मनोरञ्जन

पशुपति शर्माको भाइरल गीत युटुवबाट हट्यो, सामाजिक संजालमा झनै भाइरल

फागुन ५, काठमाडौँ | चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खैलाबैला मच्चिएपछी उक्त गीत गायक शर्माले युटुवबाट हटाएका छन् । गायक शर्माले परिमार्जन सहित उक्त गीत फेरी युटुवमा ल्याउने सामाजिक संजालबाट जानकारी दिएका छन् ।

गायक शर्माले आफ्नो उक्त गीतमा दर्शकले देखाएको सहभागीतालाई हार्दिक आभार ब्यक्त गर्दै आफ्नो गीतको केहि शब्दलाई लिएर विरोध सृजना गर्न खोजिएकाले गीतमा शब्द सहित परिमार्जन गर्ने स्पष्टिकरण दिएका छन् । उनले आफूले राजनिती त्यती गहिराईबाट नबुझेको तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनुहुदैन भन्ने कुरामा सचेत रहेको भन्दै आफ्नो गीतले बिसंगतीलाई ब्यंग्य गरोस भन्ने एकमात्र ध्यय लिएर उक्त गीत तयार पारेको बताएका छन् ।

उनले लेखेका छन् – ‘मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरु लाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझीएको छु ।’

गायक शर्माले आफ्नो गीतलाई सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्वहरु, अग्रज एवं समकालीन साथीहरुलाई धन्यवाद दिदै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा अन्तर हृदयदेखीनै माफी माग्न चाहान्छु, भनेका छन् । उनले सामजिक संजालमा लेखेका छन् -‘मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु ।’

गायक शर्माले आफू यही देशको एक सचेत नागरीक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने आफ्नो नैसर्गीक अधिकार हो, भन्ने कुरामा आफू दृढ रहेको समेत बताएका छन् ।

सामाजिक संजालबाट कसले हटाउने ?

गायक शर्माको गीत युटुवबाट हटेपछी सामाजीक संजालमा झनै भाइरल भएको छ । उनको गीत हटेको समाचार पाएकाहरुले उक्तगीतलाई सामाजिक संजालमा खोजि -खोजी फेसबुक म्यासेन्जर तथा फेसबुक वालबाटै सेयर गर्दै भाइरल बनाएका छन् ।

एक जनाले सामाजिक संजालमा भिडियो सेयर गर्दै लेखेका छन् ‘यति राम्रो गितलाई You tube मा हटाएपनि यतातिर त छनि अब खोजि-खोजि डाउनलोड अनि सेयर गरि फेसबुक संजालमा भाईरल बनाउने काम तपाँई हाम्रो हो… LINK’, त्यस्तै फेसबुकमा गायक शर्मालाई त्याग गर्दै विष्णु पाण्डेले लेखेका छन् – ‘कमिडियनले कमिडी मार्फत, गजलकारले गजल मार्फत, नाट्यकारले नाटक मार्फत, गितकारले गितको शब्द मार्फत र अन्य तवर तरिकाले आफ्ना प्रतुतिहरु प्रस्तुत गर्छन्। जुन सरकार होस् या अन्यलाई विभिन्न किसिमले व्यंग्य प्रहार गरिन्छ, त्यसरी नै Pashupati Sharma ले व्यंग्य गर्दै १ वटा गित के निकालेका थिए ? त्यास्लाई सरकार तथा त्यो सम्बन्ध युवा संघले पचाउन नसकेको प्रष्ट युवा संघको चेतावनी सहितको बिज्ञप्ति भनु या के भनुबाट नै प्रष्ट देखिएको छ ।

तिनै युवा संघका नेता भनाउदाहरु तिनकै कार्यक्रममा गएर लाज पचाएर पेट मिचिमिची हास्दै बाहिर निस्किन्छन्, त्यो पनि देख्न पर्ने हो युवा संघले। सक्छौ भने मदनकृष्ण, हरिबंश, जितु नेपाल, सन्दिप क्षत्री, दिपकराज गिरि, तै पनि एमाले मै पनि एमालेका बद्री पंगिनी लगायत यस्ता कलाकार धेरैको बिरोध गर न ! किन पशुपतिको एउटा गित पचाउने शक्ति सकियो अब ? बेसरम ।’

यस्ता कयौं फेसबुक स्टाटस छन् जसमा पशुपति शर्माको समर्थन गर्दै लेखिएका छन् । केहिले कांग्रेसले सरकार चलाउँदा ‘मलाई जापान पनि यही मलाई कोरिया नि यही’ बोलको गीत गाउने अनि अहिलेको सरकारको पालामा चाही यस्तो गीत गाउने ? पशुपति शर्मा कांग्रेसको प्रवक्ता त होइनन्’ भन्दै प्रश्न गरेका छन् ।

जे होस पशुपति शर्माको गीत युटुवबाट हटेपछी झनै भाइरल भएका छन् । सामाजिक संजालमा गायक शर्माले गीत हटाउनु अघिनै डाउनलोड गरि फेसबुकमा अपलोड गरिएको भिडियो खोजि-खोजि सेयर गर्ने तथा हेर्न सुझाव दिने गरिएको छ । अधिकांशले व्याप्त भ्रष्टाचार र बेथिति नियन्त्रण गर्न नसक्ने भन्दै सरकारकै बिरोध गरेका छन् । गायक शर्माले वर्तमान अवस्थाको जस्ताको तस्तै चित्रण गरेको भन्दै धन्यवाद समेत पाएका छन् ।

यसै सन्दर्भमा सुरेन्द्र मल्लले लेखेका छन् -‘पशुपति शर्माले हटाए पनि मैले नहटाउने गरि लेखे, यदि भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने हो भने सर्वप्रथम सम्माननिय प्र.म. केपि ओलि, पुर्व प्र.म.क. प्रचण्ड र पुर्व प्र.म. तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिन हुनुपर्छ अनि हुन्छ देश बिकास ! नत्र लक कानो कट्नु बाहेक विकल्प छैन आ-आफ्नो पार्टीको ?’

यसै सन्दर्भलाई उल्लेख गर्दै माईसंसार ब्लगले ‘‘लुट्न सके लुट’ गाउँदा ‘कुट्न सके कुट’ पाराको आक्रमण, हट्यो गीत, अब श्री पशुपतिनाथले पशुपति (शर्मा) को रक्षा गरुन् !’ शिर्षकमा ब्लग समेत लेखिएको छ ।

त्यस्तै Youth Federation Nepal युवा संघ नेपालले गायक शर्माले गीत परिमार्जन गर्ने गरि हटाएको बिषयलाई धन्यवाद दिएको छ । उसले आफ्नो पेज मार्फत लेखेको छ ‘शब्द चयनमा भएको गल्ती महसुस र क्षमायाचना ब्यक्त गर्दै शंशोधन सहित पुन: अपलोड गर्ने गरी पशुपति शर्माजीले भिडियो हटाउनुभो र यस बिशयमा प्रटोक्ती सहित आफ्नो स्टेटमेण्ट पनि जारी गर्नु गर्नु भएको छ यस्का लागि यहाँलाई धन्यबाद तथापी बिकृती,बिसँगति बिरुद्धका तपाईंका प्रस्तुतीहरु अझ बुलन्द रुपमा आईरहुन हाम्रो साथ र सहयात्रा रहिरहनेछ l’ युवा संघ नेपालले थप ध्यानाकर्षण गर्दै लेखेको छ ‘आवाजहरु अझ शशक्त रुपमा उठाउनुस तर आधारहिन बिशय र कुनै निश्चित बिचार र समुदाय प्रतीको नियोजित पुर्बाग्रह नझल्कियोस l

र यो पनि 

‘लुट्न सके लुट् कान्छा..‘ गीत युट्युबबाट हट्यो, पशुपति शर्माले लेखे यस्तो स्टाटस [स्टाटससहित]

गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको छ ।

शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत शनिबार नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो ।

‘लुट्न सके लुट कान्छा लुट्न सके लुट
अरु देशमा पाइँदैन नेपालमै हो छुट‍..’

सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला शर्माले यही विषयलाई गीतको मूल विषय बनाएका थिए । उनले हटाएको विषयमा फेसबुकमा स्टाटस लेखेका छन् ।

उनले फेसबुकमा राखेको स्टाटस जस्ताको तस्तै

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्युहरूमा सादर नमस्कार !

हिजो रिलिज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँहरूले देखाउनु भएको सहभागिताको लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु। तर सोही गीतमा प्रयोग भएका केही शब्दहरूलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरू समक्ष राख्न गइरहेको छु।

सर्वप्रथम त म यहाँहरूलाई जानकारी गराउन चाहान्छु कि म राजनीतिलाई त्यति गहिराईबाट बुझ्दिनँ। तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति ब्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु। मेरो गीतले विसंगतिलाई व्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो।

मैले कुनै राजनीतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनीतिक दल या संस्था संग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन। तर गीतमा समावेश केही शब्दहरूमा मेरा केही शुभचिन्तकहरूको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरूलाई परिमार्जन गर्न गइरहेको छु। केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरूलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु।

सुझाव दिनुहुने राजनीतिक व्यक्तित्वहरू, मेरा अग्रज एवं समकालिन साथीहरूलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ठ्यारो पारेको खण्डमा म अन्तरहृदयदेखि माफी चाहन्छु। मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो। यसमा म पुन: प्रष्ट पार्न चाहन्छु। अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहित पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु।

र, अन्त्यमा म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरूको अकर्मण्यताविरुद्ध आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्‍याउन चाहन्छु।

धन्यवाद।
पशुपति शर्मा

यसअघि आएको समाचार यस्तो छ

पशुपति शर्माको ‘लुट्न सके लुट’ गीतले बालुवाटारमा खैलाबैला, अब के होला ?

चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खैलाबैला मच्चिएको छ ।

प्रधानमन्त्री केपी शर्माले ओलीले सुशासनका बारेमा सरकार शून्य सहनशीलता लिएर अघि बढिरहेको बताइरहेका बेला गायक शर्माले नेपालमा भ्रष्टाचार बढिरहेको भावको व्यङ्गात्मक गीत सार्वजनिक गरेपछि प्रधानमन्त्री निवासमा उक्त गीतले तरङ्ग ल्याएको छ ।

गीतमा प्रधानमन्त्री ओलीप्रति पनि कडा व्यङ्ग्य गरिएको छ । काम केही नगरेको, ठूला–ठूला भाषणमात्र गरेको, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ चलेकाे जस्ता शब्द गीतमा प्रयाेग गरिएपछि सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाउने बारे छलफल चलेकाे स्रोतले बतायो ।

यो गीतका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र समेत छलफल भएको स्रोतले बतायो । गीतमा सरकारका काम कारवाहीका साथै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत व्यङ्ग्य गरिएको छ ।

प्रधानमन्त्री ओलीले सरकारको जिम्मेवारी सम्हालेको १ बर्ष पुगेकै आसपासमा गायक शर्माले ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतको सुरुमै गायक शर्माले भनेका छन् –‘पञ्चायत सुनेँ, बहुदल र गणतन्त्र भोगेँ, तर देश र जनताको निःस्वार्थ रुपले माया गर्ने न त नेता भेटे नत अरु कोही…. त्यसैले भन्न मन लाग्यो लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट ।’

पछिल्लो समय सुशासन कायम गर्ने मुलुकको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै घुस आतंक मच्चिनु, मातपोत, भन्सार लगायतका जनताले दैनिक सेवा लिने सरकारी निकायहरुमा हुने घुस र भ्रष्टाचार आंतक फैलनु जस्ता विषयसँग शर्माको गीतको भाव मेल खान्छ ।

शुक्रबार मात्रै अख्तियारका आयुक्त राजनारायण पाठकले घुस लिएको प्रमाण सार्वजनिक भएपछि पदबाट राजीनामा दिन बाध्य भएका थिए । कतिपयले नेताहरुकै सुझावमा कारबाहीबाट बच्न पाठकले राजीनामा दिएको भन्दै आलोचना समेत गरिरहेका छन् ।

शर्माको गीतमा यसअघि भ्रष्टाचारको आशंका गरिएको वाइडवडी काण्ड, ३३ किलो सुन काण्ड लगायतका विषयलाई समेत व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।

गीतमा राजधानी सहित देशभर विकासका आयोजना अलपत्र परेको, जता–ततै लुटतन्त्रले राज गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले चढ्ने हेलिकप्टरको प्रसंग पनि जोडिएको छ ।

‘जनताको मुटुभित्र काँडा कति–कति, डेढ अर्बको हेलिकप्टर चड्छिन् राष्ट्रपति । लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ गीतमा भनिएको छ ।

गत विहीबारबाट बजारमा आएको उक्त गीतले वर्तमान अवस्थामा देखिएका भ्रष्टाचार काण्डदेखि विकास निर्माणमा हुने बदमासीलाई चित्रण गरेको छ ।
गीतको अभिनयमा गायक शर्मा, प्रज्ज्वल भण्डारी र मञ्जु विक देखिका छन् ।

Edit