पत्रपत्रिकाबाट मुख्य समाचार

‘एक बर्ष अघि मात्र बिहे गरेका सुजितलाई एक्ली आमाले पाइलट पढाएकी थिइन्’

बैशाख १, काठमाडौं । वैशाख १नयाँ वर्षको दिन आइतबार बिहानै दुखद खबर आयो। सोलुखुम्बुको लुक्ला विमानस्थलमा जहाज र हेलिकप्टर ठोक्किए।

रामेछापको मन्थलीका लागि उड्न लागेको जहाजले रनवे छोडेर आकाशतिर आउन सकेन। बरू चिप्लिएर बाहिर गयो। पार्किङ गर्न लागेको मनाङ एयरको हेलिकप्टरसँग ठोक्कियो।

दुर्घटनामा परी समिट एयरका कोपाइलट सुजित ढुंगानासहित नेपाल प्रहरीका २ असईको ज्यान गयो।

ढुंगानाले फेसबुकमा आफ्नो नाम सुजित लामा ढुंगाना राखेका थिए। उनका बाबुआमाले अन्तरजातीय विवाह गरेका थिए, बाबु ढुंगाना आमा लामा। सुजितले नाममा लामा थर पनि राख्नुको पछि उनकी आमाको पहिचान जोडिएको थियो।

आमासंगै सुजित 

सानैमा बुवाले सुजित र उनकी आमालाई छोडेपछि ल्हेमी लामाले हुर्काएकी थिइन्। स्वास्थ्य सेविका ल्हेमी अहिले पनि फाप्लुमै व्यवसाय गरेर बस्छिन्।

ओखलढुंगामा माध्यामिक शिक्षा पढेका ढुंगानाले पाइलट कोर्स फिलिपिन्सबाट गरेका थिए।

सुजित ढुंगाना

पाइलट कोर्स सकेर उनले सन् २०१७ को फेब्रअरीदेखि गोमा एयरमा काम सुरू गरेका थिए। गोमा एयर नै अहिले समिट एयरका रूपमा सञ्चालनमा छ। ३४ वर्षीय सुजितको एक वर्ष अघिमात्र विवाह भएको थियो।

‘निमेषभरमा जहाजले दुई सहकर्मीलाई लग्यो, म धन्न बाँचें’

२०७६ सालको पहिलो दिन। नयाँ वर्ष भए पनि लुक्ला विमानस्थलमा बिहान सबेरैदेखि प्रहरीहरू ड्युटीमा थिए।

हिजोआज पर्यटक आगमनको सिजन हो। पर्यटक बाक्लिन थालेसँगै लुक्ला विमानस्थलमा प्रहरीहरूको गस्ती बढाइएको छ। कहाँका कति पर्यटक आउँछन्, कता के जान्छन्, तिनीहरूको गन्तव्य तथा गतिविधि प्रहरीले निगरानी गरिरहेको छ।

पर्यटक आगमन बढेको हुनाले सामान्यभन्दा सुरक्षा गस्ती पनि बढाइएको छ। विमानस्थलमै पर्यटक प्रहरीको छुट्टै युनिट छ, जहाँको नेतृत्व प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काले गरिरहेका थिए।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक देउप्रसाद लिम्बू आइतबार बिहान लुक्ला विमानस्थल पुगिसकेका थिए। विमानस्थल सुरक्षामा प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ थिए।

दुई असई नेतृत्वको गस्ती टोलीमाथि लिम्बू जिल्लाबाटै खटिएर आएका थिए।

तीनै जनाबीच भेट भयो, एयरपोर्टमा। भेटघाटको औपचारिकता पूरा भएपछि उनीहरू रनवेको उत्तरतर्फ गफिँदै थिए।

बिहान ९ बजेर ६ मिनेट। जतिबेला समिट एयर रामेछाप उड्नका लागि रनवेमा घुमिरहेको थियो। जहाज फर्किएर अब ‘पिकअप’का लागि तयार भयो।

‘साधारणत: आवाजबाट जहाजले स्पिड लिन लागेको थाहा भइहाल्छ, आवाज सुन्दै थिएँ,’ प्रहरी निरीक्षक लिम्बूले भने, ‘पिकअपको आवाज आएको केही सेकेन्डमा झट्ट फर्किन पुगेछु।’

किन फर्किएको भन्ने सोच्ने मौका त्यहाँ देखेनन्, न बोल्ने नै। +लिम्बूका अनुसार त्यतिबेला जहाज रनवे छोडेर उत्तरतर्फको क्षेत्र हुँदै स्पिडमा बतासिइरहेको थियो, जहाँ दुई असईसाथ उनी उभिरहेका थिए।

‘जहाज हामीतिरै बतासिँदैथियो, त्यो एक निमेषमै म उभिएको ठाउँबाट छलिएँ,’ लिम्बूले सेतोपाटीसँग भने, ‘नत्र मलाई पनि जहाजले ठक्कर दिने रहेछ।’

जहाज बेजोडले अगाडि जे छन् तिनलाई ठक्कर दिँदै गएछ। लिम्बू फर्किंदा असईद्वय भुइँमा रक्ताम्य थिए।

‘रामबहादुरको त स्पट डेथ भइसकेको थियो, पाँच मिटर पर रूद्रबहादुर छटपटाइरहेका थिए,’ लिम्बूले भने, ‘उता जहाजबाट धूवाँ उड्न थालेको थियो,’ लिम्बूले भने, ‘कता के गरूँ भयो, कालको मुखबाट बाँचेर आएको मान्छे थिएँ म।’

समिटको जहाजले एयर मनाङकोलाई ठक्कर दिएर नजिकै पार्किङमा रहेको अर्को श्रीको हेलिकप्टरलाई थोरै ठक्कर दिइसकेको थियो। मनाङको हेलिकप्टर उड्नका लागि पंखा चलाइरहेको थियो।

रुद्रबहादुरलाई तत्काल बोक्न लगाएर अर्को घटनास्थल दौडिए। बारुण यन्त्र आइपुग्न लागेको थियो। ‘पानी छ्यापेर आगो लाग्न दिएनौं,’ लिम्बूले भने, ‘तत्काल उद्धारमा जुट्यौं।’

समिटका कोपाइलट सुजित ढुंगानाको मृत्यु भइसकेको रहेछ। पाइलट रवीन्द्र रोकायालाई निकालियो। समिटकी एयरहोस्टेजलाई भने केही चोटपटक लागेको थिएन।

मनाङ एयरका पाइलट चेतबहादुर गुरूङ गम्भीर घाइते अवस्थामा भेटिए, स्टाफ लाक्पा शेर्पा पनि घाइते थिए। तीन जना घाइतेलाई तत्काल उपचारका लागि काठमाडौं पठाउने बन्दोबस्त लिम्बूले मिलाए।

‘श्रीको अर्को हेलिकप्टर थियो, घाइतेलाई त्यसैमा काठमाडौं पठायौं,’ लिम्बूले भने, ‘अनि लामो सास फेरेँ।’

चार वर्षअघि प्रहरी निरीक्षकमा पासआउट भएका लिम्बू लुक्लामा सरुवा भएको १० महिना लाग्दैथियो। ताप्लेजुङ घर भएका लिम्बूले आइतबार नयाँ वर्षको सखारै यस्तो भयानक दुर्घटना आँखै अगाडि देखे। आफू छलिएर बाँचे।

‘भाग्यले म बाँचें, निमेषमै यस्तो भयानक घटना भइरहेको देखेपछि आफू छलिएँ,’ उनले भने, ‘एक शब्द बोल्ने मौकै पाइनँ।’

पिकअप लिन सुरू भएपछि समिटको जहाज कसरी रनवे बाहिर चिप्लियो त्यो खुलिसकेको छैन। पाइलटले तत्कालै जहाजलाई नियन्त्रणमा राख्न नसक्दा यस्तो घटना हुन पुगेको अनुमान भने लिम्बूले गरेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार मृतक प्रहरीमध्ये ३९ वर्षीय खड्का दोलखा लामिडाँडा–७ का हुन्। उनी २०५७ सालमा प्रहरी जवानबाट सेवा सुरू गरेका थिए।

४२ वर्षीय श्रेष्ठ भोजपुर टक्सार-४ का हुन्। उनी २०५४ सालमा जवानमा भर्ना भएका थिए। -सेतोपाटीबाट साभार