मुख्य समाचार समाज

एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना: पेस्तोलबाट ३ राउण्ड गोली पड्किए

फागुन २२, काठमाडौँ । सेना र प्रहरीको संयुक्त टोलीले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनास्थबाट पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक अर्जुन घिमिरेका साथमा रहेको पेस्तोल फेला पारेको छ।

यो खबर नेपालखबरमा छ, सेनाको टोलीले जलेको अवस्थामा हेलिकोप्टरको भग्नावशेष तल च्यापिएको अवस्थामा पेस्तोल फेला पारेको हो। दुर्घटनास्थलमा पेस्तोल खोज्न परिचालन भएका एक प्रहरी अधिकारीकाअनुसार हेलिकोप्टर पहाडमा ठोक्किएर बल्न थालेपछि जमदार घिमिरेका साथमा रहेको पेस्तोलका तीन राउण्ड गोली पड्किएको निष्कर्ष सुरक्षा टोलीले निकालेको छ।

सेना र अस्थाई प्रहरी चौकी माथिल्लो फेदी टोलीले घटनास्थलबाट १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाईल जलेको अवस्थामा फेला पारेको छ।

बरामद खोकाले पेस्तोल पड्किएको अनुमानलाइ अधार दिएको हो। ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले घिमिरेको साथमा रहेको पेस्तोल जलेको अवस्थामा फेला परेको बताए। उनले बरामद पेस्तोल सेनाले लिएर गएको जानकारी दिए।

दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, उड्डयन व्यवसायी आङछिरिङ शेर्पा, नेपाली सेनाका जमदार घिमिरेसहित ७ जनाले ज्यान गुमाएका थिए।

फागुन १५ गते ताप्लेजुङ, फुङलिङ–१० तारेभिरको पहाडमा ठोक्किएर एयर डाइनेस्टी हेली सर्भिसको हेलिकोप्टर एएस ३५० दुर्घटना भएको थियो।

एअर डाइनेस्टी हेलिकप्टर दुघर्टना : खराब मौसमले छानबिन टोली ताप्लेजुङ जान सकेन

खराब मौसमका कारण स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी भएको हेलिकप्टर दुघर्टनाको छानबिनमा ढिलाइ भएको छ ।

यो खबर उज्यालो अनलाइनमा छ, फागुन १५ गते दिउँसो भएको दुर्घटनाको छानबिन गर्न १५ गते बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा सहायक रथी दीपक बास्तोला, क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।

समितिले प्रारम्भिक काम मानिने केही कागजी काम गरे पनि मौसमको खराबीका कारण दुघर्टनास्थलमा जान नपाएकाले अनुसन्धानको काम गर्न सकेको छैन ।

‘हामीले केही प्रारम्भिक काम त गरेका छौँ, तर खराब मौसमका कारण घटनास्थल जान नसक्दा धेरै काम अघि बढ्न सकेको छैन’, छानबिन समितिका सदस्य तथा पर्यटन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछानेले उज्यालो अनलाइनसँग भन्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले प्रयास गर्दा पनि मौसमले साथ दिएको छैन, अनुसन्धानका लागि ताप्लेजुङका सिडिओ, सुरक्षा निकायसँग त सहकार्य भैरहेको छ ।’

मौसमले साथ दिनेबित्तिकै आफूहरु ताप्लेजुङ जाने सह–सचिव लामिछानेले जानकारी दिनुभयो । उहाँले दुघर्टनास्थल निकै विकट भएको र हाई अल्टिच्यूडको कारण झनै खतरा रहेको पनि बताउनुभयो ।

हेलिकप्टर पुरै जलेकाले अनुसन्धानमा चुनौती

मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जानेगरी भएको हेलिकप्टर दुघर्टना निकै अप्ठेरो ठाउँमा रहेको छानबिन समितिका सदस्य बुद्धिसागर लामिछानले जानकारी दिनुभयो । त्यस्तै हेलिकप्टरको पुच्छरबाहेक अरु सबै भाग जलेर खरानी भएको देखिएकाले अनुसन्धानमा पनि कठिनाइ हुन सक्ने उहाँको भनाइ छ ।

‘घटनास्थल हेर्दादेखि काम लाग्ने कुरा बाँकी छ जस्तो देखिन्न, अगाडिको भाग पुरै सखाप छ, पुच्छर मात्रै देखिएको छ, पत्ता लगाउन धेरै मेहेनेत गर्नुपर्ने देखिन्छ’, लामिछानेले भन्नुभयो, ‘सानो चिप्स पनि भेटिने हो कि होइन भन्नेका शंका छ, त्यसैले विदेशबाट अनुसन्धान उपकरण र प्राविधिक ल्याउने अवस्था आउन पनि सक्छ ।’

फागुन १५ गते दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरे, पाइलट प्रभाकर केसी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभोया, मन्त्रिपरिषद कार्यालयका उपसचिव युवराज दाहाल र यति एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पाको ज्यान गएको थियो ।