मनोरञ्जन समाचार

प्रनेश थुना प्रकरणमा केकी अधिकारीले मुख खोलिन् [फेसबुक स्ट्याटससहित]

जेठ ३०, काठमाडौँ । फिल्म ‘वीरबिक्रम २’को समीक्षा गर्दा थुनामा परेका प्रनेश गौतम प्रकरणबारे चर्को बहस चलिरहेका बेला कलाकारहरु चुपचाप छन्।

नेपाल चलचित्र कलाकार संघ समीक्षाको विरूद्धमा छ। फिल्मको समिक्षाका क्रममा कलाकारलाई लिएर गरिएको टिप्पणीमा कतिपयको आपत्ति छ।

निर्देशकको निवेदनमा समीक्षक थुनामा परेपछि स्वतन्त्र समीक्षाको विषयमाथि गम्भीर प्रश्न उठिरहेका बेला बिहीबार नायिका केकी अधिकारीले भने यस विषयमा आफ्नो धारणा राखेकी छिन्।

सामाजिक संजाल फेसबुकमार्फत केकीले आफ्नो चलचित्र, कामलाई लिएर जस्तोसुकै समिक्षा, व्यंग्य, ठट्टा वा आलोचना गर्न सबैलाई छुट रहेको बताएकी छन्।

उनले भनेकी छिन्, ‘यसमा सबैलाई छुट छ र म यसको खुलेर स्वागत गर्छु।’ ठट्टाको नाउँमा अपशब्द, गालीगलौच, ब्यक्तिगत रुप, रंग ,बनौट ,धर्म, लिंगका आधारमा गरिने मानहानी आफूलाइ स्वीकार्य नुहेन उनले उल्लेख गरेकी छिन्।

उनी भन्छिन्, ‘नजानेका–नबुझेकालाई सजायभन्दा पनि सिकाउनु पर्ने पक्षमा भने म सधै छु ।’ प्रनेश थुनामा रहेका बेला केकीले मध्यमार्गी धारणा रोखकी हुन्। सांकेतिक रुपमा केकीको स्टाटस प्रनेशलाई थुनामा राख्न्भन्दा सिकाउनु उत्तम हो भन्ने खालको अएको हो।

उनले फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तै

मेरो चलचित्र , मेरो कामलाई लिएर तपाई जस्तो समिक्षा, व्यंग्य , ठट्टा, आलोचना पनि गर्नसक्नुहुनेछ, यसमा सबैलाई छुट छ र म यसको खुलेर स्वागत गर्छु।

तर ठट्टाको नाउँमा अपसब्द, गालीगलौच, ब्यक्तिगत रुप, रङ्ग ,बनौट ,धर्म, लिंगका आधारमा गरिने मानहानी कदापि पनि स्वागतयोग्य हुदैन । नजानेका नबुझेकालाई सजाय भन्दा पनि सिकाउनु पर्ने पक्षमा भने म सधै छु ।

#ISupportFreedomOfSpeech
#IDontSupportBullying

प्रनेशको फरक शैली कसरी अपराध भयो?

प्रनेश गौतम थुनामा छन्। उनी बिरुद्ध बिद्युतीय कारोबार ऐन अनुसार अदालतले पाँच दिनको अनुसन्धान म्याद दिएको छ। युट्युब च्यानल मेम नेपालमा चलचित्र ‘वीरबिक्रम–२’ को समिक्षा गरेका कारण उनी बिरुद्ध निर्देशक मिलन चाम्लिङ राईले उजुरी दिएका थिए।

प्रनेश गौतम पक्राउसँगै चलचित्र समिक्षा र फरक शैली दुबै कसरी अपराध भयो भन्ने छलफल सुरु भएको छ। यही सन्दर्भमा लोकप्रिय ब्लग माईसंसारले एउटा लामो ब्लग लेखेको छ।

जसमा भनिएको छ: उदाउँदा कमेडियन प्रनेशको लोकप्रियता हेरेर मिम नेपालले मुभी रिभ्यु गर्न लगायो। उनले आफ्नो विधा अनुसार व्यङ्ग्यात्मक समिक्षा गरे। गल्ती त्यहीँनिर भयो। समीक्षा गर्न लायक फिल्मको पो समिक्षा गर्ने। यस्तो तोरिलाउरे फिल्मको समीक्षा गरेपछि जस्तो छ त्यस्तो भन्नै पर्याे। पाँच हजारे पत्रकारहरुलाई पैसा बाँडेर फिल्मको प्रचार र वाहवाह सुन्न बानी परेकाहरु व्यङ्ग्यले तिरिमिरी झ्याइँ भइहाले।

पाँच हजारे पत्रकारको अर्थ केहीले नबुझेका हुन सक्छन्। फिल्म बनाइसकेपछि त्यसको प्रचारको लागि निश्चित बजेट छुट्याइन्छ। अनि त्यो बाँड्ने ठेक्का एक जना फिल्मी पत्रकारले लिन्छ। अनि उसले त्यो बिट भएका सबै पत्रकारहरुलाई पैसा बाँड्छ (स्टायन्डर्ड रेट पाँच हजार रहेछ)। त्यसैले पाँच हजारे पत्रकार भनेर बुझिन्छ।

उनीहरुको काम फिल्म जस्तै झुर भए पनि वाहवाह भनेर लेख्ने, फिल्मको प्रचार प्रसार गर्न सहयोग हुने खालको न्युज लेख्छन्। भिडियो बनाउँछन्। यो पहिलोपोस्टका सम्पादक समेत उमेश श्रेष्ठले लेखेको ब्लग हो।

युट्युबमा राखिएको १२ मिनेट ५० सेकेण्ड लामो भिडियोमा सबै प्रसंग, भाषा, शैली र प्रस्तुती फरक छन्। नेपालमा प्रनेशको प्रयास शायद पहिलो होला। उनले चलचित्रका सबैपक्षलाई ढर्रा युवा शैलीमा प्रस्तुत गरेका छन्। भिडियोमा बिचमा केही अश्लिल शब्द बोलिएको छ। प्रनेशले हातमा छुरा बोकेका छन्। भिडियोमै सुरुमा प्रनेश हातमा दात माझ्ने ब्रस लिएर दाँत माझ्दै गरेको समेत देखिएका छन्।

महानगरीय अपराध महाशाखाले प्रनेशले बोलेका शब्द र हातमा छुरा लिनुले बिद्युतीय कारोबार ऐन आर्कषण हुने दाबी गरिरहेको छ। महाशाखा प्रमुख एसएसपी सहकुल थापा भिडियोले ऐन आर्कषित हुने दाबी गर्छन। उनी कतैबाट दबाब नआएको समेत दाबी गर्छन्।

तर, प्रनेशका पक्षमा दबाब बढ्दै गएपछि उजुरीकर्ता राईलाई नै बोलाएर थापाले घटनाको मध्यमार्गी बाटो खोज्न सुझाएको स्रोतको दाबी छ। स्रोतका अनुसार प्रनेशको घटनामा कोही बोल्दैन, केही दबाब आउदैन भन्ने मान्यतामा अघि बढेको महाशाखा अहिले ठुला दैनिक मिडिया नै प्रनेशका पक्षमा उभिएपछि मध्यमार्गी बाटो खोज्न थालेको हो।

‘कतैबाट केही दबाब छैन, भिडियोका आधारमा कानून आर्कषण हुने भएकाले कारबाही थालेका हौं,’ एसएसपी थापाले भने ‘छुरा लिएर जे पायो त्यही बोलेको र गरेको छ।’
यता, उजुरीकर्ता निर्देशक राईले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर प्रनेशलाई सबक सिकाउन उजुरी दिएको दाबी गरेका छन्।

प्रनेश परिवारिक स्रोतका अनुसार शुक्रबार नै भिडियो हटाएर सहमती गर्ने पक्षमा छलफल भइरहेका बेला उनलाई प्रहरीले थुनेको हो। महाशाखाले बोलाएपछि आफै हाजिर भएका प्रनेशले आफूले बनाएको भिडियोमा केही गल्ती भएको भए सच्चाएर अघि बढ्ने बताईरहेका थिए।

‘कुरा हुँदै थियो,’ प्रनेशका परिवारका एक सदस्यले भने ‘सहमती हुदैँ थियो, एक्कासी थुन्ने काम भयो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *