मुख्य समाचार साहित्य

यौनिकता कज्याउने अनेक दाउ

विमर्श
पितृसत्ता सर्वत्र छ । न त्यसबाट उम्किन सकिन्छ, न त जति खोतले पनि त्यसको जरा निस्किन्छ। भारतीय नारीवादी कमला भासिनले भनेको यो कुरा नेपाली समाजमा पनि लागू हुन्छ।

यो लेख कैलाश राईले अन्नपूर्ण पोष्टमा लेखेका छन् । पितृसत्ताले महिलाका यौनिकता, शरीर, श्रम, भूमिका, सोच, विवाह, प्रजनन शक्तिदेखि उसको व्यक्तिगत–पारिवारिक–सामाजिक–व्यावसायिक सम्बन्ध, पहिचान र कार्यक्षेत्रजस्ता कुराहरूमाथि पुरुषको अधिकार र नियन्त्रण कायम राखेको छ। जसअन्तर्गत महिलाहरू शारीरिक, बौद्धिक र भावनात्मक रूपमा कमजोर हुन्छन् त्यसैले उनीहरूमाथि पुरुषको निगरानी, संरक्षण र नियन्त्रणको अनिवार्यता सर्वस्वीकार्यझैं बनाइएको छ।

पितृसत्तात्मक शासनसत्ता र वंश धान्ने समाज निर्माणका लागि जनशक्ति उत्पादन तथा स्याहारसुसार गर्ने र संरक्षणको नाममा आफैंलाई कज्याउने पुरुष जन्माउने दायित्व महिलाको पोल्टामा सुम्पिइएको छ। थप, निश्चित मापदण्डअनुरूप ‘आकर्षक’ र ‘सुन्दर’ हुनु, पुरुषका लागि ‘भोग्य वस्तु’को रूपमा ‘लायक’ ठहरिनु महिलाको अनिवार्य कर्तव्य हो भनिइएको छ।

दर्शन र संस्कारको नाममा, मायाको नाममा, डर र त्रासको नाममा सामाजिक–सांस्कृतिक रूपमा असमान लैंगिक व्यवहारहरूको अभ्यास गरेर त्यस्ता मान्यताहरू धानिइएका छन्। लामो अभ्यासहरूमार्फत महिला पुरुषको दाँजोमा हरेक हिसाबले कमसल र तल्लो श्रेणीका हुन् भन्ने कुरा ‘प्राकृतिक’ हो भन्ने भान
पारिइएको छ।

नेपाली समाज पितृसत्तात्मक मात्रै छैन। पितृसत्तात्मक हिन्दु दर्शनअनुरूपका मान्यता र प्रचलनहरूलाई नेपाली समाजको ‘साझा’ मान्यता वा प्रचलनका रूपमा व्यापक बनाइएको समाज पनि हो। जसअन्तर्गत पितृसत्तात्मक हिन्दु मान्यताअनुरूप आम महिलाको भूमिका, कार्यक्षेत्रको सीमा र चरित्रको निर्धारण गरी पुरुषको अधीनमा महिला रहनुपर्ने कुरालाई ‘स्वाभाविक’ वा ‘सामान्य’ बनाइयो।

धार्मिक दर्शनको सामाजिक अभ्यासको परिवर्तित चरणहरूसँगै धर्मले पनि पितृसत्ता अँगाल्दै गएपछि महिलामाथि दर्शन र संस्कारको नाममा नैतिक एवं चारित्रिक घेराबन्दी सिर्जना गरियो। महिलाले यौनसम्बन्धी सोच्नु, खुलेर कुरा गर्नुलाई उच्छृंखलता र खराब भनियो। प्रेमी, जीवनसाथी आफंै रोज्नुलाई निर्लज्ज र अमर्यादित भनियो। विवाहपूर्व (हुनेवाला श्रीमान्सँग नै भए पनि) वा बिना विवाह यौनसम्पर्क राख्नु ‘सतित्व’ गुम्नु, ‘अपवित्र’ वा ‘पतित’ हुनु हो भनियो।

बिनाविवाह (चाहे जबर्जस्ती नै भए पनि) गर्भधारण गर्नुलाई ‘कलंक’ र ‘पाप’ हो भनियो। कुमारीत्वको पालना गर्नु, पतिव्रता बन्नुजस्ता निश्चित पारम्परिक संस्कार अपनाउने महिला ‘पवित्र’ हो। सफा, शुद्ध र मर्यादित हो भनियो। महिलाभित्र हुनुपर्ने ३२ गुणहरूको किटान गरी उनीहरूको यौनिकता र सुन्दरताको परिभाषा गरियो।

यौन र प्रेमको मामिलामा नेपाली समाज क्रमिक रूपमा उदार बन्दै गए पनि यस्ता संस्कारजन्य मान्यतालाई पूर्णतः सही मानेर अपनाउने संस्कृति अझैं बलियो छ। महिलाको यौनिकतामाथि अंकुश लगाउन दर्शन र संस्कारको नाममा अनुशासित शासनशैलीको प्रभाव कायम छ। महिलाका लागि निर्धारित नैतिकताको बन्धन सदृश्य र निश्चितझैं बनाइएको छ।

निश्चित मापदण्डअनुरूप ‘आकर्षक’ र ‘सुन्दर’ हुनु, पुरुषका लागि ‘भोग्य वस्तु’का रूपमा ‘लायक’ ठहरिनु महिलाको अनिवार्य कर्तव्य
भनिइएको छ।

महिलाको सुन्दरता, शारीरिक बनोट, हाउभाउ, नम्र बोलीवचन, पोसाक, कोमलपन, सेवासुसार, सन्तानोउत्पादनजस्ता कुराहरूसँग आकर्षित हुनु पुरुषत्वका सामान्य लक्षण हुन्। नारीत्वको यस्ता गुणहरूसँग रमाउनु, तीप्रति माया प्रकट गर्नु, तिनको संरक्षण र प्रोत्साहन गर्नु र तिनको उपभोग गर्नु पुरुषत्व दर्शाउने उचित तरिका र सीप हुन्। यहाँ, महिलाले महिला हुनुको निर्धारित दायित्व निर्वाह गरेजस्तै पुरुषले पनि पुरुष हुनुको निश्चित दायित्व पूरा गरेर व्यवहार सम्पन्न हुन्छ।

महिला पुरुष एकआपसमा परिपूरकको भूमिकामा रहेर असमान सम्बन्ध र व्यवहारहरूको अभ्यास गरिन्छ। यस्तो आपसी व्यवहारबाट नजानिँदो गरी अथवा थाहा पाएर वा नपाइकनै महिलालाई पितृसत्तात्मक व्यवस्था अनुकूलको व्यवहारमा अभ्यस्त बनाउने र नारीत्वको पुनरुत्पादनको काम हुने गर्छ। यो पितृसत्ताको नम्र शैलीको शासन हो। यस्ता सम्बन्धहरू प्रायः माया र समझदारीको नाममा कायम हुने हुँदा यसलाई सुन्दर शब्दमा मायाको शासन भन्न सकिन्छ।

मनोसामाजिक समस्या

महिलामाथि हुने लैंगिक हिंसा तथा दुव्र्यवहार, यौनजन्य हिंसा तथा शोषण, एसिड आक्रमण, बलात्कार तथा प्रतिष्ठाका लागि गरिने हत्याजस्ता कुराहरू डर र त्रासको माध्यमबाट महिलामाथि गरिने शासनको शैली हो। त्यसले महिलालाई मनोसामाजिक र भौतिक तवरमा पनि सधंैै जोखिम र खतराको केन्द्रमा बाँधिराख्छ। जुनसुकै उमेर, जात–जातीयता, धर्मका महिलालाई मानसिक तथा भौतिक यातना दिनको लागि उनीहरूको यौनिकता र शरीरलाई निसाना बनाइन्छ। अझ, घरपरिवार, समाजको इज्जत महिलाको यौनिकता र शरीरभित्रै समाहित छ र हुनुपर्छ भन्ने सोच कायम छ। गत कात्तिक महिनामा सर्लाहीको कविलासी नगरपालिकामा बस्ने यादव थरकी युवतीलाई दलित युवकले भगाएको आरोप लागेपछि पञ्चायती डाकिइयो।

युवती फिर्ता नल्याए आरोपित दलित परिवारका अविवाहित छोरीलाई बलात्कार गर्ने माग सार्वजनिक रूपमा पञ्चायतीमा राखियो। यो घटनाले देखाउँछ, जुनसुकै महिलाको यौनिकता र शरीर पितृसत्तात्मक मानसिकताभित्र पलाएको क्रोध, प्रतिशोध र हिंस्रक व्यवहार प्रदर्शन गर्ने एक प्रभावकारी माध्यम हो। जहाँ प्रहार गरिएको खण्डमा क्षतिस्वरूप विध्वंस परिणाम निस्कने पक्कापक्की हुन्छ भन्ठानिन्छ। नेपाली समाजमा बालिका तथा महिला बलात्कृत भएमा त्यसलाई पीडितको कोणबाट भन्दा पनि उसको परिवारको सामाजिक प्रतिष्ठा र इज्जत र ऊ बस्दै आएको समाजको मान्यताअनुरूप बुझ्ने गरिन्छ।

जोसुकैमाथि हुने बलात्कार हरेक कोणबाट अमानवीय हो। बलात्कारीलाई दण्डसजाय हुनु अत्यावश्यक छ। तर महिलाको जीवन जिउने सबै आधारहरूलाई उसको शरीर, त्यसमाथि पनि विशेष उसको योनिमा मात्रै गौण गरेर त्यसलाई क्षतवक्षत पार्ने खतरनाक अस्त्रका रूपमा बलात्कारलाई लिने गरिएको छ। यो विकराल मनोसामाजिक समस्या हो। कानुनी उपचारको प्रभावकारी कार्यान्वयनका लागि पनि यस्तो समस्याको समाधान अपरिहार्य छ ।

हिंसाको जात !

पितृसत्तासँग धर्म, लिंग, यौनिकता, जातजातीयता, वर्ग र नश्लको गहिरो सम्बन्ध स्थापित भएको विविध नेपाली समाज भएकोले यहाँ प्रेम र यौन स्वतन्त्रता उपभोगको संस्कृति र अभ्यासमा पनि भिन्नता छ। तैपनि महिलाका हकमा प्रेम र यौनलाई संकीर्णतामा खुम्च्याएर त्यसलाई निषेध गर्ने र प्रतिकूल अवस्था सिर्जना गर्ने अभ्यासलाई सही मानेर बढावा दिइन्छ। मूल रूपमा प्रेम र यौनवर्जित समाजको परिचय स्थापित छ।

नेपालका तमाम महिलाहरूलाई समान रूपमा त्यस्तो निषेध लागू नगरेरै पनि उनीहरूको यौनिक स्वतन्त्रतालाई नियन्त्रण गरिएको छ। निधेषको काँडे तारबारलाई उनीहरूको फरकफरक सामाजिक–सांस्कृतिक पृष्ठभूमिको आधारमा निर्माण गरिएको छ। उनीहरूको भिन्न सांस्कृतिक लैंगिक पहिचान र भिन्न लैंगिक सम्बन्धहरूलाई आधार मानेर उनीहरूको यौनिकताको परिभाषा गरिएको छ। यौनिकतालाई केन्द्रमा राखेर उनीहरूमाथि बलियो नियन्त्रण राखिएको छ।

पितृसत्तात्मक हिन्दु दर्शनअनुसार उच्च–हिन्दु–पहाडी समुदायका महिलाहरू राज्य, समाज र परिवारको इज्जत धान्न लायक संस्कारी महिलाको रूपमा उभ्याइएका छन्। जसअनुसार अनुशासन, परम्परा, इज्जत महिलाका नित्य कर्म र जनजीविकाको प्रमुख आधार हुन्। प्रेम, यौन र मनोरञ्जनात्मक क्रियाकलापहरू निश्चित अवस्थामा बाहेक प्रायः अनुचित र अमर्यादित व्यवहार मानिन्छ। महिलाले प्रेम र यौनबारे खुलेर कुरा गर्नु अवाञ्छनीय काम गरेको ठहरिन्छ। केटी तथा महिला घरबाहिर एक्लै हिँडडुल गर्नु भनेको असुरक्षित मात्रै हैन अमर्यादित बन्नु पनि हो।

त्यस्तो समाजमा विवाह गर्ने नगर्ने, गर्ने भएमा कोसँग गर्ने, विवाहपश्चात सन्तान जन्माउने वा नजन्माउने, जन्माउने भए कहिले र कति भन्नेलगायतका कुराहरूमा केटीको स्वनिर्णय र इच्छा कम महत्वको हुनु, प्रेम, यौन र मनोरञ्जनात्मक क्रियाकलापहरू अनुचित व्यवहार मानिनु संस्कारगत मान्यता हुन्।

बदलिँदो सामाजिक अभ्यासहरूको बाबजुद पनि छोरी र महिलाका लागि उही पुरानो अपरिवर्तित पितृसत्तात्मक सांस्कृतिक संहिता नै उपयुक्त हुने सोच र अभ्यास कायम छ। धार्मिक दर्शन, संस्कार र परम्पराको आधारमा महिलामाथि परिवार, खासगरी परिवारका पुरुषहरूको नियन्त्रण र समाजको दह्रो संरक्षण रहिआएको छ। त्यस्तो नियन्त्रण र संरक्षण कार्यले निश्चित समुदायका महिलालाई इज्जतिलो दायराभित्रका उच्च श्रेणीमा राखिएको छ। पितृसत्तात्मक हिन्दु समाजको यस्तो संरचनाभित्र पुरुषले शक्ति र हैकम धान्ने र महिलाले इज्जत र नैतिकता धान्ने दायित्व पूरा गर्नुपर्छ।

त्यसैले यी समुदायका महिलाहरूले प्रेम र यौनबारेका कुराहरू कुनै पनि स्वरूप र माध्यमबाट सार्वजनिक गर्नु प्रतिष्ठामाथि खतरा निम्त्याउनु हो भन्ने सांस्कृतिक संहिता प्रबल छ। यस्तो संहिताभित्र अटाइएका महिलाका यौनिकताको विषय मर्यादित तवरमा निजी वृत्तमा सीमित गरिएको छ। जसलाई चिन्तन, मनन् र छलफलका लागि होस् वा महिलाको यौनिक एवं शरीरमाथिको अधिकार र नियन्त्रणका लागि होस् सार्वजनिक वृत्तमा ल्याउन सामाजिक–सांस्कृतिक स्वीकार्यता प्राप्त छैन।

तर, दलित र आदिवासी जनजाति समुदायका महिलाका हकमा भने ठीक उल्टो छ। यी समुदायका महिलाका यौनिकता र शरीरकेन्द्रित कुराहरू निजीभन्दा पनि सार्वजनिक वृत्तमा हाकाहाकी गर्न सकिने विषय हो। उनीहरूको मर्यादित र इज्जतिलो यौनिक चरित्र र पहिचान कायम गरिएको छैन। सामाजिक संरचनाले नै यी समुदायका महिलाहरूमाथि हुने हिंसा र शोषणलाई ‘सामान्य’ रूपमा लिने छुट दिएको छ। उनीहरूको यौनिकता र शरीरलाई संरक्षण र सुरक्षा प्रदान गरिनु भन्दा ‘ओपन सिक्रेट’ तरिकाले मनोरञ्जन र लोकरञ्जनको लागि भोग्दै वा दोहन गरिँदै आइएको छ।

दलित समुदायका महिलाहरूले आफ्नै कला, सीप, श्रम, शरीर र यौनिकतामाथि फिटिक्कै अधीन राख्दैनन्। उनीहरूमाथि परिवार र समुदायका पुरुषको अधीनभन्दा बढी गैरदलित समुदाय र राज्यको हैकम चल्छ। परिवार र समुदायभित्र पुरुषकै हालिमुहाली चले पनि महिलाको यौनिकताको सुरक्षा र नियन्त्रणको अधिकार उनीहरूसँग कहिल्यै रहेन। अछूतको रूपमा समाजमा स्तरहीन कोटीमा राखिइएका महिलाको यौनिकता र शरीरलाई पनि अछूत बनाइयो। तर, उनीहरूको यौनिकता र शरीरको अछूतपन गैरदलित समुदाय र शासकीय सोच बोक्ने पुरुषहरूको इच्छा र चाहनाअनुरूप क्षणिक समयको लागि भंग हुने र बाँकी समय झन् बलियोसँग कायम रहने गरेको प्रष्ट छ।

राजा, महाराजा र रजौटादेखि विभिन्न शासकहरूको विलासिता र मनमोजीपनको भार बोकाइएका दलित समुदायका महिला क्रमिक रूपमा यौनदासी र यौन श्रमिकमा उभ्याइए। त्यो पनि अमर्यादित र अनैतिक कार्यको संज्ञा दिँदै नकारात्मक र निचताको कोणबाट परिभाषित गरेर। दलित समुदायका वादी महिलाहरूको यौनकर्मको ऐतिहासिकता सरसर्ती खोतल्दा मात्रै पनि यो कुरा खुलस्त हुन्छ। यौनकर्मीको सामाजिक–सांस्कृतिक पहिचान उनीहरू आफैंले स्वतः निर्माण गरेका थिएनन्। उनीहरूसँग आफ्नो कुनै पनि खालको पहिचान निर्माण गर्ने अवस्था वा अवसर कहिल्यै थिएन। बरु उनीहरूले शासक, राज्य र समाजको पुरुषार्थ र हैकमी आडम्बरयुक्त मनमोजीपनको अत्यधिक र अकल्पनीय भार उठाउँदै आएका थिए।

उठाउँदै आइरहेका छन्। उनीहरूको यौनिकता र शरीर कहिल्यै ‘पवित्र’ र ‘शुद्ध’ मानिएन। उनीहरूको यौनिकता र शरीरमाथि हुने वा गरिने जुनसुकै खालको दोहन, आक्रमण, अत्याचार र हिंसालाई अमानवीय मानेर नेपाली समाजको सामाजिक–सांस्कृतिक संहिताको परिधिभित्र बाधिइएन। बरु तत्कालीन जंगबहादुर राणाकालीन मुलुकी ऐनले उनीहरूको यौनिकता र शरीर भोग्ने वैधानिकता प्रदान गरेकै कुरामा उभिएर लामो समयसम्म समाज सञ्चालित हुँदै आयो। त्यसो हुँदा उनीहरूको यौनिकता र शरीरमाथि अरूहरूको अधिकार र नियन्त्रण स्थापित गरियो। समाज, शासक र राज्यले उनीहरूको आफ्नो अधीनमा रहने निजी भन्ने कुनै त्यस्तो चीज नै हुन दिएन।

आदिवासी जनजाति महिलाले आफ्नो यौनिकता र शरीरमाथिको नियन्त्रणको अधिकारको उपभोग धेरथोर मात्रामा गर्दै आइरहेका छन्। नेपाली राज्यको शासकीय संयन्त्र र संरचनाभन्दा पृथक् शासकीय संरचना र जीवन दर्शनबाट आएको हुनाले आदिवासी जनजाति समुदायको लैंगिक सम्बन्ध र सांस्कृतिक पहिचान भिन्न छ। समुदायले प्रेम, यौन र मनोरञ्जनलाई सकारात्मक र खुला रूपमा संहिताबद्ध गरेको छ। त्यसैले समुदायका महिलाहरूले सामुदायिक वृत्तभित्र आफ्नो यौनिकता र शरीरमाथि अधीन राख्दछन्।

समुदायका धेरैजसो महिलाहरूले हिँडडुलदेखि मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुनु, प्रेमी चुन्नु, जीवनसाथी छान्नु, प्रेम र यौनका कुराहरूमा आफ्ना विचार र अनुभवहरू अभिव्यक्त गर्नु, सम्बन्धविच्छेद र पुनर्विवाह गर्नु जस्ता कुराहरूमा निर्णय गर्ने अधिकार राख्छन्। यस्ता अधिकारहरू उनीहरूको आ–आफ्नै जीवनदर्शन र सांस्कृतिक मान्यताद्वारा प्रदान गरिएको हुन्छ। उनीहरूको यौनिक तथा वैयक्तिक अधिकारलाई सांस्कृतिक संहिताद्वारा नियन्त्रण हैन नियमन तथा व्यवस्थापन गरिएको हुन्छ।

पितृसत्तात्मक हिन्दु प्रचलनलाई प्रधान मानिएको समाजमा यी समुदायका महिलाले उपभोग गर्ने गरेको यौनिक स्वतन्त्रतालाई गलत ढंगले बुझ्ने गरिएको छ– स्वच्छन्दताको रूपमा। महिलाहरूले उपभोग गर्ने यौनिक स्वतन्त्रता आदिवासी जनजाति समुदायको एक सांस्कृतिक चरित्र पनि हो। त्यस्तो चरित्रलाई बृहत् समाजमा उच्छृंखल र यौन विकृति फैलाउने कार्यको रूपमा व्याख्या गर्ने गरिन्छ।

कथित मर्यादित पितृसत्तात्मक हिन्दु समाजको दृष्टिमा त्यस्तो सांस्कृतिक चरित्र दर्शाउने महिलाले आफूलाई भोग्न निम्ता दिएझैं ठानिन्छ। महिला आफैंले यौन र मनोरञ्जनको मामिलामा समाजलाई खुलेआम चुनौती दिएझैं बुझिन्छ। र, मनोरञ्जन र खासगरीकन यौनजन्य क्रियाकलापका लागि ‘उपयुक्त’ र ‘उपलब्ध’ भएको अपव्याख्यात्मक बुझाइ राखिन्छ। त्यस्तो सोचअनुरूप उनीहरूको हैसियत इज्जतिलो र प्रतिष्ठित हैन अनुशासनहीन ‘छाडा’ र ‘कमसल’को श्रेणी निर्धारण गरिन्छ। उनीहरूको यौनिकता र शरीरलाई सार्वजनिक निन्दा र मनोरञ्जनको विषयवस्तु बनाइन्छ।

आदिवासी जनजाति महिलाको यौनिकता र शरीरको शोषणको ऐतिहासिकता पनि सुखद छैन। भयावह छ। तिब्बतसँग व्यापार गर्न तामाङ केटीहरूलाई मालसामानसँग साटेर शासकीय समृद्धिको नाममा विनिमयको वस्तु बनाइएको थियो। राणाशासनकालमा काठमाडौं वरपरका तामाङ युवतीहरूलाई ‘रखौटी’को रूपमा दरबारमा भर्ती गरेर शासकको विलासिता पूर्तिको वस्तु बनाइएको थियो। पछिल्लो समयमा बेचबिखनमा पर्ने नेपालका महिलाहरूको टुक्राटाक्री आँकडा (एकमुष्ट तथ्यांक निर्माण नभइसकेको हुनाले) हरूमा आदिवासी जनजाति महिला त्यसमाथि पनि तामाङ महिलाहरू नै बढी देखिनुको बृहत् र गहिरो पृष्ठभूमि हो यो।

 

rai.kailash@gmail.com स्वतन्त्र अनुसन्धाता हुन्।