समाचार समाज

आफैं क्यान्सरसँग जुध्दै बिरामी जाँचिरहेकी डाक्टर २८ वर्षमै बितिन् [नालीबेली]

असार ४, काठमाडौं । सुशीलाकुमारी यादवले २०७१ सालमा नेपालगञ्ज मेडिकल कलेजबाट एमबिबिएस गरिन्। त्यसपछि कामको खोजीमा काठमाडौं आइन्।

यो खबर खिलानाथ ढकालले सेतोपाटीमा लेखेका छन् । कामको खोजीसँगै एमडी गर्ने उनको उद्देश्य थियो। दुबै सम्भावना खोजेर राजधानी छिरेकी थिइन्, उनी।

सम्पन्न पारिवारिक पृष्ठभूमिकी यादवलाई एमडी गर्न पैसाको समस्या थिएन। एमबिबिएस सकेपछि चिकित्सकको व्यावहारिक अभ्याससँगै पेसाबाटै एमडी पढ्ने उनको चाहना थियो।

‘थप पढाइको दायित्व आफैं लिने उनको मनोकांक्षा थियो। यस मामलामा परिवारको आर्थिक सहयोग होइन, आफ्नै मेहनतलाई प्राथमिकतामा राखेकी थिइन्,’ यादवका बुवा दयानारायणले भने।

२८ वर्षीया यादवले चाहेजस्तै हुँदै पनि गइरहेको थियो। २०७२ सालमा सिभिल अस्पतालमा काम गरिरहेकी थिइन्।

यसैबेला लोकसेवा खुल्यो। सरकारी चिकित्सक हुन पाए झनै सहज हुने ठानेर यादवले जाँच दिइन्। नाम निस्कियो। सरकारी स्वास्थ्यकर्मीको रूपमा उनको सेवा प्रवेश भयो।

सरकारी नोकरी पाएको खुसी राम्ररी बाँड्न नपाउँदै सुशीलाको स्वास्थ्यमा उतारचढाव सुरू भयो।

२०७३ सालमा सरकारी सेवामा प्रवेशकै क्रममा उनी बिरामी पर्न थालिन्। आमाशयमा क्यान्सर रहेको पुष्टि भयो।

उपचार गर्न नेपाल तथा भारतका अस्पताल धाउन थालिन्। उपचारमा धाइरहँदा पनि उनको जोश जाँगरमा स्वस्थ मानिसको जस्तै थियो।

‘स्वस्थ मानिसले जस्तै उनी काममा तल्लीन थिइन्, बिरामीजस्तो कहिल्यै देखिइनन्,’ दयानारायण भन्छन्, ‘तर, भित्रभित्रै उनलाई क्यान्सरले सक्दै लगेको रहेछ।’

सरकारी स्वास्थ्यकर्मीको रूपमा सुशीलाको पहिलो पटक प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरे-७ झापा पोस्टिङ भयो। बिर्तामोड घर भएकाले त्यहीँबाट कार्यालय जान्थिन्।

उनका सहपाठी पनि सुशीलाको जोश जाँगर र कामप्रतिको लगनशीलताको प्रशंसा गर्छन्।

‘क्यान्सरजस्तो रोगसँग लडिरहँदा पनि उहाँ काममा आइरहनुहुन्थ्यो। बीच–बीचमा उपचारमा जाँदै–फर्कंदै स्वास्थ्य केन्द्रमा काम गरिरहनुभएको थियो,’ स्वास्थ्य केन्द्रका संयोजक मुकुन्द बस्नेत भन्छन्, ‘पेसामा लगनशील र उत्साही हुनुहुन्थ्यो।’

उनै डाक्टर यादवको शनिबार बिएन्डसी अस्पतालमा मृत्यु भएको खबर सुन्दा बस्नेतलाई पत्याउन गाह्रो भयो। उनी काममा नियमित गइरहेकी थिइन्। बिरामी भएर ओछ्यान परेकी पनि थिइनन्।

‘उहाँको अनुहारमा मृत्युको अन्तिम घडीसँग लडिरहेको भाव कुनै दृष्टिबाट देखिन्नथ्यो,’ बस्नेतले सेतोपाटीसँग भने।

सुशीलाको मृत्युमा अर्जुनधारा नगरपालिकाले नगरभित्रका स्वास्थ्य संस्थाहरूमा असार १ गते शोक बिदा दियो।

शोकमा रहेका बुवा दयानारायणका अनुसार सुशीलाको सपना थियो– स्त्री तथा प्रसूति रोग विशेषज्ञ बन्ने। उनी यसैमा एमडी गर्न चाहन्थिन्। रोगसँग जुधिरहँदा पनि उनमा जोश जाँगर थियो, हिम्मत थियो। अनुहारमा हिनताबोध देखिँदैनथ्यो।

‘एमडी गरेर छोड्छु भन्थिन्,’ दयानारायणले भने, ‘उनको सपना अधुरै रह्यो, क्यान्सरसँग हारिन्।’

दयानारायण व्यवसायी हुन्। उनकी एक्ली छोरी थिइन्, सुशीला। सम्पन्न परिवार भएकाले दयानारायणले नेपालगञ्ज मेडिकल कलेजमा सुशीलालाई एमबिबिएस पढाएका थिए।

क्यान्सर देखा परेपछि दयानारायणले देश-विदेशका अस्पताल लगे। दिल्लीको राजीव गान्धी अस्पतालमा सुशीला नियमित उपचारमा गइरहन्थिन्। यही अस्पतालमा चार पटक पेटको शल्यक्रिया गरिएको थियो।

‘केमो लिइरहेकी थिइन्, टिचिङमा पनि एकपटक अपरेसन भएको थियो,’ दयानारायणले भने, ‘पैसा भएर मात्र जीवन रहँदो रहेनछ।’

पछिल्लो समय सुशीला खाना खान नसक्ने भएकी थिइन्। ३२ गते बिहान १० बजे बिएन्डसी अस्पताल भर्ना गरिएको थियो।

‘आन्द्रा ड्यामेज भइसकेको रहेछ, राति मृत्यु भएको घोषणा डाक्टरले गरे,’ दयानारायणले भने।

उनको भनाइमा सुशीलाको मृत्यु आकस्मिक भयो। बिरामी भएर अस्पताल भर्ना गरिएको आफन्तबाहेक अरूले थाहै पाएनन्।

दयाका दुई छोरा छन्। जेठा बिर्तामोडमै व्यवसाय गर्छन्। कान्छा छोरा सशस्त्र प्रहरी बलमा चिकित्सककै रूपमा इन्सपेक्टर छन्। एमबिबिएस पास गरेपछि कान्छा छोरा सशस्त्र प्रहरीमा प्रहरी निरीक्षक पदमा प्रतिस्पर्धा गरेका थिए।

सुशीला कलिलै उमेरमा क्यान्सरसँग हारिन्। साथीभाइहरूलाई उनको मृत्युको खबर अपत्यारिलो लागेको छ। ‘निको होला भनेर हरदम प्रयास गरिरहेकै थियौं, तर क्यान्सर पूरै पेटभरि फैलिइसकेको रहेछ,’ दयानारायणले भने।

एकमात्र छोरी, चिकित्सक, क्यान्सरकै कारण मृत्यु भएकाले दयानारायण क्यान्सर रोगको सचेतनाका लागि सामाजिक कार्य गर्ने योजनामा छन्। -सेतोपाटी अनलाइनबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *