राजनीति समाचार

विप्लवको बन्दः देशभर कहाँ के भयो ? पढ्नुहोस

असार १०, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज (मंगलबार) गरेको नेपाल बन्दले काठमाडौं उपत्यकासहित देशभर जनजीवनमा सामान्य प्रभाव परेको छ।

काठमाडौंमा आज सार्वजनिक यातायात कम चलेका छन् भने बन्दका दिन ‘अप्रिय घटना’ हुनसक्ने भन्दै धेरैजसो शैक्षिक संस्थाले पठनपाठन बन्द गरेका छन्।

सार्वजनिक गाडी कम चले पनि निजी सार्वजनिक सवारीसाधन भने बाक्लै चलेका छन्।

यस्तै देशका अन्य भागमा पनि सार्वजनिक यातयात, बजार तथा शैक्षिक संस्थामा बन्दको प्रभाव पर्दा जनजीवन प्रभावित भएकाे छ।

बन्दका क्रममा काठमाडौं उपत्यकासहित मुलुकभर दुई दर्जनभन्दा बढी ठाउँमा शंकास्पद वस्तु फेला परेका छन्। तर धेरै ठाउँका शंकास्पद वस्तु बम नभएको पुष्टि भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार काठमाडौंबाट १ तथा कास्कीबाट एक जना पक्राउ परेका छन्। अहिलेसम्म कतै क्षति भएको खबर नआएको प्रवक्ता पोखरेलले बताए।

उपत्यकाका विभिन्न स्थानमा शंकास्पद वस्तु

काठमाडौंको कीर्तिपुरको नयाँ बजार गेटनजिक शंकास्पद वस्तु फेला परेको छ। तर उक्त वस्तु बम नभएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएपी छेदीलाल कामतीले जानकारी दिए। नेपालखबरसँग उनले भने, ‘रातो कपडाले बेरिएको वस्तु खोलेर हेर्दा मिनरलवाटरको बोतरमा माटो भरिएको पाइयो।’

यस्तै जावलाखेलमा भेटिएको शंकास्पद वस्तु पनि बम नभएको पुष्टि भएको छ। महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रविन्द्रसिंह धानुकले उक्त वस्तु विद्यार्थीको झोला भएको बताए। जावलाखेल खेल मैदानअगाडि होटलको सटरमा भेटिएको उक्त बम भन्ने आशंकाले डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो।

यस्तै भक्तपुरमा पनि शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

पोखराका तीन स्थानमा शंकास्पद वस्तु

पोखराका तीन ठाउँमा बम भेटिएका छन्। विजयपुरको पुलपारि ओरालोमा प्रेसरकुकर बम फेला परेको हो। यस्तै पोखरा महानगरपालिका लेखनाथको हमाल चोकमा पनि सकेट बम फेला परेको प्रहरीले जनाएको छ। बमलाई नेपाली सेनाले निस्क्रिय बनाएको छ। यस्तै पोखरा–१७ ड्यामसाइडमा पनि शंकास्पद वस्तु भेटिएको प्रहरीले जानकारी दिएको छ।

गाउँपालिका अध्यक्षको कार्यकक्ष अगाडी बम

जाजरकोटको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहको कार्याकक्षमाशंकास्पद वस्तु फेला परेको छ। लिम्सा स्थित कार्यालयमा मंगलबार बिहान सुतली बम जस्तो देखिने संकास्पद बस्तु फेला परेको हो। खतरा लेखिएको शंकास्पद वस्तुका कारण त्रास फैलिएको छ।

नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्नियुष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दलाई लक्षित गरी उनीहरुले नै त्रास फैलाउन उक्त शंकास्पद वस्तु राखिएको हुनसक्ने सुरक्षा निकायको आशंका छ।

ईलाका प्रहरी कार्यालय रामीडाँडाको प्रहरी टोलीले उक्त शंकास्पद वस्तु बम हो वा होईन भन्ने छुट्याउन नसकेपछि जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलको मनमई स्थित नेपाली सेनाको टोली बारेकोटतर्फ लागेको गरेको प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।

सेनालाई लिम्सा पुग्न करीब ७ घण्टा पदैल हिड्नु पर्छ । बम आतंकका कारण मंगलवार गाउँपालिकाले कुनैपनि कामकाज नगर्ने जनाएको छ । अध्यक्ष शाहले भने–‘हामी सचेत छौ । कुनै अप्रिय घटना नहोस । आज दिनभर गाँउपालिकाको कामकाज ठप्प हुने देखियो ।’

बन्दले जाजरकोटको जनजीवन प्रभावित भएको छ। सोमबार बसेको जिल्लास्थित सुरक्षा समितिको बैठकले बन्दको क्रममा अप्रिय घटना हुन नदिन सुरक्षा निकायको गस्ती बढाउने, शंकास्पद मानिसको निगरानी र खानतलासी गर्ने लगायतका निर्णय गरेको प्रजिअ बस्नेतले बताए ।

मोरङ र झापमा बम

मोरङमा पनि प्रेस कुकर बम फेला परेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–४ स्कुलडाँडामा रातो कपडाले बेरेर राखिएको उक्त बम डिस्पोजका लागि नेपाली सेना घटनास्थल पुगेको छ।

यस्तै, झापाको माइखोलामा शंकास्पद वस्तु फेला परेको छ। बम भएको आशंकामा नेपाली सेना घटनास्थलतर्फ गएको छ।

अछामका दुई वडा कार्यालयमा आगजनी

अछामका दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार राति पञ्चदेवल बिनायक नगरपालिकाको वडा नम्बर ३ र ढकारी गाउँपालिका ५ नम्बर वडा कार्यालयमा आगजनी गरिएको हो ।

प्रहरीकाअनुसार पञ्चदेवल बिनायक–३ को कार्यालयमा डिजेल छर्केर अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट वडा कार्यालयभित्र रहेका महत्वपूर्ण कागजात, एकथान कम्प्युटर, एकथान प्रिन्टरका साथै कुर्सी, टेबुल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी जनक शाहीले जानकारी दिए ।

यता ढकारी गाउँपालिका वडा नम्बर ५ को कार्यालयमा मंगलबार बिहान करिब ४ बजेतिर अज्ञात समूहले आगजनी गरेको छ । घटनास्थलमा प्रहरी पुग्न नसकेकाले क्षतिको विवरण आउन बाँकी रहेको छ । ‘प्रहरी चौकीबाट उक्त वडा कार्यालय पुग्न करिब ४ घण्टा पैदल हिड्नुपर्छ’डिएसपी जनक शाहीले भने–‘५ नम्बर वडा कार्यालय पुर्णरुपमा जलेको छ भन्ने खबर पाएका छौ, त्यहाँ प्रहरी पठाईसकेका छौ ।’ विप्लव समूहले आगजनी गरेको प्रहरीको आशंका छ ।

रामेछापमा विस्फोट

रामेछाप सदरमुकाम मन्थलीनजिकै ग्यास सिलिन्डरर पड्किएको छ। बिहान २ बजेतिर मन्थली बसपार्कभन्दा केही माथि पाखामा उक्त विस्फोट भएको हो। घटनास्थल बसोवास क्षेत्रभन्दा केही टाढा पाखामा भएकाले कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

नुवाकोटमा मेयरको घरमा बम

नुवाकोटको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ। सोमबार राति मेयर सञ्जु पण्डितको विदुर-९ स्थित घरमा प्रेस कुकर बम भेटिएको हो।

उक्त बिहान मंगलबार बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ। नेकपा विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा समूहका कार्यकर्ताले घरमा प्रेसर कुकर बम राखेको प्रहरीको आशंका छ।

सिन्धुलीको बुकामा भेटियो ‘नक्कली बम’

विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित बुका पुलमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। प्रेसर कुकर बमको आशंका गरिएको भएपनि नक्कली प्रेसर कुकर बम भएको खुलेको छ।

सिन्धुलीको ठूलीटारस्थित बर्दबहादुर गणबाट गएको नेपाली सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गर्दा नक्कली प्रेसर कुकुर बम भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए।

विपी राजमार्ग अन्तर्गत सिन्धुली–बर्दीबास सडक खण्डमा पर्ने बुका पुलमा मंगलबार बिहानै रातो कपडामा बेरेर प्रेसर कुकर राखिएको थियो। तर, डिस्पोजका क्रममा पुरानो कुकर भित्र रातोमाटो र बालुवा हालिएको पाइएको सिंहले जनाए।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले हत्या गरेको भन्दै मंगलबार नेपाल बन्दको आह्वान गरेको छ।

बन्दको सिन्धुलीमा पनि प्रभाव देखिएको छ। वीपी राजमार्गमा सामान्य संख्यामा सवारी साधन संचालनमा आएका छन्। सदरमुकामका पसल सदा झैँ खुलेका छन्।

काभ्रेका केही स्थानमा शंकास्पद वस्तु

काभ्रेका पनि केही स्थानमा शंकास्पद वस्तु फेला परेका छन्। पनौती ७ स्थित ढुंखर्क बस स्टपमा र खोपासी मार्गको रोशी खोला पुलमा दुईवटा प्रेसरकुकर बम भेटिएका हुन्। उक्त बम नेपाली सेनाको धुलिखेलस्थित विष्णुदल गणबाट खटिएको टोलीले डिस्पोज गरेको छ।

उदयपुरका दुई मुख्य बजारमा बम

उदयपुरका दुई मुख्य बजारमा मंगलबार बिहान दुईवटा बम फेला परेको छ । सदरमुकाम गाईघाटको त्रियुगा नगरपालिका–१२ आर्दशटोल र पश्चिमी क्षेत्र कटारी नगरपालिका–३ स्थित तीर्थ श्रेष्ठको घर अगाडी बम फेला परेको हो ।

सदरमुकाममा फेला परेको सुतली बम रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी विरबहादुर बुढामगरले बताए । शंकास्पद बस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै नेपाली सेनाको १८ नम्बर बाहिनीको टोलीले घटनास्थल पुगी डिस्पोज गरेको एसपी बुढामगर जानकारी दिए ।

नेत्र विक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आहन गरेको नेपाल बन्दलाई सफल बनाउन बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ । आदर्शटोलमा हरियो झोलामा करिब एक सय मिटर रातो कालो तारले बाँधेर छाडेको अवस्थामा बम फेला परेको प्रहरीले जनाएको छ ।

कटारीमा रातो झोलमा बाँधेर छाडिएको अवस्थामा रहेको शंकास्पद वस्तु सुतली बमको आशंका गरिएको छ । उक्त बस्तुलाई प्रहरीले कडा सुरक्षा दिएर घेरा हालेको छ ।

यता बन्दकाकारण उदयपुरको जनजीवन प्रभावित छ ।

कालुपाण्डे मार्गमा राखेको बम सेनाले निस्क्रिय पार्‍यो

पृथ्वीराजमार्ग र जिल्ला सदरमुकाम जोड्ने कालुपाण्डे मार्ग अन्तरग धादिङको सिद्धलेक गाउँपालिका–६ स्थित मुक्तिनाथ मन्दिरनजिकै राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।

विप्लव समूहले आह्वान गरेको बन्दलाई सफल बनाउनका लागि र सवारी साधनलाई अवरोध पुर्‍याउने उद्देश्यले बम राखिएको हुनसक्ने प्रहरीले जनाएको छ। बिहानै तरकारी बोक्ने क्रेटमा शंकास्पद बस्तु देखिएपछि सवारी चालकले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको प्रहरीको गोलीबाट आफ्ना सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव धादिङमा देखिएको छ।

बिहानै बाटोमा बम भेटिएपछि धादिङवेशीबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प भएका छन्। सदरमुकामका पसलहरु बन्द छन्। शैक्षिक संघसस् बन्द गरिएका छन्।

देशका २० स्थानमा शंकास्पद वस्तु फेला, ७ जना पक्राउ

बन्द गराउँदै हिँड्ने कार्यमा संलग्न ७ जना विप्लवका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) विश्वराज पोखरेलले देशका विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार राजधानीको सुकेधाराबाट विप्लवका कार्यकर्ता भागिराज राई पक्राउ परेका छन् ।

यसैगरी कास्कीबाट १ जना मकवानपुरबाट १ जना र पश्चिम रुकुमबाट एक जना पक्राउ परेका छन् ।

यसैगरी देशका २० स्थानमा संकास्पद बस्तु फेला परेकोमा ९ वटा शंकास्पद बस्तु आतंक सिर्जना गर्नेगरी नक्कली वस्तु मात्रै राखिएको पाइएको छ। अन्य शंकास्पद बस्तु भने नेपाली सेनाको बम डिस्पोजल टोलीले निश्क्रिय बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीले ३ स्थानमा ग्यास सिलिन्डर बम फेला परेको जनाएको छ । यस्तै २ स्थानमा सकेट बम, एक स्थानमा सुतली बम, एसिड बम र टाइम बम फेला परेको छ भने ४ ठाउँमा तोडफोटको घटना भएको छ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *