स्वास्थ्य

यसकारण लाग्छ झाडापखाला, यो रोगबाट बच्न के गर्ने ?

जेठ ४, काठमाडौं । मौसम परिवर्तनसँगै अहिले मौसमी रुघाखोकी र झाडापखालाको बिरामी पनि बढ्दै गइरहेका छन् । प्रत्येक वर्ष झाडापखालाले नेपालको कुनै न कुनै ठाउँमा माहामारीको रुप लिने गरेको छ । झाडापखाला, हैजा जस्ता सरुवा रोगबाट वर्षेनी धेरै नागरिकको ज्यानै जाने गरेको छ । यस्तै झाडापखालाको मुख्य जोखिममा बालबालिका र पर्ने गरेका छन् । झाडापखालाको कारण, उपचार र बच्ने उपायका विषयमा केन्द्रीत रहेर शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा वासुदेव पाण्डेले विस्तृतमा जानकारी गराएका छन्ः

के हो झाडापखाला ?

दिनमा तीन चारपटक भन्दा बढी छिटोछिटो पातलो दिसा जानु र वाकवाकीसमेत हुनुलाई झाडापखाला वा झाडावान्ता पनि भनिन्छ ।

विशेषगरी ब्याक्टेरिया र भाइरसको संक्रमणले गर्दा झाडापखाला हुन्छ । दूषित खाना, पानी र फोहोर हातका माध्यामबाट झाडापखालाका कीटाणु फैलिन्छन् । भिब्रियो कोलेरा, जुकाहरू (हेलमेन्थ) जस्ता ब्याक्टेरियाको संक्रमणले मानिसमा झाडापखला लाग्छ । भाइरसअन्तर्गत मुख्य रूपमा रोटा भाइरसलगायत अन्य भाइरल संक्रमणले गर्दा पनि हुन्छ ।

गर्मीमा खाना छिटो बिग्रने, धुलोधुँवा, फोहोर, हुरीबतासलगायतका कारण रोगका किटाणुहरूले मानिसमा यस्ता रोगहरू सार्ने गर्दछन् ।

एकदेखि दुई पटक दिसा हुँदा समान्य अवस्था मानिन्छ । दिसामा चिप्लो पदार्थ सिगान जस्तै मिसिएको छ अथाव पानी÷पानी मात्रै छ भने झाडापखाला लागेको भनेर बुझन् सकिन्छ । दिसाबाट पानी मात्रै गएको छ भने भाइरलको कारणले झाडापखाला लागेको बुझ्न सकिन्छ । यस्तै रगतमासी मिसिएको दिसा भयो भने अमिबा भएको बुझ्नु पर्दछ ।

दिशाबाट रगत÷रगत मात्रै भयो भने ब्याक्टेरियाको कारण भएको बुझ्नु पर्दछ । दिशा गर्दा सेतो पानी धेरै आएको खण्डमा भने हैजा भएको अनुमान गर्न सकिन्छ । हैजाले धेरै पटक पखाला लाग्ने र शरीरमा तुरुन्तै शुख्खापन हुने समस्या हुन्छ । साथै जिब्रो सुक्ने र जिब्रो चाउरी पर्ने समस्या हैजाबाट हुन्छ ।

बारम्बार पातलो दिसा हुनु, दिसामा सिँगानजस्तो चिप्लो पदार्थ तथा रगत आउनु, शरीर शिथिल हुनु, आँखा गाडिने—मुख सुक्ने, बढी मात्रामा तिर्खा लाग्ने, कमजोर एवम् बेहोस हुन सक्ने सम्भावना पनि हुन्छ ।

झाडापखाला लाग्ने कारण

झाडापखाला लाग्ने मुख्य कारण पानी नै हो । असुद्ध खानेपानीमा विभिन्न ब्याक्टेरिया, भाइरसहरु मिसिएको हुन्छ । विना फिल्टर र नउमाली पानी पिउँदा झाडापखाला लाग्ने सम्भावना हुन्छ ।

दोस्रो कुरा हामीले खाने खानाबाट पनि झाडापखाला लाग्न सक्छ । नेपालीले खाने खानेकुराहरु मिश्रण भएको पाइन्छन् । यति मात्रै होइन विभिन्न खानेकुराहरुमा केमिकल पनि राखिएको हुन्छ जुन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्ता खानेकुुराले सधैँभरी झाडापखाला लाग्ने सम्भावना हुन्छ ।

अहिले मौसमी रुघाखोकी र झाडापखाला लाग्ने समय पनि भएको छ । गर्मी मौसममा पानीपुरी खाने चलन छ । सेकुवा खाइन्छ र केक पनि खाइन्छ । यस्ता कुराहरुले गर्मी समयमा झाडापखाला लाग्ने सम्भावना हुन्छ । केकमा झन् धेरै ब्याक्टेरिया बस्ने भएको हुँदा यस्तो खानाबाट फू्रड पोइजन भएर झाडापखाला लाग्ने सम्भावना हुन्छ ।

गर्मी मौसममा शरीरमा रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ । जसले गर्दा सामान्य कुरामा ध्यान नदिँदा (जस्तै धुलो धुवाँ,फोहोरको कारणले) झाडापखाला लाग्ने जोखिम हुन्छ ।

झाडापखाला भएको व्यक्तिले पिसाब गरेको छ भने शरीरमा झोल पदार्थ छ भन्ने बुझिन्छ । पिसाब नभएको खण्डमा झोल पदार्थ नभएको बुझ्नु पर्दछ । पिसाब नभएको खण्डमा पानी र झोलिलो खानेकुरा खुवाउन आवश्यक हुन्छ । झाडापखालाबाट बालबालिका तथा वृद्धावृद्धहरुमा धेरै जोखिममा हुन्छन् ।

गर्मीयामको समयमा पानी पर्ने मौसम जेठदेखि भदौ महिनासम्म झाडापखालाको जोखिम बढी हुन्छ ।

हैँजा र झाडापखालामा धेरै फरक छ । हैँजा हुँदा दिनमा शरीरबाट ३० देखि ४० लिटर पानी जान्छ । यति धेरै पानी जादा मानिसको शरीर एकै छिनमा सुक्छ, समयमा उपचार नभएको खण्डमा मानिसको मृत्यु पनि हुन सक्ने खतरा हुन्छ । हैँजाको कारणले पखाला लाग्दा चौलानी जस्तो पानी सँगै वान्ता हुन्छ । समयमा उपचार तथा रोकथामको विधि नअपनाएको खण्डमा हँैजाले छोटो समयमानै मानिसको ज्यान समेत लिनसक्छ ।

प्रशस्त झोलिलो कुरा आवश्यक

झाडापखाला लाग्नु भन्दा लाग्नै नदिनु उत्तम उपाय हो । हामीले सामान्य कुरालाई ध्यान दिन सकेको खण्डमा झाडापखाला लाग्नबाट बच्न सकिन्छ । जस्तै बाहिरको काम सकेर घर फर्किँदा, शौचालय गएपछि, फोहोर बस्तु छोएपछि साबुन पानीले हातखुट्टा मिचिमिची धुने गर्नुपर्छ । खुल्ला ठाउँमा दिशापिसाव नगर्ने, सफा पानी पिउने, सकेसम्म पानी उमालेर पिउने गर्दा रोगबाट बच्न सकिन्छ ।

झाडापखाला लागेपछि जीवनजल पानी खुवाउनु पर्छ । यदि जीवनजल नभएको खण्डमा एक चिम्टी, नून, एक मुठी चिनी र एक लिटर पानी घोलेर खुवाउने हो भने पनि केही हदसम्म झाडापखालालाई रोक्न सकिन्छ । झाडापखाला लागेपछि जीवनजल पानीसँगै अरु झोलिलो खानेकुराहरु दाल, फ्रेस जुस ,नरम खाना खुवाउनु पर्दछ ।

धेरै नेपाली झाडापखालाको शिकार बन्नुको प्रमुख कारण सरसफाईमा ध्यान नदिनु नै हो ।

काठमाडौँ तथा शहरी क्षेत्रको हकमा कुरा गर्ने हो भने बाहिरबाट आएर बस्ने धेरै नागरिक छन् । पानीको सुविधा राम्रो नभएको र पानी उमालेर खाने बानीको विकास नहुँदा झाडापखाला लाग्ने जोखिम हुन्छ । नेपालको शहरी क्षेत्रमा पानी अभावनै झाडापखालाको प्रमुख कारण देखिन्छ । अब गर्मीयामका समयमा लामखुट्टेबाल लाग्ने विभिन्न रोगबाट पनि बच्न जरुरी छ ।

झाडापखालाबाट बच्न के गर्ने ?

— बाहिरको खानेकुरा नखाने ।

—सरसफाईमा ध्यान दिने ,घरको वरिपरी फोहोर नबनाउने

—पानी उमालेर खाने बानी बसाल्नु पर्छ । उमाल्न नसकेको खण्डमा सफा पानी (जस्तै घाममा राखेर वा फिल्टर गरेर खाने ) पानी ६० डिग्री सेल्सियस उमालेर खाँदा ब्याक्टेरियाहरु मर्छन् ।

—बाहिरको सडेगलेको खानेकुरा नखाने ।

— हरियो सागसब्जी राम्रोसँग पखालेरमात्र खाने ।

—बासी र झिँगा भन्केका खानेकुरा नखाने।

— दिशापिसाब शौचालयमा मात्रै गर्ने