दाङ र रुपन्देहीमा चट्याङ लागेर ६ जनाको मृत्यु, मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

असार १०, बुटवल, रुपन्देही र दाङमा मंगलबार चट्याङ लागेर छ जनाको ज्यान गएको छ । रुपन्देहीमा तीन जना र दाङमा तीन गरी छ जनाको मृत्यु भएको हो ।

मंगलबार साँझ घरखेतमा काम गरिरहेको बेला चट्याङ परेर उनीहरुको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा गैडहवा गाउँपालिका-७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका-२ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका-७ का ६२ वर्षीय चन्द्रबहादुर विक छन्।

चट्याङ लागेर गम्भीर घाइते भएका एक जनाको मणिग्रामस्थित क्रिमशन अस्पतालमा र अन्य दुई जनाको बुटवलस्थित लुम्विनी प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।

चट्याङ लागेर घाइते भएका सियारी गाउपालिका वडा नम्वर २ की १४ वर्षीया ममता साहनीको क्रिमशन अस्पतालमा र सियारी गाउपालिका वडा नम्बर ७ का ११ वर्षीय गौतम मल्लाह र १५ वर्षीय भोला मल्लाहको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

यता दाङमा पनि चट्याङ लागेर तीन जना बालकको मृत्युु भएको छ। मंगलबार बेलुकी ६:२५ बजे परेको चट्याङ लागेर राप्ती गाउँपालिका-३ मौरीघाटका साजन चौधरी (१३), रमित चौधरी (११), विनाश चौधरी (११)को मृत्युु भएको दाङ प्रहरीले जनाएको छ

त्यसैगरी, चट्याङ लागेर मृतक विनाशका भाइ अविनाश चौधरी (८) गम्भीर घाइते भएका छन्। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।

दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार चारै जना बालक जामुनाको रूखमा चढेका चढेका थिए। उनीहरू रूखमा चढेका बेला परेको चट्याङले केहीको मृत्यु भएको हो।

गत वर्ष चट्याङ लागेर ६८ जनाको मृत्यु भएको थियो भने ४ सय जना घाइते थिए। यस वर्ष पनि चट्याङ लागेर ३१ जनाको मृत्यु भइसकेको छ भने एक सय ३८ जना घाइते भएको प्रहरीले जनाएको छ।

दाङमा ट्रककाे ठक्करबाट माेटरसाईकल चालककाे मृत्यु

दाङमा ट्रककाे ठक्करबाट माेटरसाईकल चालककाे मृत्यु भएकाे छ ।

मंगलबार बेलुकी साढे ८ बजेतिर घोराही उपमहानगरपालिका– १० सौडीकुलामा घोराहीदेखि तुलसीपुरतर्फ जाँदै गरेको ना ६ ख २६३४ नं.को ट्रकले विपरीत दिशातर्फ हिडिरहेको रा १ प ५३३१ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३३ वर्षीय कमानसिंह वलीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार घोराही उपमहानगरपालिका- जलौराका घाइते वलीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।

विप्लव नेकपाका चार कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको समूहका चार नेता, कार्यकर्ता पक्राउ परेका छन् । सो समूहका राप्ती ब्युरो सदस्य गोर्खबहादुर कामीसहित चार जना नेता कार्यकर्ता गएराति पक्राउ परेका हुन् ।

त्रिवेणि गाउँपालिका–१ सिन्तुवाङबाट आठबीसकोटका कामीसहित दीर्घराज गहतराज, छविलाल घर्ती र युवा सङ्गठनका जिल्ला उपाध्यक्ष विवेक बिक पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

प्रहरी टोली पुग्दा उनीहरुले शंकस्पद गतिविधि सञ्चालन गरिरहेका र सोधपुछ गर्दा प्रहरी टोली माथि नै हातपात गरी अभद्र व्यवहार देखाएपछि पक्राउ गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *