मुख्य समाचार समाज

को हुन् विमान दुर्घटनामा ज्यान गुमाएकी एकता अधिकारी ?

फागुन २७, काठमाडौँ । इथियोपियामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउने एकता अधिकारी गोरखाको साबिक मिरकोट गाविस–३ की बासिन्दा हुन् ।

२८ वर्षीया अधिकारीका बुवाआमा काजी अधिकारी र आमा पार्वती मिरकोटबाट सरेर गोरखा नगरपालिका–१० छेपेटारमा बस्दै आएका थिए । उनीहरु अहिले काठमाडौंको बालाजुमा बस्दै आएका छन् ।

अधिकारीका कान्छा काका ध्रुव अधिकारीका अनुसार एकताका दुईजना दिदी अमेरिकामा छन् भने एक जना भाइ बालाजुस्थित घरमा छन् । एकताको मृत्युको खबर पाएपछि हाल अमेरिकामा दुई छोरीका साथमा रहेका आमा र बुवा नेपाल फर्कदै छन् ।

एकताले काठमाडौंस्थित सेण्ट मेरिज स्कूलबाट माध्यमिक तह उत्तीर्ण गरेकी हुन् । एकता बेलायतबाट एमएससी सकेर चार वर्ष अघि नेपाल फर्केकी थिइन् ।

२०७२ सालको भूकम्पदेखि विश्व खाद्य कार्यक्रम(डब्लुएफपी) मा आवद्ध भएर नेपालमा काम गरेकी अधिकारी आठ महिना अघि इथोपियामा काम गर्न पुगेकी थिइन् ।

इथियोपियामा जहाज खस्दा काठमाडौँमा शोक

अफ्रिकी मुलुक इथियोपियामा आइतबार यात्रुवाहक जहाज दुर्घटनामा पर्‍यो। सात समुद्रपारिको यो घटनाको आइतबार साँझसम्म नेपालसँग कुनै सम्बन्ध थिएन। तर आइतबार रातिदेखि त्यही घटनाले नेपालमा पनि शोक परेको छ।

इथियोपियाको आदिस आबाबामा आइतबार जहाज खस्दा गोरखा छेपेटारकी २८ वर्षीया एकता अधिकारीको निधन भएको छ। उनी विश्व खाद्य कार्यक्रम इथियोपिया कार्यरत थिइन्।

जहाज दुर्घटनामा एकताको मृत्युको खबरले काठमाडौं बनस्थलीको उनको घरमा अहिले आफन्त भेला भएका छन्।

एकता गत दशैंपछिमात्र इथियोपिया गएकी थिइन्। त्यसअघि उनले तीन वर्ष विश्व खाद्य कार्यक्रम नेपालमा लजिस्टिक अफिसरको रूपमा काम गरेकी थिइन्। अन्तर्राष्ट्रिय कन्सल्ट्यान्ट बन्ने उनको सपना थियो।

काठमाडौंको निलगिरी स्कुलबाट एसएलसी पास गरेकी एकता आइएस्सी सकेर बेलायत पढ्न गएकी थिइन्। पढाइ सकेर उनी नेपाल फर्किइन् । २०७२ को भूकम्पपछि उनले विश्व खाद्य कार्यक्रममा लजिस्टिक अफिसरको रूपमा काम सुरू गरेकी थिइन्।

‘एमएसी गरेर युएनमा नाम निकालेर काम गर्दै थिइन्,’ एकताको ठूलाबुवा ईश्वरबाबु अधिकारीले भने, ‘तर राम्ररी करिअर बनाउन नपाउँदै दुर्घटनामा परिन्।’

एकतासँगै काम गरेकी डब्लुएफपीको काठमाडौंस्थित कार्यालयकी केसाङ लामाका अनुसार उनी महिना दिन अघि नेपाल आउँदा आफ्नो पुरानो अफिस पनि गएकी थिइन्।

‘जहिल्यै रमाइलो गरिराख्नुपर्ने उनी अहिलेको जीवन र जागिरसँग उनी निकै खुसी देखिन्थिन्,’ केसाङले भनिन्। गोरखाको मीरकोटमा पुर्ख्यौली घर भएका अधिकारीको परिवार पछिल्लो समय गोरखाको छेपेटारमा बस्थे।

एकताको बुवा आमा र भाइ काठमाडौंको घरमा बस्छन्। एक महिनाअघि एकताका आमाबाबु अमेरिका गएका थिए। विवाहित दुई छोरीहरूलाई भेट्न उनीहरू बेलाबेलामा अमेरिकामा जान्छन्।

आइतबार एकता राष्ट्रसंघीय वातावरण सभामा भाग लिन इथियोपियाबाट केन्या जाँदै गर्दा इथियोपिएन एयरलाइन्सको ७३७ बोइङ जहाज दुर्घटनामा परेर एकताको निधन भएको थियो।

जहाजमा एकतासहित ३३ मुलुकका १५७ जना यात्रुको मृत्यु भएको थियो। जहाजमा १४९ जना यात्रु र चालक दलका सदस्य ८ जना थिए।

एकताको निधन भएको खबर पाएपछि बाबु आमा अमेरिकाबाट नेपाल आउने तयारीमा छन्।

‘दाइभाउजु अमेरिका हुनुहुन्छ। नेपाल आउन सक्नुभएको छैन। आउनुहुन्छ,’ एकताको काकाले भने, ‘अन्तिम संस्कारसहितका काम काठमाडौंमै गर्ने भन्ने छ। अहिले केही तयारी छैन। शव आउन समय लाग्ला।’