समाचार समाज

आज भारी बर्षा र बाढीपहिरोको सम्भावना, कहाँ के हुन्छ ?

साउन ३, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशका मध्य र पूर्वी पहाडमा बाढीपहिरोको सम्भावना उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

शुक्रबार बिहान २४ घण्टे चेतावनी जारी गर्दै महाशाखाले उक्त क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको विपद् आउन सक्ने उल्लेख गरेकाे छ।

महाशाखाले भनेकाे छ- देशका मध्य र पूर्वी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ, जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जानसक्ने र पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार हिजो/अस्तीको तुलनामा आज मध्य र पूर्वी क्षेत्रमा मनसुनी गतिविधि केही सक्रिय हुने भएको हो। ‘उक्त क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ,’ उनले भने, ‘त्यसैले हामीले २४ घण्टे चेतावनी प्रकाशन गरेका हौं।’

उनका अनुसार पहिलजस्तो लगातार झरी नपरे पनि बदली र वर्षा केही बढ्ने सम्भावना छ। महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुुसार अहिले पूर्वी र मध्य क्षेत्रका थोरै र पश्चिम क्षेत्रका एक/दुई स्थान मा वर्षा भइरहेकाे छ।

काठमाडौं उपत्यकामा पनि बिहानै वर्षा भएकाे छ। तर काठमाडौंमा कुनै ठाउँमा पानी परेको छ भने नजिकै अर्काे स्थानमा परेको छैन। महाशाखाका अनुसार अहिले देशका पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णसम्म तथा पश्चिम क्षेत्रमा आंशिकदेखि सामान्यसम्म बदली छ।

महाशाखाका अनुसरा मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतिर अर्थात् भारतमा अवस्थित छ जसका कारण अहिले देशभर मनसुनी गतिविधि कम सक्रिय छ।

तर एक/दुई दिनभित्र त्यो रेखा पुनः नेपाल भित्रिने सम्भावना रहेको मौसविद् कँडेलको भनाइ छ। ‘अहिले न्यून चापीय रेखा नेपालको दक्षिण (भारत) मा छ,’ मौसमविद् कँडेलले भनिन्, ‘अब १/२ दिनमा पुनः सिफ्ट (नेपाल भित्रिने) सम्भावना देखिन्छ।’ उक्त रेखा भित्रिएपछि पुनः ठूलो वर्षा हुने मौसमविद्को अनुमान छ।

स्तो छ तीन दिनको मौसम पुर्वअनुमान 

किन डुब्यो वीरगञ्ज ?

एक साताअघि परेको अविरल वर्षाले पर्सामा ठूलो जनधनको क्षति भयो ।

पहिले डुबानममा नपरेको वीरगञ्ज एसियाली विकास बैंकको ऋण सहयोगमा नगर विकास कोष र वीरगञ्ज महानगरपालिकाको लगानीमा निर्माण भएको मझौला सहर तथा सहरी वातावरणीय सुधार आयोजनाका कारण दुई वर्षयता डुबानको समस्या भोग्न बाध्य भएको छ ।

डुबानबाट निकास पाउन निर्माण गरिएको आयोजना सम्पन्न भएपछि नै डुबानमा वीरगञ्ज सहर पर्न थालेपछि मुख्य बजार क्षेत्रका व्यवसायी नै आक्रोसित भएका छन् ।

७२ घण्टा अविरल पानी परेपछि वीरगञ्जको मुख्य बजारक्षेत्र आदर्शनगर डुबानमा परेर त्यहाँका सबै पसल सटरमा पानी पसेर करोडौँको नोक्सानी भएको व्यापारीको गुनासो छ ।

आयोजनाको गलत डिजाइनका कारण पाँच दिनसम्म परेको वर्षाले वीरगञ्ज सहर डुबानमा परेको भन्दै आयोजनको सर्वत्र आलोचना भएका बेला आयोजना प्रमुख इञ्जिनियर शैलेन्द्र श्रेष्ठले भने आयोजनाको दोषबाट उम्किन सिर्सिया नदीका कारण वीरगञ्ज डुबानमा परेको बताएका छन् । यो समाचार कारोबार दैनिकमा छापिएको छ ।

बाढीबाट एक अर्ब रुपैयाँभन्दा बढीका अन्नबाली नष्ट

बाढीबाट पर्सा र बारामा एक अर्ब रुपैयाँभन्दा बढीको अन्नबाली नष्ट भएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र पर्साका अनुसार बाढीबाट जिल्लामा एक हजार २५० हेक्टर क्षेत्रफलमा लगाइएको रु ४४ करोड ८८ लाख बराबरको चैतेधान नष्ट भएको हो ।

यस्तै २७१ हेक्टरमा लगाइएको धानको बेर्ना, १०७ हेक्टरमा लागाइएको तरकारीबाली, २३१ हेक्टरमा लगाइएको अन्नबाली तथा ४६ हेक्टरमा लगाइएको मकैबाली नष्ट भएको कृषि ज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिए ।

बाढीका कारण २६७ हेक्टरमा रोपाइँ गरेको धानबाली, धानको बेर्ना र सञ्चित गरिएको मकैसमेत नष्ट भएको छ । बाढीबाट सबैभन्दा बढी पर्साको पकहामैनपुर, ठोरी, विन्दबासिनी र छिपहरमाई गाउँपालिका तथा बहुदरमाई, पोखरीया र पर्सागढी नगरपालिकामा अन्नबाली र तरकारीबाली नष्ट भएको छ ।

यस्तै बाढीबाट बारामा रु ५० करोडभन्दा बढीको अन्नबाली र तरकारीबाली नष्ट भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । बाढीबाट आठ हजार हेक्टरमा लगाइएको चैतेधान, १५ हजार हेक्टरमा लगाइएको वर्षेधान, दुई हजार हेक्टरमा लगाइएको मकैबाली तथा दुई हजार ५०० हेक्टरमा लगाइएको तरकारीबाली नष्ट भएको छ ।

‘घर त माटोमा मिलिसकेछ…’

सधैँजस्तै यसवर्ष पनि असार निख्रिनै लाग्दा सुरु भएको मनसुन र त्यसपछि आएको बाढी–पहिरोका कारण ९० जनाभन्दा बढीको ज्यान गयो ।

२९ जनाभन्दा बढी वेपत्ता र ४१ जनाभन्दा बढी घाइते भए । सयौँलाई घरबारबिहीन बनायो यो विपत्तले । यही विपत्तिको चपेटामा परे काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा.नं ११ स्थित पातलेखेत निवासी सविन धिताल पनि ।

यही साउने संक्रान्ति याने १ गते साउनको दिनको कुरो हो । सविन दिनभरि आफ्नै पसलमा व्यस्त थिए । घर फर्कदा अबिरल बर्षा भैरहेको थियो ।

त्यही दिन बुधबार राति ४ बजेर २० मिनेट जाँदा निद्रामै घर घुमेजस्तो लाग्यो उनलाई । बाहिर निस्केर हेर्दा त तल्लो तलाको उत्तरतर्फको फलामको पोल दोब्रिसकेको रहेछ ।

सविनले बेलीविस्तार लगाउँदै भने– हतार–हतार भित्र छिरेर श्रीमती र बच्चाहरू लिएर भाग्यौँ । उनीहरूलाई छिमेकीको घर राखी दाजुलाई लिएर पसल जाँदा त गरगहना, नगद, मोबाइलसहित घर माटोमा मिलिसकेको रहेछ ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा
भगवती तिमल्सिनाले लेखेका छन् ।

बाढी पीडितका दबिएका स्वर: के खाने, कसरी बच्ने ?

घरको चुलो गजगजे हिलोले पुरिएका, सामान हिलोले लतपतिएका र भिजेको एक पोको चामल घाम लागेको मौका छोपेर आँगनको ओभानो भागमा सुकाइएको थियो ।

यो दृश्यमा बुधबार अपराह्न बाढीले पुरेका भाँडाकुँडा र खाद्यान्न पाइन्छ कि भनेर मझेरी खोतल्दै हुनुहुन्थ्यो सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ का त्रिभुवन मिश्र । बाढीले बगाउनबाट जोगिएका सामान बचेको छ कि भन्ने आशले उहाँ पाँगोले भरिएको मझेरी खोतल्दै थिए । श्रीमती श्यामादेवीले सघाउँदै थिइन् ।

तीन दिन भूजाको भरमा बसेका मिश्र दम्पतीले बाढीबाट बचेको अन्न पकाएर बुधबारदेखि सामान्य पेट भर्न थालेका छन् । उनको घरभित्र भरिएको पाँगो माटो देख्दा जो कोहीको मन भक्कानिन्छ । मिश्र परिवारमा यो समस्या भएको पहिलो भने होइन । उनी भन्छन्, “समस्या मेरो २०औँ वर्षदेखि यही कुरा छ, राजाको पालादेखि अहिलेसम्म समस्यैसमस्या, अब हामी कसरी बच्ने ?” उनको मनको वह अझै रोकिएन । “म बर्बात् छु बरबात्, सबै सम्पत्ति हेर्नुस्, धानचामल छैन, भोलि के खाने, अहिलेसम्म सरकारको राहत पाएको छैन ।”

विडम्बनाको कुरो त हरेक वर्षजसो नै उनी पीडित बनेका छन् । आएको राहत टाठाबाठाले मात्रै कुम्याउँछन् । उनका अनुसार कमजोर र गरीब परिवारले राहत पाउनै मुस्किल छ । “अरु साल पनि राहत आउँथ्यो, उनीहरुकै मान्छे राख्छन्, बाँडीचुँडी खान्छन्, हामीले केही भेट्दैनौँ”, मिश्रले विगतको अनुभवसहितको पीडा पोखे ।

यहाँका धेरै बस्तीमा यस्तै पीडा छ । खाने र बस्नेको ठाउँ ठेगान छैन, कतिबेला बाढी आउने भन्ने चिन्ता उस्तै छ । असार २७, २८ मा ज्यान बचाउन गरेको सङ्घर्ष झल्झल्ती सम्झन्छन् पीडितहरु ।

घर ओभाने बनेको छैन । खाने अन्न छैन, लगाउने कपडा छैन, बस्ने बास छैन, रातमा निद्रा छैन । स्थानीय सत्यनाथ मिश्र भन्छन्, “अहिलेको अवस्था एकदम बिग्रेको छ, सबैको घरमा पानी नै पानी छ, जग्गा जमीन पुरिदिएको छ, खाना पकाउन सकिएको छैन र सरकारको कुनै सुविधा आएको छैन ।”

गाउँ भएर खाँडो खोला बग्छ । अविरल वर्षाका कारण केहीमाथि कटान गरेर खाँडो खोला बस्तीतर्फ सोझिएर क्षणभरमै बस्तीमा हावाकावा बनायो । खेतीयोग्य जमीन पुरेको छ । धानको बीउ सखाप पारेको छ ।

तिलाठी–कोइलाडीका महेश्वर झा खाँडो खोलाले कृषिमा ठूलो क्षति पु¥याएको बताउँछन् । “बीउ जति थियो, त्यो बगीहाल्यो, अब किसानसँग बीउ नै छैन, धान कसरी फल्छ ?” झा प्रतिप्रश्न गर्छन् । घर भत्किएको र भाँडाकुँडा बगाएर पीडित बनेका स्थानीय बाढीको डर कम भए पनि गाँस, बास र कपासको जोहो गर्ने पीडा थपिएको बताउँछन् ।

साल्ट ट्रेडिङका पूर्वकर्मचारी शतिशचन्द्र झाले खेतीयोग्य जमीन बगर बनेको र बीउ हिलोले पुर्दा किसानलाई ठूलो मर्का परेको बताए । “पक्की घर बच्या छ, अरु बच्या छैन, चाँडोभन्दा चाँडो यो खाँडो खोलाको बाँध बन्नुप¥यो, अनि ढुक्कसँग निद्रा लाग्छ ।” झाले गाउँको अवस्था बताए । सप्तरीमा मानवीय क्षति नभए पनि बस्ती र खेतीबालीमा ठूलो क्षति पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चार हजार ५०० घरपरिवार प्रभावित भएको बताए । उनले राहत वितरणको काम जारी रहेको भन्दै छुटेका भए खोजेर वितरण गर्ने बताए । उनले यहाँको केही स्थान अझै डुबानमा रहेको बताए ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायत सरकारको उच्चस्तरीय टोलीले बुधबार सोही ठाउँमा गएर स्थलगत अवलोकन गरी पीडितको अवस्थाबारे जानकारीसमेत लिए ।

सप्तरीको यो प्रतिनिधि समस्या तराईमा बाढी र डुबान पीडितको यथार्थ चित्रण हो । रौतहट, धनुुषा, सिराहालगायत जिल्लामा योभन्दा बढी पीडा छ । बाढी र डुबानको पीडा कम भए पनि घरवारविहीन भएका र खाने अन्न नभएका सर्वसाधारणको अवस्था भने अझै चुनौतीपूर्ण छ । उनीहरु राहतको पर्खाइमा छन् । कतिपय स्थानमा राहत वितरणको काम तीव्र छ भने कतिपय ठाउँमा पुुग्न नसकेको यो तथ्यले पुष्टि गर्छ ।

स्थानीय गाउँपालिकाको सक्रियतामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा स्थानीय समुदाय खाँडो खोलाले भत्काएको स्थानमा अस्थायी ड्याम बनाउनमा व्यस्त छन् । यहाँका नदी, खोलानालाले धेरै ठाउँमा भत्काएकाले स्थानीयका प्रयास सम्भव हुने देखिँदैन । लामो दूरीका सडक सञ्जाल विच्छेद भएकाले त्यसको पुनःनिर्माण टड्कारो आवश्यकता छ ।

प्रदेश नं २ को विवरणअनुसार यहाँका आठ जिल्लामा ३२ जनाको मृत्यु भएको छ । रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन् । प्रदेश नं २ मा एक लाख १८ हजार घरका सात लाख व्यक्ति प्रभावित छन् । तीन हजार ६५० घरमा पूर्ण क्षति पुगेको छ । लालबकैया, कमला र वाग्मतीलगायत साना खहरे खोलाले ठूलो क्षति पु¥याएको छ ।

अर्थका कारण राहतमा कुनै कमी हुन नदिने उल्लेख गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको हरेक जिल्लामा तत्कालका लागि रु १० लाखका दरले राहत उपलब्ध गराएको र मृतक परिवारलाई प्रतिमृतक रु तीन लाखका दरले राहत दिने निर्णय गरेको जानकारी दिए । राहत वितरण कसरी भइरहेको छ भनेर हेर्ने संयन्त्र नहुने हो भने वास्तविक पीडितले राहत नपाउने गुनासो स्थानीयको छ । सप्तरीका प्रमुुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यसपटक आँकलन गरिएको भन्दा बेग्लैरुपमा बाढी र डुुबान भएको बताउँछन् ।

गृह मन्त्रालयका राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको विवरणअनुसार असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको, २९ हराइरहेका र ४१ घाइते भएका छन् । विपत्मा परेर सबैभन्दा बढी रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन् ।

ललितपुर र सिराहामा छ÷छ तथा मोरङ, भोजपुर, धनुषा, मकवानपुर र सिन्धुलीमा पाँच÷पाँच जनाले ज्यान गुमाएका छन् । ओखलढुङ्गा, महोत्तरी र डोल्पामा चार÷चार तथा झापा, खोटाङ, पर्सा, काभ्रेपलाञ्चोक र काठमाडौँमा तीन÷तीन जनाको मृत्यु भएको छ । यस्तै सुनसरी, बारा, धादिङ र दाङमा दुई÷दुई, इलाम, पाँचथर, सङ्खुवासभा, उदयपुर, सर्लाही रामेछाप, पाल्पा र कपिलवस्तुमा एक÷एक जनाको मृत्यु भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *