकाका वर्गीकृत डिस्प्लेमा धेरै देखिने भनेका ‘जग्गा चाहियो’, ‘अर्जेन्ट कामदार चाहियो’, ‘फलानो ठाउँमा फ्ल्याट भाडामा’ जस्ता विज्ञापन हुन्। भारतका दैनिक पत्रिकामा यस्ता विज्ञापनको संख्या कम, विवाहार्थ केटा-केटी खोज्न गरिएका विज्ञापन धेरै देख्ने गरेको छु। कुनै-कुनै त पढ्दै कन्सिरी तताउने खालका हुन्छन्। जस्तै, माथिको।

विज्ञापनको सबैभन्दा नरमाइलो पाटो इन्जिनियरबाट आउनु हो। इन्जिनियर, अर्थात् पढेलेखेको जमातको एक अभिन्न हिस्सा। पढाइले चेतनाको स्तर निर्धारण गर्दैन भन्ने कुराको गतिलो उदाहरण यो पनि हो।

०००

तमिल भाषामा प्रकाशित एउटा अर्को विज्ञापनको व्यहोरा नेपालीमा यसप्रकार रहेको छ :

‘दूधजस्तै सेतो छाला भएकी बुहारी चाहियो। दुई सन्तानका तर्फबाट कालो छाला भएका नातिनातिना जन्मिए। अब गोरा नातिनातिनाको इच्छा छ।’

तमिल र अंग्रेजी दुवैमा दक्खल राख्ने एक साथीलाई विज्ञापन अनुवाद गरिदिन अनुरोध गरेँ। योलगायत केही अरू विज्ञापन अनुवाद गरी पठाए। अनुवादमा सन्देह भइरह्यो। अरू दुईजनालाई जाँच गर्न दिएपछि थाहा भयो, भन्न खोजेको त्यही रहेछ। रंगभेदी आचरण झल्काउने यस्ता विज्ञापन दक्षिण भारततिर प्रकाशित हुने पत्रिकामा प्रशस्त पाइन्छन्।

परिमार्जित मेन्डलियन सिद्धान्तअनुसार छालाको रङ निर्धारण गर्न कम्तीमा तीन जिनको सक्रिय भूमिका रहन्छ। प्रत्येक जिनमा कालो र सेतो रङ दुवैको प्रतिनिधित्व गर्ने तत्व हुन्छन्। यी तत्वको संयोजन ६४ भिन्न तरिकाले हुनसक्छ। छालाका रङ नै सात विभिन्न प्रकारका हुन सक्छन्।

मानौं तिनले खोजेजस्तै केटी भेटिन्छिन्। यस अवस्थामा कालो र गहँगोरो छालाको सम्भाव्यताभन्दा तुलनात्मक रूपमा गोरो छाला भएका सन्तानको सम्भाव्यता न्यून हँदाहँदै पनि मानौं गोरै छाला भएका नातिनातिना जन्मिए रे। पहिले रहिआएका र नयाँ नातिनातिनाले घरभित्रै रङका आधारमा भेदभाव नभोग्लान् ? किनभने, विज्ञापनको उद्देश्य नै पहिलेका जस्ता नातिनातिना नहोऊन् भन्ने हो।

तर, मेलानिनयुक्त तत्व हावी भएर सन्तानको छालाको रङ कालो भए तिनले के गर्लान् ? पुर्पुरोमा हात लगाएर बस्लान् ?

विवाहार्थी विज्ञापनमा सबैभन्दा धेरै देखिने शब्दमा पर्छ ‘फेयर-लुकिङ’। छालाको रङ शारीरिक आकर्षणको निकै महत्वपूर्ण मापदण्ड मानिन्छ, मुख्यतः दक्षिण एसियामा। भारतमा मात्रै ‘फेसियल केयर’को बजारमा ४६ प्रतिशत हिस्सा ‘स्किन ह्वाइटनिङ क्रिम’ले ओगटेको छ। र यस्ता विज्ञापन पनि यसको कारक रहेको केही अध्ययन देखाउँछन्।

०००

परिवारको मिलेमतोमा विवाह गर्नेदेखि लिएर पत्रिकामा विज्ञापन दिई जीवनसाथी खोज्ने चलनलाई विस्थापित गर्न च्याउसरी फैलिएका अनगिन्ती अनलाइन मेट्रिमोनी साइट सञ्चालन गरिएका छन्। भारतको सन्दर्भमा मात्र हेर्ने हो भने एसोसिएटेड च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री अफ इन्डियाले सन् २०१३ मा गरेको सर्वेक्षणले त्यस वर्ष मात्रै त्यस्ता साइटमा करिब ५० लाखले अकाउन्ट खोले। सन् २०१५ सम्ममा त्यो संख्या ६५ प्रतिशतले बढ्ने अनुमान गरियो।

यसले खोज त सजिलो बनायो। तर, एक जीवनसाथीमा पत्रिकामा छापिने र यस्ता साइटमा खोजिने गुणमा खासै फरक पाइएन।

यसरी खोज्दै जाँदा श्रीलंकाको एक दैनिकमा सिंघल भाषामा छापिएको विज्ञापन फेला पर्‍यो। आपूmलाई निकै धनी तथा शिक्षित बताउने एक व्यक्तिले विज्ञापन दिनेले एक आदर्श श्रीमतीमा केही गुण खोजेका छन्।

‘कुनै पनि फिल्म तथा टीभी सो नहेर्ने, कुनै सेलिब्रिटीलाई आदर्श नमान्ने, खेलकुदमा रुचि नभएकी, योग-ध्यानबाट टाढै बस्ने, केही सोध्दा थोरै शब्दमा जवाफ दिने तर सुरुमा आपूm नबोल्ने, शाकाहारी, लामखुट्टे पनि नमार्ने, मासु तथा रक्सीयुक्त खानेकुराको सेवन नगर्ने, साहित्य नपढ्ने, संगीत नसुन्ने, स्कुल जीवनमा होस्टल नबसेकी, सबै रोगको निवारण आयुर्वेदिक पद्धतिद्वारा मात्रै गर्ने र कुनै प्रश्न नगरी पुरुषको प्रभुत्व सहर्ष स्वीकार गर्ने कन्या चाहियो।’

विज्ञापनको उल्था पढिसक्दा दिमागमा आएको पहिलो कुरा- यी व्यक्ति केवल ढुंगासँग विवाह गर्न योग्य छन्। ‘सामाजिक विनिमयको सिद्धान्तको मारो गोली।’
०००
यसले असर कसलाई पर्‍यो ?

सबैलाई।

म बस्ने पोन्डीचेरीको होस्टलमा उडिसाकी एक महिला पनि बस्छिन्। गहँगोरो वर्णकी, हक्की तथा मिलनसार स्वभावकी। उनको मोबाइलमा रिमाइन्डर राखिएको हुन्छ- कति बेला कुन-कुन क्रिम लगाउने भनेर। सबै सामान ब्यागमा नै बोकेर हिँड्छिन्। आफ्नो छालाको स्याहार आफ्नो इच्छाअनुसार गर्न पाउने स्वतन्त्रताको पूर्ण सदुपयोग गर्नुमा म कुनै समस्या देख्दैनथेँ।

घरमा उनको विवाहको कुरा चल्दै रहेछ। पढाइ सक्नेबित्तिकै उडिसा फर्किएर राम्रो केटा खोजी बिहे गरिहाल्ने सोचमा रहिछन्। त्यसैले हरेक दिन बिहान होस्टलमा पत्रिका आउनेबित्तिकै कुद्दै गएर विवाहका लागि गरिएका वर्गीकृत विज्ञापन हेर्छिन्। केही दिन सँगै पत्रिका पढ्दा हामी साथी भएका हौं।

उनले पढ्नुअघि र पढिसकेपछिका पत्रिकामा केही भिन्नता पाइन्छ। गोरो छाला भएकी केटी चाहियो भन्ने व्यहोरा लेखिएका सबै विज्ञापनमा नीलो मसीले अंकित गर्छिन्।

यसरी अंकित गरिएका विज्ञापनका तस्बिर उनी आमालाई ह्वाट्स्यापमा मेसेज गर्छिन्। तीमध्ये एकलाई आमाले पोन्डीचेरीको उनको ठेगाना दिइछन्। भेट्न आए। पर्याप्त गोरी नलागेकाले ती पुरुषले पहिलो भेटपछि कुरा अगाडि बढाउन चाहेनन्।

पत्रिकामा नीलो मसीले विज्ञापन अंकित गर्ने काम भोलिपल्टदेखि फेरि सुरु भयो। बेलाबेला उनकी आमाको फोनसँगै उपदेश पनि आउँछ, ‘यी विज्ञापनवालाहरूलाई फोन गर्दागर्दै मेरो आधा जिन्दगी गइसक्यो। घाममा धेरै नहिँड् है छोरी। अनि, छालाको स्याहार नियमित गर्।’

अझै पनि महिला, त्यसमाथि पढेलेखेका पनि, आपूmलाई पुरुषको इच्छाअनुसार ढालिरहेका छन्। कस्तो विडम्बना !

नराम्रा विज्ञापनका मात्र उदाहरण दिएँ। त्यसको अर्थ सधैं यस्तै प्रकारका विज्ञापन मात्र आउँछन् भन्ने पनि होइन। अधिकांश यस्ता भए पनि केही भने राम्रा पनि आउँछन्। विज्ञापन नै दिएर विवाहका लागि योग्य साथी खोज्नु आपैंmमा नराम्रो त होइन। तर, यस्तै अनेकौं मनगढन्ते मागका कारण राम्रामा खासै आँखा पर्दैन।

हालसालै देखेको एउटा विज्ञापन यस्तो थियो-

‘जे कुरा पनि खुल्ला दिमागले सोच्न सक्ने हुनुपर्‍यो। त्योबाहेक अरू जे-जस्ता गुण भए पनि फरक पर्दैन।’

हाम्रो समाज पहिलेको अवस्थाबाट माथि उठ्नै सकेको छैन, हामी जहीँको त्यहीँ नै छौं भन्ने धारणा बनाइरहेका बेला छिटपुट रूपमा देखिने यस्ता विज्ञापनले केही हदसम्म भए पनि राहत दिन्छन्।

नत्र, बाँकीको ताल त त्यस्तै हो।

‘छोराले एमबीबीएस गरेको छ। पढाउँदा धेरै खर्च लाग्यो। दाइजोमा त्यसको क्षतिपूर्ति दिनसक्ने परिवारकी छोरी चाहियो।’

‘मलाई शारीरिक सम्पर्क राख्न मन लागेका बेला नाइँनास्ति गर्न, कुनै बहाना बनाउन पाइँदैन।’ ‘अरू जात, धर्मका साथी बनाउन पाइँदैन। बनाएको पाइएमा माइतीतिरको बाटो तताए हुन्छ।’

गैरकानुनी मानिने दाइजो प्रथा, वैवाहिक बलात्कार, जात र धर्मका आधारमा गरिने विभेद आदिलाई प्रोत्साहन गर्ने यस्ता विज्ञापनले समाजमा कस्तो सन्देश प्रवाह गरिरहेका छन्, यीमध्ये कतिमा उजुरी पर्छन्, कतिलाई कारबाहीको दायरामा ल्याइन्छ जस्ता विषय अध्येताहरूका लागि रूचिकर हुन सक्लान्।

त्यस्ता विज्ञापन दिने मान्छेसँग विवाह गर्नेसँग भने मेरो सहानुभूति छैन।

@luitelBibhu पोन्डीचेरी विश्वविद्यालयमा दक्षिण एसियाली अध्ययनकी विद्यार्थी हुन्।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *