राजनीति

इरानसँग युद्ध लड्न उद्यत अमेरिका, अब के गर्लान डोनाल्ड ट्रम्प ?

असार ८, काठमाडौँ । अमेरिका र इरानबीच अहिले युद्धको स्थिति बनेको छ । ओमानको खाडीमा तेल बोकेका दुईवटा मालवाहक जहाजमा १० दिनअघि बम आक्रमण गरिएपछि अमेरिकाको ट्रम्प प्रशासनले यसमा इरानी बलहरूको हात रहेको भन्दै आरोप लगायो ।

यो खबर विन्देश दहालले लोकान्तरमा लेखेका छन् । विवाद चर्किंदै जाँदा अमेरिकाले उक्त क्षेत्रमा सैनिक युद्धपोतहरू तैनाथ गर्‍यो । यसैबीच अमेरिकाको सैन्य ड्रोनले इरानको एयरस्पेसको अतिक्रमण गरेको भन्दै इरानी सैनिकहरूले होर्मुजको स्ट्रेट (जलप्रपात) माथिबाट त्यसलाई खसाइदिए । ड्रोन खसाइएपछि अमेरिकाका राष्ट्रपति ट्रम्पले इरानबाट ठूलो भूल भएको र उसले यसको मूल्य चुकाउनुपर्ने भनी बयान दिए ।

ड्रोन खसाएको सजायस्वरूप इरानमाथि आक्रमण गर्ने आदेश दिएर अन्तिममा ट्रम्पले त्यसलाई फिर्ता लिए । उनको यस कदमलाई केटाकेटीपन भन्दै पश्चिमी मिडियामा चर्को आलोचना भइरहेको छ ।

ट्रम्पले अनेकौं किसिमका बहुलट्ठीपूर्ण कदम चाल्ने गरेको भए पनि उनी युद्ध होस् र मान्छे मारिऊन् भन्ने चाहिँ नचाहने रहेछन् । त्यसैले यो आक्रमणका कारण थुप्रै मानिस मारिने भएपछि ट्रम्पले त्यसलाई रोक्ने आदेश दिएका हुन् ।

राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन, परराष्ट्रमन्त्री माइक पम्पिओ र सीआईएकी निर्देशक जिना हास्पेलले ट्रम्पलाई इरानमाथि आक्रमण गर्न निकै जोड गरेको भए पनि हताहती नहोस् भनेर उनले आक्रमण रोक्न लगाए ।

ट्रम्पले टाइम पत्रिकासँगको अन्तर्वार्तामा इरानसँग सैन्य युद्ध नचाहेको बताएका छन् । इरानले आणविक हतियार विकास गर्न छोडेमा आयातोल्लाहसँग वार्ता गर्न आफू तयार रहेको बयान पनि दिएका छन् । ट्रम्पले सैन्य आक्रमणको डर मात्र देखाउने र वास्तवमा आक्रमण नगर्ने बरू यसलाई सम्झौताको माध्यम बनाउने गरेका छन् । उत्तर कोरियामाथि अग्निवर्षा गर्ने धम्की दिएको केही समयपछि नै उनले किम जोङ–उनसँग शिखरवार्ता गरेको कुरा यहाँ स्मरण गर्न सकिन्छ ।

तर ट्रम्पका सल्लाहकारहरू इरानमाथि आक्रमणका लागि उनलाई भड्काइरहेका छन् । अनि इरानका क्षेत्रीय शत्रुहरू साउदी अरब र इजरायल पनि उसमाथि आक्रमणका लागि अमेरिकालाई दुरुत्साहन गरिरहेका देखिन्छन् ।

ट्रम्पले इरानमाथि आक्रमण नगर्ने भने पनि युद्धको पृष्ठभूमि चाहिँ तयार पारेका हुन् । इरानसँग गरिएको आणविक सम्झौताबाट अमेरिकालाई झिकेर अनि उसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएर ट्रम्पले नै युद्धको वातावरण बनाएका हुन् । उक्त प्रतिबन्धका कारण सिर्जना भएका क्रिया प्रतिक्रियामा ट्रम्प जिम्मेवार छन् भन्न त नमिल्ला तर यस्ता परिस्थिति निर्माणमा उनकै प्रमुख भूमिका छ ।

इरानले तेल बोकेका ट्यांकरमाथि आफूले आक्रमण गर्दै नगरेको बताउँदै आएको छ । आफूविरुद्ध षड्यन्त्र गर्ने शक्तिहरूले यो आक्रमण गराएको संकेत उसले दिएको छ ।

त्यसो त एक महिनाअघि बग्दाद स्थित अमेरिकी दूतावासनजिक भएको आक्रमणमा पनि इरानकै हात रहेको ट्रम्प प्रशासनले आरोप लगाएको थियो । अनि ओमानको खाडी हुँदै गइरहेका चारवटा तेल ट्यांकर इरानले नै ध्वस्त पारेको आरोप पनि उसले लगाएको थियो ।

तर यस्ता आक्रमण इरानलाई दोषी देखाएर युद्ध मच्चाउने षड्यन्त्र भएको विश्लेषकहरूले लेखेका छन् । हुन पनि अमेरिकाले झूटा कारण देखाएर युद्ध शुरू गरेको अनि युद्ध भएका देशलाई ध्वस्त पारेको प्रशस्तै उदाहरण भेटिन्छन् । नरसंहार गर्ने हतियार सद्दाम हुसेनले राखेको भन्ने आधारहीन आरोपको बलमा इराकमाथि आक्रमण गरेर अमेरिकाले उक्त देशलाई ध्वस्त पारेको धेरै वर्ष बितेको छैन ।

इरानविरुद्धको युद्ध चर्काउन युद्धपिपासु बोल्टनले पर्सियन खाडीमा अमेरिकी जलसेना र वायुसेना तैनाथ गरेको एक महिना मात्र भएको छ । इरानको आक्रामकतालाई प्रतिकार गर्न यसो गरेको उनले तर्क दिएका थिए ।

तर आधुनिक इतिहासमा इरानले कुनै पनि देशमाथि आक्रमण गरेको रेकर्ड छैन । पश्चिम एसियामा अमेरिकाले मच्चाएको विध्वंसपछि छाएको अस्थिरतामा इरान शक्तिशाली बनेर राजनीतिक प्रभाव बढाउँदै लगेको भए पनि उसले कुनै देशको अतिक्रमण भने गरेको छैन ।

तर इरानको आक्रामकताको बहाना बनाएर बोल्टन र पम्पिओ जस्ता युद्धपिपासुहरूले युद्ध चर्काउन भरमग्दूर प्रयास गरिरहेका छन् । तेल ट्यांकरमाथिको आक्रमणलाई त्यही युद्धको पूर्वाभ्यासका बुझ्नुपर्ने हुन्छ ।

इरानलाई विश्वबाट अलग्याउने हिसाबमा अमेरिकाले उसमाथि कठोर प्रतिबन्ध लगाएको भए पनि वास्तवमा वाशिङटनको विश्वसनीयता संकटमा परेको छ । उसले झूटा बहानामा युद्ध शुरू गरेर संसारका विभिन्न क्षेत्रलाई तहसनहस पारेकाले ऊ आफैं चाहिँ विश्वबाट दुत्कारिएको छ भन्न मिल्छ । त्यसैले त अमेरिकाले इरानमाथि लाद्न खोजेको युद्धलाई युरोपेली मुलुकहरूले समर्थन गरेका छैनन् ।

अमेरिकाले झूटको पुलिन्दाका आधारमा इरानसँग युद्ध गर्न खोज्नु निन्दनीय छ । आणविक हतियारमा वृद्धिदेखि आतंकवादलाई प्रायोजन गर्ने साउदी अरबलाई सहयोग लगायतका कदम चालेर अमेरिकी शासकहरूले विश्व समुदायविरुद्ध गम्भीर अपराध गरिरहेका छन् । युद्ध भड्काउनका लागि उनीहरू झूटा आक्रमण (फल्स फ्ल्याग अपरेसन) गर्न पनि हिचकिचाउँदैनन् ।

विश्वशान्तिका पक्षधरहरूलाई अमेरिकाको पछिल्लो कदमले झस्काएको छ । अमेरिकाका युद्धपिपासु सम्भ्रान्तहरूले जुन देशमा युद्ध शुरू गरेका छन्, त्यस देशलाई मात्र नभई वरपरका क्षेत्रलाई समेत ध्वस्त बनाएर अस्थिर बनाएका छन् । त्यही अस्थिरताको पृष्ठभूमिमा इस्लामिक स्टेट जस्ता हिंस्रक आतंकवादी समूहहरू जन्मिने गरेका छन् । त्यसैले अन्तर्राष्ट्रिय समुदायले अमेरिकाले शुरू गर्न खोजेको आपराधिक युद्धलाई रोक्ने प्रयास गर्नुपर्छ ।

अमेरिकाले अब उप्रान्त कुनै पनि विदेशी युद्ध नलड्ने भन्दै चुनाव जितेका ट्रम्पले आफ्ना युद्धपिपासु सल्लाहकारहरूको कुरा सुनेर युद्ध चर्काउलान् ? त्यो त समयले नै बताउनेछ ।

अमेरिका र इरानबीच युद्धको संकेत, विश्व व्यवस्थालाई चुनौती, अब के होला ?

विस्फोटहरू पहिलेका भन्दा ठूला थिए अनि क्षति पनि व्यापक थियो । तर सन्देश र सन्देश दिने माध्यममा केही समानता छन् ।

बिहीवार ओमानको खाडीमा तेलका दुई ट्यांकरमा गरिएका आक्रमणले विश्व बजारमा असहज स्थिति उत्पन्न गरेको छ अनि विगत एक वर्षदेखि युद्धको त्रासमा रहेको क्षेत्र झनै आत्तिएको छ । यसअघि वैशाख २९ गते भएका आक्रमण जस्तै पछिल्लो आक्रमणको खबर पहिलोपटक लेबनान र इरानमा रहेका हेजबोल्लाह समूहसँग आबद्ध सञ्चारमाध्यमहरूले दिएका थिए । विस्फोट भएको केही मिनेटभित्रै उनीहरूले आक्रमणको भिडियो प्रसारण गरेका थिए ।

आगलागीमा परेका दुवै जहाजको तस्वीरले विश्वको सबभन्दा रणनीतिक जलमार्गमाथि कस्तो स्थिति आइलाग्ने हो भनी हजारौं शब्द बोलेको छ । आफूमाथिको प्रतिबन्ध कसिँदै जाँदा क्षेत्रीय शक्ति इरानले आफ्नो इच्छा लाद्न खोज्ने विश्वशक्ति अमेरिकालाई आँखा तरिरहेको छ ।

होर्मुजको स्ट्रेटमा सानो अवरोध आयो भने पनि विश्वको तेल बजारमा समस्या आइहाल्छ । ट्यांकरमा निरन्तर बम आक्रमण गर्दा ऊर्जा सुरक्षाको डर ट्यांकर युद्धकै स्तरमा पुग्छ । सन् १९८० को दशकमा इरान र इराकबीच युद्ध हुँदा ट्यांकर युद्ध पनि सँगसँगै गरिएको थियो र त्यसक्रममा उक्त क्षेत्रमा ५४३ वटा जहाज क्षतिग्रस्त बनाइएका थिए र ऊर्जा बजारमा तीन वर्षसम्म समस्या आएको थियो । बिहीवार अपराह्नसम्म दुईवटा ठूला जहाज कम्पनीले खाडीका तेल बन्दरगाहमा बूकिङ रद्द गरिसकेका छन् ।

इरान र अमेरिकाबीचको गतिरोध डोनल्ड ट्रम्प राष्ट्रपति बनेदेखि बढेको छ । इराकमा इरानले आफ्नो उपस्थिति मजबूत बनाएर वाशिङटनलाई पछिल्तिर धकेलेको छ । अमेरिकाले इराकलाई आफूअनुकूल बनाउन धेरै प्रयास गरेको भए पनि खासै केही गर्न सकेको छैन । लेबनानमा इरानले साउदी अरब र वाशिङटन दुवैलाई पन्छाउँदै राजनीतिक प्रभाव बढाएको छ ।

समुद्र र महासागरहरूमा अमेरिका तथा उसका साझेदारहरूको हित अत्यन्तै जोखिममा परेको छ किनकि विश्वको लगभग एक तिहाइ तेल बोक्ने ट्यांकरहरू इरानको तटवर्ती क्षेत्रको केही माइल मात्र पर भएर गुज्रिने गरेका छन् । त्यो भनेको होर्मुजको स्ट्रेट हो र त्यही विन्दु भएर तेल औद्योगिक विश्वमा पुग्ने हो ।

अमेरिकी प्रतिबन्धपछि इरानले यही जलमार्ग भएर जाने तेलबाट राजस्व प्राप्त गर्न संघर्ष गर्नुपरेको छ । इरानी नेताहरूले खाडीको जलमार्ग देशको अर्थतन्त्रका साथै शत्रुहरूको राज्यकोषका लागि पनि अत्यन्तै महत्त्वपूर्ण रहेको बताउँदै आएका छन् । वैशाखमा भएको र हिजो भएको आक्रमणमा साउदी तथा अमिराती बन्दरगाहबाट माल बोकेर गएका जहाजलाई तारो बनाइएको थियो ।

गत फेब्रुअरी महिनामा इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली शामखानीले आफ्नो देशले तेल निर्यात गर्न नपाएमा स्ट््रेट बन्द गरिदिने धम्की दिएका थिए । ‘त्यसो गर्नका लागि विभिन्न उपाय अपनाउन सकिन्छ,’ उनले भने, ‘हामीले ती उपाय अपनाउन नपरोस् भनी आशा गरौं ।’

त्यसो त इरानले वैशाखमा भएको आक्रमणमा आफू संलग्न नरहेको भनी निकै जोड दिएको थियो र हिजो पनि त्यसै गर्‍यो । परराष्ट्रमन्त्री जवाद जरिफले यी आक्रमणहरू ‘पूरै शंकास्पद’ रहेको बताए । इरानको सञ्चारमाध्यमले त्यही समयमा जापानी स्वामित्वको ट्यांकरमा आक्रमण हुँदा जापानी प्रधानमन्त्री शिन्जो आबे र इरानका सर्वोच्च नेता अली खमेनीबीच बैठक चलिरहेकोले षड्यन्त्रको संकेत पाइएको भनेका छन् ।

इरानले ट्रम्पलाई घृणाको दृष्टिले हेर्छ तर ट्रम्प प्रशासनले शुरू गरेको आर्थिक युद्ध तथा सैन्य धम्कीहरू बम आक्रमणसहितको युद्धमा परिणत हुने नभई आफूलाई फाइदा गर्ने सम्झौताका लागि गरिएको पनि उसको विश्वास छ । त्यसअघि ट्रम्पले आफ्ना पूर्ववर्तीले हस्ताक्षर गरेको आणविक सम्झौताबाट अमेरिकालाई झिकेका थिए ।

आफू कमजोर रहेको जस्तो देखिने भएपछि खमेनीले नयाँ वार्ता गर्दै नगर्ने बताएका छन् र अमेरिकाका सबै कदमहरूप्रति सोचविचार गरी जवाफ दिन आफूमुनिका अधिकारीलाई निर्देशन दिएका छन् । अमेरिकाले इराकका सद्दाम हुसेनलाई सत्ताच्युत गरेपछि यस क्षेत्रमा आफ्नो प्रभाव पुनः कायम गर्नका लागि इरानमा सत्तापरिवर्तन गर्ने लक्ष्य राखेको खमेनीको विश्वास छ ।

अमेरिकी अधिकारीहरूले बिहीवारको आक्रमणमा इरानलाई नै दोषी बताइसकेका छन् र इरानले साँच्चिकै यो आक्रमण गराएको रहेछ भने दुवै पक्षले आगामी दिनमा निकै कठिन परीक्षाको सामना गर्नुपर्ने हुन्छ । वाशिङटन अहिले जोरी खोज्ने मूडमा देखिन्छ र त्यसका लागि उसले व्यापक रूपमा आर्थिक प्रतिबन्ध अनि सैन्यशक्ति प्रदर्शनको रणनीति अपनाएको छ । इरान चाहिँ नझुक्ने मूडमा छ र आफ्नो शत्रुलाई प्रभावको सीमाका सम्बन्धमा स्मरण गराइरहेको छ ।

वरिष्ठ इरान विश्लेषक तथा इन्टरनेसनल क्राइसिस ग्रूपका इरान प्रोजेक्ट निर्देशक अली भाएज भन्छन्, ‘यी आक्रमणका लागि इरान जिम्मेवार रहेछ भने दबाबमूलक अमेरिकी नीति प्रत्युत्पादक हुने स्पष्ट देखिन्छ । तनाव घटाउनका लागि साझेदारहरूले कूटनीतिक प्रयास थाल्नुपर्छ तर वाशिङटनले जोधाहा नीति अपनाइरहेमा यो समस्या समाधान हुँदैन ।’

द गार्डियनमा प्रकाशित मार्टिन चुलोभको रिपोर्ट

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *