मुख्य समाचार समाज

दाङमा बसले कारलाई ठक्कर दिँदा एक महिलाको मृत्यु, सांसद वलीसहित १४ घाइते

माघ २४, दाङ । दाङमा बसले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन्।

घोराही–लमही सडक खण्डको मुसोट खोला नजिकै भएको दुर्घटनामा परि रूकुम पश्चिमको खलंगा नगरपालिका वडा नं. २ मुसिकोट निवासी अन्दाजी २७ बर्षीया रमिता शर्माको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले जानकारी दिए।

बिहीबार बेलुका पौने ५ बजेतिर ५ नं. प्रदेशका प्रदेशसभा सदस्य उत्तरकुमार वली सवार कारलाई यात्रुबहाक बसले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परि सांसद वली गम्भीर घाइते भएका छन्।

‘सांसद वलीसहित १४ जना घाईते हुनुभएको छ’, प्रजिअ रिजालले भने, ‘अन्य सबैको हालसम्म दाङमै उपचार भइरहेको छ, तर, सांसद वलीलाई भने बाँकेतर्फ पठाइएको छ।’

सांसद वलीको हात र टाउकोमा चोट लागेको जानकारी दिइएको छ। ‘देखिने गरि टाउकोमा घाउ भने छैन,’ प्रजिअ रिजालले भने ‘बाँके पुर्‍याएर उपचार थालेपछि थप कुरा भनौंला।’

उनका अनुसार घोराही उपमहानगरपालिका वडा नं. ३ स्थित मसोट खोलाको वरालोमा कारलाई जोगाउन प्रयास गर्दा बस तल खसेको थियो। त्यही बसमा च्यापिएर रुकुम पश्चिम निवासी शर्माको मृत्यु भएको प्रजिअ रिजालले बताए।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बसले लमहीबाट घोराही तर्फ आउँदै गरेको सांसद वली सवार कार बा १८ च ६८३६ नम्वरको कारलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो।

सांसद वली बुटवलबाट तुलसीपुरस्थित घर तर्फ फर्कदै थिए। कारमा सांदस वली र अर्का युवा लिला विक मात्रै सवार थिए। कार सांसद वलीले आँफै चलाएको भन्ने खुल्न आएको छ। बसमा सवार १२ यात्रु र कारमा रहेका सांसद वलीसहित दुई जना समेत गरि १४ जना घाइते भएका छन्।

नारायण खड्का/सेतोपाटीबाट