राजनीति समाचार

बाग्लुङदेखि काठमाडौंसम्म प्रकाश सपुतको मार्मिक कथा, गलबन्दीले चर्चित बनायो, तीर्खा मेटाएन !

जेठ ३१, काठमाडौँ । सबै बन्दोबस्ती ठीकठाक मिलेको भए ‘गलबन्दी’ गायक प्रकाश सपूत अरु नै हुन्थे । यो खबर शिव मुखियाले अनलाइनखबरमा लेखेका छन् ।

अरु अर्थात हिरो । अनि फिल्ममेकर पनि । सिनेमाको हिरो बन्ने अतृप्त चाहले धकेल्दै-धकेल्दै उनलाई त्यही कुइनेटोमा हुत्याइदियो, जहाँबाट उनको रहर मोडियो ।

उनी गायक बने । लोक दोहोरीमा भाका हाल्न थाले । राजधानीका दोहारी साँझ घन्काउन थाले । तर, धीत मरे पो ?

धीत नमरेकै जाति भो । नभए त कहाँ गुञ्जिन्थ्यो, गलबन्दी । कहाँ घन्कन्थ्यो, दोहोरी ब्याटल । कहाँ बज्थ्यो, बोल माया ।

यद्यपि अझै पनि उनको रहरका घडा टिलपिल भरिएको छैन । फिल्ममेकर बन्ने रहर त थाती नै छ । यो प्रसंगलाई पनि एकछिन थाती राखौं । अहिले गलबन्दीको मौसम जो छ । गलबन्दीकै कुरा गरौं ।

गलबन्दीको गर्भाधान

‘गलबन्दी च्यातियो, तिम्ले तानेर

बोलाउन खोजेको आफ्नै ठानेर ।’

‘बोलमाया’ ब्लकबस्टर भएपछि त्यसको ह्याङओभरले उनलाई पच्छ्याइरहेको थियो । माफ गर्नुहोला सिनेमामा प्रयोग हुने ‘ब्लकबस्टर’ यहाँ घुसाइएको छ । हुन त यसले ति तमाम मनोरञ्जनात्मक उत्पादनलाई दर्शाउँछ, जो कमर्सियल हिसाबले उपल्लो श्रेणीमा पुग्छ ।

हो त, ‘बोल माया’ व्यवसायिक लोकपि्रयताको चुलीमा पुग्यो । त्यसपछि प्रकाशको मनमा धीरता रहेन । उनी त्यो शोक धुनमै लोलाउन र टोलाउन चाहेनन् । धमाका मच्चाउने गरी ‘दोहोरी ब्याटल-२’ ल्याए । दोहोरी र ब्याटलको यो फ्युजन उनले झन्डै-झन्डै ‘दक्षिण भारतीय फिल्मी शैली’मा पेश गरे ।

केही धुम त मच्यायो पनि । काइदाको कुरा के भने, दोहोरी ब्याटलको उनले टिजर नै निकालिदिए । सिनेमाको मात्र टिजर हेरिरहेका दर्शकलाई यसले झड्का नदिने कुरा हुन्छ ? कडा झड्का दियो । त्यसले पैदा गरेको तरंगलाई ज्वारभाटामा रुपान्तरण गरिदियो, गलबन्दी च्यातियोले ।

खासमा ‘गलबन्दी’को गर्भाधान ‘बोल माया’कै शृखंला जोड्ने ध्येयले भएको थियो । एक मनले भनेथ्यो, यसलाई ‘बोल माया भाग-२’ बनाइदिउँ । अर्को मनले ‘हुन्न’ भनेर सोझै बदर गरिदियो । किनभने ‘बोल माया’को लोकपि्रयतालाई क्यास गरिरहँदा त्यसले दर्शक/श्रोतामा अपेक्षाको ब्यारोमिटर पनि स्वतः बढाइदिन्थ्यो । अपेक्षाले मान्छेलाई बेलाबखत धोका दिन्छ । प्रकाशले निक्र्यौल गरे, ‘धोका त दिनुहुन्न ।’

उनले ‘बोल माया’लाई बाह्र हात पर छाडेर ‘गलबन्दी’को शब्दलहर बुने । भाका हाले । धेरैलाई थाहा छैन, प्रकाश सपूतको गीत कसरी हिट हुन्छ ?

प्रकाशकै अनुमानले भन्छ, ‘सायद गीत र त्यसको भिडियोमा तालमेल मिलेर होला ।’ यसको अर्थ यो होइन, उनको गीतको शब्द लहर र भाकाले तान्दैन । तान्छ, तर त्यसको गुरुत्व बल भिडियोले बढाइदिन्छ ।

यहाँनेर उनले केही चलाखी गरे । केही सन्तुलन पनि मिलाए । बोल मायाको कथा जुन बिन्दुमा टुंगिएको थियो, त्यहींबाट गलबन्दीको कथा तन्काइदिए । पात्र उही, लोकेसन उही, पृष्ठभूमि उही । घुमाई-फिराई रुम्जाटार भनेजस्तै बोल मायामा जस्तै गलबन्दीमा पनि आफूलाई ‘हिरो’ बनाइछाडे ।

प्रकाश सपुत अहिले जताततै गुञ्जिएका छन् । तर, उनलाई शहरको यो भिडमा हराउनु छैन । आफ्नो भाका र धुनलाई यो भिडमा मिसाउनु छैन । उनलाई अलग्गै बन्नुछ । यही मनोकांक्षाले उनलाई विश्राम दिएको छैन । उनी हरदम जाग्राम छन् ।

उनलाई आफ्नो समाज, आफ्नो संस्कृति विशाल ज्ञान भण्डार लाग्छ । त्यहीँभित्र उनी आफ्नो रचनाको स्रोत खोजिरहेका हुन्छन् । आफू हुर्केको समाज, बाँचेको समय र भोगेको अनुभूति नै आफ्नो सिर्जना, कला एवं कल्पनाको धरातल हो भन्ने लाग्छ ।

हिरो बन्ने झोंक

एकछिन फ्ल्यासब्याकमा फर्कौं ।

प्रकाशलाई हिरो बन्नु थियो । आफू सुत्ने कोठाको भित्ताभरि हिरोको पोस्टर टाँसेका थिए । हिरोको नक्कल गर्थे । नानाथरी लुगा लगाउँथे । नाच्थे, एक्टिङ गर्थे ।

बाल्यकालको यो मनोविज्ञान र भोगाई उनलाई काम लाग्यो, बोल मायाको भिडियो बनाउँदा । त्यसबेला आफूले गरेको हर्कत जस्ताको तस्तै भिडियोमा उतारेका छन् । हिरो बन्ने मनोकांक्षालाई आंशिक मात्रामा भए पनि ‘बोल माया’मा पुरा गरे । यही मोडमा आइपुग्नका लागि उनले कम्ता पापड बेलेका थिए र ?

कहिले रेडियो प्रस्तोता भए, कहिले दोहोरी गायक भए, एकखेप त कसो-कसो लाहुरे -वैदेशिक रोजगारी) जान पनि तम्सिए । तम्सिए भन्दा पनि बाध्यता आइलाग्यो ।

२५ दिनको सेक्युरिटी गार्डको तालिम लिए । एकजना अरबीले अन्र्तवार्ता लियो । त्यही क्रममा उनले भन्यो, ‘यु आर सो चाइल्ड ।’ उनी सेक्युरिटी गार्डका लागि अयोग्य भए । यो खुसीको कुरा थियो । कम्तीमा उनको लागि । हुन त प्रकाशको घरमा वैदेशिक रोजगारीबाटै आएको पैसाले चुल्हो बल्थ्यो । पिता उहिल्यै लाहुरे बनेर खाडी मुलुक भासिएका थिए । अहिले उनले पितालाई घर फर्काएका छन् ।

भिडियोमा पनि हिरो बन्ने इच्छालाई थाती राख्दै विदेश जानु उनको वाध्यता बन्छ ।

एउटा अतृप्त भोक

यतिबेला प्रकाश युट्युवमा सिनेमा बनाउने विधि सिकिरहेका हुन्छन् । सिनेमाको बिहाइन्ड द सिन/मेकिङमा खुब चाख छ, उनलाई । केही समयअघिसम्म उनी सुटिङ हेर्नका लागि डाँडापाखा दगुर्थे । सुटिङ भएको ठाउँमा पुग्थे र भिडमा कोचिएर क्यामेरा चलाएको, लाइट मिलाएको हेरिबस्थे ।

त्यसबेला ‘बोल माया’ गाएकै थिएनन् । कसैले चिन्दैनथे । तर, उनलाई चिनिनु थियो । ख्याती आर्जन गर्नु थियो । दोहोरी रेष्टुरेन्टमा गीत त गाइरहेकै थिए । बेलामौकामा गीत रेकर्ड गराइरहेकै थिए । तर, सार्वजनिक चिनारी बनेकै थिएन । यही कुराले उनलाई कताकता बेचैन बनाएको थियो । दुःखी बनाएको थियो ।

बिहान पत्र-पत्रिकाको मूठो ल्याएर मनोरञ्जन समाचार/फिचर हेर्थे । श्रीमतीलाई लाग्थ्यो, ‘बुढाको फोटो वा खबर छापियो कि ?’ तर, त्यसो हुँदैनथ्यो । पत्र-पत्रिकामा फोटो र खबर छापिनेगरी उनले काम गर्न पाएका/सकेका थिएनन् ।

श्रीमतीले उनको मनोदशा बुझेकी थिइन् । सोच्दी हुन्, ‘उसलाई पनि पत्र-पत्रिकामा आफ्नो फोटो, खबर छापिएको हेर्न कति रहर लाग्दो हो

तर, आज मौसम फेरिएको छ । पत्रपत्रिका गलबन्दीमय भएको छ । टीभी, युट्युब, पत्रिका, अनलाइन छ्यापछ्याप्ती छ, प्रकाश सपूत र उनको गलबन्दी ।

‘अहिले उनी दंगे छे’ प्रकाश फुरुंग हुँदै भन्छन्, ‘मैले संघर्ष गर्दादेखि नै उनी मेरो साथमा छिन् । मेरो सुख-दुखका साक्षी बनेकी छिन् । आजको दिनमा मैले जुन नेम र फेम पाएँ त्यसबाट उनी सन्तुष्ट छिन् । उनलाई लाग्दो हो, हामीले जुन रहर पालेका थियौं, त्यो पूरा भयो ।’ तर, रहर बाँकी छ ।

प्रकाशलाई फिल्ममेकर बन्नु छ । वास्तवमा फिल्म मेकिङकै पूर्वतयारीका रुपमा प्रकाशले म्युजिक भिडियोलाई लिएको देखिन्छ । अहिले आइरहेका उनका म्युजिक भिडियो कास्टिङ हुन् । पिक्चर तो अभी बाँकी है ।

बाग्लुङदेखि काठमाडौंसम्म

अब ससर्ती वयान गरौं, करियर यात्राको । यसका लागि हामी पुग्नुपर्ने हुन्छ, बाग्लुङ । प्रवेश गर्नुपर्ने हुन्छ, धौलागिरी एफएम । उनी धौलागिरी एफएममा काम गर्थे । घरमा काम गर्न अल्छी लाग्ने । घरधन्दाको काममा जाँगर नचल्ने । बाहिरफेर भने खुब फुर्ती आउने ।

एफएममा उनको एउटा कार्यक्रम थियो, जस्ट फर यु । यसमा नाटक लेख्थे र प्रस्तुत गर्थे । मिक्सिङ गर्थे, रेकर्डिङ गर्थे । सबै काम आफैं भ्याउथे । त्यसबेला एउटा यस्तो घटना घट्यो । दलित र गैर दलित जोडीले भिरबाट हाम फालेर आत्महत्या गरे । दलित केटी र श्रेष्ठ थरका केटाको प्रेमलाई उनीहरुका परिवारले अस्विकार गरेपछि आत्महत्या गरेका रहेछन् ।

यही सन्दर्भलाई जोडेर आत्महत्याअघि उनीहरु कस्तो मनोदशामा गुजि्रए होलान् भन्ने मनोवाद लेखे । त्यसलाई नाटकमा उतारे । त्यो औधी हिट भयो । प्रकाशलाई लाग्छ, अहिले पनि कतिपयको मोवाइलमा यो नाटकको अडियो सुरक्षित होला ।

उनी बाग्लुङमा चिनिँदै थिए । आफ्नो रहरका खुड्किलो पनि उक्लँदै थिए । तर, घर परिवारको अवस्था कठिन थियो । खान लाउन मुस्किल थियो । त्यसबेलासम्म उनी दोहोरी गाउने भइसकेका थिए । स्थानीय क्षेत्रमा गाइरहेको पनि थिए । रेडियोमा बोलेर, नाटक बनाएर घर-व्यवहार चलाउन के पुग्थ्यो ?

पाखुरीमा बल छाँदासम्म त बुबाले बिदेशमा पसिना चुहाएर परिवारको पेट भरे । तर, बिदेशमै बैंश र उर्जा सकेपछि उनी घर फर्किए । अब परिवार पाल्ने जिम्मा प्रकाशको काँधमा थियो । बाटो उही थियो, उपाय उही थियो । प्रकाशले पनि बुवाले जस्तै विदेश जानु थियो ।

तर, सेक्युरिटी गार्डका लागि अयोग्य भएपछि उनी गाउँ फर्किए । प्रकाशले अनलाइनखबरसँग त्यसबेलाको प्रसंग यसरी सुनाएका थिए, ‘काठमाडौं आउनका लागि सर-सापट गरेर पाँच हजार बोकेको थिएँ । त्यसमध्ये १५ सय रुपैयाँ आउजाउका लागि खर्च भयो । बाँकी ३५ सयले छानीछानी पुस्तक किनें । फुरुङ्ग भएर घर फर्कें ।’

विदेशको बाटो बन्द भयो । तर, कमाउनुपर्ने बाध्यता टरेको छैन । कमाइ खानकै लागि उनले काठमाडौंलाई गन्तब्य बनाए । काठमाडौं आएपछि एउटा होटलको कोठामा डेरा जमाए । काम खोजे । खोज्नसाथ भेट्ने कुरा थिएन । अर्कोतिर होटलमा कति बस्ने ? खर्च टार्नै गाह्रो ।

प्रकाश सम्झन्छन्, ‘गाउँकै एक साथीको कोठा थियो । उसैसँग बस्छु भनें । तर, अर्कै साथी बस्न थालेछ । म बिचल्लीमा परें । त्यही होटलको बास अरु लम्बिने भयो । चिनेजानेकै साथीको होटल थियो । त्यही बसें । साथीले ‘यसो सघाउनु पनि’ भनेका थिए । मैले खाना दिने, जूठो भाँडावर्तन उठाउने काम गरें । उता काम पनि खोज्दै गरे ।’

ठमेलको ‘गामबेंसी दोहोरी’मा काम पाए । तलब त थोरै थियो । तर, टिप्स पाइने । राम्रो चाहिँ के भइदियो भने, त्यहाँ सुरुको महिनादेखि पाँच महिनासम्म तलब बढेको बढ्यै भयो । त्यो संघर्षको समयमा शान्ति सुनार, तेजु छन्त्यालले उनलाई भुल्नै नसक्ने गुण लगाए । त्यस्तै गुण लगाए, पृथ्वी थकालीले । उनलाई भेटेपछि प्रकाशलाई सबै बोझ बिसाएझै भयो । प्रकाश उनको ‘पृथ्वी इन्टरटेनमेन्ट’मा जोडिए । अब सानोतिनो खर्चको अभाव भएन ।

प्रकाशलाई उनले घरखर्च दिएका थिए, चाडपर्व मान्ने खर्च दिएका थिए । प्रकाशका लागि ठूलो आड भरोसा थियो, पृथ्वी थकाली । उनकै आडमा प्रकाशले धीत मर्नेगरी गीत रेकर्ड गराए, भिडियो बनाए । मोडलिङ गरे ।

दोहोरीको क्रेज घट्दै थियो । र्‍याप ब्याटल चम्कँदै थियो । प्रकाशको दिमागमा क्लिक भयो, यसैलाई फ्युजन गर्ने । गरे पनि । उनलाई के लागेको थियो भने दोहोरी पनि आफैंमा ब्याटल हो । यसलाई फरक शैलीमा गर्न पाए खुब चल्छ । यो एक चुनौती थियो र प्रयोग पनि । उनले दुबै कुरा गरे । गाली खाए, ताली पनि पाए ।

आज पनि प्रकाशलाई गालीको डर छैन । चुनौती मोल्न पछि पर्दैनन् । नयाँ नयाँ प्रयोग गर्छन् । मेहनत गर्छन् । त्यही कारण उनी फ्याक्ट्री जस्ता तुरुन्तका तुरुन्त संगीत सिर्जना गर्दैनन् । ढिलो आउँछ, कडा आउँछ ।

अनलाइनखबरबाट साभार 

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *