समाचार समाज

सुदूरपश्चिममा फेरि ठूलो हावाहुरी, स्थानीय आतंकित

जेठ २९, काठमाडौं । एक हप्ताअघि मात्र भीषण हावाहुरीका कारण ठूलो क्षति पुगेको सुदूरपश्चिम क्षेत्रमा आज (बुधबार) बिहानैदेखि वर्षासँगै ठूलो हुरीबतास चलेपछि स्थानीय बासिन्दा आतंकित भएका छन्।

कैलाली-कञ्चनपुर लगायतका जिल्लामा बिहानैदेखि मेघ गर्जनसहित वर्षा हुनाका साथै ठूलो हुरीबतास चलेको हो।

तर अहिले भने केही मत्थर भएको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्।

‘बिहान ७ बजेतिर केहीबेर ठूलै हावाहुरी आएको हो,’ उनले भनिन्,‘तर अहिले त्यो प्रणाली (हावाहुरी ल्याउने) केही कम भइसकेको छ, अब त्यस्तो आतंकित हुनुपर्ने अवस्था देखिँदैन।’

उनले अगाडि थपिन्, ‘एक/दुई घण्टामै फेरि त्यो प्रणाली विकसित भयो भने बेग्लै तर अहिलेसम्मको संकेतअनुसार पुनः ठूलो हावाहुरी आउने देखिन्न।’

तैपनि सतर्क रहनु राम्रो हुने मौसमविद् पोखरेलको सुझाव छ। त्यस क्षेत्रमा वर्षा र हावाहुरी जारी रहेकाले पुनः भीषण नबन्ला भनेर ठोकुवा गर्न नसकिने उनको भनाइ छ।

‘मान्छेलाई आतंकित बनाउनु पनि ठीक होइन,’ उनले भनिन्, ‘अहिलेसम्मको संकेत हेर्दा ठूलो हावाहुरीको सम्भावना टरेको अवस्था छ।’

बाढी पूर्वानुमान महाशाखाले पनि भनेको छ- विपत्ति माथि विपत्ति थपिएको छ कैलाली जिल्लामा। अहिले बिहान हावाहुरी र झरी।

मौसमविद्का अनुसार पश्चिमी क्षेत्रमा विकसित पश्चिमी वायुको प्रणालीले हावाहुरीसहित वर्षा गराएको हो।

मौसम महाशाखाले आफ्नो ट्विटमा लेखेको छ- ‘पश्चिमी वायुको प्रणाली सुदूर पश्चिमी नेपालबाट प्रवेश गरेको छ। यो प्रणालीले हावाहुरीसहित मेघ गर्जन गराउने र मध्यम खालको वर्षा गराउने देखिन्छ।’

गत बिहीबार साँझ कैलाली–कञ्चनपुरमा आएको भीषण हावाहुरीका कारण कैलालीमा दुई जनाको ज्यान गएको थियो भने दुवै जिल्लामा गरी सय जनाभन्दा बढी घाइते भएका थिए।

कैयौं घरबारविहीन भएका छन्। पुनः आज बिहानको हावाहुरीले तिनको बिचल्ली भएको बताइएको छ। मौसविद्का अुनसार अपराह्नपछि पूर्वी तथा मध्य क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनअनुसार आजदेखि तीन दिनसम्म मौसम खुल्ने सम्भावना छैन। बुधबार, बिहीबार र शुक्रबार देशभर मौसम बदली भई विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

प्रदेश १, २ र ३ का ठूला नदीमा बहाव बढ्ने सम्भावना

यसैबीच बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनाअनुसार आज (बुधबार) देशका पूर्वी र मध्य क्षेत्रमा मध्यमसम्म वर्षा हुने सम्भावनाले प्रदेश १, २ र ३ का केही ससाना खोलानालाहरू उल्लेख्य बढ्न सक्छन। ठूला नदी नालाहरूमा भने आगामी तीन दिन ठूलो बहावको सम्भावना छ।