पत्रपत्रिकाबाट मुख्य समाचार

विप्लव नेकपाले दियो सरकारलाई कडा चेतावनी, अब के होला स्थिति ?

फागुन २९, काठमाडौँ । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाउले घोषणा गरेसँगै नेकपाले त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

सरकारले लगाएको प्रतिबन्धबारे प्रारम्भिक प्रतिक्रिया दिँदै नेकपाले जनस्तरबाट सरकारी निर्णयको प्रतिवाद गर्ने चेतावनी दिएको हो ।

पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले बाह्रखरीसँग भने, “उनीहरुले बनाएको संविधान र कानुन विपरित हाम्रो पार्टीलाई शान्तिपूर्ण कार्यक्रममा प्रतिबन्ध लगाएको छ । अब हामी जनसत्तामार्फत गाउँ–गाउँमा सरकारका हरेक सरकारी कार्यक्रममाथि प्रतिबन्ध लगाउँछौं । पार्टीले यसबारे निर्णय गर्छ ।’’

सरकारले मुटभेड निम्त्याएको भन्दै नेता पुनले आफूहरु मुटभेडका लागि तयार रहेको बताए । ‘‘कम्युनिष्टहरु सत्तामा पुगेपछि विग्रीएका कयौं उदाहरण छन् । हिजो झापा विद्रोह गर्ने केपी ओली र माओवादी जनयुद्धको नेतृत्व गरेका प्रचण्ड, बादल कसरी पञ्चकै शैलीमा देखिए ? तर हामी जस्तोसुकै प्रतिवादका लागि पनि तयार छौं,’’ नेता पुनले भने ।

तपाईंकै पूर्व सहकर्मी रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएको बेला प्रतिबन्ध लाग्यो नि ? भन्ने बाह्रखरीको प्रश्नमा नेता पुनले भने, ‘‘बादल अव बादल रहेनन्, उनी हुस्सु भए । न सकारात्मक दिशामा बर्सिन सके, नत गर्जिन नै । उनी हुस्सु रहेछन्, अध्यारोमात्रै दिनसक्ने ।’’

उसले सरकार सामाजिक फासिवादको यात्रामा अगाडि बढेको आरोप लगाए । ठाउँ–ठाउँमा विष्फोट गराउने, चन्दा आतंक मच्चाउने यस्ता गतिविधी गैरकानुनी हैनन् र ? भन्ने प्रश्नमा उनले भने, ‘‘राज्य नै संस्थागत भ्रष्ट्राचारमा लागेर मुलुकलाई कंगाल बनाउन लागेपछि हामी बल प्रयोग गर्न बाध्य भएका छौं । जनविरोधी तत्व अझै कारवाहीको निसाना पर्छन् ।’’

आफूहरु भूमीगत नभएको बताउँदै जनताकैसँगै रहेको बताए । नेता पुनले विखण्डनकारी नारा बोक्ने सिके राउतलाई काखी च्यातेर क्रान्ती र परिवर्तनको कुरा गर्ने आफूहरुमाथि प्रतिबन्ध लगाउने विषय सामान्य नभएको बताए ।

उनले आफूहरु बुलेट, व्यालेट र ‘नेगोसेसन’बाट पछाडि नभागेको बताए । सरकारले गृहमन्त्री रामबहादुर थापाको प्रस्तावमा मंगलबार साँझ विप्लवको नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । बाह्रखरीबाट साभार

विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको घोषणा

सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।

मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको सरकारी उच्च स्रोतले अनलाइनखबरलाई बताएको छ ।

राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउने परेको प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका छन् । एक मन्त्रीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘हिजो संसदमा गृहमन्त्रीले जे बोल्नु भएको थियो, त्यही विषयलाई प्रस्ताव लैजानु भएको थियो । त्यसअनुसार नै निर्णय भएको छ ।’

उनका अनुसार बैठकमा गृहमन्त्री बादलले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा ल्याउन गरेको प्रयास, विप्लव समूहका पछिल्ला गतिविधि, एनसेल लगायतका स्थानमा भएको बम विस्फोट र चन्द आतंकबारे व्रिफिङ गरेका थिए ।

पछिल्लो समय प्रधानमन्त्री ओली विप्लव समूहप्रति सार्वजनिक रुपमै आक्रामक बनेका थिए ।

उनले लुटेर समूहको संज्ञा दिनुका साथै बम पड्काउने, चन्दा असुल्नेहरुसँग वार्ता नगर्ने बताएका थिए । मंगलबार मात्र पनि बैदेशिक रोजगार व्यवसायीहरुसँग भएको भेटमा विप्लव समूहसँग वार्ता गर्नुको औचित्य नभएको बताएका थिए ।

प्रहरी भन्छ– अब विप्लवका कार्यकर्ता जहाँ भेट्यो, त्यहीँ समातिन्छन्

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै नेपाल प्रहरीले समूहमा आवद्ध जोकोहीलाई जहाँ भेट्यो त्यहीँ नियन्त्रणमा लिने भएको छ ।

मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई आपराधिक घोषित गर्दै प्रतिबन्ध लगाएसँगै प्रहरीले आक्रामक नीति अपनाउने भएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘मैले पनि प्रतिबन्ध लगाएको सुनेँ । तर, आधिकारिकरुपमा जानकारी आइसकेको छैन । यद्यपि, अब यो समूहका सदस्यलाई जहाँ भेट्यो, त्यहीँ पक्राउ गर्छौं ।’

यसअघिझैँ समूहले सार्वजनिकरुपमा सभा, जुलुस पनि गर्न नपाउने सुवेदीले बताए । पर्चा, पम्प्लेट वितरण, संगठन विस्तारदेखि विप्लव समूहका सदस्यलाई आश्रय वा सहयोग दिने पनि कारबाहीको दायरामा आउने प्रहरीले जनाएको छ ।

‘यसअघि भृकुटीमण्डप, रत्नपार्क, शान्ति वाटिका लगायतमा समूहको कार्यक्रम भएको थियो । तर, अब कार्यक्रम गर्न पनि पाइँदैन’, उनले अनलाइनखबरसँग भने । उनका अनुसार समूहका सदस्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार वा कुनै निश्चित गतिविधिमा संलग्न भए सोही कसुर अनुसार कारबाही हुनेछ ।

यसअघि ०६२/०६३ को द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीलाई प्रतिबन्ध लगाएपछि आतंककारी तथा विध्वंसात्मक कार्य (नियन्त्रण तथा सजाय) ऐन, २०५८ अन्तरगत कारबाही गथ्र्यों । तर, मुलुकमा गणतन्त्र आएसँगै सो ऐन खारेज भएको छ ।

त्यसैले विप्लव समूहलाई कारबाहीका लागि छुट्टै व्यवस्था नहुँदा प्रहरीले मुलुकी संहितामा भएको अभद्र व्यवहारको कसुरअन्तरगत कारवाही गर्नेछ ।

यसअघि विप्लव समूहले ११ फागुनमा एनसेल प्रा.लि.को नख्खुस्थित मुख्यालयमा एकजनाको मृत्यु र दुईजना गम्भीर घाइते हुने गरी रिमोट कन्ट्रोल प्रेसर कुकर बम विष्फोट गराएको थियो भने त्यतिबेलै कमलपोखरीमा पनि प्रेसर कुकरमा फिट गरिएको टाइम बम भेटिएको थियो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले समयमै बमबारे सूचना पाउँदा कमलपोखरीमा क्षति हुन पाएन । सेनाको पोस्ट ब्लास्ट इन्भेस्टिगेसन (पीबीआई) टोलीले गरेको अनुसन्धानका क्रममा कमलपोखरीमा राखिएको बममा अत्याधुनिक प्रकृतिको दुई किलो विष्फोटक पदार्थ फिट गरिएको भेटिएको थियो ।

त्यसपछि २४ फागुनमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा पनि शक्तिशाली विष्फोट भएको थियो । विष्फोटपछि उनको घरमा आगलागी भएको थियो भने ४ जना घाइते भएका थिए ।

नेपाल प्रहरीले बैशाखदेखि हालसम्मको अवधिमा मुलुकका विभिन्न क्षेत्रबाट विप्लव समूहका ४ सय जनालाई पक्राउ गरिसकेको छ ।

मंगलबार मात्रै महानगरीय प्रहरीले वृत्त, दरबारमार्गले ३ जना विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई बताए ।

विप्लवमाथि प्रतिवन्ध किन ? प्रधानमन्त्रीले भने– प्रचण्ड र मलाई मार्न मान्छे खटाइयो !

नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड र आफूलाई मार्न मान्छे खटाएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । प्रधानमन्त्रीको यस्तो दाबीलगत्तै मंगलबार क्याबिनेटले सो समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले आफ्नै सुरक्षामाथि गम्भीर खतराको संकेत गरेलगत्तै गृहमन्त्री बादलको प्रस्तावमा विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय क्याबिनेटले गर्‍यो । र, बैठक सकिनासाथ गृहमन्त्री बादल अष्ट्रियातर्फ उडे ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रीहरुको ध्यान आकृष्ट पार्दै भनेका थिए कि विप्लवले प्रचण्ड र आफ्नो हत्या गर्न मानिस खटाएको सूचना सरकारले प्राप्त गरेको छ । पक्राउ परेका कार्यकर्तामार्फत सुरक्षा निकायले हत्यासम्बन्धी लिखित निर्णय नै प्राप्त गरेको प्रधानमन्त्रीलाई उधृत गर्दै स्रोतले अनलाइनखबरलाई बतायो ।

सुरक्षा निकायले पक्राउ गरेका व्यक्तिका साथबाट हत्याको योजनासम्बन्धी सूचना प्राप्त भएको हो कि हैन भनेर हामीले नेपाली प्रहरीका उच्च अधिकारीसँग सोध्यौं । कुन व्यक्तिलाई पक्राउ गर्दा ओली र प्रचण्डको हत्या योजनासम्बन्धी सूचना प्राप्त भएको हो भन्ने प्रश्नमा प्रहरी स्रोतले केही खुलाउन चाहेन ।

प्रहरी स्रोतले अनलाइनखबरसँग भन्यो, ‘उनीहरुले डायरीमा मान्छेको नाम किटेका हुँदैनन्, कोड भाषा प्रयोग गरेका हुन्छन् ।’

प्रहरी उच्च स्रोतका अनुसार प्रधानमन्त्रीले जनपथबाट नभएर गुप्तचर निकायबाट पनि त्यस्तो सूचना प्राप्त गरेका हुन सक्छन् । किनभने, यतिबेला प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई पनि आफ्नै मातहतमा राखेका छन् ।

सरकारी स्रोतले प्रचण्ड र ओलीको हत्या गर्ने षण्डन्त्र भएको दाबी गरे पनि पछिल्लो समयमा विप्लव समूहमा ठूला नेता पक्राउ परेका छैनन् । यसअघि पक्राउ परेका खड्गबहादुर विश्वकर्मा प्रकाण्डका साथबाट चन्दा संकलनको सूची फेला परेको थियो । तर, यो निकै पहिलेको घटना हो ।

तर, ललितपुरस्थित ऐनसेलको टावर अगाडि एकजनाको ज्यान जानेगरी भएको बम विस्फोटनपछि भने प्रहरीले विप्लवका पूर्वअंगरक्षक सूर्य भुजेलसमेत तीनजना पक्राउ परेका थिए ।

एनसेलपछि वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शक्तिशाली बम विस्फोटन गराइएको भए पनि सो घटनामा संलग्नहरु पक्राउ परेका छैनन् ।

यसैवीच सरकारले तीनवटा प्रदेश स्तरमा सुरक्षासम्बन्धी गोष्ठीहरु आयोजना गरेको थियो । ती बैठकहरुमा सबै तहका सुरक्षा अंगका प्रमुखहरु सहभागी थिए । र, त्यहाँ विप्लव माओवादीले पुर्‍याइरहेको सुरक्षा चुनौतीका बारेमा पनि छलफल भएको थियो ।

सरकारले हामीमाथि प्रतिबन्धको घोषणा गरेर महंगो निर्णय गर्योः विप्लव नेकपा

नेपाल कम्युनिस्ट पार्टीले वर्तमान ओली सरकारलाई ‘फासीवादी’को संज्ञा दिँदै मंगलबारको क्याबिनेट बैठकले पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेर महंगो निर्णय लिएको बताएको छ ।

ने.क.पा.का पोलिट ब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ले सरकारले शान्तिपूर्ण तरिकाले राष्ट्रिय स्वाधीनता र जनताको पूर्णअधिकारको लागि राजनीतिक संघर्ष संचालन गरिरहेको बेला हठात रुपमा प्रबतिबन्ध लगाउने र अपराधिक संगठन घोषणा गरेर निकै महंगो निर्णय लिएको बताए । निर्णय देश र जनतामाथिको गम्भीर षडयन्त्र भएको प्रतिक्रिया दिएका छन् ।

‘सामाजिक फासी केपी–प्रचण्ड सरकारले जनताको पार्टी ने.क.पा.माथि प्रतिबन्ध लगाउने आजै निर्णय गरेको छ, यसबाट प्रष्ट रुपमा देशलाई दलाल बुर्जुवाहरुको सरकारले द्वन्द्वमा पुर्यायो’ जीवन्तले मंगलबार एक अनलाइन पत्रिकासँग कुरा गर्दै भनेका छन्- ‘यसबाट सरकार पार्टीमाथि दमनमा उत्रने बाटो खुलेको छ, अब पार्टीले कडा प्रतिवाद गर्छ ।’

अब राजनीतिक परिस्थिति कसरी अगाडि बढ्छ ? भन्ने प्रश्नमा अब सरकारले गम्भीर षडयन्त्रमाझ् जबर्जस्त मुलुकलाई द्वन्द्वमा हाल्यो, राष्ट्रवादी र देशभक्त शक्तिहरु मिलेर यसको कडा सशक्त प्रतिवाद गर्नुको विकल्प छैन’ उनले भने । प्रतिवादको नेतृत्व ने.क.पा.ले गर्ने समेतउनले स्पष्ट पारे ।

तपाईहरुमाथि बोलाउँदा वार्तामा नआएको, विष्फोट र हत्या तहसम्मको आरोप लगाएर ‘अपराधिक संगठन’को रुपमा व्याख्या गरियो नि, अब के हुन्छ? भन्ने जिज्ञासामा जीवन्तले भने ‘यस्ता निर्णय केही फरक पर्नेवाला छैन । हामी मात्र हौं देश र जनतालाई माया गर्ने, स्वाधीनताको रक्षा र जनतालाई अधिकार सम्पन्न बनाउने लक्ष्य र उद्देश्यसाथ राजनीतिक क्रान्तिमा लागिरहेको शक्ति । अब सरकार कसरी अगाडि आउँछ त्यही अनुसार पार्टीले निर्णय लिन्छ ।’ सरकारले यो निर्णय आफ्नो बुद्धि विवेकले मात्र नभएको भन्दै निर्णयको चर्को मूल्य चुकाउनु पर्ने चेतावनी समेत उनले दिए ।

तपाईहरुको गतिविधिले सरकारले सोचेको विकास र निर्माणको ढोका बन्द भयो भन्ने आरोप लगाइएको छ, यसबारे के भन्नुहुन्छ ? भन्ने अर्को जिज्ञासामा नेता जीवन्तले ‘एउटा राजीनितक पार्टीमाथि षडयन्त्रपूर्वक अपराधिक संगठन भएको निस्कर्ष निकालेर प्रतिबन्ध लगाउँदैमा अब चाहिं के विकास निर्माणको ढोका खुल्छ त ? झुठा र भ्रामक तर्क हो यो । बरु अब सरकार आफैंले देशका ७ सय ५३ वटै स्थानीय तहकै ढोका पो बन्द गरिदिएको छ । यसमा हामीलाई दोषी बनाउने अर्को गल्ती सरकारले गर्दैन भन्न सकिन्न’ भने ।

ने.क..पा.को परिवर्तनकारी राजनीतिक कार्यक्रम र त्यसप्रति देशैभरबाट भइरहेको जनताको समर्थनको लहरबाट आतिएर सरकारले ने.क.पा.लाई राजनीतक गतिविधि गर्नै नदिने प्रतिक्रियावादी सोचले प्रतिबन्ध लगाउने निर्णय गरेको उनको धारणा छ । सरकारले जनतामा छरेको भ्रम चिर्ने र बिनकारण झुठा मुद्दा लगाएर जेल र हिरासतमा राखिएका हाम्रा नेता कार्यकर्ताहरुको रिहाईको लागि सशक्त संघर्ष जारी राख्ने पनि उनले बताए ।

आउँदो ३० गते बिहीबार ने.क.पा.ले घोषणा गरेको नेपाल बन्दलाई सशक्त र सफल तुल्याउन पनि उनले सबैसँग अपिल गरे ।

विप्लवमाथि प्रतिबन्ध लगाएर अस्ट्रिया उडे बादल

नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहलाई आपराधिक ठहर गर्दै प्रतिबन्ध लगाएर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अस्ट्रियाको भियनातर्फ लागेका छन् ।

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेलगत्तै उनी भियनाका लागि उडेको बादलको सचिवालयले जनाएको हो ।

उनी राति ९ बजे अष्ट्रियका लागि उडेका छन् । संयुक्त राष्ट्र संघको यूएनओडीसीले गर्ने लागूऔषध र अपराधसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ लागेका हुन् ।

गृहमन्त्री थापासँगै उनका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई, लागूऔषध नियन्त्रण महाशाखाका सह–सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायत गरी ५ जना भ्रमण टोलीमा छन् । उनीहरु चैत ३ गते स्वदेश फर्किनेछन् ।

प्रतिबन्धबारे कांग्रेससँग परामर्श भएको छैनः डा. महत

प्रमुख विपक्षी नेपाली कांग्रेसले नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाउनबारे सरकारले आफ्नो दलसँग कुनै परामर्श नगरेको बताएको छ ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आफ्नो दलले हिंसात्मक गतिविधिको सँधै विरोध गर्ने बताए । तर, सरकारले सुरुदेखि विप्लव समूहको गतिविधिलाई गम्भिर रुपमा नलिएको र वार्ताका लागि गम्भिर प्रयास पनि नगरेको बताए ।

अनलाइनखबरसँग कुरा गर्दै महतले भने, ‘विप्लव समूहबारे हामीले भन्दा उहाँहरु बढी परिचित हुनुपर्छ । तर, वार्तालाई सुरुदेखि नै जुन गम्भिरताका साथ लिनुपथ्र्यो, त्यो लिएको पाइएन । उनीहरुले आफ्नो गतिविधि गरिरहे र जनधनको क्षति भइरहृयो ।’

अहिले विप्लव समूहमाथि प्रतिबन्ध लगाउँदा पनि आफ्नो दलसँग सरकारले कुनै परामर्श नगरेको उनले प्रष्ट पारे । ‘विपक्षीसँग कुनै सम्वाद छलफल भएको छैन । उहाँहरु हामी जे सोच्छौं, त्यो नै सही हो भन्ने ढंगले चल्नु भएको छ’ पूर्वपरराष्ट्रमन्त्री समेत रहेका डा. महतले भने, ‘यो दुर्भाग्यपूर्ण हो ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने राजनीतिक प्रतिबन्ध लगाएर मात्र समाधान नभएको बताए । हिंसात्मक गतिविधिको कांग्रेसले सँधै विरोध गर्ने तर, राजनीतिक समाधान खोज्न प्रधानमन्त्रीले पहल पनि गर्नुपर्ने उनले बताए ।

सरकारले के योजनाका साथ प्रतिबन्ध लगाएको हो थाहा नभएको भन्दै सहमहामन्त्री महतले भने भने, ‘व्यवहारिक रुपमा शान्ति सुरुक्षा कायम गर्ने योजना पनि हुनुपर्छ ।’