मुख्य समाचार राजनीति

दङ्गालीले गरे प्रदेश ५ को राजधानीबारे यस्तो सुझाब दिने निर्णय, अब कहाँ हुन्छ राजधानी ?

फागुन १४, दाङ । प्रदेश नं. ५ को स्थायी राजधानीका बिषयमा सुझाब संकलन गर्न प्रदेश नं. ५ को टोली मंगलबार दाङ आउने भएको छ ।

दाङ आउने टोलीलाई प्रदेश नं. ५ को राजधानी दाङ बनाउन सुझाब दिने दाङका सरोकारवालाले निर्णय गरेका छन् ।

सोमवार दाङको घोराहीमा यहाँका क्रियाशील राजनीतिक दल, जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभाका सदस्यहरु, जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, दाङ जिल्लाका उद्योग वाणिज्य संघहरु, सामुदायिक वन उपभोक्ता महासंघ, पत्रकारलगायत जिल्लाका अगुवाहरुको भेलाले यस्तो निर्णय गरेको हो ।

त्यस अवसरमा दाङबासीले प्रदेश नं. ५ कै केन्द्रबिन्दु दाङमा पर्ने भएकाले दाङ नै प्रदेशको स्थायी राजधानीकालागि उपयुक्त भएकाले दाङ नै राजधानी बनाउन सुझाब संकलन टोलीलाई सुझाब दिने निर्णय गरेको हो ।

प्रदेशका सबै जिल्लाको बीच भागमा पनि पर्ने र भौतिक पूर्बाधार तथा जग्गा प्राप्तीका हिसाबले पनि सहज भएकाले दाङ नै प्रदेश नं. ५ को राजधानीको उचित बिकल्प हुने सुझाब दिने निर्णय गरेको हो ।

बैठकले प्रदेश नम्बर ५ को मध्ये भागमा पर्ने सामाजिक सुरक्षाका दृष्ट्रिले सुरक्षित, वातावरणीय हिसाबले सन्तुलित र सार्वजनिक जग्गाको उपलब्धता आदिको आधारमा दाङ देउखुरीको कुनै पनि स्थानमा प्रदेश राजधानी तोक्न सुझाव दिने निर्णय गरेको छ ।

बैठकमा प्रदेशको नाम स्वर्गद्वारी, राप्ती, थारुवान–मगरातलगायतबाट छनौट गर्न सुझाब दिने निर्णय गरेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता एवं प्रदेश सभा सार्वजनिक लेखा समिति सभापति डिल्ली चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश मामिला तथा कानून समिति सभापति दामा शर्मा, प्रदेश सदस्यहरु इन्द्रजीत चौधरी, अमरबहादुर डाँगी, रेवतीरमण शर्मा, अर्जुनकुमार श्रेष्ठ , धमकली चौधरी, जिल्ला समन्वय समितिका उप–प्रमुख श्रीधर पौडेल , नेकपाका कार्यदल सदस्यद्वय टीकाराम खड्का, तुलसीराम पुन ‘सुवास’, नेपाली कांग्रेसका सचिव शंकरप्रसाद डाँगी र क्षेत्रीय सभापति भूपबहादुर डाँगी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य, नागरिक समाजका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठ, संघका पूर्वअध्यक्षहरु माधवप्रसाद शर्मा, रामदयाल गुप्ता, मधुसूदन वैद्य, भरत बुढाथोकी, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भुपेन्द्र सुवेदी, नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष नरेन्द्र केसीलगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिब नरेश कार्कीले गरेका थिए ।