केन्यामा बेचिएका नेपाली चेलीको दर्दनाक पीडा [नालीबेलीसहित]

परिवारको जीवनस्तर उकास्ने आशले २० वर्षे एक नेपाली चेली (केन्यामा पाएको उपनाम – असली बाई) गत नोभेम्बर महिनामा केन्या आइपुगेकी थिइन् । तर, परिवारको आर्थिक अवस्था कमजोर रहेकाले बीचैमा विद्यालय छाडेकी उनी केन्या आएपछि भने यौन दासी बन्न पुगिन् ।

यौन दासी

७ जनाको परिवारकी जेठी छोरी उनी विद्यालय बीचैमा छाडेपछि पैसा कमाउन डान्सर बनिन् । यही समयमा उनको भेट आफूलाई विशाल नाम बताउने दलालसँग भयो । आफ्नो समस्या सुनाएपछि उसले प्रस्ताव गर्यो, ‘काम गर्न केन्या जाने हो त ?’

‘उसले मलाई आफूले केन्यामा आसिफ नाम गरेको एकजनालाई चिनेको र उसले डान्सर खोजिरहेको बतायो । मैले उसको प्रस्ताव स्वीकार गरेँ । उसले मलाई आसिफसँग पनि चिनायो ।’ त्यसको केही समयपछि असली बाईले पासपोर्ट र हवाई टिकट पाइन् । आसिफ सँगकै सम्पर्कबाट उनी केन्याको मोम्बासा शहरका लागि उडिन् ।

नोभेम्बर १२ का दिन उनी मोम्बासा शहरको मोई अन्तर्राष्ट्रिय विमानस्थल पुगिन् । विमानस्थलमा उनलाई लिन आसिफ आफैं आइपुग्यो । आसिफले उनलाई मोम्बासा शहरनजिकैको बाम्बुरीस्थित अपार्टमेन्टमा लिएर गयो । एक दिनको आरामपछि उनलाई नयाँ कामबारे जानकारी गरायो । आसिफले उनलाई मोम्बासा शहरको न्याली क्षेत्रमा रहेको न्यू रंगीला बार नामक रेष्टुरेन्टमा मुजरा नृत्य सिक्नुपर्ने बतायो । त्यसपछि आसिफले उनको पासपोर्ट खोसेर राख्यो ।

केन्यामा आधारित रहेर अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहविरुद्धको अनुसन्धान–अभियान चलाइरहेको केन्याली प्रहरीसँग आफ्नो कहानी सुनाउने असली बाई एकमात्र नेपाली चेली होइनन् । उनीसहित चार जना नेपाली चेलीले केन्याली प्रहरीलाई यस्तै दर्दनाक बयान दिएका छन् । र अहिले उनीहरु केन्याली प्रहरीको नियन्त्रणमा छन् । उनीहरुको यो बयानले कुनै समय मानव तस्करीको ट्रान्जिट पोइन्ट भनी विश्वास गरिँदै आएको केन्या कसरी मानव तस्करीको गन्तव्यको रुपमा विकसित हुँदै गइरहेको छ भन्ने स्पष्ट पारेको छ ।

ती महिलाहरुले काम गर्ने न्यू रंगीला बारलाई मध्यनजर गरी प्रहरीले अनुसन्धान गरेको थियो । असली बाईलाई केन्या ल्याउने मोम्बासा शहरका धनाढ्य उनै ‘आसिफ’ अमिरली अलीभाई जेठा यो बारका मालिक हुन् ।

सन् २०१४ देखि न्यू रंगीला बार सञ्चालन गर्दै आएका जेठा मोम्बासा शहरका शक्तिशाली व्यापारी मानिन्छन् । उनीसँग क्यानाडा र बेलायतको पासपोर्टसमेत छ । उनको फेसबुक प्रोफाइलअनुसार उनले क्यानाडा वाइड मिडिया नाम गरेको म्यागजिनको प्रकाशक तथा डिजिटल मिडिया कम्पनीमा समेत काम गरेका थिए ।

जेठाले क्यानाडाका सिमोन फ्रासेर विश्वविद्यालय र बर्नबे सेन्ट्रल सेकेण्डरी स्कूलमा अध्ययन गरेको दाबी गरेका छन् ।

उनको पूर्वी केन्याली तटका केही प्रख्यात व्यापारीसँग निकै नजिकको सम्बन्ध रहेको विश्वास गरिन्छ । त्यसबाहेक उनको सुरक्षा निकायसँग पनि सम्बन्ध छ । यसैकारण गैरकानूनी गतिविधीमा संलग्न रहेपनि उनी जोगिँदै आएका थिए । उनलाई अहिले भने मानव तस्करी, तस्करीलाई बढावा दिएको र महिलाहरुको पासपोर्ट खोसेर ट्राभल डकुमेन्टमा जालसाजी गरेका अभियोगहरु लगाइएको छ ।

उनीमाथि न्यू रंगीला बारलाई मानव बेचविखनका लागि प्रयोग गरेको पनि आरोप लागेको छ ।

यो बार थोरै मानिसहरुका लागि मात्र खुला हुने गरेको थियो । त्यस बारमा भारी प्रवेश शुल्क र टिप्स् दिन सक्ने धनाढ्यलेमात्र प्रवेश पाउँथे । ‘बारको ढोका प्रायः बन्द हुन्थ्यो । यो बार प्रवेश गर्नका लागि ढोका ढक्ढक्याउनु पर्थ्यो । त्यसपछि बारका सुरक्षा गार्ड आएर चेक गर्थे । गार्डलाई चित्त बुझेपछि मात्र भित्र छिर्न पाइन्थ्यो ।’ बार गएका एकजनाले नाम नबताउने शर्तामा भने ।

मुजरामा महिलाहरुले कामुक नृत्य प्रस्तुत गर्ने गर्थे । ‘दर्शकहरुले यो नृत्यका क्रममा पैसा फाल्ने र कोही नृत्यांगाना मन परेमा यौन सन्तुष्टिका लागि लैजाने गर्थे । रंगीला बारले त्यसैगरी पैसा कमाउँथ्यो ।’ बार गएका अर्का एकजनाले भनेका छन् ।

हरेक महिलालाई उपनामहरु दिइने र हरेक रातका लागि निश्चित रकम तोकिएको हुन्थ्यो । उनीहरुको रेट मासिक ५० हजार देखि ८० हजार केन्याली शिलिङसम्म हुने गरेको थियो । तैपनि उनीहरुले प्रत्यक्ष रुपमा भने केबल १० देखि १५ हजार शिलिङमात्र पाउँथे ।

चेलीहरुको बयानअनुसार सबै महिलाहरुलाई बाम्बुरीस्थित अपार्टमेन्टमा राखिन्थ्यो । उनीहरुलाई राति बारमा लैजाइन्थ्यो । त्यो बाहेक अरुबेला बाहिर जान दिइन्नथ्यो । महिनाको एक दिन भने आउटिङका लागि बारकै एकजनाको निगरानीमा बाहिर जान दिइन्थ्यो ।

मासिक लक्ष्य

१० जना अरु नेपाली महिलासँगै १० महिनासम्म त्यस अपार्टमेन्टमा बसेकी २६ वर्षे (परिवर्तित नाम) रमिता आलेले आफूहरुलाई बेलुकी ९–१० बजे रंगीला बारमा लैजाने र क्लब बन्द भएपछि राति ३ बजेमात्र फर्काइने गरेको बताइन् ।

उनी र उनीसँगैका साथीहरुलाई त्योबाहेक आसपास के भइरहेको छ भन्नेबारे केही थाहा हुन्नथ्यो । यतिसम्म कि बाम्बुरीमा रहेको आफ्नो अपार्टमेन्ट कहाँ छ त्यो पनि उनीहरु पत्तो पाउँदैन थिए । ‘काममा जाने समयबाहेक अरु बेला हामीलाई बाहिर निस्किन दिइन्नथ्यो ।’ उनी भन्छिन्, ‘हामीलाई महिनामा एक दिनमात्र विदा दिइन्थ्यो । विदाका दिन पनि बारका मालिक हामीसँगै हुन्थे ।’ उनका अनुसार उनीहरुलाई दिउँसोको ३ बजेदेखि ६ बजेसम्म मात्र मोबाइल चलाउन दिइन्थ्यो ।

बारमा काम गर्दा ‘आशिको’ उपनाम दिइएकी रमिताका अनुसार उनलाई हरेक महिना ४ लाख शिलिङ कमाउने लक्ष्य दिइएको थियो । उनको तलब भने केबल ८० हजार शिलिङमात्र थियो । उनी भन्छिन्, ‘डान्स गर्ने स्टेजमा ग्राहकले हामीलाई टिप्स दिने गर्थे । हामीले त्यो टिप्स आ–आफ्नो नामको भाँडोमा राख्नुपथ्र्यो ।’ हरेक महिना जेठाका अनुसार एकजना कर्मचारीले उनको तलबमध्ये ६० देखि ७० हजार शिलिङ उनका आमाबाबुलाई नेपाल पठाउन भन्दै लैजान्थे ।

यही कहानी ३० वर्षे (परिवर्तित नाम) अञ्जु बिकको कहानीसँग पनि मिल्दोजुल्दो छ । उनले पनि कमजोर आर्थिक अवस्थाकै कारण बिचैमा पढाई छाडेकी थिइन् । पछि डान्सर बनेकी उनले एकजना साथीको माध्यमबाट मोम्बासाका जेठासँग सम्पर्क स्थापित गरिन् । उनी गत अगष्टमा केन्या पुगिन् । मोम्बासाको मोई विमानस्थलमा जेठा पर्खिरहेका थिए । उनलाई पनि बाम्बुरीको अपार्टमेन्टमा लगियो । उनले पनि आफ्नो राहदानी जेठालाई दिइन् ।

आफूहरु एकदमै कठोर निगरानीमा बसेको उनीले पनि सुनाइन् । उनीहरुलाई बार आउजाउ गर्न बाहेक अन्यत्र जाने अनुमति थिएन ।

प्रहरीको छापा

उनीहरुको खर्च सबै उनका मालिकले व्यहोर्थे । ‘मेरी’ नाम गरेकी अर्की महिलाले उनीहरुको फोन जफत गरेर राख्ने गर्थिन् ।

‘हामी सबैको नाममा एक–एक वटा भाँडो हुने गर्थ्यो । बारका वेटरहरुले ती भाँडा ग्राहकसमक्ष लिएर जाने गर्थे । त्यहाँ ग्राहकले दिने टिप्स जम्मा हुन्थ्यो । हरेकलाई प्रतिमहिना निश्चित रकम कमाउने लक्ष्य दिइएको हुन्थ्यो । मेरो लक्ष्य हरेक महिना ४ लाख शिलिङ कमाउने थियो ।’ उनी भन्छिन्, ‘मेरो तलब भने ८० हजार शिलिङ थियो । योमध्ये १० देखि १५ हजार शिलिङमात्र मलाई दिइन्थ्यो । मेरो तलब मध्येको बाँकी पैसा भने मेरा आमाबाबुलाई नेपाल पठाइन्थ्यो ।’

अप्रिल १३ का दिनसम्म सबै राम्रै चल्दै थियो । अप्रिल १३ को राति ३ बजे प्रहरीले रंगीला बारमा छापा मारेपछि भने परिस्थिती बदलियो । ‘म नाचिरहेका बेला प्रहरी आए । उनीहरुले सबैलाई आफ्नो ठाउँमै बस्न भने अनि केही फोटोहरु खिचे ।’ उनीहरुले हामीलाई प्रहरी कार्यालय लिएर गए । त्यहाँ मलाई बयान दिन भनियो ।’ उनले सुनाइन् ।

अर्की चेली (परिवर्तित नाम) अस्मिता गुरुङ पनि केन्याबाट फर्किएका एक साथीको सल्लाहअनुसार यहाँ आएको बताउँछिन् । ‘कमजोर आर्थिक अवस्थाका कारण बिचैमा विद्यालय छाडेकी मैले सानै उमेरमा विवाह गरेकी थिएँ । मेरा श्रीमान् मजदुरी काम गर्ने भएकाले मलाई पैसाको खाँचो थियो । त्यसैले म केन्या आइपुगेँ ।’ उनी भन्छिन् ।

टेलिफोन सम्पर्कपछि जेठाले उनलाई कामको प्रस्ताव गरे । केन्या उड्नुअघि जेठाले उनलाई ६० हजार शिलिङ पनि पेश्की पठाएका थिए । अन्य सहकर्मीजस्तै उनलाई पनि बाम्बुरीको अपार्टमेन्टमा लगियो । उनको पनि पासपोर्ट जेठाले लिए ।

‘काम गर्न जाँदा बाहेक हामीलाई अरु बेला बाहिर जाने अनुमति थिएन । अरु बेला घरबाहिर गएपनि हामी मालिककै निगरानीमा हुन्थ्यौं ।’ उनी भन्छिन् ।

यौन शोषण

उनकाअनुसार उनको ६० हजार शिलिङ तलबमध्ये ५० देखि ५५ हजार शिलिङ उनका श्रीमान्लाई नेपाल पठाइने गरेको उनका बोसले बताउने गर्थे ।

‘मलाई हरेक महिना केबल ५ देखि १० हजार शिलिङमात्र दिइन्थ्यो । मेरा मालिकले मेरो तलबमध्येको बाँकी पैसा भने सिधै नेपालमा मेरा श्रीमानलाई पठाउने गर्थे ।’ उनी भन्छिन् ।

यी चार चेलीसहित अरु १२ नेपाली चेली गत अप्रिलमा रंगीला बारमा छापा मार्दा पक्राउ परेका थिए । अप्रिल महिनामा मारिएको छापालाई केन्यामा अन्तर्राष्ट्रिय मानव तस्करीका क्षेत्रमा सबैभन्दा महत्वपूर्ण सफलताका रुपमा हेरिएको छ । यी महिलाहरुलाई यसै महिनाको अन्त्यतिर नेपाल फर्काइने अपेक्षा छ ।

सन् २०१८ मा संयुक्त राष्ट्रसंघले जारी गरेको मानव तस्करीको विश्वव्यापी प्रतिवेदनमा यौन शोषण र (बन्धक बनाइ) मजदुरी गर्न मानव तस्करीको सबैभन्दा प्रमुख कारण रहेको उल्लेख छ ।

यौन शोषणका लागि ५० प्रतिशत मानव तस्करी हुने गरेको छ भने ४९ प्रतिशत बन्धक मजदुरीका लागि हुने गरेको छ । बाँकी १ प्रतिशत भने अन्य कारणले हुने गरेको छ । मानव तस्करीमा सबैभन्दा धेरै पीडित महिला र बालबालिका हुने गरेका छन् । उक्त प्रतिवेदनअनुसार मानव तस्करीको घटना बढ्दो क्रममा छ ।

‘यसअनुसार अझै धेरै मानिसहरुलाई तस्करी गरिएको हुनसक्छ, तर केही मुलुकहरुमा यस्ता अपराध र पीडितको पहिचान पत्ता लगाउने राष्ट्रिय क्षमतामा पनि सुधार हुँदै गएको छ । एशिया, अमेरिकी महादेश, अफ्रिका र मध्यपूर्वमा मानव तस्करीको घटना बढ्दै गएको देखिएको छ ।’ संयुक्त राष्ट्रसंघको उक्त प्रतिवेदनमा उल्लेख छ । केन्याले सन् २०१० मा मानव तस्करीलाई निरुत्साहित गर्ने विधेयक पारित गरेको थियो ।

अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा जारी गरेको प्रतिवेदनमा केन्याले मानव तस्करीलाई निवारण गर्न न्यूनतम मापदण्ड पूरा गर्न अझ बाँकी नै रहेको छ । केन्यालाई मानव तस्करीको उद्गम स्थल, गन्तव्य र ट्रान्जिट पोइन्टका रुपमा लिइएको छ ।

ट्रेस केन्या नामक मानव तस्करी न्यूनीकरणका लागि काम गर्ने केन्याली गैर सरकारी संस्थाका कार्यकारी निर्देशक पउल अडोक केन्या प्रवेश गर्ने विदेशीका लागि कठोर नियमको अभाव रहेकाले केन्यामा मानव तस्करीका घटना बढिरहेको बताउँछन् ।

कमजोर नियमको फाइदा उठाउँदै संगठित गिरोहहरुले केन्यामा विदेशीलाई प्रवेश गराउँदै लगेको अडोकको भनाइ छ ।

‘यहाँ ल्याइएका अधिकांश मानिसहरु पर्यटक भिसा वा अस्थायी भ्रमण कागजातको प्रयोग गरी आएका छन् । राज्यका रुपमा हामीले विदेशीहरु यहाँ केका लागि आउँछन् भन्नेतर्फ त्यति मतलब नगर्ने भएकाले त्यस्ता मानिसहरु यहाँका कोठी र बारमा पुग्ने गरेका छन् र त्यहाँ उनीहरुको शोषण हुन्छ ।’ उनी भन्छन् ।
उनका अनुसार केन्या र दक्षिण अफ्रिका मानव तस्करीको मुख्य ट्रान्जिट पोइन्टका रुपमा विकासित भएका छन् । यसैबीच जेठामाथि भने एकपछि अर्को अभियोग लाग्दै आएको छ । उनले शारीरिक, मानसिक तथा सामाजिक विकासमा हानी हुने गरी १६ र १७ वर्षे दुई बालिकालाई आफ्नो बारमा नचाएर उनीहरुको आर्थिक शोषण गरेको अभियोगसमेत लागेको छ ।

त्यस्तै, उनीमाथि केन्यामा अनुमति नै नलिई व्यवसाय गरेको, गैरकानूनी रुपमा विदेशीलाई रोजगारी दिएको पनि आरोप लागेको छ । त्यस्तै, उनीसँग केन्याको नभई अरु नै दुई मुलुकका राहदानी भएकाले उनको राष्ट्रियतामाथि पनि प्रश्न उठेको छ ।

उनले १२ विदेशी महिलालाई रोजगार अनुमति बिना नै आफ्नो बारमा गैरकानूनी रुपमा काम लगाएको अभियोग पनि लागेको छ । तर उनले भने आफूमाथि लागेको सबै अभियोग अस्वीकार गर्दै आएका छन् ।

केन्याको सरकारी अभियोजनकर्ताको कार्यालयका निर्देशक नूरदिन हाजीले थप नयाँ अभियोगहरु दर्ता गरेका छन् । जेठाविरुद्धको मुद्दामा अर्को साताको शुक्रबार सुनुवाई हुनेछ ।

द नेसन केन्यामा प्रकाशित सामग्रीबाट अनुवादित

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *