समाचार समाज

कैलालीमा हावाहुरीको वितन्डा, गाडी नै उडायो, २१ घाइते

जेठ २३, धनगढी । पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति पुगेको छ ।

स्थानीय घाइते हुनुका साथै केही सवारी साधन समेत हावाले उडाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार सेती अञ्चल अस्पतालमा हावाहुरीका कारण ११ जना भन्दा बढी घाइते भएका छन् ।

धनगढीसँगै जोडिएको डोकेबजारमा हावाहुरीले उडाएको ग २ प ८७२० नम्बरको पिकअप महिन्द्रा जीपका चालक र सहचालक दुबैजना घाइते छन् । कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरी नेतृत्वको प्रहरी टोलीले दुबैजनाको उद्धार गरी सेती अञ्चल अस्पताल पुर्याएको छ ।

कञ्चनपुर प्रहरीले सातजना भन्दा बढी घाइते महाकाली अञ्चल अस्पतालमा पुगेको जनाएको छ । हावाहुरीले कैलाली र कञ्चनपुरका सैयौं घरका छाना उडाएको छ भने पक्की घरको जीना (छतमा जाने बाटो)को जस्ताहरु उडाएको छ ।

स्थानीयहरु पूर्वी तराईको बाराको जस्तै हावाहुरी आएको बताउँछन् । कैलाली, कञ्चनपुरमा बिहीबार बेलुकी ८ बजेदेखि झण्डै ४० मिनेट जति आएको भयानक हावाहुरी अहिलेसम्मकै ठूलो भएको स्थानीयहरुको दावी छ ।

धनगढीका होटल सुनगाभाका सञ्चालक सुदीप क्षेत्रीको पनि हावाहुरीेले घरको छाना उडाएको छ भने उनको दुईलाख लागानीको सटरिङ उडाएको छ । श्रेष्ठले शुक्रबार छत हाल्ने तयारी गरेका थिए ।

कैलाली र कञ्चनपुरमा दर्जनौं विद्युतका पोलहरु ढलाएकाले विद्युत् आपुर्ती बन्द भएको छ भने नेपाल टेलिकमका पोलहरुमा पनि क्षति पुगेपछि केही स्थानको फोन सेवा समेत अवरुद्ध भएको छ ।

कैलाली प्रहरीेले मानिसहरु रुख ढलेर च्यापिएको खबर आए पनि त्यहाँ जाने सडकमा दर्जनौं रुखहरु ढलेकाले जान नसकेको जनाएको छ ।

‘हामीलाई धेरै ठाउँबाट रुखहरु ढलेर मानिसहरु च्यपिएको खबर आइरहेको छ, तर जान खोज्दा बाटो अवरुद्ध छ’ कैलालीका एसपी सुदीप गिरिले भने ।

उनले कैलालीभरका सबै प्रहरीलाई मानवीय उद्धारमा खटाएको बताए । ‘म आफैँ पनि फील्डमा छु, सबै प्रहरीलाई उद्धारमा खटिन निर्देशन दिएको छु’ एसपी गिरिले भने । कैलाली र कञ्चनपुरमा अहिलसम्मकै ठूलो बेगको हावाहुरी आएको अनुमान गरिएको छ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *