सिरिन्ज आक्रमणले चिकित्सक नै आश्चर्यमा, अब के होला ?

असार १२, काठमाडौं । अहिले काठमाडौं उपत्यकामा मात्र होइन बाहिर पनि ‘सिरिन्ज आक्रमण’को त्रास छ ।

यो खबर सागर बुढाथोकीले अनलाइनखबरमा लेखेका छन् । अज्ञात व्यक्तिले आफ्नो शरीरमा तीखो वस्तुले घोपेको व्यहोराका उजुरीहरु प्रहरीमा पुगेका छन् ।

तर त्यो व्यक्ति को हो, किन आक्रमण गर्‍यो र घोप्ने वस्तु सिरिन्ज नै हो वा होइन भन्ने एकीन भएको छैन । प्रहरीले पनि कुनै पनि आक्रमणकारीलाई पक्राउ गर्न नसकेकाले यो घटना रहस्यमय बन्दै गएको छ ।

सिरिन्ज आक्रमणको आशंका गर्दै शुक्रराज ट्रपिकल सेन्टर पुगेकी युवतीको बयान सुनिसकेपछि डाक्टरहरु पनि हैरान छन् । यसअघि काठमाडौंमा भएको नौ वटा घटना सिरिन्ज आक्रमण हो कि होइन भन्ने भन्न नसकिने अवस्थामा रहेका चिकित्सकहरूलाई आश्चर्यचकित पर्ने पर्याप्त कारणहरु थिए ।

घाउको प्रकृति सिरिन्जले नै घोचेजस्तो स्पष्ट थियो भने घोच्ने व्यक्ति महिला । डाक्टरहरुलाई आश्चर्य पार्ने अर्को तथ्य घटना उपत्यका बाहिर बनेपाको थियो ।

शुक्रराज ट्रपिकल सेन्टरका डा. शेरबहादुर पुन भन्छन्, ’यो घटना देखेर हामी सबै डाक्टर हैरान भएका छौं । यो अगाडि आशंका गरिएको घटनाभन्दा डरलाग्दो छ ।’

यसअघि सिरिन्ज आक्रमण आशंका गरिएका सबै घटना काठमाडौंकै थिए । आक्रमण गर्ने व्यक्ति पुरुष थिए र उनीहरुले बाइक प्रयोग गरेका थिए । तर, बनेपामा भएको घटना काठमाडौंमा भएको घटनाको ठीक उल्टो छ । अर्थात, पैदल हिँडेकी महिलाले आक्रमण गरेकी छिन् ।

डा. पुनकाअनुसार यसअघिका घटनाहरु सिरिन्ज आक्रमण हो कि होइन भनेर आशंका गर्नुपर्ने थियो । तर, यो घटना हेर्दा सिरिन्जले नै आक्रमण गरेको प्रष्ट हुन्छ । पीडित महिलाको हत्केलाको पछाडिपट्टि सिरिन्ज घोपिएको छ भने अरु घटनाको जस्तो ठूलो घाउ पनि देखिन्न ।

‘बिरामीको ब्लड झिक्दा घोपेजस्तै नशामा पर्ने गरी घोपिएको छ । दायाबायाँ कतै घाउ वा दाग छैन’, डाक्टर पुनले भने, ‘यो घटना देखेर हामी सबै डाक्टर हैरान भएका छौं ।’

सिरिन्ज आक्रमणका पछिल्ला ९ मध्ये ६ वटा घटनाबारे प्रहरीमा उजुरी परिसकेको छ । गएका एक सातामा भएका ५ वटा घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।

बनेपाकी ३४ वर्षीया एक युवती सिरिन्ज आक्रमणमा परेको भन्दै बुधबार शुक्रराज ट्रपिकल सेन्टर टेकु आइपुगेकी थिइन् । डा. पुनका अनुसार अरूभन्दा यो घटना सिरिन्ज एट्याक भनेर दाबी गर्न सकिने छ ।

गएको डेढ महिनामा यस्तै प्रकृतिको घटना लिएर शुक्रराज ट्रपिकल सेन्टरमा ९ जना महिला पुगिसकेका छन् । पछिल्ला पाँच घटना त गएको एक साताको मात्रै हो । यसअघि भएका चार घटना सार्वजनिक भएपछि त्रसित हुँदै महिलाहरु टेकु अस्पताल पुगेका डा. पुन बताउँछन् । केही दिनको अन्तरमा भएको उस्तै घटनाले महिलाहरु त्रसित छन् । उनीहरुलाई एचआईभी विरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिस बी बिरुद्धको भ्याक्सिन पनि दिइएको छ ।

सामान्य मान्दामान्दै पछिल्लो तथ्यांकले सिरिन्ज आक्रमण घटनाको ग्राफ बढेको देखाउँछ । तर प्रहरीले भने आक्रमणकारी पक्राउ नभएकाले घटनाबारे थप भन्न नसकिने बताएको छ । डा. पुनले पनि आक्रमण रोग सार्ने नियत हो या आतंक फैलाउने नियतले हो थाहा भइनसकेको बताउँछन् । उनका अनुसार पीडित महिलाहरूमा कुनै संक्रमण भए÷नभए टुंगो लाग्न तीन महिनासम्म कुर्नुपर्छ । भन्छन्, ‘तीन महिनाअघि नै घटनाको बारेमा थाहा पाउन आक्रमणकारी पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ ।’

सिरिन्ज आक्रमणका पछिल्ला ९ मध्ये ६ वटा घटनाबारे प्रहरीमा उजुरी परिसकेको छ । गएका एक सातामा भएका ५ वटा घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र वोगटी आक्रमणकारीको पहिचान गर्न सीसीटीभी फुटेज र पीडितको बयानका आधारमा खोजी भइरहेको बताउँछन् । बोगटी भन्छन्, ‘हामी आक्रमणकारी खोजिरहेका छौं । चाँडै सार्वजनिक गर्छौं ।’

टेकु अस्पतालका चिकित्सकहरुले पनि घटनालाई ‘गम्भीर’ रूपमा लिएका छन् । यद्यपि सिरिन्जले घोपेको भनेर दाबी गर्न सक्ने पर्याप्त आधारहरु अझै नभेटेको डा. पुन बताउँछन् । उनी भन्छन्, ‘अधिकांश युवतीको दाबी मान्ने हो भने सिरिन्ज आक्रमण नै भएको हो, तर बनेपाको घटना बाहेक अरुमा अन्यौलमा छौं ।’

टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टरका डा. अनुप बास्तोला सिरिन्ज नै आक्रमण गरेको भनेर दाबी गर्न नसकिने तीन वटा कारण दिन्छन् ।

पहिलो कारण– स्पिडमा बाइकमा आएर घोप्दा घोपिएको ठाउँ वरपर घर्षण भएर चोट देखिन सक्छ तर चारैजना युवतीको घोपिएको ठाउँमा एक ठाउँमा मात्र चोट देखिन्छ ।

दोस्रो कारण– सिरिन्जले घोप्दा चोट गहिरोसँग लाग्छ, तर बनेपाको बाहेक अन्य युवतीको घोपेको ठाउँमा चोट गहिरो छैन । घाउ ठूलो छ । जसको कारण काँटी या कुनै धारिलो हतियारले आक्रमण गरेको अनुमान गर्न सकिन्छ ।

तेस्रो कारण– घटना भएको स्थानको सीसीटीभी फुटेजमा मोटरसाइकल युवतीको नजिकबाट गएको देखिन्छ, तर हातमा भएको वस्तु सिरिन्जजस्तो देखिँदैन ।

बनेपामा भएको आक्रमणमा भने बास्तोला पनि डा. पुनको कुरामा सहमत छन् । एउटै प्रकृतिको घटना एकै समयमा र एउटै क्षेत्रमा भएकाले सिरिन्ज हुन सक्नेमा पनि उनी सहमत छन् । सिरिन्ज हो या होइन भनेर थाहा पाउन आक्रमणकारीको नियत थाहा पाउनुपर्ने उनी बताउँछन् ।

फेरी युवतीमाथि सिरिञ्ज प्रहार, के हो सिरिञ्ज आक्रमण ?

बनेपाको ब्यस्त बजारमा हिडिरहेकी ३४ बर्षीया युवतीलाई हातमा सिरिन्ज हानेर अर्की युवती फरार भएकी छिन् ।

यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् । मंगलबार राति सवा ८ बजे घर फर्कँदै गर्दा बाटोमा उनलाई अपरिचित युवतीले धक्का दिदै हातमा सिरिन्ज हानेर फरार भएकी हुन् ।

राजधानीमा सिरिन्ज आतंक फैलिएसँगै राजधानीसँगै जोडिएकोे बनेपा नगरपालिका– ८ करुणा मार्गमा ठमेल घर भई बनेपामा २०७२ साल देखि बस्दै आएकी युवतीलाई सिरिन्ज प्रहार गरिएको हो । ‘दिदीको घर डेराबाट केहि पर छ, राति सवा ८ बजे दिदीको घरबाट १३ बर्षिया छोरी र म फर्कर्दै थियौं’–उनले भनिन–‘बाटोमा विपरित दिशाबाट आउँदै गरेकी एक युवती ठोक्किन आईन र हातमा हात जुधाएर अघि बढिन् ।’ ‘उसँग ठोक्किए लगत्तै हातमा चसक्क भयो, म चिच्याएँ, छोरीले के भयो भन्न नपाउँदै फर्केर हेर्दा ती अधबैशे उमेरकी युवती फटाफट आफ्नो बाटो लागिन्’–उनले थपिन्–‘म कोठामा गएँ खाना खाएर सुतें तर हात दुखेर सुत्न सकिन । छोरी र म एउटा कोठामा सुत्ने भएकाले उनलाई भनें तर उनी निद्रामा भएकाले वास्ता गरिनन् ।’

‘विहान उठ्दा समेत हात दुख्न छाडेन’–ती युवतीले भनिन्–‘हात मर्काउँदै एक्सरसाईज गर्दा त झन सुन्निए आयो । तत्कालै नाला दोबाटोमा रहेको मेडिकलमा गएँ । मेडिकलमा किराले टोकेर सुन्निको होकी भनेर जिज्ञासा राख्दा मेडिकलवालाले किराले टोकेको प्वाल नभई सियो घोपेको जस्तो देखियो भनेपछि म आतिएँ ।

तत्कालै उहाँले नै टेकु जानु भन्नु भयो ।’ ‘टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आधा दर्जन डाक्टरहरुले सिविसि, आरएफटी, एलएफटी, एचविएसएजी, एचसिभी, एचआईभी एड्स लगायतका जाँच गर्नु भयो र तत्कालै एचआईभी एड्स विरुद्धको औषधी खान दिनु भयो’–युवतीले भनिन–‘प्रहरीले पनि अनुसन्धान शुरु गरेको छ ।

काठमाडौमा यस्ता धेरै घटना भएकाले सचेत रहन प्रहरीले उनलाई आग्रह गरेको छ । २८ दिनसम्म नियमित औषधी सेवन गर्न चिकित्सकहरुले उनलाई सुझाएका छन । ती युवतीको रगत परीक्षणको प्रतिवेदन आज विहीबार आउने भएको छ ।

‘अहिले सुन्निएको हात बसेको छ तर पनि डरले काँपिरहेको छु’–ती युवतीले भनिन –‘औषधी नियमित खान र प्रहरीकोमा उजुरी गर्न सल्लाह दिएकाले इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएँ ।’

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक निराजन भट्टराईले सिरिञ्जबाट आक्रमण भएकोबारेमा उजुुरी परेको बताउनु भयो । जिल्लाकै पहिलो घटना भएकाले अनुसन्धान शुरु गरेको भट्टराईले जानकारी दिनु भयो । युवतीका श्रीमान बनेपामै मोटर पार्टस ब्यवसायी हुन् ।

राजधानीमा सिरिन्ज आक्रमणको डरलाग्दो रुप, एक महिनामा ९ घटना, सिरिन्ज आक्रमण नै हो त ?

बनेपाकी ३४ वर्षीया एक महिला मंगलबार राती साढे ८ बजे दिदीको घरबाट आफ्नो घरतर्फ जाँदै थिइन् ।

यो खबर रिता लम्सालले खबरहबमा लेकेकी छन् । छोरीसँग गफिँदै गएकी उनी बाटोमा एकजना महिलासँग ठोक्किइन् । ती महिलासँग ठोक्किँदा उनलाई देव्रे हातमा घोचेको जस्तो महशुस भयो । उनले ‘ऐया दुख्यो ! भनिन् । तर ती महिलाले फर्केर पनि हेरिनन् ।

उनले आफ्नो दाहिने साइडमा रहेकी छोरीलाई हात देखाउँदै भनिन्,‘हेर त छोरी कस्तोसँग ठोक्किएर गइ, सरी पनि भनि न ।’

‘मलाई त्यो महिलासँग ठोक्किँदा केहीले घोचेको महशुस भएपछि ती महिलालाई फर्केर हेरेँ,’ ती महिलाले खबरहबसँग भनिन्, ‘रातो रंगको कुर्था सुरुवाल लगाएकी महिला थिइन्, हात दुबै अगाडिपट्टि थियो, मैले ऐया भन्दा उसले सरी पनि नभनि गएकी थिई ।’

रातिको साढे आठ भइसकेको थियो । अँधेरोमा उनीहरुले त्यो घटनालाई बेवास्ता गर्दै घरतिर लागे । रातभरी उनको देव्रेहात दुख्यो । बिहान उठेर हेर्दा उनी आफ्नै हात देखेर झस्किन् । अघिल्लो दिन ती महिलासँग ठोक्किएको देब्रे हात सुन्निएको थियो । उनको हातले खाना समेत बनाउन मिलेन । किन दुख्यो भनेर मुठि कसेर हेर्दा हातमा सुइले घोचेजस्तो सानो घाउ देखियो ।

बुधबार बिहान छोरीलाई स्कुल पुर्‍याएर दिदीको घरमा गइन् । दिदीले किराले काटेर यस्तो भएको हो कि ? भनेर बनेपा अस्पतालमा जचाँउन लगिन् । बनेपा अस्पतालमा पुगेपछि डाक्टरले उनीहरुलाई सिरिन्ज आक्रमणको आशंका गर्दै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरे ।

बुधबार दिउँसो टेकु अस्पतालमा आइपुगेका ती महिलालाई अस्पतालले रोग सार्ने नियतले सिरिन्ज आक्रमण भएको हुनसक्ने भन्दै एचआइभी विरुद्धको एन्टि रेक्टो भाइरस (एआरटी)औषधि शुरु गरेको छ ।

‘उहाँको हातमा सुइले घोचेको जस्तो नै देखिन्छ, यो नियतवस नै गरिएको हो,’ टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनले भने, ‘उहाँ २४ घण्टा भित्रै अस्पताल आउनुभएकाले उहाँलाई २८ दिनको लागि एचआइभी विरुद्धको औषधि खान सल्लाह दिएका छौं । यदि एचआइभी सार्ने नियतले सुइ घोचिएको रहेछ भने पनि यो औषधि २८ दिन खादा एचआइभी सर्दैन ।’

बनेपाकी ३४ वर्षीया महिलाले आफूलाई सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीमा उजुरी पनि दिएकी छन् ।

एक महिनामा ९ घटना, प्रहरीमा ६ उजुरी

यस्तै प्रकृत्तिको घटना लिएर पछिल्लो एक महिनामा टेकु अस्पतालमा उनीसहित ९ जना आइसकेका छन् । केही दिनको फरकमा काठमाडौंका विभिन्न स्थानमा सिरिन्ज आक्रमण भएको भन्दै महिलाहरु अस्पतालमा आउन थालेको टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

‘जेठ महिनादेखि काठमाडौंमा यो घटना आइरहेको छ । ४ वटा घटना आएपछि सञ्चारमाध्ययमहरुमा समाचार आयो, त्यसमा प्रहरीले अनुसन्धान गरीरहेको छ,’ डा पुनले भने,‘ती चारवटा घटनाको अनुसन्धान पूरा नहुँदै फेरि लगातार ५ वटा घटना आइसकेको छ ।’
आफूमाथि शंकास्पद वस्तुले आक्रमण भएको भन्दै टेकु अस्पताल आएका ९ जनामध्ये ६ जनाले प्रहरीमा उजुरी दिएका छन् ।

महानगरीय प्रहरी परिसर टेकुका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले बुधबार (असार ११ गते) सम्ममा सो प्रकृतिको घटनाको ६ वटा उजुरी दर्ता भएको बताए । काठमाडौंमा युवतीहरुमाथि लगतार यस्तो प्रकृतिको घटना भएपनि प्रहरीले घटनाको विषयमा गम्भिर रुपमा अनुसन्धान गरीरहेको डिएसपी बोगटीको भनाइ छ ।

‘अहिलेसम्म ६ वटा उजुरी परिसकेको छ, हामीले विषेश प्राथमिकता दिएर आक्रमण गर्ने व्यक्तिलाई खोजी गर्ने काम गरीरहेका छौं,’ डिएसपी बोगटीले खबरहबसँग भने, ‘यही घटनाको विषयमा विशेष अनुसन्धानका लागि २० जना प्रहरी खटिनुभएको छ ।’

सिरिन्ज आक्रमण नै हो त ?

सिरिन्ज आक्रमण भएको भन्दै युवतीहरुले प्रहरीमा उजुरी दिएपछि प्रहरीले घटनाको विषयमा गम्भिर रुपमा अनुसन्धान गरिरहेको जनाएको छ । बुधबार आएकी महिलाको घटना सिरिन्ज आक्रमण भएको हुनसक्ने भएपछि अन्य ८ जना महिलाको भने सिरिन्ज आक्रमण नभएको डा पुन बताउँछन् ।

‘अस्पताल आएकी युवतीहरुले बाइकमा आएको व्यक्तिले आक्रमण गरेको भनेका छन्, तर सुइले घोच्दा घाउ ठूलो नहुनुपर्ने, रोग सार्ने नियतले त शरीरको जुनसुकै भागमा पनि सुइले घोच्न सक्थे,’ डा पुनले भने, ‘यसअघि अस्पतालमा आएका ८ जना युवतीहरुको शरीरको पनि पेट, पिडुला हिप, छातीको भागमा आक्रमण गरेको देखिन्छ । यो घटना सिरिन्ज आक्रमण होइन कि भन्ने लाग्छ ।’

सिरिन्ज भन्दा पनि घाइते बनाउने नियतले आक्रमण गरिएको पनि हुनसक्ने डा पुन बताउँछन् ।

श्रृंखलाबद्ध रुपमा आक्रमणमा परेका ८ जना महिला एकसाता भन्दा बढी समयपछि मात्रै अस्पतालमा आइपुगेका थिए । आक्रमणमा परि अस्पतालमा आएका सबै महिलाहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको डा पुन बताउँछन् । रोग सार्ने नियतले उनीहरुमाथि आक्रमण भएको भए २ वा ३ महिनामा उनीहरुमा सो रोग देखिनसक्ने डा पुन बताउँछन् ।

महानगरीय प्रहरी परिसर टेकुका डीएपी बोगटीले चिकित्सकहरुले नै असार ११ गते भन्दा अघिका घटनाहरुमा सिरिन्ज आक्रमण नभएको हुनसक्ने बताएकाले घटना शंकास्पद नै रहेको बताए । ‘डाक्टरहरुले नै सिरिन्ज आक्रमण होइन कि भन्नुभएको छ, हामीले विभिन्न तरिकाबाट आक्रमण गर्नेको खोजी गरिरहेका छौं ।’

सबै आक्रमणका घटनाहरु रातिको समयमा भएकाले बाटोमा हिड्दा सजक भएर हिड्न पनि प्ररहीले सचेत गराएको छ ।

सबै तस्बिर: नेपालसमाचारपत्र

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *