पत्रपत्रिकाबाट मुख्य समाचार

को हुन् कोपाइलट सुजीत लामा ढुंगाना ? [नालीबेलीसहित]

बैशाख १, काठमाडौं । लुक्ला विमानस्थलबाट आइतबार बिहान उडान गर्ने क्रममा दुर्घटनामा ज्यान गुमाएका कोपाइलट सुजीत लामा ढुंगानाले समिट एयरकै जहाज ६ सय घण्टा भन्दा बढी उडाइसकेका थिए।

रामेछापबाट लुक्ला पुगेका यात्रु ओरालेर रामेछाप नै फर्कन लाग्दा जहाज रनवेमा चिप्लिएर दुर्घटना भएको थियो। जहाज पार्किङ गरिरहेको श्री र मनाङ एयरको हेलिकोप्टरमाा ठोक्किन पुगेको थियो। दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्।

गोमा एयरमा नयाँ व्यवस्थापन भित्रिएपछि समिट भएको यो वायुसेवामा ढुंगानाले २०७३ फागुन १ गतेदेखि कोपाइलटको रुपमा उडान सुरु गरेका थिए। पाइलटको तालिमपछि उनको उडान नै समिट एयरको जहाजबाट सुरु भएको थियो।

२०४२ साल साउन १० गते जन्मिएका ढुंगाना काठमाडौं चावहिलमा बसोबास गर्दै आएका थिए। उनी फिलिपिन्सबाट पाइलट अध्ययन सकेर नेपाल फर्किएका थिए।

उनी तीन महिना अगाडि मात्रै पाइलको सिमुलेटर तालिमका लागि चेकोस्लोभाकियाबाट फर्किएको समिट एयरका अपरेसन प्रबन्धक सागर आचार्यले जानकारी दिए। ‘ढुंगानाले १६ जनावरी २०१९ मा लिएको यो तालिम मल्टी क्रु कोअर्डिनेसनसहितको थियो’, आचार्यले भने।

कम बोल्ने, निकै मिलनसार र निष्ठावान सुजीत नामको पछाडि लामा र ढुंगाना दुबै थर प्रयोग गर्ने गरेका छन्। बाबुले अन्तरजातीय विवाह गरेका कारण उनले आमाको पहिचानसँग जोडेर लामा थरलाई पनि प्रयोग गर्ने गर्थे। सुजीतलाई उनकी आमा ल्हेमी लामाले हुर्काएकी हुन्। स्वास्थ्य सेविका ल्हेमी सोलुखुम्बु बस्छिन्।

आइतबार बिहान रामेछापबाट लुक्ला उडान क्रममा भएको यो दुर्घटनामा दुई सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन्। जहाजका क्याप्टेन रविन्द्र्रबहादुर रोकाय भने घाइते मात्रै भएका छन्। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। जहाजकी एयर होस्टेज गोंगबुकी रश्मी लामा सामान्य घाइते छन्।

समिटको १९ सिट क्षमताको एउटै जहाजले लुक्लामा दैनिक १० वटा उडान गर्दै आएको थियो। काठमाडौं विमानस्थलको धावनमार्ग मर्मत भइरहेकाले समिट एयरले रामेछापबाट उडान गर्न थालेको थियो। समिटसँग चार वटा जहाज छन्। एउटा दुर्घटनमा परेकाले यो कम्पनीको आइतबारको सबै उडान रद्द गरेको छ।

‘जन्मदिनमा आफ्नै जहाजले ठोक्यो’, घाइते क्याप्टेनले गरे यस्तो खुलासा 

सोलुखुम्बुका स्याङबोचे कार्की आजै ५२ वर्ष लागे। नयाँ वर्ष आएसँगै उनको उमेर पनि एक वर्ष उकालो लाग्छ। अर्थात् वैशाख १ गते उनको जन्मदिन। धुमधामसँग जन्मदिन मनाउने रहर त उनलाई पनि नभएको कहाँ होर, तर के गर्नु नगरी काम पुग्दैन खाना साँझ र बिहान!

यो खबर प्रशन्न पोखरेलले सेतोपाटीमा लेखेका छन् । जन्मदिन र नयाँ वर्षको खासै वास्ता नगरी आइतबार बिहान पनि कार्की सधैंझैं काममा गए। २६ वर्ष यही क्षेत्रमा काम गरेका उनलाई आजको दिन पनि खास केही विशेष थिएन किनकी काम उस्तै थियो।

उनी अहिले समिट एयरमा काम गर्छन्। तैपनि लुक्ला विमानस्थल आउने सबैजसो पाइलटले भनेका सानातिना काम गरिदिन्छन्। आजै बिहान सल्लेरी पुगेर फर्किएको मनाङ एअरको हेलिकप्टर फेरि उड्ने तरखर गर्दै थियो। भित्र क्याप्टेन चेत गुरूङ एक्लै थिए।

‘पाइलट चेत सर हेलिकोप्टरभित्रै हुनुहुथ्यो। क्याप्टेन सरले झोला झिकिदेऊ न साइँला भन्नुभयो। सधैं हामी साथीहरूको काम मिलेर गरिदिने हो,’ उनले भने,‘म हेलिकप्टरमा पछाडि सामान झिक्दै थिएँ। जहाज घस्रेर आएर लागेछ, थाहा पाइनँ।’

आफूले काम गर्ने एअरलाइन्सको जहाज आफैंमाथि बज्रेपछि कार्की बेहोस भए। आइतबार दिउँसो ग्रान्डी अस्पतालमा उपचार गराइरहेका कार्कीले सेतोपाटीसँग भने, ‘आधा घन्टापछि होसमा आउँदा म त डिलमूनि रैछु। दुइटा जहाज च्यातचुत भएछन्।’

स्याङ्बोचे डिलमूनि पुगेको उक्त घटनामा रामेछापको मन्थली उड्न लागेको जहाजले हेलिकप्टरलाई ठक्कर दिएको थियो।

धावनमार्गबाट चिप्लिएको जहाजको ठक्करबाट नेपाल प्रहरीका असईद्वय रामबहादुर खड्का, रूद्रप्रसाद श्रेष्ठर समिट एयरका कोपाइलट सुजित ढुंगानाको मृत्यु भएको छ। कार्कीले सुरूमा हेलीको पुच्छरमा केहीले लाग्यो भन्ने ठानेका थिए।

‘ड्याम्म हान्यो। के ले हान्यो हान्यो। म त्यही पक्लक्कै लडिछु,’ उनले भने, ‘मलाई पछारेर कान्लामुनि पुर्‍याएछ। होसमा आएपछि छामेको त दुख्यो।’ आफू होसमा आउँदा प्रहरीहरूले जहाजमा लागेको आगो निभाइरहेको उनले बताए।

‘म उठ्दा पुलिसहरू जहाजमा लागेको आगो मारिरहेका थिए। एउटा पुलिस पनि मरेछन्, अर्को बेहोस भएर लडिराखेको,’ उनले भने, ‘आगो मार्दै क्याप्टेन चेतसरलाई हेलिकोप्टरभित्रबाट झिक्दै गरेका थिए।’

करिब तीन दशक एअरलाइन्समै काम गरेका उनी यसअघि यस्तो दुर्घटनामा परेका थिएनन्। ‘पहिलो घटना नै यही हो। यसअघि फिस्टेलमा काम गरेको थिएँ,’ उनले भने, ‘अहिले समिटमै काम गर्छु। आफ्नै जहाजले ड्याम्म हान्यो।’ दुर्घटनामा घाइते भएका उनीसहित ४ जनाले तत्कालै श्री एयर लाइन्सको हेलिकप्टरबाट काठमाडौं ल्याइयो।

‘छाती दुखेको छ। अन्त पनि कता कता दुखेको थाहा छैन,’ कार्कीले भने,‘डाक्टरले दुइटा करङ भाँचिएको र फोक्सोमा अलिकति हावा पसेको भन्नुभएको छ। निको हुन्छ रे।’

कार्की दुर्घटनामा परेको काठमाडौं बस्ने उनकी छोरी र भतिजलाई समाचार पढेर थाहा पाएछन्। ‘मलाई यस्तो भएको घरपरिवारले थाहा पाइसक्यो। छोरीहरू र छोरा (दाइको छोरा) अस्पतालमा आइसक्यो,’ उनले भने।

एकैदिन पर्ने आफ्नो जन्मदिन र नयाँ वर्ष बेलुकी घरमा र साथीभाइ जमघट गरेर रमाइलो गर्ने उनको योजना थियो। दुर्घटनाले उनको योजना चक्नाचुर पारिदियो।

‘जन्मदिन बेलुकीपख मनाउने भन्ने थियो। नयाँ वर्ष पनि मान्ने भनेको। साथीहरू पनि थिए,’ उनले भने, ‘थोरै कर्मचारी भएकोले हामी बिदा बस्दैनौं। जन्मदिन/नयाँ वर्ष भए पनि काम गर्छौं।’

विदेशी यात्रु लिएर काठमाडौं उडान भर्ने तयारीमा हेलिकप्टरको ककपिटमै रहेका क्याप्टेन चेत गुरुङ पनि ग्राण्डीमै उपचाररत छन्। उनको ढाडमा समस्या छ भने गोडामा चोट लागेको छ।

‘स्टार्ट गरेर टेकअफ गर्दा चिप्लेर समिटको जहाज ममाथि आइपुग्यो,’ क्याप्टेन गुरुङले सेतोपाटीसँग भने, ‘उभिराखेको मान्छेलाई गाडीले हानेजस्तै भयो।’

गुरूङले आज बिहान काठमाडौंदेखि लुक्का उडान भरेका थिए। त्यसपछि उनले लुक्लाबाट ओर्सो भन्ने ठाउँमा विदेशीलाई रेस्क्युसमेत गरे।

‘हेलिकोप्टर स्टाटमै थियो। विदेशी यात्रु काठमाडौं ल्याउनु पर्ने थियो तर यात्रुहरू हेलिकप्टरमा चढिसक्नुभएको थिएन,’ उनले भने, ‘म उड्ने तयारीमा ककपिटभित्र रहेको र उचाहिँ (समिट एअर) दौडने बेला चिप्लेर मैमाथि आइपुगेको हो।’

लुक्ला विमानस्थलको धावन मार्ग ओरालो भएकोले पनि चिप्लने सम्भावना बढी हुने उनले बताए। ‘सुरूमै थ्रेसहोल्डबाट स्पिड लिएर घुइँ गरेर चिप्लेको जहाज हेर्दाहेर्दै मैमाथि बज्रियो,’ उनले भने। समिटको जहाजका पाइलटको दोष नभएको पनि उनले बताए।

‘यो टेक्निकल कुरा हो। चिप्लेर दुर्घटना भएको हो,’ उनले भने। उनको ढाडमा रहेको हड्डी चोइटिएको र गोडामा चोट लागेको छ।

ग्रान्डी अस्पतालका हेलिकोप्टर रेस्क्यु अफिसर माधव शर्माका अनुसार अस्पतालमा ल्याइएका पाँच जनामध्ये एक जना प्रहरीको निधन भएको र शव शिक्षण अस्पताल लगिएको छ।

चार जना घाइतेमध्ये क्याप्टेन चेतलाई मात्रै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था छ अरूलाई आजै डिस्चार्ज गरिने अस्पतालले जनाएकोछ।

‘एक बर्ष अघि मात्र बिहे गरेका सुजितलाई एक्ली आमाले पाइलट पढाएकी थिइन्’

नयाँ वर्षको दिन आइतबार बिहानै दुखद खबर आयो। सोलुखुम्बुको लुक्ला विमानस्थलमा जहाज र हेलिकप्टर ठोक्किए।

रामेछापको मन्थलीका लागि उड्न लागेको जहाजले रनवे छोडेर आकाशतिर आउन सकेन। बरू चिप्लिएर बाहिर गयो। पार्किङ गर्न लागेको मनाङ एयरको हेलिकप्टरसँग ठोक्कियो।

दुर्घटनामा परी समिट एयरका कोपाइलट सुजित ढुंगानासहित नेपाल प्रहरीका २ असईको ज्यान गयो।

ढुंगानाले फेसबुकमा आफ्नो नाम सुजित लामा ढुंगाना राखेका थिए। उनका बाबुआमाले अन्तरजातीय विवाह गरेका थिए, बाबु ढुंगाना आमा लामा। सुजितले नाममा लामा थर पनि राख्नुको पछि उनकी आमाको पहिचान जोडिएको थियो।

सानैमा बुवाले सुजित र उनकी आमालाई छोडेपछि ल्हेमी लामाले हुर्काएकी थिइन्। स्वास्थ्य सेविका ल्हेमी अहिले पनि फाप्लुमै व्यवसाय गरेर बस्छिन्।

ओखलढुंगामा माध्यामिक शिक्षा पढेका ढुंगानाले पाइलट कोर्स फिलिपिन्सबाट गरेका थिए।

पाइलट कोर्स सकेर उनले सन् २०१७ को फेब्रअरीदेखि गोमा एयरमा काम सुरू गरेका थिए। गोमा एयर नै अहिले समिट एयरका रूपमा सञ्चालनमा छ। ३४ वर्षीय सुजितको एक वर्ष अघिमात्र विवाह भएको थियो।

‘निमेषभरमा जहाजले दुई सहकर्मीलाई लग्यो, म धन्न बाँचें’

२०७६ सालको पहिलो दिन। नयाँ वर्ष भए पनि लुक्ला विमानस्थलमा बिहान सबेरैदेखि प्रहरीहरू ड्युटीमा थिए।

हिजोआज पर्यटक आगमनको सिजन हो। पर्यटक बाक्लिन थालेसँगै लुक्ला विमानस्थलमा प्रहरीहरूको गस्ती बढाइएको छ। कहाँका कति पर्यटक आउँछन्, कता के जान्छन्, तिनीहरूको गन्तव्य तथा गतिविधि प्रहरीले निगरानी गरिरहेको छ।

पर्यटक आगमन बढेको हुनाले सामान्यभन्दा सुरक्षा गस्ती पनि बढाइएको छ। विमानस्थलमै पर्यटक प्रहरीको छुट्टै युनिट छ, जहाँको नेतृत्व प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काले गरिरहेका थिए।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक देउप्रसाद लिम्बू आइतबार बिहान लुक्ला विमानस्थल पुगिसकेका थिए। विमानस्थल सुरक्षामा प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ थिए।

दुई असई नेतृत्वको गस्ती टोलीमाथि लिम्बू जिल्लाबाटै खटिएर आएका थिए। तीनै जनाबीच भेट भयो, एयरपोर्टमा। भेटघाटको औपचारिकता पूरा भएपछि उनीहरू रनवेको उत्तरतर्फ गफिँदै थिए।

बिहान ९ बजेर ६ मिनेट। जतिबेला समिट एयर रामेछाप उड्नका लागि रनवेमा घुमिरहेको थियो। जहाज फर्किएर अब ‘पिकअप’का लागि तयार भयो।

‘साधारणत: आवाजबाट जहाजले स्पिड लिन लागेको थाहा भइहाल्छ, आवाज सुन्दै थिएँ,’ प्रहरी निरीक्षक लिम्बूले भने, ‘पिकअपको आवाज आएको केही सेकेन्डमा झट्ट फर्किन पुगेछु।’

किन फर्किएको भन्ने सोच्ने मौका त्यहाँ देखेनन्, न बोल्ने नै। +लिम्बूका अनुसार त्यतिबेला जहाज रनवे छोडेर उत्तरतर्फको क्षेत्र हुँदै स्पिडमा बतासिइरहेको थियो, जहाँ दुई असईसाथ उनी उभिरहेका थिए।

‘जहाज हामीतिरै बतासिँदैथियो, त्यो एक निमेषमै म उभिएको ठाउँबाट छलिएँ,’ लिम्बूले सेतोपाटीसँग भने, ‘नत्र मलाई पनि जहाजले ठक्कर दिने रहेछ।’

जहाज बेजोडले अगाडि जे छन् तिनलाई ठक्कर दिँदै गएछ। लिम्बू फर्किंदा असईद्वय भुइँमा रक्ताम्य थिए।

‘रामबहादुरको त स्पट डेथ भइसकेको थियो, पाँच मिटर पर रूद्रबहादुर छटपटाइरहेका थिए,’ लिम्बूले भने, ‘उता जहाजबाट धूवाँ उड्न थालेको थियो,’ लिम्बूले भने, ‘कता के गरूँ भयो, कालको मुखबाट बाँचेर आएको मान्छे थिएँ म।’

समिटको जहाजले एयर मनाङकोलाई ठक्कर दिएर नजिकै पार्किङमा रहेको अर्को श्रीको हेलिकप्टरलाई थोरै ठक्कर दिइसकेको थियो। मनाङको हेलिकप्टर उड्नका लागि पंखा चलाइरहेको थियो।

रुद्रबहादुरलाई तत्काल बोक्न लगाएर अर्को घटनास्थल दौडिए। बारुण यन्त्र आइपुग्न लागेको थियो। ‘पानी छ्यापेर आगो लाग्न दिएनौं,’ लिम्बूले भने, ‘तत्काल उद्धारमा जुट्यौं।’

समिटका कोपाइलट सुजित ढुंगानाको मृत्यु भइसकेको रहेछ। पाइलट रवीन्द्र रोकायालाई निकालियो। समिटकी एयरहोस्टेजलाई भने केही चोटपटक लागेको थिएन।

मनाङ एयरका पाइलट चेतबहादुर गुरूङ गम्भीर घाइते अवस्थामा भेटिए, स्टाफ लाक्पा शेर्पा पनि घाइते थिए। तीन जना घाइतेलाई तत्काल उपचारका लागि काठमाडौं पठाउने बन्दोबस्त लिम्बूले मिलाए।

‘श्रीको अर्को हेलिकप्टर थियो, घाइतेलाई त्यसैमा काठमाडौं पठायौं,’ लिम्बूले भने, ‘अनि लामो सास फेरेँ।’

चार वर्षअघि प्रहरी निरीक्षकमा पासआउट भएका लिम्बू लुक्लामा सरुवा भएको १० महिना लाग्दैथियो। ताप्लेजुङ घर भएका लिम्बूले आइतबार नयाँ वर्षको सखारै यस्तो भयानक दुर्घटना आँखै अगाडि देखे। आफू छलिएर बाँचे।

‘भाग्यले म बाँचें, निमेषमै यस्तो भयानक घटना भइरहेको देखेपछि आफू छलिएँ,’ उनले भने, ‘एक शब्द बोल्ने मौकै पाइनँ।’

पिकअप लिन सुरू भएपछि समिटको जहाज कसरी रनवे बाहिर चिप्लियो त्यो खुलिसकेको छैन। पाइलटले तत्कालै जहाजलाई नियन्त्रणमा राख्न नसक्दा यस्तो घटना हुन पुगेको अनुमान भने लिम्बूले गरेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार मृतक प्रहरीमध्ये ३९ वर्षीय खड्का दोलखा लामिडाँडा–७ का हुन्। उनी २०५७ सालमा प्रहरी जवानबाट सेवा सुरू गरेका थिए।

४२ वर्षीय श्रेष्ठ भोजपुर टक्सार-४ का हुन्। उनी २०५४ सालमा जवानमा भर्ना भएका थिए।