Uncategorized समाचार

‘त्यो पापीले ‘हिरोनी’ जस्ती छोरीलाई यस्तो पारिदियो’

जेठ ७, काठमाडौँ । ‘एक्लो छु, चौकीमा धाउँ कि अस्पतालमा छोरी कुरुँ !’ सलको सप्कोले अनुहार पुछ्दै कमला खड्का भनिन्, ‘ के गरिरा’छु, के बोलिरा’छु, आफैंलाई याद छैन । अस्पतालमा बिल पनि सात्तो जाने उड्दो रै’छ ।’

अनुहार निराश छ । आखाँमा टिलपिल आँशु । घरी यता घरी उता गरिरहन्छिन् । टेबल राखेका औषधिहरुमा हात चलमलाइरहेको छ । अस्वाभाविक रुपमा सलको सप्कोले मुहार पुछिरहन्छिन् । हातमा रहेको सानो ‘टुकटुके फोन’ (उनकै शब्दमा) मा बजिरहन्छ । फोनमा एक मिनेटजति बोलेपछि टेबलमा रहेको पानी घुट्क्याउँछिन् ।पानीको बोतल टेबलमा राख्दै भन्छिन्, ‘ यिनै छोरीहरुको लागि भनेर कत्ति दु: ख गरेँ । खाइ नखाई अर्काको घरमा भाँडा माझेँ तर, त्यो पापीले मेरी ‘हिरोनी’ जस्ती छोरीलाई यस्तो पारिदियो ।’

उनी निरन्तर बोलिरहेकी छिन् । गुनासो पोखिरहिन् । अस्पताल पुगेका आफन्तहरु सम्झाउँछन्, ‘ तपाई नै कमजोर हुनु भयो भने त छोरीको के हुन्छ । छोरीका लागि भए पनि सम्हालिनुपर्छ । सधैं रोएर हुन्छ ?’

आफन्तका आश्वासनले उनी निःशब्द हुन्छिन् । कुनै जवाफ छैन । त्यही बेला अस्पतालको बेडमा लम्परसार रहेको छोरीले केही संकेत गर्छिन् । उनको शरीर चलमलाउँछ । मुख बंगाएर केही आवाज निकाल्छिन् तर, संकेत बुझे पो !

‘ पानी खाने हो ?’ कमलाले नजिकै गएर सोध्छिन् ।छोरीले मुख बिगार्दै अर्को संकेत गर्छिन् । फेरि बुझ्न गाह्रो ! ‘खाना खाने हो ?’ सोध्छिन् । जवाफ फेरि पनि अस्पष्ट आउँछ ।अनी उनी गुनासो गर्छिन्, ‘ हेर्नुस् त छोरीले बोलेको केही नबुझ्दा कस्तो भएको होला मलाई ? ६ दिनदेखि यस्तै भइरहेको छ । म अत्तिसकेँ ।’

कीर्तिपुर अस्पतालको कोठा नम्बर २४ मा जेनी खड्का लम्पसार परिरहेकी छिन् । जेठ १ गते एसिड आक्रमणमा परेकी उनको घाँटीभन्दा तल ब्याण्डेज गरिएको छ । हात र खुट्टामा पनि उस्तै ब्याण्डेज । अनुहार अलिक सुन्निएको छ । बोल्न सक्दिनन् । बडो कष्टसाथ केही भन्न खोज्छिन्, आमाले बुझ्दिनन् ।

कुरुवा बस्दाबस्दै कमला पनि बिरामी भइसकेकी छिन् । अस्पतालको बसार्इ अत्यास लागिसकेको छ उनलाई । ‘मलाई मात्रै किन यस्तो होला’ भन्दै गुनासो गर्छिन् । भेट्न आउनेहरूलाई आफ्नो कथा व्यथा सुनाएर हलुका हुने कोशिस गर्छिन् । तर, अस्पतालले दिएको औषधिको बिल र ‘टुकटुके फोन’मा बजेको घन्टीले बेलाबेला तनाव दिइरहन्छ । अनि बोल्दाबोल्दै बरबरी आँशु झार्छिन् । सहनै नसक्ने भएपछि डाँको छोडेर पनि रुन्छिन् । अस्पताल पुगेका आफन्तहरुलाई समेत उनलाई सम्हाल्न गाह्रो पर्छ ।

७ दिन अघि…

कमलाको श्रीमान तीन वर्षअघि बितिसके । तीन छोरीको उनीमात्रै सहारा । अरूको घरमा काम गरेर जीवन निर्वाह गरिरहेकी थिइन् । घटना भएको दिन बालुवाटारको एक घरमा एक महिनाको लागि अनुबन्धन भइसकेकी थिइन् । काम थियो- सुत्केरी स्याहार्ने ।

त्यसदिन उनले सुत्केरीलाई तेल लगाइदिइसकेकी थिइन् । कपडा धुने काम पनि सकियो । सरसफाईको काम सकाएर बस्न नपाउँदै छोरीको याद आयो । अनि जेनीलाई फोन गरिन् । सञ्चो बिसन्चो सोधिन् । आमाछोरीको केही मिनेट गफ भयो । कुरा गर्दा गर्दै ‘ब्याट्री लो’ भएर कमलाको फोन अफ भयो । उनले मोबाइलबाट ब्याट्री झिकेर चार्जमा हालिन् । ब्याट्री नझिकी मोबाइलमा चार्ज गर्न नमिल्ने ! त्यही बेला बच्चा रोएको आवाज आयो । गएर बच्चालाई फकाउँदै ‘डाइपर’ फेरिदिइन् ।

त्यसपछि घरबेटीको ल्याण्ड लाइनमा फोन आयो । घरबेटीले फोन उठाएर उनलाई दिए । उताबाट आवाज आयो- ‘तपाईको छोरीलाई ओम अस्पताल ल्याएको छ, तुरुन्त आउनू ।’

उनी अकमक्किइन् । १० मिनेट अघि राम्रोसँग कुरा गरिरहेकी छोरी अकस्मात अस्पताल ! उनलाई विस्वास नै लागेन । केही भन्न नपाउँदै फेरि उताबाट आवाज आयो- ‘छिट्टै अस्पताल पुग्नु अर्जेन्ट छ ।’

उनले केही सोध्नुअघि नै फोन काटियो । हत्तपत्त चार्जमा राखेको ब्याट्री झिकेर मोबाइलमा हालिन् । मोबाइल खुलेको केही क्षणमै फेरि फोन आयो । उठाउँदा आवाज आयो- ‘तुरुन्त अस्पताल पुग्नुस्, तपाईँकी छोरी ओम अस्पतालको इमर्जेन्सीमा छ ।’

प्रहरीले फोन गरेको रहेछ । त्यसपछि विश्वास गर्न कर लाग्यो । सोचिन्, ‘ चटपटे खान सडकतिर निस्किकी थिइहोली, बाइकले हान्दियो होला.. ।’

अस्पताल पुग्दा अनुमान फेल खायो । छोरीलाई देखेर स्तब्ध भइन् । रिंगटा लागेर टाउको फनफनी घुम्यो । के गर्ने कसो गर्ने केही सोच्नै सकिनन् । एसिडको रापले जेनी छटपटाइरहेकी थिइन् । मुख पनि बांगिएको थियो । अनुहारमा दाग त देखिएन तर, घाँटीभन्दा तल हेरिनसक्नु, पुरै विभत्स !

ओमले कीर्तिपुर अस्पताल ‘रिफर’ गरिदियो । अस्पताल पुर्‍याउनासाथ तीन घण्टा चिसो पानीले कुलिङ गरे । त्यस दिनदेखि जेनी अस्पतालको शैयामा छिन् । आइतबारबाट मात्र केही संकेत गर्न थालेकी उनी होश आउनासाथ बरबराउँछिन् । सोमबार हामी पुग्दा पनि त्यस्तै थियो । कमलाले त्यही बेला सोधिन्, ‘छोरी तँलाई कसरी हान्यो एसिड ?’

जेनीले आमालाई केही कुरा सुनाइन । उनले भनेको बुझ्न हम्मेहम्मे परिरहेको थियो । केही कुरा सुनेपछि कमलाले सुनाइन्, ‘त्यो दिन उ ( कृष्ण भुजेल) घरमा आएर ढोका ढकढक्यायो । ढोका नखोले भाँडभैलो गर्थ्यो । छिमेकमा हल्ला हुन्थ्यो । त्यही भएर म निस्किएँ । निस्किएको केही क्षणपछि उस्ले केही छ्याप्यो, त्यसपछि केही थाहा पाइनँ । भतभती पोल्यो ।’

छोरीको कुरा सुनाउँदा सुनाउँदै उनका गह भरिइसकेका थिए । केहीक्षण सन्नाटा छायो । उनले एक तमासाले लम्पसार परिरहेकी जेनीलाई हेरिरहिन् । त्यही बेला टुकटुके फोनमा बजेको रिंगटोनले ध्यान भंग गर्‍यो ।

फोन उठाएर केही क्षण सुनेपछि जवाफ फर्काइन्, ‘ म त पागल हुन लागिसके । अस्पताल त महंगो रै’छ । दुई दिनको औषधिको मात्रै एक लाखको बिल आइसक्यो । अपरेसन गरेको कति हो । कसरी पो तिर्नु ? टिचिङतिर लैजानु पर्छ कि क्या हो ?’

फोनमा कुरा गरेर बिदा मागेपछि कमला थचक्क भुईँमा बसिन् । एक बोतल पानी एक सासमा रित्याएपछि भनिन्, ‘ जिन्दगीमा दु:खले कहिल्यै नछोड्ने भो । अब त पागल हुनमात्र बाँकी छ ।’

८ वर्षअघि…

कमलाको श्रीमान पहिलेदेखि मुटुको बिरामी । कमाई राम्रो थिएन । पेट पाल्न धौधौ परेपछि उनले जेनीलाई बाल वातावरण केन्द्रमा भर्ना गरिदिइन् । १२ वर्षीया जेनीलाई बाल वातावरण केन्द्रले निःशुल्क लालन पालन गर्यो । तर, २ वर्षमै केन्द्रबाट निस्किइन् र केही समयपछि कृष्णसँग भागिन् ।

जेनी १५ वर्षको हुदाँ कृष्ण ३२ वर्षका थिए । नाबालक छोरी भगाएको भन्दै कमलाले प्रहरीमा उजुरी हालिन् । त्यसपछि थाहा भयो- जेनी कृष्णको तेस्रो श्रीमती भएर गएकी रहिछन् ।

कृष्णकी जेठी श्रीमती प्रहरी चौकीमा आएर कमलालाई थर्काइन्, ‘यति सानी छोरीलाई दोब्बर उमेरको केटासँग पठाउन लाज लाग्दैन् ?’

कमलाले यो कुराको सुइको पाएको थिइनन् । भन्छिन्, ‘ कलिलो उमेर फकायो होला, धम्क्यायो होला गई । मलाई अलिकति थाहा भएको भए म रोक्थे । थाहा नपाउँदा ऐले यस्तो भयो ।’

१५ वर्षमै भागेकी जेनीसँग कमलाको २ वर्षपछि मात्र सम्पर्क भयो । त्यसअघि कुनै अत्तोपत्तो थिएन् । जेनी कृष्णसँग ओखलढुंगा गएर बसेको भने सुनेकी थिइन् । छोरीको न्यास्रो लागे पनि सोधिखोजी नगरी चुप बसिन् । कामको बाध्यता एकातिर थियो भने छोरीले सम्पर्क नगेरेको झोक अर्कोतिर ।

‘बाउ आमाको मुखमा …. गएकीलाई माइती टेक्न दिन्न्’ कमलाको मनमा यस्तै आक्रोश आउथ्यो । तर, माया मार्न पनि सकिनन् । छोरी फर्केर आइदिओस् जस्तो लाग्थ्यो ।

नभन्दै कृष्णसँग भागेको २ वर्षपछि जेनी काठमाडौं आइन् । त्यतिन्जेल उनको कृष्णसँग सम्बन्ध बिग्रिसकेको थियो । त्यसपछि उनीहरु छुट्टिएर बस्न थाले । केही समय एक्लै बसेकी जेनी विगत ५ महिनादेखि आमासँग बस्न थालिन् । असनको जनमत सहकारीमा ‘पैसा कलेक्सन’ गर्ने काम गरिरहेकी थिइन् ।

यसरी नै जिन्दगी चलिरहेको थियो । खुसी नभएपनि उनी दुःखी पनि थिइनन् । तर, जेठ १ गतेको घटनाले जिन्दगीको लय बिगारिदियो । जेनीको जिन्दगी त तहसनहस भयो नै । कमलाले पनि चोट भोगिन् । अरुको घरमा मजदुरी गरेर जीवन निर्वाह गर्दै आएकी कमलालाई चिन्तामाथि चिन्ता थपियो ।

छोरीको चिन्ता । अस्पताल खर्चको चिन्ता । अनि पेट पाल्ने काम रोकिएको चिन्ता । अनि अर्को ठुलो चिन्ता त छँदैछ— छोरीको अपराधीले सजाय पाउने हो कि उम्किने हो ?

सुस्केरा हाल्दै आक्रोश पोख्छिन्, ‘ म सम्पन्न परिवारको भइदिएको भए त्यो अपराधीलाई आफैं सजाय दिन्थेँ । तर, के गर्नु यहाँको दौडधुपले दिमाग खराब भइसक्यो ।

बोली नसक्दै कमला छोरी जेनीलाई सुमसुम्याउन थालिन् । आमा छोरीको मौन संवाद चलिरह्यो ।अनलाईनखबरबाट सभार

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *