रंगशालाको बार भत्काउने मुख्य आरोपी कँडेलसहित ४ जना रिहा, निकाले यस्तो विज्ञप्ति

जेठ २७, चितवन । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाएर भत्काएको अभियोगमा पक्राउ परेका मुख्य आरोपी प्रकाश कँडेलसहित ४ जना रिहा भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार साँझ डोजर प्रकरणका मुख्य आरोपी मानिएका कँडेलसहित, भैरव बास्ताकोटी, सुरेन्द्र बि.क. र धुव्र चापागाईंलाई रिहा गरेको हो। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रदेशसभा सदस्य विजय सुवेदी, चितवनका प्रहरी प्रमुख दानबहादुर मल्ल लगायतको उपस्थितिमा उनीहरुलाई रिहा गरिएको हो।

पक्राउ परेका चारै जनालाई हाजिरी जमानीमा छाडिएको हो। रिहा भएका चारै जनालाई १२ दिनसम्म दैनिक हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घटना घटाउने पक्षले क्षमायाचना गर्ने र भत्काएको बार पुनः निर्माण गर्ने विषयमा सहमति भएपछि उनीहरुलाई रिहा गरिएको हो। यसले रंगशाला निर्माणमा थप सहज वातावरण बनाउन सघाउ पुग्ने विश्वास लिइएको छ।

यसअघि रंगशाला निर्माण गरिरहेको धुर्मुस-सुन्तली फाउन्डेसनले बार भत्काइएपछि सुरक्षा प्रत्याभूति नभएसम्म रंगशाला निर्माण कार्य रोकेको थियो। तर, चितवनमा सर्वदलीय बैठक बसी सुरक्षा व्यवस्था मिलाउने सहमति भएपछि निर्माण कार्य सुचारु भएको छ। अहिले सो स्थानमा प्रहरीको एक टोली खटाइएको छ।

गत जेठ १८ गते बिहान फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’, नेकपा सचिव एवम् प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, विभिन्न टोल विकास संस्था तथा स्थानीयको उपस्थितिमा पुनर्निर्माण सुचारु गरिएको हो।

जेठ १५ गते नेकपाका स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वमा गएको टोलीले रंगाशालाको पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काइदिएको थियो। उक्त कार्यमा संलग्न रहेको भन्दै प्रहरीले डेढ दर्जनलाई पक्राउ गरेको थियो। सो घटनापछि फाउन्डेसनले आवश्यक सुरक्षा प्रत्याभूतिबिना काम गर्न नसक्ने भन्दै निर्माण कार्य स्थगित गरेको थियो।

तर, अहिले स्थानीय राजनीतिक दल, प्रशासनिक अंग, महानगर तथा सबैको साथ र सहयोग पाउने एवम् आगामी दिनमा त्यस्ता क्रियाकलाप दोहोरिन नदिने प्रतिबद्धतासँगै रंगशालाको निर्माण कार्य सुचारू गरिएको फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनका अध्यक्ष धुर्मुसले आफूले गलत कुरा बोलेको प्रमाणित भए मैदानमै झुण्डिन तयार रहेको टिप्पणी गरेका थिए।

रंगशालाको निर्माण कार्य रोकिएको घटनाले विश्वभर रहेका नेपालीसामु नकारात्मक सन्देश फैलिएको भन्दै सकारात्मक सन्देश दिन सो क्षेत्रमा र्‍याली तथा स्थानीयबाटै आर्थिक संकलनसमेत हुँदै आएको छ।

रिहा लगत्तै माफी, भत्काएको संरचना निर्माण गरिदिने प्रतिबद्धता

आइतबार साँझ रिहा भएका कँडेलसहित ४ जनाले रिहा लगत्तै एक विज्ञप्ति जारी गर्दै भावावेशमा घटना हुन गएको भन्दै माफी मागेका छन्।

उनीहरुले घटनाले देशविदेशमा रहेका सहयोगी तथा दाताहरुको भावनामा चोट पुगेकोमा दुःख व्यक्त गदै अबका क्षति पुगेको क्षेत्रमा तत्काल पुनः निर्माण गरिदिने प्रतिबद्धता समेत जनाएका छन्। आगामी दिनमा रंगशाला निर्माणमा साथ र सहयोग गर्ने प्रतिबद्धता समेत जनाइएको छ।

स्थानीयको मागको रुपमा रहेको रंगशालाको पश्चिमतर्फ शान्ति चोकदेखि रामपुर जोड्ने सडक विस्तारको काम रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बन्ने क्रमसँगै भरतपुर महानगर र सम्बन्धित सबै पक्षसँगको छलफल तथा समन्वयमा अगाडि बढ्नेमा विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *