मुख्य समाचार समाज

फेरि अर्को पश्चिमी वायु आउदै

माघ २७, काठमाण्डौ । केहीदिनदेखि भैरहेको लगातार वर्षा र हिमपातपछि आइतबार मौसम सफा भएको छ ।

आइतबार काठमाण्डौसहित देशका धेरैजसो भूभागमा घाम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् शान्ति कँडेलले दिनुभएको जानकारी अनुसार पश्चिमी भेगमा आइतबार पनि आंशिक बदलीको सम्भावना रहेको छ । उहाँका अनुसार गएको बुधबार भित्रिएको पश्चिमी वायुको प्रभाव पूर्ण रुपमा हटेको भए पनि पश्चिमबाट फेरि आउन लागेको अर्को पानी पार्ने प्रणालीका कारण पश्चिमको मौसममा आंशिक बदली हुने देखिन्छ ।

सोमबारदेखि फेरि देशभरको मौसम बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

पछिल्लो समय लगातार रुपमा पश्चिमी वायु भित्रिरहेको छ । गएको पुस अन्तिममामात्र उपत्यकामा पहिलो पटक हिउँदे वर्षा भएको थियो ।

त्यसपछि माघको पहिलो साता आएको अर्को पश्चिमी वायुको प्रणालीले देशभर वर्षा र हिमपात भएको थियो । त्यसको प्रभाव नसकिँदै लगत्तै अर्को पश्चिमी वायु भित्रिएको थियो, जसले माघको दोस्रो साता पनि देशका विभिन्न ठाउँमा वर्षा र हिमपात गराएको थियो ।

गएको बुधबार भत्रिएको प्रणालीले बिहीबारदेखि तीन दिन लगातार देशका सबैजसो ठाउँमा वर्षा र उच पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको थियो ।

वर्षा र हिमपातका कारण जनजीवनसमेत प्रभावित भएको थियो । काठमाण्डौ वरिपरीका चन्द्रागिरि, फुल्चोकी, नगरकोट, शिवपुरी, तारेभिरलगायतका ठाउँमा पनि बाक्लो हिमपात भएको थियो ।

मौसममा सुधार हुँदै, आज कताको मौसम कस्तो होला ?

केही दिनदेखि बदली तथा वर्षाको अवस्थामा रहेको मौसममा सुधार आउन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसममा सुधार हुन थालेको भए पनि पूर्ण रुपमा सफा हुने सम्भावना भने नरहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिए । पश्चिमका अधिकांश क्षेत्रमा आइतबार पनि मौसम आंशिक बदलीको अवस्थामा रहने छ । पश्चिमका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ ।

काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रमा बिहानैदेखि मौसम खुलेको देखिएको छ । दिनभर सामान्यतया सफा रहने आंकलन गरिए पनि पूर्ण रुपमा सफा हुने भने समय लाग्ने छ ।

यसैगरी पश्चिमी वायुको प्रभाव कम भएकाले पूर्वको मौसम पनि आइतबार सामान्यतया सफा रहने देखिएको मौसमविद श्रेष्ठले जानकारी दिएका छन् ।

तर मौसम बदली गराउने अर्को प्रणाली नेपाल नजिक आएकाले केही दिनमा फेरि मौसममा खराबी आउने सम्भावना छ ।