मुख्य समाचार राजनीति

प्युठानबाट आयो प्रदेश ५ को स्थायी राजधानीबारे यस्तो सुझाव, राजधानी कहाँ बन्ला ?

फागुन १२, प्यूठान । प्यूठानका सरोकारवालाले प्रदेश ५ को राजधानी प्यूठान बनाउन माग गरेका छन् ।

बुटवल वा दाङ हुन नहुने सुझाब दिदै उनीहरुले प्रदेशको राजधानी प्यूठान बनाउन सुझाव दिएका हुन् ।

प्रदेश नामकरण र स्थायी राजधानीसम्बन्धी सुझाव सङ्कलन एवं अन्तरक्रियामा आईतबार सरोकारवालाले प्रदेश राजधानी बुटवल वा दाङ हुन नसक्ने बताएका छन् । यस प्रदेशका १२ जिल्लामध्ये प्यूठान सबैभन्दा पायक पर्ने ठाउँ भएकाले प्यूठानलाई पनि समेटी राजधानी बनाउन माग गरिएको हो ।

स्थायी राजधानी बुटवल, तुलसीपुर र घोराही राजधानी बन्ने चर्चा चलिरहेका बेला प्यूठानवासीले यी तीन वटै ठाउँलाई अस्वीकार गरेका हुन् । प्रस्तावित ठाउँ विकसित भइसकेकाले नयाँ ठाउँलाई प्रदेश राजधानी बनाएर उक्त ठाउँको विकास गर्न प्रदेश सरकारले नयाँ रणनीति बनाउन जरुरी रहेको सरोकारवालाको माग थियो ।

भारत र चीनको नजीक भएका क्षेत्रमा राजधानी बनाउन नहुने यहाँका बासिन्दाको तर्क छ । प्रदेशसभा विशेष समितिले आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रमका सहभागीले नयाँ ठाउँमा राजधानी बनाउन सुझाव दिएका हुन् ।

सहभागीले प्रदेशको स्थायी राजधानी बनाउँदा प्यूठानको सरुमारानी गाउँपालिकासँगै दाङको राप्ती र गडवा गाउँपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाका क्षेत्रलाई समेटी राजधानी बनाउनसमेत सुझाव दिएका हुन् ।

राजधानी नामकरणमा समेत सुझाव दिँदै प्यूठानको प्रमुख पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी जोडेर नामकरण गर्न जिल्लावासीले आग्रह गरेका छन् । सो कार्यक्रममा प्रदेशसभा सदस्य, जिल्लाका नौ वटै स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, राजनीतिक दल, गैरसरकारी संस्थाका प्रतिनिधिलगायत नागरिक समाजको उपस्थितिमा सुझाव सङ्कलन गरिएको थियो ।

 

रुकुमपूर्वमा राजधानीबारे सुझाव संकलनः दाङ नै अन्तिम विकल्प हुने सुझाव

प्रदेश नम्बर ५ सरकारकोले प्रदेशको नामाकरण तथा स्थायी राजधानीको लागि सुझाव संकलन एवं अन्तकृया कार्यक्रम शुरु गरेको छ ।

उक्त कार्यक्रम प्रदेस सरकारले विशेष समिति गठन गरेअनुसार रुकुम पूर्वको रुकुमकोट सिस्ने क्याम्पसमा कार्यक्रम गरिएको थियो । पहिलोपटक रुकुमपूर्व र बाँकेबाट कार्यक्रम शुरु गरिएको हो ।

६ वटा समिति गठन गरी एक समितिले २ वटा जिल्लाको जिम्मा लिएको छ । प्रदेश नम्बर ५ मा जम्मा १२ वटा जिल्ला रहेका छ्न् ।

सबै प्रदेशका राजधनी तथा नामाकरण टुङ्गो लागेको छैन् । राजनैतिक चहलपहलले स्वार्थ हावी हुने भएकोले यो समस्यालाइ राजनैतिकसँग नजोडिन संघीय सांसद कमला रोकाले बतानुभयो । त्यसैले यस सुझाव कार्यक्रमले नै टुङ्गो लगाउनुपर्ने उहाँको सुझाव छ ।

सम्पूर्ण जनताको स्वामित्वमा रहि कुनै पनि विवाद नहुने गरि ५ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको विशेष समिति सदस्य एवं प्रदेशसभा सदस्य दिनेश पन्थीले बताउनुभयो । पछाडिका पुस्ता सम्मकालाई समेत ध्यानमा राखि नमूना प्रदेश निर्माण गर्ने उद्देश्यले शुरु गरिएको यो कार्यक्रम फागुन १८ सम्ममा सञ्चालन हुने पन्थीले जानकारी दिनुभयो ।

सुझावबाट प्रतिवेदन तयार गरि सदनमा पेस गर्ने पन्थीले जानकारी दिनुभयो ।

जिल्ला जिल्लाबाट आएका सुझावअनुसार प्रतिवेदन सदनमा पेश गरी चाँडै निष्कर्षमा पुग्ने गाउने विशेष समिति सदस्य एवं प्रदेशसभाका सदस्य वीरबहादुर रानाले बताउनुभयो ।

यसैबीच रुकुमपूर्वका सरोकारवालाहरुले प्रदेशको मध्यविन्दुमा राजधानी तोक्न माग गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओलीले सहमतिका आधारमा मध्यविन्दुमा राजधानी तोक्न सुझाव दिनुभयो ।

विवाद नहुने गरी भौतिक, सांस्कृतिक आधारमा जनताको विचारलाई नै सम्मान गरेर राजधानी तोक्न भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले सुझाव दिनुभयो । सदनबाट जनताको सुझावमार्फत नै सहमति होस् तर पशुको दर्जामा खरिद बिक्री मत नहोस् भन्दै उहाँले समितिलाई सजग गराउनुभयो ।

सहभागीले प्रसिद्द धार्मिक स्थल लुम्विनी, स्वर्गदारी र जनजाति मगर र थारुको बाहुल्यता रहेकाले मगरात–थारुवान आदि नाम राख्न सुझाएका छन् । उनीहरुले प्रदेशभरिका जिल्लाका बासिन्दालाइ सहज बनाउन राजधानी दाङ जिल्लालाइ बनाउनुपर्ने राय व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य कमला रोका, प्रदेशसभाका सदस्य आशा स्वर्णकार, रुकुमपूर्वमा स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधलगायतको सहभागिता थियो । समितिले रुकुमपूर्वपछि रोल्पामा सुझाव संकलन गर्नेछ ।

 

स्थायी राजधानी र नामाकरणबारे बाँकेवासीले दिए कडा प्रतिक्रिया, अब के हुन्छ ?

 

बाँकेका बासिन्दाले लिखित र मौखिक रुपमा बुटवललाई स्थायी राजधानी नमान्‍ने सुझाव दिएका छन्।

प्रदेश सभाको विशेष समितिले आइतबार नेपालगञ्जमा आयोजना गरेको ‘प्रदेश नामाकरण र स्थायी राजधानी सम्बन्धि सुझाव संकलन एवं अन्तरक्रिया कार्यक्रम’ मा यहाँका बासिन्दाले बुटवल राजधानी मान्य नहुने दोहोर्‍याए।

बाँकेवासीले नेपालगञ्ज नै प्रदेश राजधानी हुनुपर्ने सुझाव दिएका छन्। नेपालगञ्ज हुन नसके दाङको भालुवाङ आसपासमा राजधानी बनाउन सकिने राय अघि सारेका छन्। नेपालगञ्जबाट कसैले पनि बुटवलको पक्षमा समर्थन गरेनन्।

‘सर्वप्रथम हाम्रो माग भनेको नेपालगञ्जलाई राजधानी तोक्नुपर्छ। नेपालगञ्ज हुँदैन भने दाङको भालुवाङ आसपासमा राजधानी तोकिनु पर्छ। तर, हामी बुटवललाई नै स्थायी राजधानी मान्न तयार छैनौ, मौखिक र लिखित सुझाव दिएका बाँकेवासीले भनेका छन्, बहुमतको आधारमा बुटवललाई नै राजधानी बनाउने काम भयो भने बाँके र बर्दिया कर्णालीतिर प्रदेशतिर मिसिन्छ।’

नेपालगञ्जका मेयर धवलशमशेर राणाले नेपालगञ्ज राजधानी नभए ५ नम्बर प्रदेशलाई नमस्कार गरेर कर्णाली प्रदेशतिर जाने बताए। उनले नेपालगञ्जलाई महानगरपालिका बनाएर राजधानी तोकिनु पर्ने धारणा राखे।

‘नेपालगञ्ज नै राजधानी हुनुपर्छ। नेपालगञ्ज नभए दाङसम्म हामीलाई मान्य हुन्छ। तर, आजसम्म कुनै साइनो नभएको बुटवललाई राजधानी तोकियो भने हामी बाध्य भएर कर्णाली प्रदेशतिर मिसिन्छौं, मेयर राणाले भने, बाँके र बर्दिया कर्णाली प्रदेशमा मिसिने बित्तिकै भारत र चीनसँग कनेक्सन हुन्छ । र, यो प्रदेश सबैभन्दा बलियो हुन्छ।’

पूर्व सांसद दलबहादुर सुनार, देवराज भारले दाङ राजधानी नभए कर्णालीतिर मिसिन आन्दोलनको आधिबेहरी सिर्जना गरिने चेतावनी दिए । नेताहरु किरण कोइराला, अशोक कोइराला, कमरुद्दिन राई, रत्न खत्री, दामोदर आचार्य, लक्ष्मीनारायण बर्माले नेपालगञ्ज नै राजधानी हुनुपर्ने र त्यो नभए पायक पर्ने ठाउँमा राजधानी तोकिनु पर्ने धारणा राखे ।

राप्तीसोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारु, कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु चौधरीले पनि दाङ नभए कर्णाली प्रदेशतिर मिसिने तर बुटवललाई स्वीकार नगर्ने चेतावनी दिए।

विकासका लागि नागरिक सरोकार समिति, बाँकेले समितिलाई नौ बुँदे लिखित सुझाव नै हस्तान्तरण गरेको छ। समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठ र वष्ठि पत्रकार पूर्णलाल चूकेले नेपालगञ्जलाई नै राजधानी तोक्नु पर्ने र नेपालगञ्ज राजधानी हुनुका लागि रहेका आधारहरु समेटेर लिखित सुझाव दिए।

नेपालगञ्जका उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले नेपालगञ्जवासी एकजुट भएर राजधानीका लागि आन्दोलन गर्नुपर्ने बताए। उनले बुटवललाई कुनै पनि हालतमा स्वीकार नगर्ने बताए।

५ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरण गर्नका लागि गठित विशेष समितिका दुई सदस्य विष्णु पन्थी र तुलसी चौधरी सुझाव संकलन गर्न नेपालगञ्ज आएका छन्। विशेष समिति सदस्य पन्थीले शुरुमै भविष्यलाई हेरेर उपयुक्त ठाउँमा राजधानी राख्न सुझाव दिन आग्रह गरेका थिए।

सुझाव संकलन तथा अन्तरक्रियामा प्रदेश सांसदहरु आइपी खरेल, विजयबहादुर यादव, कृष्णा केसी, मो. याकुव अन्सारी, उषा पुनको उपस्थिति थियो। नामाकरणको सवालमा भने यहाँका बासिन्दाले लुम्बिनी राख्दा फरक नपर्ने सुझाव दिएका छन्।