काठमाडौं मलको भाडाबापतको १२ करोड रुपैया सञ्चय कोषमा नपुग्दै यसरि हुन्छ गायब !

जेठ ३, काठमाडौं । कर्मचारी सञ्चय कोषद्वारा सञ्चालित सुन्धारास्थित ‘काठमाडौं मल’काे भाडाबापतको १२ करोड रुपैयाँ केही व्यक्तिको मिलेमतोमा गायब पारिएको खुलेको छ। द काठमाडौं मल व्यापार संघका तत्कालीन पदाधिकारीहरु र सञ्चय कोषका कर्मचारीको मिलेमतोमा उक्त रकम गायब पारिएको भन्दै संसदको लेखा समितिमा उजुरी परेको छ।

संघका पदाधिकारीले २०७१ साल मंसिरदेखि २०७२ असोजसम्मको भाडा त्यहाँका व्यवसायीबाट उठाई आफैंले हिनामिना गरेको देखिएको हो। तत्कालीन समयमा ठेक्का प्राप्त गरेका प्रविर शमशेर राणालाई सञ्चय कोषले उक्त रकम बुझाउन ताकेता गरेपछि याे रहस्य खुलेको हो।

कर्मचारी सञ्चय कोषले काठमाडाैं मलकाे ११ महिनाको भाडाबापतकाे रकम प्राप्त नगरेपछि मलको भाडा भुक्तानी गर्ने ठेकेदार राणाविरुद्ध २०७२ साल भदौमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकाे थियाे। उक्त मुद्दामा सुनुवाइ गर्दै ललितपुर जिल्ला अदालतले काेषलाई काठमाडाैं मलकाे ११ महिनाको भाडाबापतकाे १२ करोड ६६ लाख ४ सय ३० रुपैयाँ राणाले तिर्नुपर्ने ठहर गरेकाे थियाे।

अदालतको ठहरपछि राणाले द काठमाडौं मल व्यापार संघसँग ११ महिनामा उठाएको रकमकाे दाबी गरेका थिए। सञ्चय काेषकाे ताकेतापछि तत्कालीन समयमा भडा असुलीका लागि ठेक्का सम्झाैता गरेका राणाले चैत्र ८ मा काेषले भनेबमाेजिम रकम भुकतानी गरिदिन भन्दै व्यापार संघको नयाँ नेतृत्वलाई पत्र लेखेका थिए।

२०७२ मंसिर ५ मा आफू र द काठमाडौं मल व्यापार संघबीच व्यापार संघले भाडा उठाउने गरी सम्झौता भएको उनले पत्रमा जनाएका छन्। साथै उक्त सम्झौता सञ्चय कोषले समेतले स्वीकारेको पत्रमा उल्लेख गरिएकाे छ।

मलबाट प्रतिमहिना १ करोड ५० लाख रुपैयाँ उठ्ने गरेको उल्लेख गर्दै व्यापार संघसँग ११ महिनामा उठाएको १६ करोड ५० लाख रुपैयाँको उनले हिसाब मागेका छन्। उक्त रकमबाट व्यवस्थापन खर्च कटाएर १२ करोड ६२ लाख ६५ हजार ९ सय ७८ रुपैयाँ सञ्चय कोषलाई बुझाउनु पर्ने तर नबुझाएको उनले स्पष्ट रुपमा पत्रमा उल्लेख गरेका छन्।

संघले उनीसँग मलको भाडा उठाएर कोषलाई तिर्ने सम्झौता गर्दा व्यापार संघको अध्यक्षमा समित उद्दिन सेख थिए।

सेख नै अध्यक्ष हुँदा संघले भाडा उठाएर सञ्चय कोषलाई तिर्ने सम्झौता राणासँग गरेको संघकै २०७२ असोज १९ मा कर्मचारी सञ्यय काेषलाई लेखेकाे पत्रले दर्शाउँछ।

साे पत्रमा २०७१ मंसिरदेखि २०७२ असारसम्मको ६ करोड १८ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ बुझाएको उल्लेख छ र थप ३ महिनाकाे भाडा २ कराेड ३२ लाख कुमारी बैंककाे गुड फर पेमेन्टकाे चेकबाट बुझिलिन भनिएकाे छ।

यसरी संघले भाडा बुझाएकाे बताए पनि काेषले भने भाडाबापतकाे रकम नपाएकाे बताएँदै आएकाे छ। अदालतले समेत काेषले भाडााबपतकाे रकम नपाएकाे भन्दै साे रकम भुक्तानी गर्न राणाका नाममा आदेशसमेत जारी गरेकाे छ।

एक जनाको नाममा करोडसम्म निकासी

पुरानाे कार्यसमितिकाे आयव्य विवरण हेर्दा भने नयाँ तथ्य खुलासा हुन्छ। संघको कुमारी बैंक र सिनर्जी फाइनान्सकाे खाताकाे स्टेटमेन्ट जाँच गर्दा समितिका पदाधिकारीले नै कराैडाैं रुपैयाँ झिकेकाे देखिन्छ।

संघको खाताबाट मनलाग्दी रकम झिकेको देखिएको वर्तमान अध्यक्ष शुष्मा महरा पनि स्वीकार गर्छिन्। महराका अनुसार ती खाताहरुको हिसाबकिताब उनीहरुले लेखा परीक्षणका समयमा समेत देखाएका छैनन्।संघको कुमारी बैंक, सिनर्जी फाइनान्स र शान्ति सन्देश सहकारीमा समेत खाता रहेको छ। संघका ती खाताबाट तत्कालीन कोषाध्यक्ष प्रकाश थापाले मात्रै एक करोड ३४ लाख ८ हजार ८९ रुपैयाँ झिकेको देखिएको वर्तमान अध्यक्ष महरा बताउँछिन्। अध्यक्ष समिर उद्दिन सेखले मात्रै ५४ लाख ७२ हजार ५ सय रुपैयाँ झिकेका छन्।

त्यस्तै प्रथम उपाध्यक्ष मधुसुदन आचार्यले एक करोड ८८ लाख ३४ हजार ५, द्वितीय उपाध्यक्ष सन्तोष अधिकारीले ९९ लाख ७ हजार ५ सय र महासचिव खिम विक्रम सेनले ४ लाख १८ हजार झिकेकाे देखिन्छ।

हालकी अध्यक्ष महराले संघकाे अन्य दुई बैंकमा समेत खाता रहेकाे बुझिएकाे भए पनि वर्तमान कार्यसमितिलाई साेबारे जानकारी नगराइएको दाबी गरिन्।

बैंक स्टेटमेन्टमा उक्त कारोबार देखिए पनि संघको लेखापरीक्षण गराउँदाको ‘क्यास फलो स्टेटमेन्ट’मा भने उक्त रकम देखिएको छैन। २०७२ असारदेखि २०७३ असारसम्मको कारोबारमा जम्मा ७ हजार ३५ ब्यालेन्स रहेको देखाइएको छ।

लेखा समितिमा उजुरी

संघका पूर्व पदाधिकारीसहित कर्मचारी सञ्चय कोषका तत्कालीन कर्मचारीलले उक्त रकम अपचलन गरेको भन्दै संसदको लेखा समितिमा उजुरी गरिएको छ। कोषबाट ठेकेदारले कब्जा गरेर चलाएको भन्दै मुद्दा दायर गरिए पनि संघकै पदाधिकारीले मल चलाएको कोषका कर्मचारीलाई अवगत रहेकाे उजुरीमा दाबी गरिएकाे छ।

संघबाट कोषलाई भाडाबापत दिइएको भनिएको १२ करोड कर्मचारी र संघका पदाधिकारीको मिलेमतोमा अपचलन भएको उजुरीमा बताइएको छ। उजुरीमा २८ महिनामा व्यापार संघले मल सञ्चालन गर्दा ५० करोडमाथि घोटाला गरेको उल्लेख गर्दै ५२ महिनाको रकम नउठाई सरकारलाई १ अर्बभन्दा बढी हानी नोक्सानी पुर्‍याएको उल्लेख छ।

यस्ताे छ उजुरीमा उल्लेख गरिएकाे घाेटालाकाे विषय

१) २०७१-०८-०५ मा पुरानाे ठेकेदार प्रविर शमशेर राणा र द काठमाडाैं मल व्यापार मलबीच सम्झाैता गरी व्यापार संघले मल सञ्चालन गरेकाे प्रमाण देखिए पनि उल्टै राणाले नै कब्जा गरी चलाएकाे भनी कर्मचारी सञ्चय काेषले ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरी जिति उक्त अवधिमा संघले मल सञ्चालन गरेकाे र उठेकाे रकम सञ्चय काेषका कर्मचारी र व्यापार संघका पदाधिकारी मिलि व्यापार संघकाे खातामा रहेकाे र कर्मचारी सञ्चाय काेषकाे खातामा समेत गइसकेकाे १२ कराेडभन्दा माथि अपचलन गरेकाे।

२) जम्माजम्मी २८ महिना व्यापार संघले मल सञ्चालन गर्दा ५० कराेडभन्दा माथि घाेटाला गरेकाे।

३) मल सञ्चालनमा ५२ महिनामा ठेकेदारहरुसँग रकम नउठाई सरकारलाई १ अर्बभन्दा माथि हानिनाेक्सानी पुर्‍याएकाे।

उक्त घोटाला पुष्टि हुने केही प्रमाणसमेत समितिलाई दिइएको एक सांसदले बताए।

व्यापार संघले काेषलाई भाडाबापतकाे रकम बुझाएकाे, काेषालले भाडा वापतकाे रकम नपाएकाे तथा संघकाे वर्तमान कार्यसमतिले पछिल्ला अडिट रिपाेर्टमा काेषलाई रकम दिइएकाे नखुलाइएकाे बताइरहँदा बीचमै साे बापतकाे रकम गायब पारिएकाे स्पष्ट हुन्छ। यसमा स्वयं काेषका कर्मचारी तथा संघका तत्कालीन कार्यसमितिकाे समेत संलग्नता रहेकाे हुन सक्ने आशंका गरिएकाे छ। नेपाललाइभबाट साभार

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *