स्वास्थ्य

प्रसूति सिकाउन ‘सिमुलेसन ल्याब’ स्थापना, के हो ‘सिमुलेसन ल्याब’ ?

धुलिखेल अस्पतालमा स्थापना भएको महिला तथा प्रसूति सिमुलेसन ल्याबको उद्घाटनसँगै अवलोकन गर्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव

जेठ ५, काभ्रे । काठमाडौं विश्वविद्यालय(केयु) स्कूल अफ मेडिकल साइन्सेज–धुलिखेल अस्पतालले महिला तथा प्रसूतिसम्बन्धी अत्याधुनिक ‘सिमुलेसन ल्याब’ सञ्चालनमा ल्याएको छ केयुमा ब्याचलर अफ मिडवाइफरी र एमएससी मिडवाइफरीका विद्यार्थीहरुको प्रयोगात्मक अध्ययनका लागि यो ल्याब स्थापना गरिएको हो ।विकसित मुलुकहरुमा धेरै पहिलेदेखि स्वास्थ्य विज्ञान अध्यापनमा प्रयोग हुँदै आएका कृत्रिम मानव (मेन्क्विन) तथा मानव अङ्गका प्रतिरुपहरु यो ल्याबमा रहेका छन् । मुलुकमै पहिलो पल्ट महिला तथा प्रसूतिसम्बन्धी ल्याब स्थापना गरिएको केयुको दाबी छ ।

‘अब विद्यार्थीहरुले अस्पतालमा आएका महिलाबाट सिक्ने नभई ल्याबमा रहेको ‘सिम मम्’ (मेन्क्विनबाट बनेकी आमा) बाट धेरै कुरा सिक्न सक्छन् । सिम ममले मानिसले झैं स्वास फेर्ने, मुटु चल्ने, कराउने, चिच्याउने सबै गर्न सक्छ । यसमा सबै कामहरु कन्ट्रोल रुमबाट हुन्छ’, सिमुलेसन हेल्थकेयर प्रशिक्षक डा. अस्मिता आचार्यले भनिन् ।

सिमुलेसन ल्याबमा रहेर विद्यार्थीहरुले एउटै समस्याको समाधानका लागि धेरै पटक प्रयोगात्मक अभ्यास गर्न सक्ने उनको भनाई छ, ‘मानिसमा पटक–पटक अभ्यास गर्न पाइन्न । मेडिकल साइन्सेजले बिरामीको सुरक्षा(पेसेन्ट सेफ्टी) लाई पहिलो प्राथमिकता दिएको छ । त्यही भएर सिमुलेसन ल्याबमा एक पटक गल्ती भयो भने पनि ल्याबको टीममा बसेर पुनः प्रक्रिया सुरु गराइन्छ । त्यसपछि विद्यार्थीले मैले यहाँनेर काम गर्दा यो काम छुटेछ भनेर स्मरण गरिराख्न सहज हुन्छ’, आचार्यले थपिन् ।

धुलिखेल अस्पतालको सिमुलेसन ल्याबमा रहेको सिम मममा डेलिभरी(सुत्केरी) गराउन सकिने अवस्थामा राखिएको छ । ‘नर्मल डेलिभरी गराउने अवस्था हो कि सिजरियन सेक्सन नै गर्नु पर्ने हो भनेर टीममा छलफल गर्न सकिन्छ । त्यसपछि सुत्केरी व्यथाले चिच्याएझैं कन्ट्रोल रुमबाट सिम ममलाई चिच्याउन लगाउन सकिन्छ । ‘ब्लिडिङ’ गराउन सकिन्छ । साल अड्काएर राख्न सकिन्छ’, उनले प्रक्रिया वर्णन गरिन्, ‘सिम मम किन्न नसक्ने ल्याबले समेत लाडलको उत्पादन ‘मामानातालि बर्थिङ सिमुलेटर’ लाई पेटमा बाँधेर लेबर(प्रसव व्यथा)मा रहेका आमाले अभिनय गर्दै सुत्केरी हुन सकिन्छ’, आचार्यले थपिन् ।

मिडवाइफहरुलाई ‘ह्याण्ड्स अन प्राक्टिस’ बढी चाहिने भएकाले सिमुलेसन ल्याबमा राखेर सिकाउँदा बढी प्रभावकारी हुने नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष प्राध्यापक गोमादेवी निरौलाको भनाई छ, ‘सिमुलेसन ल्याबबाट विद्यार्थीहरुले प्रविधिमात्रै सिक्नेभन्दा पनि विधि(मेथडोलोजी) बुझ्ने र प्रसूति सेवा प्रदान गर्ने क्रममा टीममा रहेर कसरी काम गर्ने भन्नेमा बढी ज्ञान र सीप हासिल गर्न संभव भएको छ’, उनले थपिन् ।

जर्मन सरकारमातहत जिआईजेडको नेपाल स्वास्थ्य क्षेत्रको लागि सहयोग कार्यक्रम(सपोर्ट टु द हेल्थ सेक्टर प्रोग्राम) अन्तर्गत सार्वजनिक–निजी साझेदारीमा नर्वेको लाडल मेडिकल कम्पनीको सहयोगमा सिमुलेसन ल्याबको स्थापना भएको हो । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले धुलिखेल अस्पतालमा स्थापित सो ल्याबको हालै उद्घाटन गर्दै मुलुकमा मातृ मृत्युदर घटेको भएपनि केही वर्षदेखि स्थिर रहेकोले यो दर अझै घटाउनका लागि मिडवाइफहरुको महत्वपूर्ण भूमिका रहने बताए, ‘हिजो महिलाको शरीरमै प्रयोगात्मक अभ्यास गर्नुपर्दा धेरै खाले समस्या थिए । अब ल्याबमा सहज तरिकाले सिक्न सम्भव भएको छ’, उनले थपे ।

धुलिखेलमा स्थापना भएको सिमुलेसन ल्याबका लागि आवश्यक पर्ने सामग्रीहरु लाडलले उत्पादन गरेको हो । पहिलो पटकको प्रशिक्षक प्रशिक्षणसमेत कम्पनीले दिएको नेपाल प्रतिनिधिसमेत रहेकी आचार्यले जानकारी दिइन्, ‘हामीले नेपालमा नर्सिङ र मिडवाइफरी अध्यापन गराउँदै आउनु भएका लेक्चरर, असिस्टेन्ट प्रोफेसर र प्रोफेसरहरुलाई सहभागी बनाएर पहिलो पटकको प्रशिक्षक प्रशिक्षण चलाएका छौं । पाँच दिन अवधिको प्रशिक्षणपश्चात उहाँहरुले विद्यार्थीहरुलाई सिकाउन सक्ने गरी पाठ्यक्रम बनाएका छौं’, उनले थपिन् ।

पाँच चरणका सिकाईहरु (सर्कल अफ लर्निङ) बिधिमा आधारित रहेर ल्याबमा अध्यापन गराइने गरी लाडलले नमूना पाठ््यक्रम तयार पारेको छ । प्रशिक्षक प्रशिक्षणमा केयु स्कूल अफ साइन्सेज, नेपाल नर्सिङ काउन्सिल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका स्वास्थ्य शिक्षा प्रदायक संस्थाहरुबाट सहभागी रहेका छन् ।

केयु स्कूल अफ मेडिकल साइन्सेजका एसोसियट डीन एवं धुलिखेल अस्पतालका निर्देशक डा. रमेश माकुजले सिमुलेसन ल्याबमा अभ्यास गरेका नर्स तथा मिडवाइफहरुले विगतमा झैं आरोपहरु सुन्नु नपर्ने दृष्टान्त दिए, ‘विगतमा सिकारु नर्सले प्रिक(नसा खोल्दा) गर्दा जताततै घोचिदिइन् । घरीघरी बिरामीलाई सोधेर हैरान बनाए ।

क्लिनिकल पढ्ने क्रममा सिकारु नर्स र मिडवाइफहरुले बिरामी मान्छेमा प्राक्टिस गर्छन् । त्यस्तै, सिकारु नर्सले डेलिभरी गराउँदा बच्चा म¥यो भन्ने कुरा अब सुन्नु पर्दैन,’ उनले भने । केयु, न्याम्स र कर्णालीले ब्याचलर अफ मिडवाइफरीको अध्यापन गराउँदै आएका छन् । तर, मिडवाइफरीकै पाठ््यक्रममा आधारित प्रवीणता प्रमाणपत्र तहको पढाई भने अझै सुरु भएको छैन ।नागरिकन्युजबाट साभार