समाचार समाज

५५ लाखको अन्तर्राष्ट्रिय पुरस्कार जित्ने नेपाली युवा टिम, के हो उनीहरूको काम ? [नालीबेली]

असार ४, काठमाडौं । केही वर्षअघि ललितपुर, लुभुमा एउटा दर्दनाक घटना भएको थियो। यो खबर अनुषा अधिकारीले सेतोपाटी अनलाइनमा लेखेकी छन् ।

तस्बीर: सेतोपाटी 

आमाले आफ्नो दुईमहिने बालकलाई काजु पिसेर खान दिइन्। राम्ररी नपिसिएको काजुको सानो टुक्रा शिशुको घाँटीमा अड्कियो। शिशुले ज्यान गुमाउनुपर्यो।

यो दुखद खबरबारे पत्रपत्रिकामा समाचार आयो। धेरै मान्छे आफ्नो बालबच्चाको खानपिनलाई लिएर झस्के।

यही घटनाले जनस्वास्थ्य विषय पढिरहेकी बोनिता शर्मालाई अज्ञानताका कारण कसरी शिशुले ज्यान गुमाइरहेका छन् भनी सोच्न बाध्य बनायो।

उनी शिशु मृत्युदरको कारण खोज्न थालिन्। स-साना नानीबाबुमा देखिँदै आएका विभिन्न रोगबारे अध्ययन गर्न थालिन्। सुत्केरी आमा र बच्चामा देखिने शारीरिक समस्याबारे धूनधान अनुसन्धान गरिन्।

लामो अध्ययनपछि उनले मुख्य कारण भेट्टाइन्, पोषण स्वास्थ्य शिक्षाको कमी।

उनलाई यो समस्या कम गर्ने उपाय खोज्न हुटहुटी भयो। तर, यो कुनै एक व्यक्ति, परिवार वा समाजको मात्र समस्या थिएन, पूरै देशको थियो।

उनले आफ्ना तीन साथी नेहा मल्ल, मञ्जिता राजोपाध्याय र आशुतोष कार्कीसँग कुराकानी गरिन्। चार युवा मिलेर एउटा संस्था स्थापना गरे, ‘सोसल चेन्जमेकर्स एन्ड इनोभेटर्स’, छोटकरीमा ‘सोचाइ’।

सोचाइ स्थापना गर्नुको मुख्य उद्देश्य पोषण, स्वास्थ्य र स्वच्छतामा देखिएका समस्या समाधान गरी मान्छेहरूलाई त्यसबारे सजग बनाउनु थियो। विशेषगरी शिशु र सुत्केरी आमालाई ध्यानमा राखेर पोषण स्वास्थ्य शिक्षा दिन जरुरी थियो।

‘बच्चाको उमेर अन्तराल अनुरुप खानामा पनि फरक आउँछ,’ सोचाइकी सह-संस्थापक बोनिताले भनिन्, ‘कतिपय आमाहरूलाई यसबारे जानकारी नै हुँदैन। आफ्नो बच्चालाई सन्तुलित आहार दिनबाट चुकिरहेका हुन्छन्।’

उद्देश्य प्रस्ट भए पनि भर्खरभर्खरै पढाइ सकेका चार तन्नेरीलाई कसरी काम गर्ने थाहा थिएन।

उनीहरू विभिन्न गाउँ घुमेर त्यहाँको स्थिति बुझ्न थाले। बालबालिका र महिलाको समूहमा गएर समस्या सुने। अशिक्षितहरूलाई सजिलो र सही तरिकाले कसरी सिकाउन सकिन्छ भन्नेबारे थुप्रै उपाय निकाले। यही क्रममा उनीहरूको दिमागमा ‘न्यूट्रिबिड्स’ फुर्यो, अर्थात् पोषण माला।

बच्चा जन्मेदेखि दुई वर्ष उमेरसम्म कस्ता किसिमका खाना खुवाउने भन्नेबारे हातमा लगाउँदा राम्रो देखिने ‘पोषण माला’ बनाए।

‘गर्भवती र बच्चा जन्मेपछिको दुई वर्षसम्म पोषणयुक्त खानपिन निकै आवश्यक हुन्छ’, बोनिताले भनिन्, ‘यी हजार दिनसम्म शिशुको पोषण स्वास्थ्यमा विशेष ख्याल दिनुपर्छ। पोषण मालाले ती दिनमा बच्चालाई कस्तो, कति र कसरी पोषिलो खाना खुवाउने भनेर सहज रूपमा सिकाउँछ।’

पोषण माला रंगीबिरंगी दानाहरूले बनेको छ। बच्चाको उमेर अंकित दाना पनि छन्। उमेर कट्दै जाँदा पाँच फरक रङ राखिएको छ। प्रत्येक रङले छुट्टाछुट्टै पोषणयुक्त खानाको चिह्न जनाउँछ। सेतो रङले आमाको दूध, खैरोले अन्न तथा कन्दमूल, पहेँलोले दाल–गेडागुडी र बदाम, हरियोले सागसब्जी र फलफूल र निलोले पशुपन्छीजन्य खानेकुराको संकेत गर्छ।

पहिलो लाम्चो आकारको दानामा शून्य अंकित छ। यसको लगत्तै सेतो दाना। र, पछि ६ अंकित दाना। यसले बच्चा जन्मेदेखि ६ महिनासम्म आमाको दूध नै पर्याप्त हुने देखाउँछ। त्यस्तै, ६ पछि सेतो, खैरो, पहेँलो, हरियो र निलो क्रमशः छ। यसरी २४ महिनासम्मको खाद्य संकेत छ। यी सबै खानपिन लगातार पालना गरेर खुवाए बच्चा स्वस्थ र तन्दुरुस्त रहने बोनिताको भनाइ छ।

माला तयार पारेपछि उनीहरूको टिम हरेक महिना भिन्नभिन्न गाँउ जान थाले। आमाहरू जम्मा पारेर पोषण मालाबारे जानकारी दिए। समय-समयमा उनीहरूमा आएको सुधारबारे टिपोट राख्न थाले।

सोचाइले हालसम्म सातवटा जिल्ला घुमेर त्यहाँको पोषण स्वास्थ्यमा सुधार ल्याएको उनीहरूको भनाइ छ।

‘सुरुमा मालाको आइडियाले काम नगर्ला भन्ने डर थियो। त्यसैले मस्यौराका दानामा रङ लगाएर नमूनाका रूपमा प्रयोग गरेका थियौं,’ सोचाइकी अर्की सह-संस्थापक नेहा मल्लले भनिन्, ‘पछि अलि टिकाउ चिज चाहिने भयो। हेर्दा राम्रो देखिने र बच्चालाई खुवाउने बेला खेलाउन पनि हुने हिसाबले व्यावसायिक मालाका दाना हाल्यौं। आमाहरू यसप्रति आकर्षित हुनुभयो।’

उनका अनुसार सोचाइले महिनाको पहिलो साताका तीन दिन गाँउका आमाहरू भेला गरेर पोषण स्वास्थ्य विषयमा जानकारी गराउँछ। प्रशिक्षण पनि गराइरहेको हुन्छ।

यसबाहेक पोषण माला बजारमा पनि बिक्री गर्दै आएको छ। सामाजिक उद्यम प्रवर्द्धन गर्न थालिएको यो कामअन्तर्गत ग्राहकले किनेको मालाको सट्टा एउटी आमा वा किशोरीले ‘सोचाइ’ को युवा स्वयंसेवक समूहबाट निःशुल्क माला तथा स्वास्थ्य परामर्श प्राप्त गर्ने नेहाले जानकारी दिइन्।

सामाजिक काम हेर्दा र सुन्दा जति सहज देखिन्छ, त्यति नै गाह्रो भएको उनीहरूको अनुभव छ। आफ्नो कामका सिलसिलामा थुप्रै गाउँ डुलेका सोचाइका टिमले धर्म र संस्कृतिका नाममा केही बाधा झेल्नुपरेको उनीहरू बताउँछन्।

‘कुनै कुनै गाँउघरमा पोषण मालाबारे बोल्दा हामीलाई तन्त्रमन्त्र लगाउन आएको भन्थे,’ बोनिताले हाँस्दै भनिन्, ‘केही समय त गाह्रै भयो। पछि उहाँहरूलाई सम्झाइ-बुझाइ गर्यौं।’

उसो त उनीहरूसँग धेरै खुसीका सम्झना पनि छन्।

सोचाइकी मञ्जिता राजोपाध्यायले भनिन्, ‘हामीले आमाहरूसँगै अलि बुझ्ने बालबालिकालाई पनि पोषण मालाबारे जानकारी दिएका थियौं। बालबालिका त हामीभन्दा अब्बल निस्के। हाम्रो विचारलाई नयाँ ढंगमा प्रस्तुत गरी पानीमाला बनाए, जसले दिनमा कतिपटक पानी खानुपर्छ भन्ने जानकारी दिन्थ्यो। यसले हामीलाई अझ बढी हौसला दियो।’

सामाजिक काममा बालबालिका र माहिला सक्रिय रूपमा संलग्न हुँदा अन्य समस्या पनि सजिलै सामाधान हुनसक्ने मञ्जिताको भनाइ छ।

पोषण मालाले धेरै आमालाई आफ्ना बच्चालाई खुवाउने तरिकाबारे त बुझायो नै, उनीहरूको टिमलाई उत्प्रेरणा पनि दिएको छ।

उनीहरूको पोषण मालाले युनिसेफको ‘एसिया प्यासिफिक युथ च्यालेन्ज-२०१६’ जितेको छ। योसँगै उनीहरूले पचास हजार अमेरिकी डलर (करिब ५५ लाख रूपैयाँ) पुरस्कार पाएका छन्।

दिगो विकास लक्ष्य प्राप्तिका लागि ‘वन योङ वर्ल्ड’ ले विश्व प्रतिष्ठित ब्रान्डसँगको सहकार्यमा ‘लिड २०३० प्रतियोगिता’ गरेको थियो। संसारभरका एक सय देशका एक हजार दुई सय प्रतिस्पर्धीलाई उछिन्दै ‘सोचाइ’ पुरस्कृत भएको हो।

बेलायतमा रहेको च्यारिटी संस्थाले हरेक वर्ष गर्ने ‘ग्लोबल अनलाइन’ प्रतिस्पर्धामा ‘सोचाइ’ को पोषण विधि पुरस्कृत भएको बोनिताले जानकारी दिइन्।

सामाजिक कामका रूपमा सुरु गरिएको ‘सोचाइ’ को योजनाले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नाम कमाएपछि आफूहरूलाई अघि बढ्न थप हौसला मिलेको उनी बताउँछिन्।

पोषण मालासँगै सोचाइले महिनावारी माला पनि बनाएको छ। २८ वटा दाना भएको उक्त मालाले महिनावारी चक्रको विस्तृत विवरण दिन्छ।

‘महिनावारीबारे बुझ्न एउटी किशोरीले आफ्नै महिनावारी पर्खनुपर्छ, नभए उसलाई ज्ञान हुँदैन,’ बोनिता भन्छिन्, ‘यो मालाले महिनावारी हुँदाका पाँच दिनबाहेक महिनाभरी हुने शारीरिक परिवर्तनबारे ज्ञान दिन्छ।’

तीन सय पचासदेखि पाँच सय रूपैयाँसम्म पर्ने पोषण र महिनावारी मालाबाट आएको पैसा सुत्केरी महिलालाई पोषणयुक्त खाना प्रदान गर्न खर्च गरिने बोनिता बताउँछिन्। योसँगै महिलाहरूलाई माला वितरण गर्दा आएको पैसा उनीहरूलाई नै खर्च गर्न दिँदै आएको पनि उनले बताइन्।

पछिल्लो समय युवाहरू रोजगार र अध्ययन भन्दै बाहिर जाने क्रम बढेका बेला नेपालै बसेर पनि ‘राम्रो’ काम गर्न सकिने ‘सोचाइ’ का अर्का सदस्य आशुतोषको भनाइ छ।

‘यहाँ सोचविचार गरेर काम गर्ने हो भने प्रशस्त सम्भावना छन्। ढिला होला, तर नतिजा राम्रै हुन्छ,’ आशुतोषले भने, ‘हामी युवाहरू नै सामाजिक र आर्थिक दुवै काममा सक्रिय हुनुपर्छ भन्ने मलाई लाग्छ।’ – सेतोपाटी अनलाइनबाट साभार 

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *