टिप्स

चटपटे खाँदा होसियार

बालसिर्जना
सानो बाबु न्याउरो अनुहार लगाएर आमाको काँधमा ढल्किरहेको थियो। हामी सामाखुसीको क्लिनिकमा बच्चाको डाक्टरको पालो कुरिरहेका थियौं। सानो बाबु र उनकी आमा पनि ५ नम्बरको ढोका अगाडि डाक्टरको पालो कुरिरहनु भएको थियो।

यो खबर प्रणय सिग्देलले अन्नपूर्ण पोष्टमा लेखेका छन् । एकैछिनमा डाक्टर आउनुभयो। उनीहरूको पालो आयो। उनीहरू लगत्तै मेरो पनि पालो आयो। आमा र म पनि भित्र गएर कुर्सीमा बस्यौं। सानो बाबुलाई पेट दुखेको रहेछ। डाक्टरले सोध्नुभयो, ‘के भयो सानो मान्छेलाई ? ’ बाबु केही बोलेन। आमाले भन्नुभयो, ‘डाक्टर साहेब स्कुलबाट फर्किंदा साथीहरूसँग मिलेर सधैं बाबुले पानी पुरी र चटपटे खाने रहेछ। अनि बेलाबेलामा यसरी पेट दुखेर रुन्छ।’

आमाको कुरा सुनेर डाक्टर साहेब मुसुक्क हाँस्नुभयो। बाबुको पेट छाम्नुभयो। सानो बाबु पेट दुखेर आँखाभरि आँसु पार्दै थियो। बाबुलाई डाक्टरले धेरै कुराहरू भनेर सम्झाउनु भयो। डाक्टरको कुरा सुनेर म त छक्कै परे। हामीले मीठो मानेर खाने सडकमा राखिएका खानेकुरा त खानै नहुने पो रहेछ। डाक्टरले सबै कुरा भनेपछि केही औषधि लेखिदिनुभयो। बाबु केही बोलेन। डाक्टरको कुरा मात्रै सुनेर टाउको हल्लाई रह्यो। आमाले पनि बाबुलाई धेरै सम्झाउनुभयो। जाँदाजाँदै बाबुले मलाई पनि पुलुक्क हेर्दै बाहिर निस्कियो।

अब जाँच गर्ने मेरो पालो आयो। सबै कुरा सुनेर बसिरहेको देखेर मलाई पनि डाक्टरले सोध्नुभयो, ‘तिमी पनि पेट दुखेर आएको हो ? पानी पुरी कतिको मीठो लाग्छ ? ’ मैले त कहिलेकाहीँ मात्र खान्थेँ। तर पनि टाउको हल्लाउँदै भने, ‘होइन। खाएको छैन।’ अनि आमाले भनिदिनुभयो, ‘यसलाई त छालाको एलर्जी भएर ल्याएको डाक्टर साब।’ मलाई हात र खुट्टामा चिलाएर घाउ भएको थियो। त्यो दिनदेखि मैले धेरै कुरा बुझेँ।

अचेल पानीपुरी र चटपटे खानेकुरा धेरै देखिन्छन्। चटपटेको ठेलामा स्कुले विद्यार्थीको भीड बढी हुन्छ। खुला ठाउँमा यसरी राखिएका खानेकुराहरू संक्रमणको दृष्टिले पनि स्वास्थ्यको लागि धेरै हानिकारक छ। झन् कागजमा राखेर खाँदा त हाम्रो स्वास्थ्यमा कति हानि गरिरहेको हुन्छ। कागजमा हामीले खानेकुरा खाँदा लगभग कागजमा भएका सबै हानिकारक रसायन खाइरहेका हुन्छौं। खानेकुराले सबै कागजको मसीलाई सोसिसकेको हुन्छ। यसरी मीठो मानेर हामीले चटपट खाँदा हाम्रो स्वास्थ्य बिस्तारै बिग्रिदैँ गइरहेको हुन्छ। यस्तो कुरामा हामीले सधैं ध्यान दिनुपर्छ। पढ्ने समयमा हामी बिरामी भयौं भने विद्यालय जान पनि सकिँदैन। घरमा आमा बाबालाई पनि तनाव हुन्छ। पैसा पनि खर्च हुन्छ। हामी यस्ता साना कुरामा ध्यान दिँदैनौं। तर यसको असर निकै डरलाग्दो हुने गर्छ। कागजलाई सेतो बनाउन र सेतो कागजलाई पुनः प्रशोधन गरी रंगीन बनाएर पत्रिकाको रूपमा प्रयोग गर्दासम्म सयौं रासायनिक पदार्थहरू मिसाइएको हुन्छ। यो सबै पेटमा जाँदा नै हामी बिरामी पर्ने हो।

हाम्रो विद्यालय वरपरको ५० मिटरभन्दा नजिकको क्षेत्रमा चुरोट, खैनी, विभिन्न हानिकारक पदार्थ तथा स्वास्थ्यको लागि प्रतिकूल खानेकुराहरू बिक्री वितरण गर्र्न नपाइने व्यवस्था छ। तर विद्यालय नजिकै हामीले धेरै ठेलाहरू देख्ने गरेका छौं। जानीनजानी हामीले खुला ठाउँमा राखिएका खानेकुरा खाने र पत्रिकाको टुक्रामाथि राखेर खाने गरेका छौं। यस्तो बानी अबदेखि चटक्कै छोडौं। नत्र बिरामी भएर त्यही सानो बाबु गए जस्तै पेट दुखेर अस्पताल जानु पर्ला।

प्रणय सिग्देल
कक्षा : ८
बूढानीलकण्ठ स्कुल, काठमाडौं