अर्थ/विकास पत्रपत्रिकाबाट मुख्य समाचार

अब दाङदेखि प्युठानको स्वर्गद्वारीसम्म केबुलकारमा सरर…

चैत २३, दाङ । दाङको घोराहीदेखि छिमेकी जिल्ला प्युठानको स्वर्गद्वारीसम्म केबुलकार निर्माणको प्रक्रिया सुरू भएको छ ।

यो खबर नारायण खड्काले सेतोपाटीमा लेखेका छन् । नेपालकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल प्युठानको स्वर्गद्वारीसम्म पुग्ने तीर्थयात्रु तथा पर्यटकको सुविधाको लागि निजी क्षेत्रले केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको हो।

दाङका झण्डै तीन दर्जन व्यवसायी मिलेर घोराहीदेखि प्युठानको स्वर्गद्वारीसम्म जाने झण्डै ८ किलोमिटर लामो केबुलकार निर्माण गर्न लागिएको छ ।

केबुलकार निर्माण गर्न निजी क्षेत्रबाट घोराही स्वर्गद्वारी केबुलकार प्रालि दर्ता तथा स्थापना भइसकेको छ । घोराही उपमहानगरपालिका वडा नं। १७ रझेना निवासी एकजना केबुलकार प्रालिका सदस्य ३८ वर्षीय माधव प्रसाद घिमिरेले केबुलकार निर्माण गर्नको लागि पहिलो चरणको सर्वे पूरा भइसकेको र झण्डै आधा जति डिपिआरको काम भइसकेको बताए । अबको ६ देखि ८ महिनाको अवधिमा डिपिआरको काम सकिने र लगत्तै तीव्र गतिमा निर्माणको कार्य सुरू हुने घिमिरेले जानकारी दिए ।

आठ किलोमिटर लामो केबुलकार निर्माण गर्न साढे ५ अर्ब जति लगानी लाग्ने तथा त्यो निर्माण सक्न झन्डै ४ वर्ष लाग्ने घिमिरेले अनुमान गरे। केबुलकार निर्माण गर्नको लागि दाङको घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका र प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं। २ वाट अनुमति तथा सिफारिस लगायत आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी सकिएको छ। केबुलकार निर्माण गर्न झन्डै २० देखि २२ विगाहा जग्गा यसअघि नै खरिद गरिएको छ ।

‘हामीले दुई वर्ष पहिले नै निर्माणको प्रक्रिया थालनी गरेका थियौं,’ प्रालिका एक सदस्य घिमिरेले भने, ‘त्यसका लागि दाङ र प्युठानका गरी जग्गा पनि गत वर्ष नै खरिद भइसकेको छ।’

दाङदेखि प्युठानको स्वर्गद्वारीसम्म केबुलकारमा यात्रु हिँड्ने रुट ८ किलो मिटरको हुने र त्यसको बीच भागमा रेष्ट प्वाइन्ट निर्माण गरी थप २ किलो मिटरको यात्रा भने गाडीबाट गराउने गरी निर्माण प्रक्रिया सुरू हुने घिमिरेले सेतोपाटीलाई बताए।

‘पहिलो–दोस्रो जक्सन केबुलकारमा यात्रा हुन्छ अनि सेन्टर प्वाइन्टमा रेष्ट प्वाइन्ट निर्माण गरिन्छ त्यसपछि तेस्रोमा पुग्दा गाडीले यात्रु २ किलोमिटर जति बोक्छ र फेरि केबुलकार चढाएर स्वर्गद्वारी दर्शनका लागि पठाइन्छ,’ घिमिरेले भने।

हालसम्म इञ्जिनियरले त्यही अनुसारको डिजाइन तयार गरेको हुँदा बीच भागमा यात्रुलाई मनोरमदृष्य देखाउन, त्यहाँ गाडीबाट यात्रा गराउने गरी नक्सा तयार भएको घिमिरेले जानकारी दिए।

‘हामीले त्यस्तो ठाउँलाई सेन्टर प्वाइन्ट रोजेका छौं, जहाँदेखि छिमेकी देश इण्डिया समेत देखिन्छ, दाङ र कपिलवस्तुको सुन्दर फाँट अवलोकन गर्न सकिन्छ,’ घिमिरेले थपे, ‘ जहाँदेखि हिमाल,राप्ती नदी,त्रिवेणी धाम देखिन्छ,जहाँ केही गुफाहरू पनि छन्।’

मल्टी प्रपोजको लागि उक्त स्थान सेन्टर प्वाइन्टको रूपमा छनोट गरिएको उनले बताए। यसका साथै त्यहाँ स्टार लेवेलका होटल, भ्यू टावर, फन पार्क, स्वीमिङ पुल, चिडियाखाना, हेलिप्याड लगायतका पूर्वाधार निर्माण गर्ने गरी इञ्जिनियरले नक्सा तयार पारेको घिमिरेले जानकारी दिए।

‘हाम्रो उद्धेश्य केबुलकार चढेर स्वर्गद्वारी जाने पर्यटकले साँच्ची नै स्वर्गीय अनुभूति गर्न पाउनु भन्ने नै हो। त्यसका लागि प्रकृतिले भरिपूर्ण ठाउँमा हामी थोरै केही हाम्रो कला मिसाउन चाहन्छौं,’ घिमिरेले भने ।

इञ्जिनियरको नक्सा अनुसार ८ किलोमिटर लामो केबुलकारमा झण्डै २८ वटा जति पोल रहने छन् भने त्यसमा २० देखि २५ वटासम्म डिब्बाहरू रहनेछन्।

प्रत्येक डिब्बामा ६ जनासम्म मानिस बस्न मिल्ने व्यवस्था गरिने घिमिरेले जानकारी दिए। तर अन्तिम डिपिआरपछि मात्रै डिब्बा कति राख्ने भन्ने टुङ्गो लाग्ने उनले बताए।

घिमिरेले २०र२२ विगाहा जग्गा खरिद गर्दा थप ७ करोड समेत गरी हालसम्म कुल ११ करोड जति खर्च भइसकेको जानकारी दिइएको छ ।

अबको चार वर्षभित्र केबुलकार निर्माण कार्य पूरा हुने दाबी गरेका प्रालिका सदस्य घिमिरेले त्यसले नेपालको पर्यटन विकासमा उल्लेखनीय भूमिका खेल्ने आशा व्यक्त गरे।

‘दाङको भालुवाङ हुँदै प्युठान पुग्न झण्डै साढे ४ देखि ५ घण्टा यात्रा गर्नुपर्छ , त्यस्तै दाङको घोराही बाट रोल्पाको होलेरी हुँदै स्वर्गद्वारी जान अझै बढी समय लाग्छ,’ घिमिरेले भने ‘त्यो निकै जोखिमयुक्त मात्रै हैन बिरामी, अशक्त, जेष्ठ नागरिक र बालबालिकाको लागि पट्यार लाग्दो छ।’

केबुलकार निर्माण भएपछि झण्डै २०देखि ३० मिनेटको अन्तरालमा सहजै मानिसहरू दाङवाट स्वर्गद्वारी पुग्न सक्ने हुँदा त्यसले जेष्ठ नागरिकदेखि बालबालिका सबैलाई त्यहाँ जान सजिलो हुने घिमिरेले तर्क गरे।

‘वर्षेनी हजारौं भारतीय नागरिक स्वर्गद्वारी दर्शनका लागि आउने गर्छन् अब उनीहरूका लागि पनि केबुलकारबाट स्वर्गद्वारी पुग्ने छिटो र सजिलो माध्यम बन्ने छ,’ घिमिरेले भने।

राज्यले गर्नुपर्ने पर्यटन प्रर्वद्धनको काम निजी क्षेत्रले गर्न लागेको हुँदा आफूहरूलाई स्थानीय सरकारदेखि संघीय सरकारले पनि सघाउने घिमिरेले आशा व्यक्त गरे।

तपाईंहरू राज्यसँग के सहयोग चाहनु हुन्छ रु भन्ने प्रश्नमा घिमिरेले भने ‘प्रमुख सवाल सुरक्षा, प्रोजेक्टलाई अनुदान र सरकारी बैंकबाट ऋण उपलब्ध गराइदिए हामीलाई पुग्छ।’

त्यस्तै, उनले केवुलकार निर्माण गर्दा आवश्यक पर्ने सामग्रीमध्ये केही जापान, भारत लगायतका देशहरूबाट ल्याउनुपर्ने हुनसक्ने भन्दै त्यसका लागि राजस्वमा छुट दिनुपर्ने धारणा राखे ।