राजनीति समाचार

बाबुरामसँग करिश्मा मानन्धरले गरिन कडा गुनासो (भिडियोमा हेर्नुस)

जेठ २६, काठमाडौं । २०७२ सालको माघमा नयाँ शक्ति पार्टी घोषणा गर्नुअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीको राजधानीको नयाँ बानेश्वरबाट ‘न्युक्लियस’ घोषणा गरे। ‘न्युक्लियस’को केन्द्रमा भट्टराई थिए। तर उनीजत्तिकै चर्चा पाइन्, राजनीतिमा इन्ट्रीमात्र गरेकी नायिका करिश्मा मानन्धरले।

यो खबर विवेक राईले सेतोपाटीमा लेखेका छन् । न्युक्लियस घोषणा गर्ने दिन बाबुरामसँगै पहिलो लहरमा देखिएकी करिश्मा नयाँ शक्तिको स्थापनामा सक्रिय रहिन्।

२०७३ जेठ ३० गते बाबुराम भट्टराईको पार्टी दशरथ रंगशालाबाट घोषणा हुँदा करिश्माले कार्यक्रमको उदघोषण गरिन्। भलै उक्त कार्यक्रम उदघोषणपछि उनको आलोचना भयो।

आलोचनाबाट सिक्ने भन्दै करिश्माले पछि राजनीतिक चरित्र प्रस्तुत गर्न थालिन्।

नायिकाको रट्ठपमा प्रतिष्ठा कमाएकी करिश्मालाई नयाँ शक्तिले निर्वाचनमा भरपुर प्रयोग गर्‍यो। चुनावी प्रचारका लगभग सबै कार्यक्रममा आफ्नो ‘करिश्मा’ देखाउन गाउँ/सहर डुलिन्। मिडियामा अन्तर्वार्ता दिइन्, नयाँ शक्तिको राजनीतिक विचारधाराको वकालत गरिन्।

तर बाबुराम भट्टराईले नयाँ शक्तिलाई संघीय समाजवादी फोरमसँग गाभेपछि भने करिश्मा बाबुराम भट्टराईको राजनीतिक समूहबाट टाढिएकी छिन्।

दु:ख गरेर बनाएको पार्टीबाट आफ्नो अवमूल्यन भएको महसुस उनलाई भएको छ।

‘पार्टी बनाउँदा केही पनि थिएन, २५ देखि ३० जनाले सुरू गरेको हो नयाँ शक्ति। बाबुराम भट्टराईमात्र हुनुहुन्थ्यो। त्यसपछि हामीले नै गाउँ/सडक गएर नयाँ शक्तिबारे बोलेको हो,’ करिश्मा भन्छिन्, ‘करिश्मा मानन्धर कलाकार हो कि को हो भन्ने बिर्सिएर गरेको हो।’

उनलाई संघीय समाजवादी फोरमसँग एकताका बेला पार्टीले आफूलाई लायक नदेखेकोमा चित्त दुखेको छ।

‘म पोख्त राजनीतिज्ञ थिइनँ। सायद उहाँहरूले लायक देख्नुभएन। म ३० औं वर्ष राजनीतिमा थिइन्। अरू क्षेत्रमा काम गरें। सायद उहाँले त्यो (राजनीतिक) इलिमेन्ट देख्नुभएन। त्यही भएर स्पेस दिनुभएन।’

आफूले राजनीतिक गुरु मानेका भट्टराईबाट आफ्नो क्षमताको अवमूल्यन भएको करिश्माको बुझाइ छ।

‘पार्टी एकजनाले गर्दा बलियो र ठूलो हुने होइन। तपाईं राम्रो गरिरहनु भएको छ तर पार्टीमा उचित स्थान भएन भने पछि लागेर हिँड्नुको कुनै औचित्य हुँदैन,’ करिश्मा भन्छिन्, ‘मान्छेमा जुन क्षमता हुन्छ त्यसअनुसार काम गर्नुपर्छ। क्षमताभन्दा तल रहेर काम गरे त्यो क्षमता र समयकै बर्वादी हो। बरू अलग्गै बसेर पनि राम्रो गर्न सकिन्छ।’

नयाँ शक्तिको राजनीतिले उनको मन कुँडिएको छ।

‘मनैदेखि नयाँ शक्तिमा थिएँ, अब मनैदेखि छैन,’ करिश्मा भन्छिन्, ‘कलाकार भनेको संस्कार सिकाउने मान्छे हो। स्टेजमा लगेर मान्छे बटुल्ने पात्रको रूपमा मात्र नलिनुस्। हामीसँग विचार छन्। हुल जम्मा गर्ने व्यक्ति मात्र बनाएर कलाकारलाई राजनीतक पार्टीमा आवद्ध नगर्नुस्।’

भट्टराईको इन्द्रेणी राष्ट्रवाद र हिमाल पहाड तराईको नारामा आकर्षित भएर नयाँ शक्तिमा लागेकी करिश्मा बाबुरामलाई गाली गर्ने पक्षमा छैनन्।

‘उहाँ मेरो एउटा समयको गुरु हो,’ करिश्मा भन्छिन्, ‘अब मलाई राजनीतिमा ठाउँ बनाएर देखाउन अभिभारा सुम्पनुभएको छ।’

नयाँ शक्ति छाडे पनि करिश्मा राजनीति छाड्ने मुडमा भने छैनन्। उनी अर्को राजनीतिक दल प्रवेश गर्ने मुडमा छिन्।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *