भारतीय कलाकारलाई जनताले कसरी पत्याए, को-को भए निर्वाचनमा विजयी ?

जेठ १०, काठमाडौं । भारतको तल्लो सदन लोकसभा निर्वाचनमा उम्मेदवार बनेका बलिउडका केही चर्चित कलाकारहरु विजय भए भने कोही पराजय भएका छन् ।

कलाकारको रुपमा जनताको मनमा बस्न सफल भएका कतिपय कलाकार जनताबाट चुनिएर सांसद हुन सफल भएका छन् भने केही असफल भएका छन् ।

अभिनेता सनी देओल पहिलो पटक राजनीतिक मैदानमा उत्रिएका थिए । उनी भारतीय जनता पार्टीमा केही महिना अघि प्रवेश गरेर सोही पार्टीबाट पञ्जावको गुरदासपुर क्षेत्रका उम्मेदवारी दिएका थिए ।

सनीले कांग्रेसका सुनीलकुमार जाखडलाई ७७ हजार १०७ मतले पराजित गर्दै विजय भएका छन् । विपक्षी दल कांग्रेसले राम्रो नतिजा ल्याएको सो प्रदेशमा सनी भने भाजपाको तर्फबाट विजयी भएका छन् ।

कुनै समय ‘ड्रिम गर्ल’ उपनाम पाएकी नायिका हेमा मालिनी पनि भारतीय जनता पार्टीबाटै निर्वाचित भइन् । उनी उत्तर प्रदेशको मथुराबाट उम्मेदवार भएकी थिइन् । उनले राष्ट्रिय लोकदल तथा गठबन्धन उम्मेदवार नरेन्द्र सिंहलाई २ लाख ९३ हजार ४७१ मतले पराजित गरिन् ।

बलिउडका अर्का चर्चित अभिनेता राज बब्बरको भने पराजय भएको छ । लामो समयदेखि राजनीतिमा सक्रिय उनी कांग्रेसका उत्तर प्रदेश अध्यक्षसमेत हुन् । आगराको फतेहपुर सिक्री क्षेत्रबाट उम्मेदवार भएका उनी भारतीय जनता पार्टीका उम्मेदवार राजकुमार चहरसँग ४ लाख ९५ हजार ६५ मतले पराजित भए ।

यसैगरी कांग्रेस पार्टीको तर्फबाट उम्मेदवारी पाएकी बलिउडका चर्चित नायिका उर्मिला मातोंडकर हालै राजनीतिमा प्रवेश गरेकी थिइन् । उनी कांग्रेस पार्टीबाट नर्थ मुम्बई क्षेत्रमा उम्मेदवार बनेकी थिइन् । उनी पनि नराम्ररी पराजित भइन् । उनलाई भारतीय जनता पार्टीका गोपाल शेट्टीले ४ लाख ६५ हजार २४७ मतले पराजित गरे ।

भाजपाबाटै चन्डीगढ क्षेत्रबाट उम्मेदवार बनेकी चलचित्र अभिनेत्री किरण खेरले कांग्रेसका वरिष्ठ नेता पवनकुमार बंशललाई ४६ हजार ९७० मतले पराजित गरिन् । अभिनेत्री खेर भारतीय जनता पार्टीबाट निर्वाचित भएकी हुन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

अभिनेत्री जयाप्रदा हालै भारतीय जनता पार्टीमा प्रवेश गरेकी थिइन् । यसअघि समाजवादी पार्टीमा रहेर राजनीति गर्दै आएकी उनी भारतीय जनता पार्टीबाट रामपुर क्षेत्रमा उम्मेदवार बनेकी थिइन् । उनी समाजवादी पार्टीका नेता आजम खानसँग एक लाख ९ हजार ९९७ मतले पराजित भइन् ।

बंगाली अभिनेत्री मुनमुन सेन आसनसोल निर्वाचन क्षेत्रमा चर्चित गायक बाबुल सुप्रियोसँग पराजित भएकी छन् । त्रिणमुल कांग्रेसबाट उम्मेदवार भएकी मुनमुन भारतीय जनता पार्टीका उम्मेदवार सुप्रियोसँग करिब दुई लाख मतले पराजित भएकी हुन् ।

भारतीय जनता पार्टीमा लामो समय राजनीतिक जीवन बिताएर हालै कांग्रेसमा प्रवेश गरेका अभिनेता शत्रुघन सिन्हाका लागि दल परिवर्तनले पराजयतर्फ लग्यो ।

उनले पटना साहिब निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टीका उम्मेदवार रविशंकर प्रसादसँग दुई लाख ८४ हजार मतले पराजय हुनु परेको छ । अभिनेता शत्रुघन सिन्हा भारतीय जनता पार्टीको उम्मेदवार भई सन् २००९ र २०१४ मा विजय हुनु भएको थियो ।

दक्षिण भारतीय फिल्म उद्योग तथा बलिउडका चर्चित अभिनेता प्रकाश राज बेंगलुरु सेन्ट्रल क्षेत्रबाट निर्दलीय उम्मेदवार बनेका थिए । उनी भाजपाका पीसी मोहनसँग ५ लाख ७३ हजारभन्दा बढी मतले पराजित भएका छन् ।

भोजपुरी नायक रवि किशनले उत्तर प्रदेशको गोरखपुर क्षेत्रबाट उम्मेदवारी दिएका थिए । भारतीय जनता पार्टीबाट उम्मेदवार बनेका उनी ३ लाख एक हजार ६६४ मतान्तरले विजयी भएका छन् ।

भोजपुरी अभिनेता तथा गायक मनोज तिवारी नर्थ इस्ट दिल्लीबाट भारतीय जनता पार्टीको उम्मेदवार बनेका थिए । उनले कांग्रेसकी दिग्गज नेतृ शिला दीक्षितलाई साढे तीन लाखभन्दा बढी मतले पराजित गरे ।

अभिनेत्री सुमनलताले कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीका छोरा निखिललाई पराजित गरिन् । सुमनलता निर्दलीय उम्मेदवार हुन् । उनले एक लाख २५ हजारभन्दा बढी मतले निखिललाई पराजित गरेकी हुन् ।

भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, कुन पार्टीले कति सिट जित्यो (सूचिसहित)

भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले पहिला भन्दा बढी सिटमा जित हासिल गरेको छ ।

सन् २०१४ मा भन्दा २२ सिट बढीमा विजयी हुँदै भाजपा एक्लैले ३०३ सिट ल्याएको निर्वाचन आयोगले शुक्रबार घोषणा गरेको छ ।

भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए)ले भने ३५२ सिट हाँसिल गरेको आयोगका अधिकारीहरुले जनाएका छन् ।

भाजपाको राष्ट्रवादी तथा हिन्दुधर्मवादी नाराले भारतीय नागरिकबीच लोकप्रियता पाएकोले उसले एकछत्र जीत निकाल्न सफल भएको कतिपय भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

एनडीए गठबन्धनमा रहेका अन्य दलहरुमध्ये शिव सेनाले १८, जनता दल युनाईटेड (जेडियु)ले १६, लोक जनशक्ति पार्टीले ६, अकाली दल र अप्ना दलले दुई÷दुई सिट तथा झारखण्ड विद्यार्थी संघ, लोकतान्त्रीक पार्टी, मिजो नेशनल फ्रन्ट र नेश्नल पिपल्स पार्टीले एक एक सिट जितेका छन् ।

त्यसैगरी भाजपाको समर्थन रहेका एक जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।

विपक्षीहरूको गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय काँग्रेसले ५२ सिटमा मात्रै जित हासिल गरेको छ । अघिल्लो पटकको लोकसभा निर्वाचनको तुलनामा यो पनि ८ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ ।

काँग्रेस नेतृत्वको युपिए गठबन्धनले कुल ८७ निर्वाचन क्षेत्रका विजयी भएको छ । यस गठबन्धनमा आवद्धमध्ये द्रविदा मुन्नेत्र काझागम (डिएमके)ले २३, नेशनलिष्ट कंग्रेस पार्टी (एनसिपी)ले ५, इण्डियन यूनियन मुस्लीम लिगले तीन सिट जितेका छन् ।

त्यसैगरी रिभोलुसनरी सोसलिष्ट पार्टी (आरएसपी), केरला कंग्रेस —एम (केसी—एम), झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र विदुथलाई चिरुथाइगल काट्ची (भिसिके)ले एक एक सिटमा जित हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *